शुक्रवार, सेप्टेम्बर २, भदौ १७
‘परमेश्वरले हजूरको दासलाई अनुग्रह गरी दिनुभएका छोराछोरीहरू हुन्।’ —उत्पत्ति ३३:५
हामी यस्तो समयमा जिउँछौं जहाँ बालबालिकाहरूलाई उनीहरूले चाहेको भन्दा धेरै, तर चाहिएको भन्दा कम कुरा दिइन्छ। उनीहरूलाई के चाहिन्छ त ?
तपाईं ! गरगहना, रूपैयाँपैसा, खेलौना होइन, तर तपाईंको प्रेम र तपाईंको समय।
अमेरिकी मनोवैज्ञानिक क्रिस्टोफर ब्याकोर्नले लेखेको र प्रसिद्ध समाचार पत्र न्युजविकमा ‘प्रिय पिता हो, आफ्ना छोराहरूलाई बचाउनुहोस्’ नामको स्तम्भमा प्रकाशित यी शब्दहरू पढ्नुहोस्। उनले आफ्नो पन्ध्र वर्ष उमेरको छोरा साथमा लिएर उनको अफिसमा आएकी पैँतीस वर्ष जतिकी एउटी चिन्तित आमाको बारेमा चर्चा गरेकाछन्। त्यो केटाका बाबु चार वर्षअघि नै घर छोडेर हिँडेका थिए। त्यस बेलादेखि नै त्यो केटो मादक पदार्थ सेवन, गुण्डागर्दी, र हिंसामा संलग्न भएको थियो। ती आमाले कतैबाट सहायता पाइनन् अनि त्यो केटो पनि कसैको कुरा सुन्दैनथ्यो। त्यो केटाको हृदयको कठोरता तोड्न तीस मिनेट जति प्रयास गरेपछि, डा. ब्याकोर्नले आफ्नो प्रयास व्यर्थ छ भन्ने कुरा महसुुस गरे। उनले हृदयविदारक शब्दमा यस्तो लेखेकाछन्ः
‘अधिकांश किशोरहरूले व्यावसायिक परामर्श ग्रहण गर्न सक्दैनन् भन्ने मैले निश्कर्ष निकालेको छु … किशोरले ग्रहण गर्नसक्ने तर प्रायः उसले नपाउने भनेको मानिसको सङ्गत हो— घटीमा पनि एक जना त्यस्तो मानिस जसले उसलाई ध्यान दिन्छ, जसले ऊसँग समय बिताउँछ, जसले उसको प्रशंसा गर्छ। एक किशोरलाई उसले नमूनाको रूपमा हेर्न सक्ने एक जना वयस्क मानिसको खाँचो पर्छ। उसलाई खुम्चिन मन पर्दैन … हाम्रो देश युवाहरूमा फैलिएको हिंसात्मक गतिविधि, गुण्डागर्दी, हातहतियार र लागु पदार्थद्वारा आक्रान्त छ। जवान अपराधीहरूको ठूलो हिस्सा युवकहरूको छ, जसमध्ये अधिकांशका जीवनमा उनीहरूका बाबुहरू कुनै अर्थपूर्ण रूपमा संलग्न भएका हुँदैनन्।’ उत्पत्तिको पुस्तकमा हामी पढ्न पाउँछौं कि याकूब एक सफल व्यापारी थिए, तर उनले पत्ता लगाए कि यस संसारमा उनको सबैभन्दा ठूलो सम्पत्ति भनेका ‘परमेश्वरले हजूरको दासलाई अनुग्रह गरी दिनुभएका छोराछोरीहरू हुन्।’ पिता हो, के तपाईंले यो कुरा पत्ता लगाउनुभएको छ ?
आत्मिक भोजनः
यहोशू ११–१३, मर्कूस १०:३५–५२, भजन १४२, हितोपदेश २३:७–९
Discussion about this post