शनिवार, सेप्टेम्बर ३, भदौ १८
‘परमेश्वरले … हामीलाई सान्त्वना दिनुहुन्छ … ताकि हामीले पनि (अरूलाई) सान्त्वना दिन सकौँ।’ —२ कोरिन्थी १:३–४
धेरै वर्ष पहिले, एउटा अनाथालयमा गएर एउटी महिलाले त्यहाँकी आमालाई सोधिन्, ‘कसैले ग्रहण गर्न नचाहेको कुनै एक जना बच्चा यहाँ छ कि ?’ त्यस अनाथालयकी आमाले जवाफ दिइन्, ‘छिन्। तिनी दश वर्षकी छिन्, हेर्नमा त्यति सुन्दर छैनन्, अनि तिनको ढाड पनि कुप्रो छ।’ ती महिलाले भनिन्, ‘मैले चाहेको बच्चा त्यही हो !’ पैँतीस वर्षपछि, अमेरिकाको आयोवा राज्यका अनाथालय सुपरीवेक्षण विभागका निर्देशकले एउटा सरकारी सेवा विभागका बारेमा यस्तो प्रतिवेदन दिएः ‘यो घर अति उत्तम छ। यो सफासुग्घर छ, यहाँको खाना राम्रो छ; बालबालिकाहरूको राम्रो हेरचाह गरिन्छ, अनि यहाँको वातावरण मैले अनुभव गरेको अन्यत्र कहीँको भन्दा फरक छ। यहाँकी आमा मर्सी गुडफेथको हृदयबाट प्रेम चुहुन्छ; तिनका आँखा यति सुन्दर छन् कि तिनको मुहार साधारण छ, वा तिनको ढाड कुप्रो छ भन्ने कुरा नै मैले बिर्सेंछु।’ असल समरी जस्तै एक जना महिलाले अरूले वेवास्ता गरेकी एउटी बालिकालाई प्रेम गर्न र हेरचाह गर्न साहस गरेको कारण, मर्सी गुडफेथले अरू हजारौँ अनाथहरूलाई पनि त्यस्तै प्रेम बाँड्न सकिन्। पावल भन्छन्, ‘परमेश्वरले … हामीलाई सान्त्वना दिनुहुन्छ … ताकि हामीले पनि त्यही सान्त्वनाले कुनै पनि दुःखमा परेकाहरूलाई सान्त्वना दिन सकौँ’। अनि बिल्ली ग्राहमले यसो भनेकाछन्, ‘सबैभन्दा बढी दुःख भोगेकाहरू अरूहरूलाई सान्त्वना दिन … आफ्नो अनुभवका कारण तिनीहरूका कष्टमा सहभागी बन्न पनि सबैभन्दा बढी सक्षम हुन्छन् … हाम्रो कष्ट सहन कठिन होला, तर हाम्रो लक्ष्य चाहिँ हामीलाई जे सहन बोलाइएको छ त्यसबाट सक्दो धेरै सिक्ने हुनुपर्छ ताकि हामीले येशूले गर्नुभए जस्तै सान्त्वनाको सेवकाइ पूरा गर्नसकौँ। “किनकि उहाँ आफैँले कष्ट भोग्नुभयो र परीक्षित हुनुभयो, यसैले परीक्षामा पर्नेहरूलाई उहाँले सहायता गर्न सक्नुहुन्छ” (हिब्रू २:१८)। कष्टित व्यक्ति नै प्रभुको सेवामा सान्त्वना दिने व्यक्ति बन्छ।’
आत्मिक भोजनः यहोशू १४–१५, मर्कूस ११:१–११, भजन २०, हितोपदेश २३:१०–१२
Discussion about this post