सोमवार, सेप्टेम्बर ५, भदौ २०
‘तब दियाबलस आउँछ।’ —लूका ८:१२
लेखिका तथा सुसमाचार प्रचारक एन ग्राहम लत्स लेख्छिन्ः
‘एक हप्तभित्रमा, पानी त ताउने हिटर टुट्यो, पानीका पाइपहरू फुटे … बाथरुमको नुहाउने धाराको टुटी खस्यो … (अनि) मैले मेरो परिवारका सदस्यहरूका बिचमा मनमुटाव तथा मेरा सेवकाइका कर्मचारीहरूसँग समस्याको समना गर्नुपर्यो। म आफ्नो संयम गुमाउने, भरोसा गर्नुको सट्टा चिन्ता गर्ने, अनि आफ्नो प्रार्थनाको जीवन वेवास्ता गर्ने परीक्षामा परेँ। सामान्य असन्तुष्टि जस्तो देखिने कुरा … केही डरलाग्दो कुरा थियो … शैतानले हाम्रो जीवनका सामान्य क्षेत्रहरूमा भएका कमजोर सुरक्षामाथि आक्रमण गर्छ।’ बाइबलले बताउँछ कि बप्तिस्मामा उहाँले आत्मिक आशिष पाउनुभएपछि, ‘दियाबलसद्वारा परीक्षा गरिनलाई’ (हेर्नुहोस् मत्ती ४:१–११) पवित्र आत्माद्वारा येशू उजाड–स्थानमा लगिनुभयो।
यहाँ केही महत्वपूर्ण शिक्षाहरू छन्ः
१) सफलतामा विश्राम नगर्नुहोस्। आशिषपछि संघर्ष आउँछ। परमेश्वरले तपाईंलाई हालसालै के–कस्ता उदेकका आशिषहरू दिनुभएको छ ? चाहे यो तपाईंको सेवकाइ, परिवार, पेशा, वा परमेश्वरसँग तपाईंको व्यक्तिगत हिँडाइसँग सम्बन्धित कुरा नै किन नहोस्, होसियार रहनुहोस् ! हामी होसियार नरहेको समय शैतानले हामीलाई निशाना बनाउँछ।
२) परमेश्वरको इच्छामा रहनुहोस्। के तपाईंले कहिल्यै ‘यो काम यति कठिन छ भने यो परमेश्वरको इच्छा हुन सक्दैन’ भन्ने सोच्दै त्यो काम छोडिदिनुभएको छ ? तपाईंले सही काम गरिरहनुभएको छ भन्दैमा, तपाईं सुरक्षित हुनुहुन्न। शत्रुले उहाँलाई आक्रमण गर्दा, येशू परमेश्वरको इच्छाअनुसार नै चलिरहनुभएको थियो। परिस्थितिहरू खराब हुँदा, ‘आफ्नै समझशक्तिमा भर नपर्नुहोस्’; ‘आफ्नो सारा हृदयले परमप्रभुमा भरोसा’ (हितोपदेश ३:५) राख्ने समय यही हो।
३) धर्मशास्त्रको ज्ञान लिनुहोस्। येशूमाथि आक्रमण हुँदा उहाँले यसोभन्दै त्यसको प्रतिवाद गर्नुभयो, ‘यस्तो लेखिएको छ’। परमेश्वरको वचनलाई ‘पवित्र आत्माको तरवार’ (एफिसी ६:१७) भनिएको छ, किनकि दुष्टको विरुद्धमा यो हाम्रो प्रमुख आक्रामक हतियार हो। शैतानलाई हराउन येशूले यसको प्रयोग गर्नुभयो, अनि तपाईंले पनि त्यसै गर्नुपर्छ।
आत्मिक भोजनः यहोशू १६:१–१९:२३, मर्कूस ११:१२–२६, भजन ११२, हितोपदेश २३:१३–१५
Discussion about this post