नेपाली मण्डलीको अबको मार्गदर्शन : आत्म-निर्भरताको सेवाकाई

[ 0 ] September 16, 2019 |

नेपाली ख्रीष्टिय ईतिहासलाई फर्केर हेर्दा- हामीले एउटा महत्वपूर्ण पाठ सिक्न सक्छौं|  प्रभुले नेपालमा सु-समाचारको ढोका १९५० को दशकमा खोल्नु-भयो | ढोका खोल्नासाथ, युनाईटेड मिशन, टिम मिशन, आइएनएफ  लगायत बिभिन्न मिशन संस्थाहरु सेवाको काम गर्नको लागि नेपाल भित्रिए | शुरुदेखिनै धर्म प्रचारको काम नगर्ने तर सेवाको काम गर्ने भनि तत्कालिन सरकारसंग गरिएको सम्झौता अनुरुप तिनीहरुले प्राय: सेवाको काममा जोड़ दिए| तर प्रभुको सु-समाचार प्रचारको लागि बोझ भएका मिशनरीहरुले भित्र-भित्रै प्रचारगर्न, संगती शुरुगर्न, विश्वासमा आएकाहरुलाई हुर्काउने-बढाउने काममा योगदान पु-र्याए| यसै उद्देश्यका लागि दार्जलिंग, कलिंगपोंग जस्ता क्षेत्रबाट नेपाली मूलका ख्रीष्टियनहरुलाई मिशनमा सेवाको कामगर्न भनि बोलाए | उनीहरुलाई ल्याउनुमा दुईवटा मुख्य करणहरु थियो | पहिलो, उनीहरु दक्ष कामदार थिए, र  दोस्रो, ख्रिष्टियन भएकाले उनिहरुलाई प्रचार-प्रसारगर्न लगाई स्थानीय नेपालीहरुलाई सु-समाचार सुनाई, मण्डली स्थापना गरि प्रभुकोराज्य वृद्धिगर्नु थियो | वास्तवमा त्यस्तैनै भयो | परेमेश्वरले यी नेपाली मूलका विश्वासीहरुलाई नेपालमा सुसमाचारको बिऊ छर्न, अगुवाहरु निर्माण गर्न, मण्डली स्थापना गर्न एक सशक्त माध्यमको रुपमा चलाउनुभयो | शुरुका प्रत्येक नेपालका मण्डलीहरुमा उनीहरुको प्रमूख योगदान देख्छौं | यता मिशनरी र मिशनले उनीहरुलाई जागिर दिएर आर्थिक छाता दिने काम गरे |

जब सुसमाचारको कार्य अगाडी बढ्दै गयो,थुप्रै संगती र मण्डलीहरु स्थापना भए | स्थानीय नेतृत्वको विकास हुन् थल्यो | सु-समाचार प्रचार, चेलापन लगायत नेतृत्व विकासका जिम्मेवारीहरु स्थानीय मण्डलीले नै बोक्न थाले | प्रत्यक्ष अप्रत्यक्ष रुपमा मिशनको प्रमूख काम भनेको स्थानीय नेपाली मण्डली र अगुवाहरुलाई आर्थिक छाता दिने काम गरिनै रहे |

बिशेष १९९० को राजनैतिक परिवर्तन पश्चात, मण्डलीको द्रुत वृद्धि हुन् थाल्यो | सामाजिक सेवाका कामहरु मण्डलीको होईन, मिशनको हो भन्ने मान्यता रहिरहे तापनि,  नेपालका मण्डलीहरुले बिस्तारै उक्त क्षेत्रमा अघि बढ्न थाले | सन २००० को दशकमा आई नपुग्दा नेपालका प्राय: सबै स्थापित मण्डलीहरुले सामाजिक सेवालाई पनि सेवाकाईको एउटा क्षेत्रको रुपमा अघि बढाउने काम गरिरहेका छन | चाहे भूकम्प होस् वा बाढी-पहिरो वा अन्य सामाजिक र प्राकृतिक प्रकोपहरुमा हिजोआज नेपालका मण्डली र ख्रीष्टिय सेवाकाईहरुले खुलेरै सेवा गर्न थालेका छन् | यो सारै सराहनीय कुरा हो| राजनैतिक क्षेत्रमा पनि यी दिनहरुमा निकै सहभागिता देखिन थालिएको छ | अब बिशेष गरि आर्थिक र उधमशीलताको क्षेत्रमा पनि जोड दिनुपने समय आएको छ | नेपाली मण्डलीमा अबको मार्गदर्शन आत्म-निर्भरताको क्षेत्रमा हुनु आश्यक छ | एउटा मण्डलीमा सुसमाचार देखि चेलापन, अगुवापन, मण्डली स्थापना र सामाजिक सेवाका कामहरु अर्को देश र मण्डलीका मानिसहरु आएर पनि गरिदिन सक्छन तर स्थानीय मण्डली आत्मनिर्भर बनिनको लागि आफैबाट प्रयास गरिनु पर्छ, अन्यथा मण्डली पर-निर्भरनै रहिरहने छ| व्यक्तिको हकमा पनि यही नियम लागू हुन्छ| नेपाली विश्वासी र मण्डलीहरुले किन आत्मनिर्भरता र उधमशीलतामा जोड दिने? किनकी..

