बिहीवार, जुलाई ७, असार २३
‘तिनी तिम्री जीवन–साथी र वैवाहिक करारमा बाँधिएकी पत्नी हुन्।’ —मलाकी २:१४
हाम्रो वरिपरिको संस्कृति उदार बन्दैजाँदा, वैवाहिक जीवनमा विश्वासयोग्यताको अवधारणाप्रति चुनौती उत्पन्न हुँदैछ। मनोरञ्जन उद्योगले अविश्वासनीयता वा धोका एक गजबको खेल पो हो भन्ने धारणालाई प्रोत्साहित गरेको छ। तर तिनीहरूले तपाईंलाई त्यसको नकारात्मक पक्षको बारेमा बताएका छैनन्। अन्त्यमा यसले पीडा र असन्तुष्टि मात्र ल्याउँछ। त्यसमा संलग्न दुई जनाको लागि मात्र होइन, तिनीहरूलाई प्रेम गर्ने, तिनीहरूमाथि भर पर्ने, अनि उदाहरणको लागि तिनीहरूलाई हेर्नेहरूलाई पनि त्यसले प्रभाव पार्छ। वैवाहिक करारको बारेमा स्पष्ट रूपमा कुरा गर्ने समय भएको छ।
कसैलाई पछ्याउँदाको रोमाञ्च अनि उत्साह सेलाएपछि, तपाईं खाना पकाउने, सरसफाइ गर्ने, अनि जीविकोपार्जनका निम्ति आयआर्जन गर्ने कुरातर्फ फर्कनुपर्छ। हो, नयाँ व्यक्ति सुन्दर देखिन्छ, तर उसलाई प्राप्त गर्न धेरै कसरत गर्नुपर्छ। प्रेमिलो भेटघाटका दिनहरूमा तपाईंले कसैका उत्तम पक्षहरू देख्नुहुन्छ, तर उससँग विवाह गर्नुभएपछि तपाईंले उसका कमजोरी, दुर्बलता, र झन्झट लाग्दा कुराहरूसँगै जिउनु पर्नेहुन्छ, पहिलो पति वा पत्नीमा भएका जस्तै। अनि तपाईंलाई थाहा छ ? वैवाहिक जीवन एक बन्धन जस्तो महसुस हुन सुरु गर्छ। कुनै व्यक्तिले यसरी बन्धनमा परेको महसुस गर्न सुरु गर्छ भने उसले के गर्छ होला ? आफैंले थाहा नपाएको कुनै कुरा खोज्दै उसले एउटा जीवनबाट अर्को जीवनमा फड्को मार्न सुरु गर्छ। यसको समाधान के हो त ?
सही व्यक्तिको खोजी गर्नुको सट्टा वृद्धि हुन र परिपक्व हुन अनि त्यो सही व्यक्ति बन्न प्रयत्न गर्नुहोस्। प्रायः तपाईंले कोही नयाँ व्यक्तिमा खोजिरहनु भएका गुणहरू तपाईंसँग विवाह भएको व्यक्तिभित्रै लुकेर, पहिचान नगरिएर रहेका हुन्छन्। यी गुणहरू बिउजस्तै हुन्छन्ः यदि तपाईंले तिनीहरूलाई पानी दिनुभयो, पोषण दिनुभयो र सुरक्षा दिनुभयो भने, तपाईले आनन्द मनाउन सक्नुहुने कुनै सुन्दर कुराको रूपमा तिनीहरू वृद्धि भएर जानेछन्।
आत्मिक भोजनः १ शमूएल २७–३१, मत्ती २५: १४–३०, भजन १३७, हितोपदेश १७: २२–२३
Discussion about this post