आइतवार, अगस्ट २८, भदौ १२
‘मैले तिमीहरूलाई (भौतिक र मानसिक) शक्ति दिएको छु ।’ —लूका १०:१९
विजयी हुने एउटा योजना यहाँ छः
१) तपाईं जति पटक लड्नुभए तापनि, फेरि उठ्नुहोस् ! ‘धर्मी मानिस सातै पटक लोट्यो, भने पनि फेरि उठ्छ’ (हितोपदेश २४:१६)। आत्मिक रूपमा परिपक्व हुनु भनेको एउटा जीवनभरिको प्रकृया हो। प्रत्येक पटक कमजोरीमा तपाईं परमेश्वरतर्फ फर्कनुहुँदा र तपाईंले आफ्नै लागि जे गर्न सक्नुहुन्न तपाईंको लागि उहाँलाई त्यो काम गर्न अनुमति दिनुहुँदा यो हुन्छ।
२) यसलाई इन्कार नगर्नुहोस्, यसको सामना गर्नुहोस्। ‘चूर्ण हृदय भएकाहरू सबैको नजिक परमप्रभु हुनुहुन्छ’ (भजन ३४:१८)। पश्चात्तापी हृदयलाई परमेश्वरले जहिल्यै पनि अनुग्रहपूर्वक प्रतिउत्तर दिनुहुन्छ। उहाँले तपाईंलाई तपाईंको सबैभन्दा कमजोर क्षणमा भेट दिनुहुनेछ, पछुतो र पश्चात्तापको उपत्यकाहुँदै तपाईंसँग हिँड्नुहुनेछ, अनि तपाईंलाई पहिलेको भन्दा बलियो बनाएर बाहिर ल्याउनुहुनेछ।
३) तपाईंले परीक्षाद्वारा के सिक्नुभएको छ, लेख्नुहोस्। यसको बारेमा विचार गर्नुहुँदा कुन कुरामा ‘आफ्नो मनमा नयाँ भएर परिवर्तन हुनु’(रोमी १२:२) आवश्यक छ भन्ने कुरा तपाईंले देख्नुहुनेछ। अनि तपाईंले आफ्नो जीवनमा समावेश गर्न चाहनुभएका नयाँ बानीहरू पनि अवश्य लेख्नुहोस्— प्रार्थना, कुनै मित्रप्रति उत्तरदायी हुने, बाइबल पढ्ने र याद गर्ने, कमजोरीका क्षेत्रहरू पहिचान गर्ने, अनि आफैँलाई अझै नजिकबाट नियाल्ने आदि।
४) तपाईंले सिक्नुभएका कुरा प्रयोग गर्नुहोस्। येशूले पत्रुसलाई भन्नुभयो, ‘शैतानले तिमीलाई … चाहेको छ । तर तिम्रो विश्वास नडगमगाओस् भनेर मैले तिम्रो लागि प्रार्थना गरेको छु । र तिमी फर्केपछि, तिम्रा भाइहरूलाई बलिया बनाऊ’(लूका २२:३१–३२) । तपाईंले सिक्नुभएका कुरालाई फेरि लड्नबाट बच्न प्रयोग गरेर मात्र होइन तर परीक्षाको सामना गरिरहेका अरूहरूलाई सहायता गर्न सुरु गरेर आज एउटा नयाँ सुरुआत गर्नुहोस् ।
५) तपाईं विजयी भएर हिँड्न सक्नुहुन्छ भनी विश्वास गर्नुहोस् । येशूले भन्नुभयो, ‘मैले तिमीहरूलाई शत्रुका सारा शक्तिमाथि (भौतिक र मानसिक) शक्ति दिएको छु ।’‘म सक्दिनँ’ भन्ने आफ्नो सोचबाट मुक्त हुनुहोस् र आज परमेश्वरको शक्ति प्राप्त गर्नुहोस् ।
आत्मिक भोजनः विभाजन र एकता उत्पत्ति ११:१–९, फिलेमोन २:१–११
Discussion about this post