 

  • यसले आत्मीक सेवकाईका कामहरुलाई बढी प्रभावकारी बनाउछ |
  • यसले सामाजिक क्षेत्रका सेवकाईकालाई श्रोत-साधन दिलाउछ, पर-आश्रितबाट बाहिर निकाल्छ र ख्रिष्टियनहरुलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउछ |
  • यसले ख्रिष्टियन समूदाय र ख्रिष्टियन मण्डलीहरुको पक्षमा बिभिन्न सरोकारका बिषय-हरुमा लबिंग गर्न, राजनैतिक क्षेत्रमा प्रभाव पर्न मद्दत गर्छ |
  • देश र समाजलाई आर्थिक उन्नति र उधमशीलताको बाटोमा अघि बढ्न मद्दत गर्छ |
  • मण्डली भित्र र बाहिरका नयाँ पुस्ताहरुलाई शिर्जनशील र उधमशील हुन टेवा दिन्छ |

 

आत्मनिर्भर मण्डली

जसरी मानिसको जन्म र मृत्यु हुन्छ त्यसरिनै मण्डलीको जन्म र एक दिन त्यसको अन्त्य पनि हुन्छ ! भनिन्छ हरेक बर्ष संसारभरी करीब छ देखि दश हजार चर्चहरु बन्द हुन्छन र त्यो भन्दा धरै जन्मिन्छन पनि | मण्डलीको उमेर, परिपक्कता र प्रकृतिको आधारमा मण्डलीलाई पाँच समूहमा बाढ्न सकिन्छ!  विश्वासगर्ने मण्डली, प्रचारगर्ने मण्डली, चेला बनाउने मण्डली, सेवागर्ने मण्डली  र काम गर्ने मण्डली अर्थात, आत्मनिर्भर मण्डली | मण्डली कति बृहत, कति बालियो र कति लामो समय सम्म रहन सक्छ भन्ने कुरा मण्डलीको प्रकृतिमा भरपर्छ |

