शनिवार, अगस्ट १३, साउन २९
‘शरीरका अभिलाषाअनुसार चल्नु नपरोस् भनी तिमीहरूका मरणशील शरीरमा पापलाई राज्य गर्न नदेओ ।’ —रोमी ६:१२
जीवनमा सफलताका लागि महान् चाबीहरूमध्ये आत्मसंयम एक हो । अनि परमेश्वरको वचनले यसको बारेमा धेरै चर्चा गरेको हुनाले, तपाईंले उहाँसँग माग्नुभयो भने उहाँले तपाईंलाई यो गुण विकास गर्न सहायता गर्नुहुनेछ । तपाईं जवान हुँदा जुन कुरासँग संघर्ष गर्नुहुन्थ्यो त्यो कुरा तपाईं वृद्ध हुँदा संघर्ष गर्नुपर्ने कुराभन्दा फरक हुनेछ, तर तपाईं जीवित रहुन्जेल तपाईंले एक वा अर्को रूपमा परीक्षाको सामना गर्नुहुनेछ । बाइबलमा उल्लेख गरिएका पवित्र आत्माका नौ वटा फलमध्ये आत्मसंयम एक हो (हेर्नुहोस् गलाती ५:२२–२३) । यसको लागि तपाईंको जीवनको प्रत्येक पक्षलाई पवित्र आत्माको अधीनमा ल्याउनु पर्छ । यो अनुशासनमा प्रकट हुने जीवन शैली हो, आवेगमा होइन । ‘आत्मसंयम’ लाई जनाउने मूल ग्रीक शब्दको अर्थ ‘पक्रनु’ वा ‘नियन्त्रण गर्नु’ भन्ने हुन्छ । यसले तपाईंको खर्च गराइमाथि नियन्त्रणको माग गर्छ ताकि तपाईंलाई आवश्यक नभएका र मूल्य चुकाउन नसक्नुहुने कुराहरूका लागि तपाईं ऋणमा पर्नु नपरोस् । यसले तपाईंको आवेगमाथि नियन्त्रणको र पछि गएर तपाईंले पछुतो गर्नुपर्ने कुराहरू नबोल्न माग गर्छः ‘आफ्नो क्रोध वशमा राख्नु शहरै कब्जा गर्नुभन्दा बेस हो’ (हितोपदेश १६:३२) । यसले तपाईंका इच्छाहरूमाथि नियन्त्रणको माग गर्छ । यदि योसेफले आफ्ना मालिककी पत्नीको बारम्बारको प्रस्तावलाई इन्कार नगरेका भए, उनले आफ्नो जीवनको सपना पूरा भएको कहिल्यै देख्ने थिएनन् र मिश्रका शासक बन्ने थिएनन् । यो कुरा बुझ्नुहोस्ः शैतानले तपाईंको भविष्य बुझेको छ र त्यो तपाईंलाई त्यहाँ पुग्नबाट रोक्न लागिपरेको छ । यसकारण आत्मसंयमको लागि प्रार्थना गर्नुहोस्, अनि यसलाई दैनिक रूपमा अभ्यास गर्नुहोस् । आत्मिक भोजनः १ इतिहास २३:२१–२६:१९, मर्कूस ६:१–१३, भजन ११९:६५–७२, हितोपदेश २१:१०–१३
Discussion about this post