बुधवार, जुलाई ६, असार २२
‘जसले पुत्रमाथि विश्वास गर्छ, त्यससित अनन्त जीवन छ।’ —यूहन्ना ३:३६
ख्रीष्टलाई चुन्नुहोस्
तपाईंले विगतमा जतिसुकै धेरै गलत छनोटहरू गर्नुभएकोभए तापनि, एउटै असल छनोटले तपाईंलाई छुट्कारा दिन सक्छ— आफ्नो जीवन ख्रीष्टमा समर्पण गर्ने र उहाँलाई पछ्याउने तपाईंको छनोटले। एक जना लेखकले लेखेका छन्ः ‘ख्रीष्टका छेउमा किन दुईओटा क्रुस थिए भनी कहिल्यै विचार गर्नुभएको छ ? अथवा ख्रीष्ट किन बिचमा हुनुहुन्थ्यो होला ?
ती दुईओटा क्रुसले परमेश्वरका सबैभन्दा ठूला उपहारमध्ये एउटालाई जनाउँछन्— छनोट गर्ने उपहार। ती दुई जना चोरमा धेरै कुरा समान थिएः
एउटै व्यवस्थाबाट दोषी ठहरिएका,
एकै प्रकारको मृत्युदण्डको सजाए पाएका,
एउटै भिडद्वारा घेरिएका,
अनि एकै ख्रीष्टका उत्तिकै नजिक।
वास्तवमा, ती दुवैले एउटै व्यंग्य गरेका थिए; दुवैले येशूलाई क्रूर वचन बोलेका थिए। तर तिनीहरूमध्ये एक जना परिवर्तन भयो। त्यसले भन्यो, ‘“हे येशू, तपाईं आफ्नो राज्यमा आउनुहुँदा मलाई सम्झनुहोस्।” येशूले त्यसलाई भन्नुभयो, “साँच्चै म तिमीलाई भन्दछु, आजै तिमी मसित स्वर्गलोकमा हुनेछौ”’ (लूका २३:४२–४३)। त्यो चोर परिवर्तन हुनसक्यो भनेर हामी आनन्दित हुन्छौँ, तर त्यसरी परिवर्तन नभएको चोरलाई पनि हामीले बिर्सनु हुँदैन। हामीलाई डराउन कतिपय समयमा परमेश्वरले चट्ट्याङ पठाउनुहुन्छ। कतिपय समयमा हामीलाई लोभ्याउन वा आकर्षित गर्न उहाँले आशिष्हरू पठाउनुहुन्छ। तर कहिले कहीँ हामीले आफ्नो अनन्त कहाँ बिताउँछौ भन्ने बारेमा छनोट गर्ने हाम्रो स्वतन्त्रताको कदर गर्दै केही पनि नपठाई उहाँ चुपचाप रहनुहुन्छ। छनोट गर्ने अवसरभन्दा महान् अवसर हामीले कहिल्यै पाएका छैनौँ। पश्चात्ताप गर्ने चोरको बारेमा विचार गर्नुहोस् त। उसको बारेमा हामीलाई धेरै कुरा थाहा छैन, तर हामीलाई यो थाहा छः आफ्नो एउटै मात्र असल छनोटद्वारा उसले आफ्ना सबै गलत छनोटहरूबाट छुटकारा पायो। उसले ख्रीष्टलाई चुन्यो !’ अनि आज तपाईंले पनि त्यो छनोट गर्न सक्नुहुन्छ। ‘जसले पुत्रमाथि विश्वास गर्छ, त्यससित अनन्त जीवन छ।’
आत्मिक भोजनः १ शमुएल २४–२६, मत्ती २५: १–१३, भजन १२२, हितोपदेश १७: १८–२१
Discussion about this post