आइतवार, मे २२, जेठ ९-
‘धाँदोमा उभिदिने एउटा मानिस तिनीहरूका बिचमा मैले हेरेँ ।’ —इजकिएल २२:३०
तपाईंको प्रतिज्ञाको सन्तान (३)
कहिले कहीँ प्रतिज्ञाको तपाईंको सन्तान विद्यालयमा समस्यामा पर्न सक्छ, गलत साथीभाइको सङ्गतमा फस्न सक्छ, अनि लागूपदार्थ, रक्सी, हुल्लडबाजी, यौन आदिमा लाग्न सक्छ । तपाईंले उसलाई सिकाउनुभएको सबै कुराको विरुद्धमा उसले विद्रोह गर्न सक्छ । तर त्यसको अर्थ उसले अन्त्यमा परमेश्वरप्रति प्रतिकृया जनाउनेछैन र उहाँको इच्छा पूरा गर्नेछैन भन्ने हुँदैन । टार्सस निवासी शाऊल पावल बन्नुभन्दा पहिले, परमेश्वरले तिनलाई घोडाबाट फालिदिनुपर्यो , तिनका मित्रहरूका सामु तिनलाई नम्र तुल्याउनुपर्यो, अनि तिनलाई केही समयको लागि दृष्टि बिहीन् समेत बनाउनुपर्यो । त्यस दिन दमस्कसको बाटोमा टार्ससका शाऊललाई येशूले के भन्नुभयो, तपाईंलाई सम्झना छ ? ‘सुइरोमा लात्ती हान्दा तिमीलाई नै घोच्छ’ (प्रेरित ९:५) । कहिले कहीँ तपाईंको प्रतिज्ञाको सन्तान सजिलैसित सही बाटोमा आउँछ । कहिले कहीँ भने ऊ लात्ती हान्दै र चिच्याउँदै आउँछ; तर त्यत्ति चाँडै त होइन ! तिनको गलत सोचाइलाई हटाउन र उहाँको वचनको सत्यताद्वारा तिनलाई ठीकठाक बनाउन परमेश्वरले पावललाई तीन वर्षको लागि मरुभूमिमा लानुभयो । तिनको बोलावटको निम्ति तिनलाई सुसज्जित पार्न त्यसो गर्नु आवश्यक थियो । यसकारण, तपाईंको प्रतिज्ञाको सन्तान मरुभूमिमा हराएको जस्तो, आफ्नो भविष्यप्रति लापरबाह भएको जस्तो, वा धूलोमा मिसिएको जस्तो देखिँदा हतास नहुनुहोस् । परमेश्वरले अझै पनि काम गरिरहनुभएको छ । यस्तो अवस्थामा तपाईंले के गर्नु पर्छ त ? परमेश्वरले भन्नुभयो, ‘पर्खाल निर्माण गरिदिने र…मेरो सामुन्ने धाँदोमा उभिदिने एउटा मानिस (वा स्त्री) तिनीहरूका बिचमा मैले हेरेँ’ (इजकिएल २२:३०) । तपाईंको सन्तानको वरिपरि सुरक्षाको प्रार्थनाको पर्खाल बनाउनुहोस् । ‘धाँदोमा उभिनुहोस्’ र उनीहरूमाथि परमेश्वरको वचन बोल्दै प्रार्थना गर्नुहोस् । येशूले प्रतिज्ञा गर्नुभयो कि तपाईंले यहाँ पृथ्वीमा अधिकारसहित प्रार्थना गर्नुहुँदा, उहाँले तपाईंको पक्षमा स्वर्गलाई चलाउनुहुनेछ (हेर्नुहोस् मत्ती १८:१९) ।
आत्मिक भोजनः आदम÷येशू उत्पत्ति २: ७–२५, १ कोरिन्थ १५:३९–५५
Discussion about this post