बुधवार, सेप्टेम्बर १४, भदौ २९
‘परमप्रभु मेरोसाथमा हुनुहुन्छ; म भयभीत हुँदिनँ।’ —भजन ११८:६
सर्वप्रथम, जोखिम उठाउन तयार हुनुहोस्। हो, तपाईंलाई चोट लाग्नसक्छ वा अप्ठ्यारो हुनसक्छ, तब के त ? असुरक्षाको भावमाथि विजय पाउन अनि आत्मविश्वास बढाउन तपाईंले जोखिम उठाउन आफैँलाई अवसर दिनुपर्छ। तपाईंले लेख्न चाहनुभएको पुस्तक लेख्नुहोस्, सङ्गीत कक्षामा सहभागी हुनुहोस्, खडा हुनुहोस् र भेलालाई सम्बोधन गर्नुहोस् ! डर अनुभव गर्नुहोस् र त्यो काम जसरी भएपनि गर्नुहोस् ! ‘मान्छेको डर एउटा पासो जस्तै हो, तर परमप्रभुमा भरोसा राख्ने सुरक्षित रहन्छ’ (हितोपदेश २९:२५)।
दोस्रो, आफैँमाथि हाँस्न सिक्नुहोस्। मानिसहरूले आफूलाई स्वीकार र ग्रहण गरून् भन्ने खाँचोमाथि विजय पाउनुहोस् र आफ्ना गल्तीहरूमाथि हाँस्नुहोस्। हामी सबै मानव हौं; आफैँलाई त्यति धेरै गम्भीर रूपमा नलिनुहोस् ! तपाईंले कुनै गल्ती गर्नुहुँदा, त्यसको बारेमा हाँसो उठ्दो पक्ष पत्ता लगाउने पहिलो व्यक्ति बन्नुहोस्, अनि तपाईंले मानिसहरूलाई सोचेको भन्दा बढी सहयोगी पाउनुहुनेछ।
तेस्रो कुरा, यथार्थपरक रूपमा सोच्न सुरु गर्नुहोस्। तपाईंले आराम र सुरक्षाको क्षेत्र त्यागेर तपाईं नै सबै थोक हुनुहुन्न भन्ने कुरा बुझ्ने समय भएको छ। तपाईं ब्रह्माण्डको केन्द्रमा हुनुहुन्न, अनि तपाईंको सानो गल्तीले संसारको ठूलो योजनामा खासै अर्थ राख्दैन। त्यसबाहेक, गल्तीहरू सफलताभन्दा बढी असल शिक्षक हुन्छन्।
चौथो कुरा, स–साना सफलताका लागि आफैँलाई इनाम दिनुहोस्। कुनै परियोजना पूरा गर्नुभएपछि, आफैँलाई इनाम दिनुहोस्। जब तपाईंले बदला नलिई कुनै सल्लाह वा सुधारलाई ग्रहण गर्नुहुन्छ, आफैँलाई इनाम दिनुहोस्। प्रायः हामीले आक्रमण गर्ने व्यक्तिहरू भनेका हामीलाई सहायता गर्न भरमग्दुर प्रयास गर्ने व्यक्तिहरू हुन्छन्। तपाईं मूल्यवान हुनुहुन्छ, दक्ष हुनुहुन्छ, र सीपालु हुनुहुन्छ, अनि परमेश्वरको दृष्टिमा तपाईंको मूल्य अत्यन्तै धेरै छ भन्ने विचारलाई स्वभाविक रूपमा स्वीकार गर्नुहोस्। आफैँलाई विकृत दृष्टिबाट विश्लेषण गर्न बन्द गर्नुहोस् र आफूलाई सन्तुलित दृष्टिले हेर्न सुरु गर्नुहोस्। त्यसो गर्न सक्षम बन्नुभएपछि, तपाईंका डरहरूलाई तपाईं आफैँमाथिको र तपाईंको भविष्यमाथिको भरोसाले विस्थापित गर्नेछन्।
आत्मिक भोजनः नहेम्याह ११–१३, मर्कूस १४:१–११, भजन ७८:६५–७२, हितोपदेश २४:१०–१४
Discussion about this post