  • विश्वासगर्ने मण्डली – यस्तो प्रकारको मण्डली हो जसमा आउने विश्वासीहरु येशूलाई हृदयबाट विश्वास गर्छन, सेवा संगती जान्छन तर प्रचार गर्ने, चेला बनाउने आदि काम गर्दैन्न ! यस्ता प्रकारका मण्डलीहरु ती विश्वासी त्यहाँ रहुन्जेल चलिरहन्छ र उनिहरुको निर्गमन पश्चात प्राय: बन्द वा अर्को मण्डलीमा समाहित हुन्छन | पश्चिमेली मुलूकहरुमा यस्ता मण्डलीहरु प्रशस्तै भेटीन्छ्न |
  • प्रचारगर्ने मण्डली – यस्तो प्रकारको मण्डली हो जसमा आउने विश्वासीहरु येशूलाई हृदयबाट विश्वास गर्छन, सेवा संगती जान्छन र सक्रीय रुपमा सुसमाचार प्रचारगर्ने काम पनि गर्छन | यस्ता प्रकारका मण्डलीहरु संख्यात्मक रुपमा बृद्धि हुदै जाने र कतिपयले छोरी मण्डलीहरु जन्माउने खालका हुन्छन | वास्तविक बाईबलीय चेलापनको अभावमा, अन्तत्वगत्व यस प्रकारको मण्डली कुनै दिन विश्वासगर्ने मण्डलीको रुपमा परिणत भई बन्द वा अर्को मण्डलीमा समाहित हुने हुन्छन |
  • चेला बनाउने मण्डली – यस्तो प्रकारको मण्डली हो जसमा आउने विश्वासीहरु येशूलाई हृदयबाट विश्वास गर्छन, सेवा संगती जान्छन, सक्रीय रुपमा सुसमाचार प्रचार गर्छन, र चेला बनाउने काम पनि गर्छन | यी मण्डलीहरुमा आत्मिक रुपमा विश्वासीहरु बालियो हुदैजाने, संख्यात्मक बृध्दी हुदैजाने, छोरी मण्डलीहरु जन्मिदै जाने र लामो समयसम्म मण्डली अस्तित्वमा रही रहने खालका हुन्छन | यिनीहरु नै वास्तविक रुपमा बाईबलीय मण्डलीहरु हुन |
  • सेवागर्ने मण्डली – यस्तो प्रकारको मण्डली हो जसमा आउने विश्वासीहरु येशूलाई हृदयबाट विश्वास गर्छन, सेवा संगती जान्छन, सक्रीय रुपमा सुसमाचार प्रचार गर्छन, चेलापन गर्छन र सेवका काम पनि गर्छन | यी मण्डलीहरुमा आत्मिक रुपमा विश्वासीहरु बालियो हुदैजाने, संख्यात्मक बृध्दी हुदैजाने, छोरी मण्डलीहरु जन्मिदै जाने, लामो समयसम्म मण्डली अस्तित्वमा रही रहने र समाज र देशमा दीर्घकालीन प्रभाव पार्ने  खालका हुन्छन| नयाँ नियमका प्राय: मण्डलीहरु यस्तै प्रकारका थिए | नेपालका प्राय: मण्डलीहरुलाई यही समूहमा राख्न सकिन्छ |
  • आत्मनिर्भर मण्डली – यस्तो प्रकारको मण्डली हो जसमा आउने विश्वासीहरु येशूलाई हृदयबाट विश्वास गर्छन, सेवा संगती जान्छन, सक्रीय रुपमा सुसमाचार प्रचार गर्छन, चेलापन गर्छन, सेवाका काम गर्छन र आर्थिक रुपमा आत्म-निर्भर हुन्छन| यी मण्डलीहरुमा आत्मिक रुपमा विश्वासीहरु बालियो हुदैजाने, संख्यात्मक बृध्दी हुदैजाने, छोरी मण्डलीहरु जन्मिदै जाने, लामो समयसम्म मण्डली अस्तित्वमा रही रहने र समाज र देशमा दीर्घकालीन प्रभाव पार्ने खालका हुन्छन| यस्ता प्रकारको मण्डलीहरु सम्पूर्ण राष्ट्रको आत्मिक, सामाजिक, भौतिक, आर्थिक, राजनैतिक आदि क्षेत्रहरुमा प्रत्यक्ष/ अप्रत्यक्ष रुपमा नेतृत्व दिने र ठुलो प्रभावपार्ने हुन्छन | शुरूका अमेरिकी र युरोपेली मण्डलीहरुमा यसको उदाहरण देख्न सकिन्छ|

हामीले हाम्रो मण्डली कस्तो प्रकारको बनेको चाहान्छौ, त्यो कुरा हामीले कस्तो प्रकारको विश्वासी उत्पादन गर्दैछौं वा गर्न चाहान्छौ त्यस कुरामा निर्भर हुन्छ| विश्वासगर्ने विश्वासी, प्रचारगर्ने विश्वासी, चेला बनाउने विश्वासी, सेवागर्ने विश्वासी र कामगर्ने विश्वासी अर्थात आत्मनिर्भर विश्वासी ! आजको हाम्रो मण्डली, मिशन, सेवाकाई, प्यारा-चर्च, तालीम केन्द्र,  बाइबल स्कूल/कलेज, सेमिनारिले कस्ता प्रकारका विश्वासीहरु उत्पादन गर्दैछौं त्यसले नै  भोली राष्ट्रको आत्मिक, सामाजिक, भौतिक, आर्थिक, राजनैतिक क्षेत्रहरुमा कस्तो प्रभाव पार्न सक्छौं भन्ने कुरा निर्धारण    गर्दछ | परमेश्वरले मण्डलीमा प्रेरितहरू, अगमवक्ताहरू, प्रचारकहरू, पास्‍टरहरू, शिक्षकहरू र अन्य विभिन्न बरदानहरु  भएका मानिसहरु दिनुभएको छ ताकी एउटा यस्तो मण्डली निर्माण होस (ख्रीष्‍टको शरीर) जसले सेवाको कामगर्न सन्‍तहरू सुसज्‍जित पारून | सेवाको काम भन्नाले आत्मिक र सामाजिक मात्र होइन, विश्वासीहरुले गर्ने हरेक पेशागत काम र सेवाहरु पनि यसमा समेटीएको छ|

मण्डलीलाई आत्मनिर्भरता तर्फ कसरी डो-र्याउने?

