शुक्रवार, मे, २०, जेठ ७
‘शैतानले तिमीलाई चाहेको थियो…तर मैले तिम्रो निम्ति प्रार्थना गरेको छु ।’ —लूका २२:३१–३२
तपाईंको प्रतिज्ञाको सन्तान (१)
तपाईंको समस्या खडा गर्ने सन्तान भोलि गएर प्रतिज्ञाको सन्तान हुनसक्छ ! उसको निम्ति परमेश्वसँग एउटा विशेष् भविष्यको योजना छ । यसैकारण त उसको जीवनमा त्यति धेरै नाटकीय कुराहरू भएका छन् । उसको सम्भाव्यता देखेर नै शैतानले उसलाई आक्रमणको निशाना बनाएको हो । शैतानले उसको निम्ति परमेश्वरको योजना बुझेको छ र त्यसलाई रोक्न त्यो लागिपरेको छ । के शैतानले त्यसो गर्छ होला ? हो ! उहाँहरू दुवैजनाको उमेर दुई वर्ष पुग्नुभन्दा पहिल्यै त्यसले मोशाकहाँ पुग्न फारोलाई प्रयोग गर्यो भने येशूकहाँ पुग्न होरोदलाई । किन होला ? किनभने एक दिन उहाँहरू छुटकारा दिने जनका रूपमा खडा हुनुहुने थियो अनि परमेश्वरको योजना पूरा गर्नुहुने थियो । त्यसैगरी, भविष्य बोकेको तपाईंको सन्तानलाई पनि शैतानले आक्रमण गर्नेछ । पावलले भनेका छन्, ‘मेरो जन्म हुनुअघि नै मलाई बोलाउनुहुने परमेश्वरलाई…अन्यजातिहरूका बिचमा उहाँको वचन प्रचार गर्नलाई आफ्ना पुत्र ममा प्रकट गराउन उहाँलाई खुसी लाग्यो’ (गलाती १:१५–१६) । तर येशूलाई भेट्नु र सही मार्गतिर चल्न सुरु गर्नुअघि पावलले आफ्नो जीवनका पहिला तीस वर्ष गलत मार्गमा चल्दै बिताए । त्यसकारण प्रतिज्ञाको सन्तानको अभिभावकका रूपमा तपाईंले के गर्नु पर्छ त ? उनीहरूका निम्ति प्रार्थना गर्नुहोस् ! पछि गएर पत्रुसले पूरा गर्ने विशिष्ट योजना अनि तिनको विरुद्धमा शैतानले गर्ने आक्रमणको बारेमा थाहा पाएर नै येशूले पत्रुसलाई भन्नुभयोः ‘शैतानले तिमीलाई गहूँजस्तै निफन्ने अनुमति मागेको छ, तर मैले तिम्रो विश्वास नडगमगाओस् भनेर तिम्रो निम्ति प्रार्थना गरेँ, र फेरि तिमी मतर्फ फर्केपछि तिम्रा भाइहरूलाई स्थिर गराऊ’ (लूका २२:३१–३२) । तपाईंका सन्तानहरू सानै हुँदा उनीहरूमाथि तपाईंका हात राखेर उनीहरूका जीवनमा परमेश्वरको वचन बोल्नुहोस् । अनि उनीहरू किशोर अवस्थामा प्रवेश गरेपछि पनि प्रार्थना गरिरहनुहोस् र उनीहरूमाथि परमेश्वरको आशिष् बोल्नुहोस् । तपाईंको प्रतिज्ञाको सन्तानको निम्ति संघर्ष गर्नुहोस् ! आत्मिक भोजनः न्यायकर्ता ७: १–९:३३, मत्ती १२: १५–२१, भजन ९७, हितोपदेश १३: ९–१०
Discussion about this post