बिहीवार, जुन ९, जेठ २७
‘प्रेमको कहिल्यै अन्त्य हुँदैन ।’ —१ कोरिन्थी १३:८
बाइबलले भन्दछ, ‘प्रेमको कहिल्यै अन्त्य हुँदैन ।’ यसबारेमा विचार गर्नुहोस्ः रुपैयाँपैसाले खुसी ल्याउँदैन, प्रसिद्धीले आत्मसम्मान ल्याउँदैन, अनि बदलाले सन्तुष्टी ल्याउँदैन । कहिल्यै पनि असफल नहुने एकमात्र कुरा प्रेम नै हो । संयुक्त राष्ट्र संघमा मदर टेरेसाले विश्वका नेताहरूलाई सम्बोधन गरेपछि तिनलाई सोधियो, ‘विश्वमा शान्ति कसरी स्थापना गर्नसकिएला ?’ तिनले जवाफ दिइन्, ‘घर जानुहोस् र आफ्नो परिवारलाई प्रेम गर्नुहोस् ।’ यदि हामी सबैले त्यसो गर्यौं भने, ‘गुमेको स्वर्ग’ फेरि पाइने छ ! नेपोलियन बोनापार्टको बौद्धिक महानता र बलियो अहंकारले, प्रेमद्वारा नेतृत्व गर्ने कुराको सर्वोच्चताप्रति उनको स्वीकारोक्तिलाई अझ बढी प्रभावकारी बनाएको छ । उनले भनेका छन्, ‘अलेक्जेन्डर, सिजर, चार्लमेन, र म आफैले समेत महान् साम्राज्यहरू स्थापित गर्यौँ । तर हाम्रा क्षमताका सृजनाहरू कुन कुराको जगमा स्थापित थिए ? शक्ति र बलमा । येशूले मात्र प्रेमको जगमा आफ्नो साम्राज्य स्थापित गर्नुभयो, अनि आजसम्म पनि करोडौँ मानिसहरू उहाँको निम्ति मर्न तयार हुन्छन् ।’ कहिले कहीँ अगुवाहरूले शक्ति मात्रै हात पार्न चाहन्छन् । तपाईंले आफैललाई कमजोर नबनाइकन अरूहरूलाई प्रेम गर्न सक्नुहुन्न, यसकारण यस्ता अगुवाहरूले प्रेम प्रकट गर्ने कुरालाई एउटा कमजोरीको रूपमा लिन्छन् । तर तथ्य के हो भने, तपाईंले प्रेम पनि गर्न अनि ‘परिस्थितिअनुसार सबै विकल्पहरु खुल्ला राख्न’ पनि सक्नुहुन्न । साँच्चै प्रेम गर्नुभनेको चाहिँ— चाहे त्यो तपाईंको पति वा पत्नीलाई, तपाईंका छोराछोरीलाई वा तपाईंले नेतृत्व गर्नुभएका मानिसहरूलाई होस्— तपाईंले आफैललाई सम्पूर्ण रूपमा यसरी दिनु हो कि मानिसहरूले तपाईंलाई चोट लागाउन वा इन्कार समेत गर्न सक्छन् । शक्तिशाली भइरहन चाहने व्यक्तिहरू आफूललाई र आफूसँग भएका सबै थोक जोगाउने सिद्धान्तअनुसार चल्छन् । यसको विपरित, साँचो नेतृत्वको आधारभूत सिद्धान्त चाहिँ कुनै पनि सीमा बाँकी नराखी आफैललाई दिइहाल्नु हो । नेतृत्वको आधारभूत गुणको रूपमा प्रेम अब पुरानो भइसकेको जस्तो देखिन्छ, तथापि धर्मशास्त्रअनुसार यो अझै पनि विजयी रणनीति हो । बाइबलले भन्दछ, ‘परमेश्वरले हामीलाई डरको आत्मा दिनुभएको छैन, तर शक्ति, प्रेम र आत्मसंयमको आत्मा दिनुभएको छ’ (२ तिमोथी १:७) । त्यसैकारण त प्रेम विजयी रणनीति हो ।
आत्मिक भोजनः इजकिएल २२–२३, मत्ती १७: १४–२७, भजन १३२: ११–१८, हितोपदेश १५: ५–७
Discussion about this post