मण्डलीको आर्थिक आत्मनिर्भरता मण्डलीमा रहेका विश्वासीकोहरुको आर्थिक आत्मनिर्भरतामा आधारित हुन्छ | मण्डली भनेको विश्वासीजनहरु हुन | जब मण्डलीका अधिकांश विश्वासीहरु आर्थिक रुपमा आत्मनिर्भर बन्छन, तब मण्डली स्वत: आत्मनिर्भर बन्दछ | नेपाल जस्तो विकाशील देशहरुको सबै भन्दा ठुलो समस्या भनेको वेरोजगारी हो | राष्ट्रको अनुपातमा मण्डली भित्र अझै बढ़ी बेरोजगारीको समस्या विधमान छ किनकी विस्वास गर्नेको ठुलो अनुपात गरीब र दुखी समुदायबाट बढ़ी देखिन्छ | त्यसकरण आर्थिक आत्मनिर्भरताको लागि मण्डलीले अझै बढ़ी परिश्रम र चुनौतीको सामना गर्नुपर्ने अवस्था देखिन्छ |

व्यक्ति-व्यक्ति मिलेर मण्डली बन्दछ, त्यसैले व्यक्ति कसरी आत्मनिर्भर बन्न सक्छ भनी हामीले बिचार गर्नुपर्ने हुन्छ | साधारण तया मानिसहरु दुई प्रकारले आर्थिक रुपमा आत्मनिर्भर हुन प्रयत्न गर्द्छ्न | पहिलो, रोजगार वा  जागीर गरेर, दोस्रो रोजगारको श्रृजना गरेर, अर्थात उधम- व्यापार गरेर | जसलाई स्वरोजगार पनि भनिन्छ | र तेस्रो, पैतृक सम्पतिको करणले पनि मानिसहरु आर्थिक रुपमा आत्म-निर्भर हुन सक्छन तर यो नगण्य हुनसक्छ |

मण्डलीमा आर्थिक आत्मनिर्भरताको सेवकाई शुरूगर्न हो भने, विश्वासीहरुलाई रोजगार र स्वरोजगारको लागि सुसज्जित पार्ने कार्यक्रमको आवश्यकता पर्दछ | हालसम्म यो क्षेत्र व्यक्तिको निहित बिषय बस्तु र सरकारको क्षेत्रहो भन्ने मान्यता रहेको पाईन्छ |

रोजगार: मण्डलीमा रहेका प्रत्येक विश्वासीहरुलाई रोजगार र नोकरीको लागि तयार पार्न, स्कूल/कालेज शिक्षाको लागि उत्साह दिने, छात्रवृति कायर्क्रम, ट्यूशन कक्षा चलाउने, जागीर खोज्न मद्दत गर्ने, राम्रो बायो-डाटा बनाउन सिकाउने, शीपमूलक तालीमको आयोजना आदि जस्ता क्रियाकलापहरु गर्न सकिन्छ | यी कुराहरु कति मण्डली आफै त कति स्थानीय सरकारी निकाय र एनजीओसंग मिलेर आयोजना गर्न सकिन्छ | हिजोआज रोजगारको लागि विदेशजाने कुरा बढ्दो छ, यसले मण्डलीलाई पनि ठुलो प्रभाव पारेको छ |  रोजगारको लागि विदेश जानेहरुको लागि पनि केही बिशेष कार्यक्रम राख्नु जस्तै: बैदेशिक रोजगारबाट फर्किएकाहरु द्वारा ओरीन्टेशन, नेटवर्किंग, र महत्वपूर्ण जानकारी आदान-प्रदान जस्ता कार्यक्रम पनि नयाँहरुको लागि ठुलो सहयोग हुनसक्छ | सुचानमा शक्ति छ | जसरी सुसमाचार सुनेर मानिसको जिवनमा ठुलो परिवर्तन आउछ, त्यसै गरि अरुले दिएको असल सूचना र जानकारीहरुले मानिसको जिवनमा ठुलो प्रभाव पार्दछ | मण्डली केवल आत्मिक क्रियाकलापगर्ने स्थान मात्र होईन, तर जिवनमा आवश्यक थुप्रै व्यवहारिक शिक्षा र जानकारीहरु आदान-प्रदानगर्ने ठाऊँ पनि हो | एकजना विश्वासी भाईको अनुभव यस्तो छ:

