शुक्रवार, जुलाई २२, साउन ७
‘बितेका कुराहरूलाई भुल, उहिलेका कुराहरूलाई विचार नगर।’ —यशैया ४३:१८
सम्बन्ध विच्छेद मानव हृदयले अनुभव गर्नसक्ने सबैभन्दा पीडादायी कुराहरू मध्ये एक हो। तपाईंसँग यस्तो भएको छ भने, यो कुरा साँचो हो भन्ने कुरा तपाईंलाई थाहा छ। यदि तपाईंको जीवनमा यस्तो भएको छैन भने, कृतज्ञ हुनुहोस् र यसबाट तोडिएकाहरूप्रति कृपालु बन्नुहोस्। तपाईंले भरोसा गर्नुभएको कसैबाट तपाईं तोडिनुभएको छ ? मध्य रातमा एकलोपनले तपाईंलाई विचलित बनाउँछ ? आफ्ना हातहरू सम्पूर्ण रूपमा बाँधिएका छन् जस्तो तपाईं महसुस गर्नुहुन्छ ? निराश नहुनुहोस्— तपार्इंको यो परिस्थिति परिवर्तन हुनेछ। तपाईं निको हुनुहुनेछ; तपाईंले फेरि निर्माण गर्नुहुनेछ; तपाईं लडिरहनुुहुनेछैन। हो, यसको लागि समय लाग्नेछ, अनि तपाईंले केही कोसिस पनि गर्नुपर्नेछ। आफ्नो सफलताको पुस्तकमा तपाईंले कतिपय निराशाका पृष्ठको अनुभव गर्नुहुनेछ, तथापि परमेश्वरको अनुग्रहद्वारा तपाईंले फेरि जिउन र फेरि प्रेम गर्न सिक्नुहुनेछ। जसै तपाईं परमेश्वरको नजिक जानुहुन्छ र उहाँको वचनमा खोज्नुहुन्छ, उहाँले तपाईंलाई भित्री शान्ति तथा तपाईंको जीवन कसरी फेरि सुरु गर्ने भन्ने रहस्य प्रकट गरिदिनुहुनेछ। यदि तपाईं निर्दोष पक्ष हुुनुहुन्छ भने, धर्मशास्त्रको यो पद पढ्नुहोस् र यसलाई आफ्नो हृदयमा लुकाउनुहोस्ः ‘उहाँले टुक्रिएको हृदय भएकाहरूलाई निको पार्नुहुन्छ, र तिनीहरूका चोटहरूमा पट्टी बाँधिदिनिुहुन्छ’ (भजन १४७:३)। यदि तपाईं दोषी पक्ष हुुनुहुन्छ भने, तपाईंले क्षमा नहुने पाप गर्नुभएको छैन भन्ने कुरा याद गर्नुहोस्। यसकारण तपाईंका असफलताहरू क्षमा गरिन र बिर्सिइन सकिन्छन्। तपाईंलाई परमेश्वरको प्रतिज्ञा छः ‘म उही हुँ, जसले तेरा अपराधहरू मेरो आफ्नै खातिर मेटिदिन्छ, र तेरा पापहरूलाई सम्झँदैन’ (यशैया ४३:२५)। तपाईं निर्दोष वा दोषी जे हुनुभए तापनि, तपाईंको निम्ति आजको वचन छः ‘बितेका कुराहरूलाई भुल, उहिलेका कुराहरूलाई विचार नगर…म एउटा नयाँ कुरो गर्दैछु…म एउटा बाटो बनाउँदैछु’ (पद १८–१९)।
आत्मिक भोजनः हबकूक १–३, मत्ती २७: ५७–६६, भजन १, हितोपदेश १९: ९–११
Discussion about this post