
अगुवा हुन लीडर हुन सबैलाई रहर लाग्छ। सबैले मेरो कुरा खाऊन्, मेरो साथ रहून् भन्ने इच्छा लाग्छ। यस्तो इच्छा हुँदा हुँदै पनि कतिपटक आफूले चाहेजस्तो वा सोचेजस्तो हुँदैन। यसको नतिजा मानिस हरेश खान थाल्छन्, एक्लिन थाल्छन् र जीवनमा नियास्रोपन डिप्रेशन पनि हुन सक्छन्। यसकारण, यदि हामी अगुवा वा लिडर हुन चाहन्छौं र त्यो पनि सफल लिडर हुन चाहन्छौं भने हामीले केही कुराहरूलाई ध्यानमा राख्नु जरुरी हुन्छ। ती कुराहरू केके हुन् भनी हेर्न हामी यहोशूको उदाहरणलाई आधार मान्नेछौं, जसले लाखौं इस्राएलीहरूलाई सफलतापूर्वक अगुवाइ गरे र प्रतिज्ञाको देशसम्म पुर्याए।
अब त प्रतिज्ञाको देश पुग्ने भयौं भनेर शायद मानिसहरू उत्साहित थिए होलान्, मनभित्र हर्षले के गरूँ कसो गरूँ भैरहेको बेलामा यहोशूले उत्तेजित लाखौं इस्राएलीहरूलाई शान्त गराउँछन् र एउटा महत्त्वपूर्ण कुरा बताउँछन्:“तिमीहरू आफैलाई पवित्र बनाओ, किनकि भोलि तिमीहरूका बीचमा परमप्रभुले उदेकका काम गर्नुहुनेछ।” यहोशू ३:५ – यसको लगत्तै उनले पूजाहारीहरूलाई अर्को एउटा कुरा भने, यहोशू ३:६– “करारको सन्दूक उठाएर मानिसहरूका अगिअगि हिँड़।” तब तिनीहरूले करारको सन्दूक उठाए र मानिसहरूका अगिअगि हिँड़े।
यहोशूले भनेका यी कुराहरूबाट हामी देख्न सक्छौं कि सफलता प्राप्त गर्न सर्वप्रथम परमप्रभुको सामू आफैलाई चोख्याउनु पर्छ र आफूलाई उहाँमा समर्पण गर्नुपर्छ। पापबाट पश्चाताप नगरी हामी चोखिन सक्दैनौं र हामीमा पाप छ भने हामीले परमेश्वरको आवाज सुन्न सक्दैनौं। यहोशूले परमेश्वरको आवाजलाई सुन्ने कुरो छाने। उनले आफैलाई पनि पवित्र बनाए र आफूले अगुवाइ गर्ने समूदायलाई पनि यस्तै गर्न लगाए।
दोस्रो कुरा, उनले सारा समूदायलाई अगुवाइ गर्न करारको सन्दूक बोक्नेहरूलाई अगाडि पठाए। त्यसबेला करारको सन्दूकले परमेश्वरको उपस्तिथिलाई जाहेर गर्दथ्यो। यसकारण हामी देख्छौं, यहोशूले सफलता प्राप्त गर्न आफै जान्ने भएर, घमण्डले फुलेर म परमेश्वरले छान्नुभएको अगुवा भनेर अगाडि सरेनन् तर नम्रता पूर्वक परमेश्वरको उपस्थिति र अगुवाइलाई र व्यक्तिगत पवित्रताको सवाललाई उनले अघि सारे। यसरी उनले आफू होइन परमप्रभु नै अगुवा हुनलाई छाने। सारा इस्राएलीले त्यो कुरालाई माने।
यहोशूजस्तै सफल अगुवा हुने हो भने हामीले पनि केही कुरालाई ख्याल गर्न आवश्यक छ…
१. उदाहरण हुने: यहोशूले आफै नै इस्राएलीहरूको लागि उदाहरण थिए। त्यसैकारण इस्राएलीहरूले उनलाई खुशीसाथ साथ दिए अनि पछ्याए। यहोशू २:१६–१७ – अनि तिनीहरूले यहोशूलाई यसरी उत्तर दिए, “तपाईंले हामीलाई जे-जे आज्ञा गर्नुहुन्छ त्यो हामी गर्नेछौं, र तपाईंले हामीलाई जहाँ-जहाँ पठाउनुहुन्छ, हामी त्यहाँ जानेछौं। जसरी हामीले मोशाका सबै कुरा मान्थ्यौं त्यसरी हामी तपाईंलाई पनि मान्नेछौं।”
२. जिम्मेवारी बहन गर्ने: आफूले गरेको कामको जिम्मा आफैले लिनुपर्छ भन्ने कुरा यहोशूलाई थाहा थियो। यसैकारण उनले आफ्नो समूदायलाई पनि आफूले गरेको कामको जिम्मा लिन सिकाए। उनले सम्पूर्ण समूदायलाई पश्चाताप गरी पवित्र हुन आव्हान गरेको कुराले यो सिद्धान्तलाई स्पष्ट पार्छ।