 पिकनिकको क्रममा एकजना विश्वासी भाईले सानो चिटमा लेखेर दिएको वेवसाईडको नामले मेरो परिवारमा आर्थिक रुपमा ठुलो प्रभाव पारेको छ | त्यो कम्पनीमा निवेदन दिएँ र जागीर पाएँ | विगत ८ बर्ष देखि मैले त्यही कम्पनिमा काम गर्दै आएको छू, जसले कारणले मेरो र परिवारको दैनिक आवश्यकता मात्र होईन घर किन्न पनि मद्दत ग-यो | सुचनामा शक्ति छ |

 

स्वरोजगार: विकासशील देशको अर्को बिशेषता, भनेको र खोजेको बेलामा आफ्नो ज्ञान, शिक्षा, र शीप अनुसारको जागीर नपाउनु हो | जागीर नपाएको खण्डमा के गर्ने? खाली बस्ने? बेरोजगार बस्ने? यसको सही उत्तर हो, जागीरको श्रृजना गर्ने | अर्थात कुनै उधम-व्यवसायको थालानी गर्ने | मण्डलीले आत्मनिर्भरताको क्षेत्रमा गर्नुपर्ने अर्को कुरा भनेको काम नपाएकाहरुलाई उधम-व्यवसाय गर्न उत्साह दिने, शीपमूलक तालीमको आयोजना गर्ने जस्ता क्रियाकलापहरु गर्न सकिन्छ | माथि उप्ल्लेख गरीए जस्तै कतिपय यी कुराहरु मण्डली आफै त कति स्थानीय सरकारी निकाय र सामाजिक संघ-संस्थासंग मिलेर आयोजना गर्न सकिन्छ | मण्डली भित्र विशाल श्रोत र साधनहरु छन | मण्डली भित्र बिभिन्न क्षेत्रमा पेशा र कामगर्ने अनुभवी बिशेष क्षमता, योग्यता, ज्ञान र शीप भएका मानिसहरु हुन्छन | राष्ट्रव्यापी र विश्वव्यापी मण्डलीको हकमा हेर्नेहो भने संभावनाको यहाँ अथाह भण्डार छ | उनिहरुको सही पहिचान र परिचालन गर्न सकेमा यसले सम्पूर्ण मण्डली र बाहिरकाहरु पनि आशीषित हुन सक्छन | यसको लागि मण्डलीमा निरन्तर प्रयास गरिरहनु पर्दछ र यो आशयपूर्ण साथै योजनावध्द रुपमा गरिनुपर्ने हुन्छ | जसरी मण्डलीमा आत्मिक बृद्धिको लागि प्रार्थना, बाल, जवान, आमा, घरेलु संगतीको आवश्यकता भएजस्तै, विश्वासी र मण्डलीमा आर्थिक उन्नतिको लागि “आत्म-निर्भरता” सेवाकाईको आवश्यकता छ | यो सेवकाईको सुरुवात गर्दैमा

मण्डलीमा विधमान सबै आर्थिक समस्याहरु समाधान हुने होईन तर विश्वासीहरुलाई आत्म-निर्भर बन्नको लागि गोरेटो बाटो तयार पार्दछ | एकजना पाष्टरले भन्नुभयो:

