मंगलवार, जुलाई ५, असार २१
‘झ्यालखानका जम्मै ढोकाहरू उघ्रिए।’ —प्रेरित १६:२६
बाइबलले भन्दछः ‘आधा राततिर पावल र सिलास प्रार्थना गर्दै परमेश्वरका भजन गाइरहेका थिए…तब एक्कासि एउटा ठूलो भैँचालो गयो, र झ्यालखानका जगहरू हल्लिए, र तुरुन्तै जम्मै ढोकाहरू उघ्रिए, र सबैका बन्धनहरू खुले’ (पद २५–२६)। प्रशंसाले ढोकाहरू खोलिदिन्छ। प्रशंसाले साङ्लाहरू तोडिदिन्छ। परिस्थितिहरू जस्तोसुकै भए तापनि जब तपाईंले पमेश्वरको प्रशंसा गर्नुहुन्छ, तब स्वर्गका शक्तिहरू तपाईंलाई सहायता गर्न आउँछन्। तपाईंले भन्नुहोला, ‘तर कहिले कहीँ मलाई परमेश्वरको प्रशंसा गर्न मनै लाग्दैन।’ भजनकारले लेखेका छन्, ‘हरसमय म परमप्रभुको प्रशंसा गर्नेछु’ (भजन ३४:१)। कहिले कहीँ प्रशंसाचाहिँ परमेश्वरको भलोपनप्रति हाम्रो भावनात्मक प्रतिकृया हुन्छ; कहिले कहीँ यो तपाईंको निर्णयको काम हो। असल समयमा कसैले पनि परमेश्वरको प्रशंसा गर्न सक्छ। तर जब तपाईंले आफ्ना भावना र परिस्थितिहरूभन्दा माथि उठ्नुपर्ने हुन्छ, तब मात्र यो साँच्चै अर्थपूर्ण हुन्छ। यरीहोको युद्धले हामीलाई सिकाउँछ कि कहिले कहीँ हामीले यस्ता प्रतिकूल परिस्थितिमा पनि ठूलो स्वरमा परमेश्वरको प्रशंसा गर्नुपर्छः
१) जब तपाई इँटाको पर्खालको सामना गर्नुहुन्छ।
२) तपाईंले त्यत्तिकै चक्कर मार्दै हुनुहुन्छ भन्ने लाग्छ।
३) तपाईंका परिस्थितिहरूले तपाईंको हाँसो उडाएजस्तो देखिँन्छ।
४) तपाईंको दिमागले ‘यो योजना काम लाग्दैन’ भन्ने विचार गर्छ।
५) तपाईंले त्यो काम गर्न कत्ति पनि नचाहनुभएको समयमा पुग्नुहुन्छ।
तर जब तपाईंले यी प्रतिकूल परिस्थितिका माझमा पनि परमेश्वरको प्रशंसा गर्नुहुन्छ, तब तपाईंले नहेम्याहका यी वचनको सत्यता पत्ता लगाउनुहुनेछः ‘परमप्रभुको आनन्द (उहाँ तपाईंसँगै हुनुहुन्छ र तपाईंको पक्षमा काम गर्न तपाईंभन्दा अघि जानुभएको छ भन्ने कुरा थाहा पाउँदा आउने आनन्द) नै तिमीहरूको बल हो’ (नहेम्याह ८:१०)। यदि तपाईं भावना र परिस्थितिहरूद्वारा निर्देशित हुनुहुन्छ भने, तपाईंको जीवन उथलपुथल वा अनिश्चित हुन्छ। तर यदि तपाईंले आफ्ना परिस्थितिहरूभन्दा माथिका प्रभुतर्फ हेर्नुहुन्छ र उहाँको प्रशंसा गर्नुहुन्छ भने, तपाईं कमजोरीबाट सामथ्र्यतर्फ बढ्नुहुनेछ।
आत्मिक भोजनः १ शमूएल २०: ३०–२३:२९, मत्ती २४: ३६–५१, भजन ११०, हितोपदेश १७: १५–१७
Discussion about this post