३. परमेश्वरको इच्छा खोज्ने: यहोशूले कुनै योजना आफ्नै मनबाट मात्र बनाउँदैनथे। उनी सम्पूर्णरुपमा परमेश्वरमा भरोसा राख्थे र कुनै योजना बनाउनुअगाडि परमेश्वरको इच्छा बुझ्ने गर्थे। उनले सबैभन्दा बढी परमेश्वरमा भरोसा राख्थे, त्यसैकारण उनले समूहलाई डोर्याउनको लागि करारको सन्दूक बोक्नेहरूलाई अगाडि सारे, अर्थात् परमेश्वरको अगुवाइमा आफैलाई समर्पण गरे। किनकि उनलाई थाहा थियो अब उनीहरू जानलागेको बाटोमा उनीहरू कहिल्यै हिंडेका थिएनन्। यहोशू ३: ३–४ – “र मानिसहरूलाई यसो भनेर आज्ञा गरे, “जब तिमीहरूले परमप्रभु आफ्ना परमेश्वरको करारको सन्दूक, र त्यो बोकेर लैजाने पूजाहारीहरू र लेवीहरूलाई देख्छौ, तब तिमीहरू आ-आफ्नो ठाउँ छोड़ेर त्यसको पछि लाग। यसरी जानुपर्ने बाटो तिमीहरूले थाहा पाउँछौ– किनभने त्यो बाटो तिमीहरू पहिले हिँड़ेका छैनौ।…”
४. नम्र भएर आज्ञाकारी हुने: यहोशूले नम्रतामा आज्ञा मानेको कुरा हामी देख्छौं। यहोशू १:२मा परमप्रभुले यसरी आज्ञा गर्नुभयो, “मेरो दास मोशा मर्यो। यसकारण उठ्, तँ यी सबै मानिसहरूलाई लिएर यर्दन पारि मैले इस्राएलीहरूलाई दिन आँटेको देशमा जा।” यही आज्ञालाई मानेर उनले ढीला नगरी आफू लगायत सम्पूर्ण इस्राएलीहरुलाई यर्दन पारि जान तयार गरे। यहोशू १:१०–११। “तब यहोशूले मानिसहरूका अधिकृतहरूलाई हुकुम गरे, ‘छाउनीको बीचबाट गएर मानिसहरूलाई आदेश दिई भन, ‘आफ्ना-आफ्ना खाने सामान तयार गर, किनकि तीन दिनभित्र परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिनुभएको देश अधिकार गर्न तिमीहरू यो यर्दन पारि जानुपर्छ’।”
हामी देख्न सक्छौं कसरी यहोशू आज्ञाकारी भए। हामी हाम्रो नेतृत्वको जिम्मा भित्र आज्ञापालन र नम्रतालाई कतिको महत्त्व दिन्छौं?
५. वचन जान्ने र त्यसअनुसार हिंड्ने: यहोशूले परमेश्वरको वचन जानेका थिए। उनी परमेश्वरको डरमा हिंड्ने मानिस थिए। उनले मानिसको कुरा भन्दा बढी परमेश्वरको कुरा मान्थे। यहोशू १:७–८। “…तँलाई आज्ञा गरेअनुसार सबै व्यवस्था पालन गर्। त्यसबाट दाहिनेतिर वा देब्रेतिर नफर्कनू, र तँ जहीँ गए पनि सफलता पाउनेछस्। व्यवस्थाको यो पुस्तक तेरो ओठबाट नहटोस्, तर त्यसमाथि तैंले दिनरात ध्यान गर्नू अनि त्यसमा लेखिएका सबै कुरा होशियारीसाथ पालन गर्नू, र तेरा सबै मार्गहरूमा तैंले उन्नति गर्नेछस् र सफलता पाउनेछस्।”
त्यसैले यदि हामी पनि सफल अगुवा (लिडर) बन्न चाहन्छौं भने, यहोशूको उदाहरणलाई पछ्याऔं र यी पाँचवटा कुराहरूलाई अङ्कमाल गरौं। निश्चय परमेश्वरले हामीलाई पनि यहोशूलाईजस्तै प्रयोग गर्न सक्नुहुन्छ।
यहोशू ३:७, “अनि परमप्रभुले यहोशूलाई भन्नुभयो, “जसरी म मोशाको साथमा थिएँ त्यसरी नै म तेरो साथमा पनि छु भनी यिनीहरूले थाहा पाउनलाई आजको दिनदेखि सारा इस्राएलीहरूको नजरमा तँलाई उठाउनेछु।”
हितोपदेश ३:५–६ “आफ्नो सारा हृदयले परमेश्वरमा भरोसा राख् र तेरो आफ्नै समझशक्तिमा भर नपर् आफ्ना सारा मार्गमा उहाँलाई सम्झी, र उहाँले तेरा मार्गहरू सोझा तुल्याइदिनुहुनेछ।”
हितोपदेश १६:३ “तैंले गर्ने जुनसुकै कुरा परमप्रभुलाई सुम्पिदे, र तेरा योजनाहरू सफल हुनेछन्।”
र शायद कुनै दिन हामी पनि गर्वसाथ प्रेरित पावलले जस्तै भन्न सक्नेछौं: “मेरो अनुकरण गर्ने होओ, जसरी म ख्रीष्टको अनुकरण गर्दछु।” (१कोरिन्थी ११:१)
Discussion about this post