उर्लाबारी मोरंगमा सम्पन्न सुरुङ्गा गोल्ड कप–२०७२ को फाइनलमा रमपम झापा–११ लाई १-० गोलले हराउंदै चर्च ब्वाइज युनाइटेड काठमाडौं बिजयी भएको छ ।
बुधबार भएको सेमिफाइनल अन्तर्गतको अन्तिम खेलमा चर्च ब्वाइजले घरेलु टोली कन्काई खेलकुद प्रतिष्ठानलाई ३-० गोल अन्तरले हराएपछि झापा र चर्च ब्वाइजको बीचमा आज फाइनल खेल भएको हो ।
चर्च ब्वाइजलाई उपाधि दिलाउन सुमन लामाले गोल गरेका थिए । दोस्रो हाफको २७ औं मिनेटमा जर्सी नम्बर १७ का खेलाडी लामाले गरेको गोल नै निर्णायक बनेको थियो । खेल अवधिभर झापाको टोली निक्कै आक्रमक देखिए पनि गोल गर्न भने सकेन ।
स्मरण रहोस् झापा ११ केहि समयअघि सम्पन्न राष्ट्रिय स्तरको एन्फा कपको बिजेता टोली हो । उक्त प्रतियोगितामा झापा ११ ले सबैजसो राष्ट्रिय स्तरका क्लबहरूलाई हराएर बिजयी बनेको थियो भने चर्च ब्वाइज त्यस प्रतियोगितामा सहभागी थिएन ।
मेची अञ्चलकै सर्वाधिक पुरस्कार राशी रहेको सुरुंगा गोल्डकपको बिजेता चर्च ब्वाइजले २ लाख ५१ हजार १ सय ११ रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ ।
Discussion about this post