बिहीवार, जुन ३०, असार १६
‘हामीले दैत्यहरू देख्यौँ…उनीहरूका सामु त हामी आफैलाई फटेङ्ग्राजस्तै लाग्यो ’ —गन्ती १३:३३
तपाईं जहाँ जानुभए तापनि, तपाईंले आफ्नो मानसिकता आफूसँगै लिएर जानुहुन्छ। मिश्रदेशमा चारसय वर्ष दासका रूपमा बिताएपछि, इस्राएलीहरूमा दास मानसिकता विकास भएको थियो। तिनीहरू त्यति लामो समयसम्म शासित भएका हुनाले, तिनीहरू कहिल्यै निर्णय लिने मानिसहरू बन्न सिकेनन्। अरू मानिसहरूले तिनीहरूलाई काम अह्रादा मात्र तिनीहरूले राम्ररी काम गर्न सक्थे। फलस्वरूप, जब तिनीहरू प्रतिज्ञाको भूमिको नजिक पुगे र तिनीहरूका अगुवाले बाह्रजना गुप्तचरलाई त्यस ठाउँको बारेमा बुझ्न पठाए, तब दस जना फर्किआएर यसो भने, ‘त्यस देशका बासिन्दाहरू दैत्यजस्ता रहेछन्। उनीहरूका सामु हामी फटेङ्ग्राजस्तै रहेछौं।’ तर तिनीहरूमध्येका दुई जना गुप्तचर, यहोशू र कालेबले परमेश्वर आफूहरूसँग हुनुहुन्छ भन्ने कुरा बुझेका थिए। त्यसैकारण तिनीहरूले यस्तो प्रतिवेदन दिए, ‘त्यस देशका बासिन्दाहरू हाम्रा सामु फटेङ्ग्रा जस्ता रहेछन्। हामी तिनीहरूलाई सजिलै जित्न सक्छौँ’ (पद ३०)। यहोशू र कालेबले कुनै पनि कुरालाई परमेश्वरको दृष्टिकोणबाट हेर्ने क्षमता विकास गरेका थिए। हो यही कुराले सफलता र असफलता बीचको भिन्नता ल्यायो— अनि यही एउटा रहस्यले तपाईंको संसारलाई पनि परिवर्तन गरिदिनेछ। तपाईंले गरुड झैं ‘माथि–माथि उड्न’ (यशैया ४०:३१) अनि प्रत्येक परिस्थितिलाई उच्च दृष्टिकोणबाट अर्थात परमेश्वरको नजरबाट हेर्न सिक्नुहुनेछ ! तपाईंले शैतानको पराजयको चित्रलाई हेर्न छोडेर परमेश्वरको सफलताको चित्रमा केन्द्रित हुनुहुनेछ। प्रतिज्ञाको भूमिमा प्रवेश गर्न यो तपाईंको टिकट वा अनुमति पत्र जस्तै हो ! यसकारण, तपाईंले के चाहनुहुन्छ त्यो कुरा बोल्न सुरु गर्नुहोस्, तपाईंलाई कुन कुराको डर लाग्छ, त्यो होइन (हेर्नुहोस् भजन १०७:२)। तपाईंका आशाका कुराहरू बोल्नुहोस्— तपाईंका डरका कुरा होइन। यो चाहिँ सकारात्मक सोच राखेर भौतिक परिस्थिति बदल्ने कुरा वा चल्तीमा रहेको मनोविज्ञान मात्र होइन। यो त यस्तो घोषणा गर्दै परमेश्वरको वचनमा खडा हुनु होः ‘परमेश्वरले म जे हुँ भन्नुहुन्छ म त्यही हुँ…परमेश्वरले मसँग जे छ भन्नुहुन्छ मसँग त्यही छ…अनि परमेश्वरले मैले जे गर्न सक्छु भन्नुहुन्छ, म त्यो गर्न सक्छु !’ (हेर्नुहोस् फिलिप्पी ४:१३)।
आत्मिक भोजनः १ शमुएल ११–१३, मत्ती २३:२३–३९, भजन ९८, हितोपदेश १७: १–३
Discussion about this post