सोमवार, सेप्टेम्बर २६, असोज १०
‘यी कुराहरू तिनीहरूलाई … भए तापनि ती हाम्रै शिक्षाको निम्ति हुन्।’ —१ कोरिन्थी १०:११
बाइबलमा महान् काम गर्नेहरू हामीभन्दा फरक थिए भन्ने सोच्नु र ‘मेरो परिस्थितिमा त्यस्तो जीवन सम्भव छैन’ भन्नु गलत हो। एस्तर दासत्वमा जन्मिएकी थिइन् र तिनको सौन्दर्यको कारण एउटा अन्यजाति राजाले तिनलाई आफ्ना पत्नीहरूमध्ये एउटी पत्नी बनाएका थिए। विरानो महसुस गर्ने बारेमा कुरा गर्नुहुन्छ ? जब तपाईं परमेश्वरले चाहनुभएको ठाउँमा हुनुहुन्छ, तब कुनै पनि ठाउँ विरानो हुँदैन ! जब हामानले यहूदीहरूलाई नाश गर्ने षडयन्त्र रच्यो, एस्तर तिनीहरूलाई बचाउन परमेश्वरद्वारा रणनीतिक हिसाबले उपयुक्त स्थानमा राखिएकी थिइन्। तिनका काका मोर्दकैले तिनी ‘यस्तै समयका निम्ति नै राजपदमा पुगेकी’ (एस्तर ४:१४) थिइन् भनेपछि तिनले आफ्नो जीवनको उद्देश्य पत्ता लगाइन्।
तिनको प्रतिकृया के थियो ? ‘म (मेरा मानिसहरूका निम्ति) राजाकहाँ जानेछु … मेरो नाश हुन्छ भने पनि होस् !’ (पद १६)। तर नाश हुनुको सट्टा तिनी सफल भइन् यसकारण एस्तरबाट हामीले के सिक्न सक्छौं ?
१) परमेश्वरले सुरुमै तपाईंलाई सबै विवरण दिनुहुन्न। त्यसको अर्थ उहाँसँग कुनै योजना छैन भन्ने हुँदैन। उहाँलाई खोज्दा तपाईंले उहाँको योजना पत्ता लगाउनुहुन्छ र उहाँको शक्ति प्राप्त गर्नुहुन्छ।
२) ज्ञान शक्ति हो। तपाईं दास वा सम्राट जेसुकै हुनुहोस्, परमेश्वरले तपाईंलाई बोलाउनुभएको छ भन्ने कुरा थाहा पाएपछि सामना गर्नुपर्ने प्रत्येक बाधामाथि विजयी हुन यसले तपाईंलाई सक्षम तुल्याउँछ।
३) सबै कुरामाथि परमेश्वरको नियन्त्रण छ भन्ने कुरा थाहा पाएपछि यसले तपाईंलाई साहस दिन्छ। एस्तरले ‘मेरो नाश हुन्छ भने पनि होस्’ भन्दा, उहाँमा भरोसा राख्दा मृत्युलाई समेत साहसपूर्वक सामना गर्न सकिन्छ भन्ने कुरा थाहा पाउँदै तिनले आफैलाई परमेश्वरको हातमा सुम्पेकी थिइन्। परमेश्वरसँग तपाईंको लागि यस पृथ्वीमा मात्र होइन, स्वर्गमा पनि तपाईंको लागि योभन्दा अझ उत्तम स्थान छ। अनि त्यो कुराले तपाईंलाई अन्त्यमा सबैसँग विजयी तुल्याउँछ।
आत्मिक भोजनः १ कोरिन्थी ७–९, मर्कूस १६:१–८, भजन ६८:१–१८, हितोपदेश २५:१३–१६
Discussion about this post