मंगलवार, जुन २१, असार ७
‘यदि तिमीहरूमध्ये कसैलाई बुद्धिको अभाव छ भने त्यसले परमेश्वरलाई मागोस् ।’ —याकूब १:५
हिजो हामीले अटेरी बालबालिकाहरूको तुलनामा आज्ञाकारी बालबालिकाहरूको बारेमा चर्चा गरेका थियौँ । दुई वा सोभन्दा धेरै सन्तान भएका हरेक बाबुआमाले घटीमा पनि तीमध्ये एउटा यस्तो प्रकारको सन्तान पाएको हुन्छ । जब एउटा सन्तान बिस्फोटक हुन्छ र अर्कोचाहिँ सबैको प्रिय हुन्छ, तब सहयोगी र भद्र स्वभावको सन्तानलाई हलुका रूपमा लिइने वा ऊ छँदैछ नि भन्ने प्रकारले विचार गरिने सम्भावना रहन्छ । यदि कुनै मन नपर्ने काम छ भने, त्यस्ता सन्तानले त्यो काम गरून् भन्ने अपेक्षा गरिन्छ, किनभने आमाबुबासँग अटेरी सन्तानसँग वादविवाद गर्ने शक्ति हुँदैन । जब कुनै बालबालिकाले बलिदान गर्नु पर्ने वा कुनै कुरा प्राप्त नगरिकनै रहनु पर्ने हुन्छ, तब त्यस्तो समयमा कम विरोध वा गुनासो गर्ने बालबालिकालाई त्यसो गर्न चुन्ने प्रवृत्ति हुन्छ । यी परिस्थितिहरूमा, आज्ञाकारी बालबालिकालाई नकारात्मक असर परिरहेको हुन्छ । यस्तो अन्यायपूर्ण व्यवहारको नतिजा छिट्टै प्रकट हुन्छ । यस्ता जिम्मेवार बालबालिका पछि गएर रिसालु बन्छन् । तिनीहरूमा भित्रभित्रै कमजोरी र घृणाको भाव उम्लिरहेको हुन्छ । तिनीहरू उडन्ता–पुत्रको कथामा भएको जेठो दाज्यूजस्तै हुन्छन् (हेर्नुहोस् लूका १५:११–३२) । उसले आफ्नो बाबुको विरुद्धमा विद्रोह त गरेन, तर उसलाई आफ्नो गैह्रजिम्मेवार भाइलाई देखाइएको वास्ता मन परेको थिएन । त्यो एक आम वा प्रतिनिधि भावना हो ! त्यसैकारण तपाईंले आफ्नो आज्ञाकारी सन्तानसँग सन्तुलित तरिकाले व्यवहार गर्न प्रयत्न गर्नुपर्छ । तिनीहरूले उचित वास्ता पाएका छन् भन्ने कुरा निश्चित गर्नुहोस् । तिनीहरूका हेपाहा दाज्यूभाइ–दिदीबहिनीहरूको सामना गर्ने उपाय पत्ता लगाउन तिनीहरूलाई सहायता गर्नुहोस् । अनि उचित सीमासम्म, तिनीहरूलाई आफै निर्णयहरू गर्ने अधिकार दिनुहोस् । बालबच्चाहरू हुर्काउनु त्यति सजिलो कुरा छैन । तिनीहरूमध्ये सबैभन्दा ‘सजिला’लाई हुर्काउन पनि तपाईंको सक्दो प्रयास, अनि परमेश्वरको बुद्धिको खाँचो पर्छ । अनि त्यस्तो बुद्धि उपलब्ध पनि छः ‘यदि तिमीहरूमध्ये कसैलाई बुद्धिको अभाव छ भने उदार–चित्तसँग नझर्की दिनुहुने परमेश्वरलाई त्यसले मागोस्, र त्यसलाई त्यो दिइनेछ ।’
आत्मिक भोजनः २ कोरिन्थी ५–८, मत्ती २१: १८–३२, भजन १४४: ९–१५, हितोपदेश १६:४–७
Discussion about this post