बिहीवार, जुन २३, असार ९
‘यदि कसैले यस पहाड़लाई भन्यो भने।’ —मर्कूस ११:२३
के तपाईंले सामना गरिरहनुभएको समस्या तपाईंको निम्ति पहाड जस्तै देखिन्छ ? येशूले भन्नुभयो, ‘साँच्चै…यदि कसैले आफ्नो हृदयमा शङ्का गर्दैन तर आफूले भनेका कुरा पूरा हुन्छ भनी विश्वास गरेर यस पहाड़लाई “उखेलिएर तँ समुद्रमा खस्” भन्यो भने, त्यसको निम्ति त्यस्तै हुनेछ। यसकारण…तिमीहरूले प्रार्थनामा जेसुकै माग्छौ, सो पाएका छौं भन्ने विश्वास राख, र त्यो तिमीहरूको हुनेछ। जब तिमीहरू प्रार्थना गर्न खड़ा हुन्छौ, तब कसैको विरुद्धमा तिमीहरूको केही छ भने क्षमा गर, ताकि स्वर्गमा हुनुहुने तिमीहरूका पिताले पनि तिमीहरूका अपराधहरू क्षमा गरिदिऊन्। तर क्षमा गरेनौ भने…तिमीहरूका पिताले पनि तिमीहरूका अपराधहरू क्षमा गर्नुहुनेछैन’ (पद २२–२६)। यहाँ प्रार्थनाको उत्तर कसरी पाउने भन्ने बारेमा येशूले हामीलाई तीनओटा चाबी दिनुभएको छ।
१) आफ्नो समस्यामाथि परमेश्वरको वचन बोलिरहनुहोस्। ‘मेरो वचन मकहाँ व्यर्थै फर्कनेछैन, तर मैले इच्छा गरेको काम त्यसले पूरा गर्नेछ, र जुन कामको निम्ति म त्यसलाई पठाउँछु, त्यसमा त्यो सफल हुनेछ’ (यशैया ५५:११)।
२) आफ्नो विश्वासलाई खुवाइराख्नुहोस् र आफ्ना शङ्कालाई भोकै राख्नुहोस्। ‘तिमीहरूले प्रार्थनामा जेसुकै माग्छौ, सो पाएका छौं भन्ने विश्वास राख, र त्यो तिमीहरूको हुनेछ’ (मर्कूस ११:२४)।
३) क्षमा गरिरहनुहोस्। ‘तिमीहरू प्रार्थना गर्न खड़ा हुन्छौ, तब कसैको विरुद्धमा तिमीहरूको केही छ भने क्षमा गर’ (पद २५)। तपाईंले क्षमाहीनतालाई आफ्नो हृदयमा राख्नुभयो भने तपाईंको जीवनका पहाडहरूलाई हटाउन सकिँदैन। तपाईंका प्रार्थनाको उत्तर दिने परमेश्वरको तत्परता तपाईंलाई चोट पार्ने व्यक्तिलाई क्षमा गर्ने तपाईंको तत्परतामा भर पर्दछ। यसकारण आफैलाई सोध्नुहोस्ः के तितोपन पालिरहनु उचित छ त ? बर्नाड मेल्टसरले भनेका छन्, ‘क्षमा गर्नुहुँदा तपाईंले विगतलाई कुनै पनि रूपमा परिवर्तन गर्नुहुन्न, तर तपाईंले भविष्यलाई चाहिँ अवश्य परिवर्तन गर्नुहुन्छ।’ तपाईंलाई चोट पुर्याउने व्यक्ति क्षमाको योग्य छ भन्ने कुरा तपाईंले ठान्नुभए वा नभए तापनि, तपाईंंको आफ्नै लागि क्षमा गर्नुहोस्— ताकि पहाडहरू हटाउन सकियोस्।
आत्मिक भोजनः २ कोरिन्थी ११: १६–१३:१४, मत्ती २२: १–१४, भजन १७, हितोपदेश १६: १२–१५
Discussion about this post