 म पाष्टरको रुपमा सेवा गर्दै थिए, मण्डलीले तलब दिने अवस्था थिएन, स्थानीय क्षेत्रमा जागीर खोजे तर पाईन, काठमाण्डौमा पार्टटाइम काम पाएँ तर मण्डली र काठमाण्डौको ८ घन्टा बस यात्राको दूरी र हरेक हप्ता यात्रा गर्नुपर्ने भएकोले व्यवहारिक लागेन र छ महिनामै काम छोड़नु प-र्यो | अब के गर्ने भन्ने तनाव मनमा थियो, प्रार्थनाको बिषय राख्ने क्रममा एकजना विश्वासी दाजूले उत्साह दिनुभयो, “तपाईसंग ठाऊँ छ, तपाई शिक्षित पनि हुनुहुन्छ, किन एउटा स्कूल शुरू गर्नुहुन्न?” विचार राम्रो थियो | कही समय पछि यसले कामगर्न शुरू ग-र्यो | एउटा मन्टेशरी स्कूल खोल्ने विचार आयो | आफुसंग थोरै पैसा थियो, श्रीमतीको गहना बेच्यौं, मण्डलीको एकजना अगुवासंग पनि केहि पैसा सपाट लियौं र स्कूलको उद्घाटन भयो | शुरूको दुईबर्ष निकै संघर्ष भयो, तर पाँचबर्ष पछि फर्केर हेर्दा, काठमाण्डौको जागीरबाट कमाउने भन्दा बढ़ीनै आम्दानी भएको रहेछ | प्रभुलाई धन्यवाद होस | कामले काम सिकाऊँछ भने जस्तै, स्कूलले अरु धेरै कुराहरुको लागि हामीमा आत्म-विश्वास बढायो|                   

 मण्डलीमा प्रार्थना संगती सेवकाईको एउटा क्षेत्र नभए पनि, प्रार्थना त भईरहन्छ नै | तर प्रार्थना संगतलाई पनि मण्डलीको एउटा सेवकाईको क्षेत्र बनाएमा प्रार्थनाको अभियान र यसको प्रभाव ज्यादा देखन सकिन्छ | व्यक्तिगत होस वा सम्पूर्ण मण्डलीव्यापी रुपमा, विश्वासीहरुलाई आर्थिक आत्म-निर्भरताको लागि हौसला, उत्साह, र सहयोग गर्ने क्रिया-कलाप नेपाली मण्डलीमा नभएका होईनन, यो कुरा धेर-थोर भईनै रहेकाछन | यधपि यसलाई मण्डलीको एउटा सेवकाईको क्षेत्रको रुपमा लिएर जान सकिएमा यसको प्रभाव र परिणाममा उल्लेखनीय बृद्धि हुनसक्छ |

 ——————–०००००००००——————

 मेरो आफ्नो बारेमा र किन यो लेख लेख्न प्ररणा मिल्यो भन्ने बारेमा

 करिब तीस् बर्ष अघि मैले प्रभुलाई चिन्ने र विश्वास गर्ने मौका पाएँ | येशूलाई ग्रहण गरेको केहि समय पछी मैले एउटा बुक स्टोरमा कामगर्न सुरु गरें | यो सन् १९९० तिरको कुरा हो | त्यसपछी तानसेन मिशन अस्पतालमा करिब एक बर्ष रिकर्ड क्लर्कको रुपमा पार्ट-टाईम काम गरे |  करीब पाँच बर्ष पाल्पा सामूदायिक स्वास्थ्य तथा विकास कार्यक्रममा काम गरें | त्यसपछि डब्लु.डब्लु.एफ  हुदै वर्ल्ड भिजन, फूड फर हँग्री, माइका नेटवर्क, हर्भेष्टमा गरि  थप करीब  १५ बर्ष सम्म बिभिन्न स्थान र ओहदामा रहेर कामगर्ने मौका पाएँ | शुरु देखिनै, कामसंगसंगै मण्डली र ईसाई क्षेत्रको बिभिन्न सेवाकाईमा सहभागी हुने अवशर पाएँ | मण्डलीमा यूथ मिनिस्ट्री देखि लिएर, बिधार्थी संगती (एनबिसिबिएस्), मण्डलीको डीकन, एल्डर हुदै आफु प्रभुमा जन्मिएको नेपालको एक एतिहासिक तानसेन मण्डलीमा पाष्टरको रुपमा सेवागर्ने अवशर पनि पाएँ|

