संसारमा सबै कुरा अर्को पनि पाइन्छ रे, तर आमा बाबा पाइन्न रे । आमाबाबा भनेका ईश्वरसमान हुन्छन् रे !
आमा बाबा, तपाईं दुई जनाको माया देखेर नजल्ने को नै पो होला र ? तपाईंहरूको मायाको निशानी म आमाको कोखमा आएको दिनदेखि नै मैले अनेक सपना बुन्न थालें । यो सोचेर अचम्भित भएँ कि म जन्मेको दिन तपाईंहरू कति खुसी हुनुहोला? सायद इष्टमित्र र छरछिमेकी बोलाएर उत्सव मनाउनुहुन्छ होला । अनि मेरा निम्ति कपडाहरू, कोक्रो र अरू अनेकौं सामानहरूको जोहो गर्न थाल्नुहुन्छ होला । अँ, अहिले नै म भनिराख्छु : किन हो कुन्नि मलाई पिंक कलर साह्रै मन पर्छ । सायद छोरीको जात जनाउन खोजेकी हुँला ।
मेरो जन्मको उत्सव मनाउन आउनुहुने सबैलाई मेरो गाला नचिमोट्नुस् भनेर भनिदिनुहोला । चिमोट्दा मलाई साह्रै दुख्नेछ । सबैले मलाई हेरेर कति राम्री छोरी भन्छन् होला, त्यो सुनेर म पनि खुसीले गदगद बनुँला । मलाई काखमा लिन चाहनेहरूको सितिमिति पालो नै नआउला ।
आमा बाबा, म तपाईंहरूको घरको उज्यालो बत्ती बनेर आउँदैछु । बाबा थाकेर आएको बेलामा म तोते बोलीले हँसाउनेछु, भाँडाकुटी खेलेर आमाको काम पनि थपिदिनेछु । आमाबाबाको बिचमा आफ्ना साना साना हातहरूले दुवै जनालाई समात्दै तातेताते गर्दै हिडौला, कहिले लडौंला । अँ आमा, म साँच्चै तपाईंहरूको खुसी बनेर आउनेछु । म प्रतिज्ञा गर्छु कि म चकचक गरेर तपाईंहरूलाई साह्रै सताउनेछैन । म एक ज्ञानी छोरी बनेर आउनेछु ।
केहि दिनपछी,
आमा, म तपाईंभित्र भएर पनि तपाईंको अनुहार किन दिनप्रतिदिन मलिन बन्दैछ ? तपाईंको नरमाइलो हृदयको स्पर्श म किन थाहा गर्दैछु आमा? सधैं डाक्टर र अस्पतालको गफगाफ भइराखेको मात्रै सुन्छु । आमा, तपाईं बिरामी हुनुहुन्छ हो? तपाईं सन्चो हुनुहुन्न हो? आमा, चाडैं अस्पताल गएर उपचार गराउनुस् ल? म तपाईंलाई औधी माया गर्छु ।
आमा, गर्भपतन भन्ने शव्द पनि यदाकदा सुन्छु नि ? मैले त्यो कुरा राम्ररी बुझिन नि आमा ! म मर्छु कि भनेर चिन्ता गर्नुभएको हो ? नडराउनुस् आमा, मलाई सृष्टि गर्नुहुने सृष्टिकर्ता परमेश्वरले मलाई बचाउनुहुनेछ ।
भोलीपल्ट,
आमा, मैले थाहा पाएँ कि आज तपाईं अस्पताल जाँदै हुनुहुन्छ । डाक्टरलाई सबै कुरा खुलाएर भन्नुहोला । तपाईं जसरी पनि निको हुनु नै पर्छ । म तपाईंलाई निकै माया गर्छु आमा !
अस्पतालमा,
आमा ! तपाईंले किन त्यस्तो कागजमा सही गर्नुभएको ? तपाईंलाई थाहा छैन कि तपाईंले सही गरेकै कारणले उनीहरूले मलाई मार्ने अधिकार पाउनेछन् भनेर ? आमा ! प्लिज मलाई बचाउनुहोस् । तपाईंले मलाई बचाउन सक्नुहुन्छ । मलाई यो संसारमा आउन मन छ आमा । यो संसारमा आएर ठूलो मान्छे बन्ने मन छ । धेरैका निम्ति आशिष ल्याउने छोरी बन्न मन छ आमा । त्यसैले मलाई मर्न नदिनुहोस्, आमा !
एकछिनपछि,
ऐय्या ! मेरो खुट्टा तान्न पो थाले त आमा । मलाई कस्तो पीडा हुँदैछ, तपाईंलाई के थाहा ? जन्मिसकेको बच्चा बिरामी भए रोइकराई गर्दै अस्पताल लैजानुहुन्छ, मलाईचाहिँ किन कोपिलामै टिप्नुहुन्छ आमा ? जन्मेको बच्चा र नजन्मेको बच्चामा किन यति फरक ?
यहाँ म मात्रै मर्दैछैन आमा, यो समाज र देशको भविष्य मर्दैछ । मैले बुनेका तमाम् सपनाहरू मर्दैछन् ।
मैले बाँच्ने अधिकार गुमाएँ, कारण मेरा निम्ति मैले बोल्न सकिनँ । न त मेरा निम्ति बोलिदिने नै कोही भयो । मेरो बिन्ती छ आमा, अर्को सन्तान जन्माउँदा मजस्तै आफ्नो निम्ति बोल्न नसक्ने करोडौं शिशुहरूका निम्ति बोलिदिने एउटा छोरो जन्माउनुहोस् ।
Discussion about this post