मैले मेरो पढाई कमर्सबाट शुरु गरें र त्यसै अनुरुप जागीर गरें | तर दश बर्षपछी परमेश्वरले थियोलोजी अध्ययनगर्ने चाहना मनमा राखी दिनुभयो| तत्कालिन वोर्ल्ड भिजनको कामबाट राजिनामा दिई एम्.डिभ. (M.Div) गर्न सपरिवार फिलिपिन्स गएँ | नेपाल फर्के पछी कुनै एनजीओ/आईएनजीओमा काम गर्दै परमेश्वरको सेवागर्ने बिचारले मैले यूनिभर्सिटी अफ फिलिपिन्समा सामुदायिक विकासमा एम्.ए. आध्ययनको लागि भर्ना भए| दुवै अध्ययन पुरा गरेर २००६ मा नेपाल फर्किने क्रममा परमेश्वरले मण्डलीमा रहेर सेवागर्नको लागि मलाई प्रेरणा दिनुभयो र मैले तानसेन मण्डलीमा पाष्टरको रुपमा सेवागर्न शुरु गरें | मण्डलीले हामीलाई भन्यो, हामी तलब दिन सक्दैनौं, त्यसैले हामीले स्कूल र होस्टेल शुरुगर्ने निर्णय ग-र्यौं, जसले गर्दा हामीलाई पावलले जस्तै टेन्टमेकरको रुपमा आत्म-निर्भरभई सेवागर्न निरन्तरता प्रदान ग-र्यो | यही काम-व्यवसायले हामीलाई हाम्रो आर्थिक आवश्यकता पुरागर्न मद्दत ग-र्यो, साथै यसबाट अरुलाई पनि धेरथोर मद्दतगर्न सक्यौं | अनि यसले समाजका विभिन्न स्तर र क्षेत्रका मनिसहरुलाई चिन्न र उनीहरुसंग राम्रो सम्बन्ध स्थापना गर्न पनि मद्दत ग-र्यो |

गत आठ बर्षदेखि DV परेकोले अमेरिकाको एरिजोना राज्यमा सपरिवार बस्दै आएको छु | पेशा गत रुपमा नेपाली र हिन्दी भाषा अनुवादकको रुपमा काम गर्छु | करिब छ बर्ष अधि नेपाली भाषीहरुको बिचमा एउटा मण्डली स्थापना गर्ने अवशर दिनुभयो | त्यसै मण्डलीमा एउटा पाष्टरको रुपमा सेवा गर्दै पनि आएको छु |  यसरी नै बिगत करीब २७ बर्षदेखिको आर्थिक रुपमा आफ्नो खुट्टामा आफै उभिएर, जागीर गर्दै, व्यवसाय गर्दै, आत्म-निर्भर भई परमेश्वरको सेवागर्ने अवशर पाएको छु|

नेपालमा बस्दा र सेवकाईगर्दा अमेरिका लगाएत पश्चिमी देशहरुलाई हेर्ने जुन दृष्टिकोण थियो त्यो त्यहाँ गएपछी परिवर्तन हुँदो रहेछ | विगत छ बर्षसम्म पश्चिमी संस्कृति , मण्डली , त्यहाको विकाश , त्यहाको चुनौती सबै कुरा अलि गहिराईमा गएर बुझ्ने अवशर भयो | त्यही दौरानमा परमेश्वरले मेरो मनमा सधै एउटा प्रश्न घरीघरी राखिदिनु भयो | किन म यहाँ आएँ? किन परमेश्वरले मलाई याहाँ ल्याउनु भयो? मैले यो देश र याहाँका मण्डलीहरुबाट के सिक्नसक्छु? यहाँको अनुभवलाई मैले कसरी मेरो देश र जातिहरुलाई सुनाएर, सिकाएर उत्साहित र आशिषित बनाउन सक्छु? बिगत केहि बर्ष देखिको यो विचार मन्थन र प्रार्थनाको प्रत्युत्तर अनुरुप, परमेश्वरले मलाई नेपाली मण्डली, बिशेष गरि पाष्टर अगुवाहरुलाई आफ्नो टेन्ट-मेकिंग गर्दै सेवाकाई गरेको अनुभव बाँढेर हौसला र उत्साह दिने कुरातर्फ देखाउनुभयो | बिशेष गरि मण्डली आत्म-निर्भरताको लागि उधम-शीलता – Tent-Making बारे बाइबलीय शिक्षा बाँढेर नेपाली मण्डलीलाई सुसज्जित गर्ने प्रेरणा दिनुभयो | त्यसै अनुरुप यस अभियानमा अघि बढेको छू र पहिलो प्रयास स्वरूप यो लेख लेखेको छु | धन्यवाद |

 

बिष्णु रेग्मी

हिमालयन सामुदायिक चर्च

फिनिक्स, एरिजोना

Facebook Comments

Category: Articles, Special


Warning: Use of undefined constant Ihrss - assumed 'Ihrss' (this will throw an Error in a future version of PHP) in /home/nepalchu/public_html/wp-content/themes/nc_theme/footer.php on line 4