सुरक्षित परिवार नेपालको दिक्षान्त समारोह सम्पन्न
प्रकाश घले, काठमाडौं, चैत्र ११, सुरक्षित परिवार नेपाल (Safe Family Nepal) द्वारा आयोजित दीक्षान्त समारोहमा १० जना महिलाहरू (दिदीवहिनीहरू) दीक्षित भएका छन्। सामाखुसी स्थित स्काई रेस्टुरेन्टमा भएको कार्यक्रममा भब्यताकासाथ दीक्षान्त समारोह सम्पन्न भएको छ। सुरक्षित परिवार नेपालले विभिन्न प्रकारका महिला हिंसा, यौन शोषण, समाजबाट घृणित र एकल महिलाहरूलाई सुरक्षा, माया स्नेह, शिक्षा र सीप दिएर आर्थिकरूपमा आत्मानिर्भर हुन सक्ने गराउँछ। सुरक्षित परिवार नेपालले तालिम पूरा गरिसकेपछि दीक्षान्त समारोहको आयोजना गरी प्रमाणपत्र दिएर पुन समाजमा परिवार तथा आफन्तको जिम्मा लगाउने काम गर्दै आएको छ। विगत चारवर्षदेखि सुरक्षित परिवार नेपालले यसपटकको दीक्षान्त समारोहमा विभिन्न स्थानका १० जना दिदीवहिनीहरूलाई सिलाई कटाइ तालिम र ब्यूटि पार्लर तालिममा सक्षम बनाएर परिवारको जिम्मा लगाएको छ।
स्थानीय गोंगबु नेपाली ईसाइ मण्डलीका पास्टर अगुवा तथा परमेश्वरका जनहरूको प्रार्थना र सहायताबाट सुरू भएको सुरक्षित परिवार नेपालले सीपमूलक तालिम तथा शिक्षाहरु दिई शारीरिक, मानसिक रुपमा सबल बनाइ जिउने आधार तयार पारी समाजमा पुनर्स्थापना गराउने कार्य बिगत ४ बर्ष देखि गर्दै आएको छ। कार्यक्रममा दीक्षितहरुले आफ्नो परिवर्तनको कथा सुनाएका थिए, त्यसमध्ये एकजना पहिले दीक्षित भएकि कोपिलाले आफ्नो जीवनको सफलताको कथा बताएकि थिइन्। उनी भन्छिन्, “पहिला आफू जिवनमा अलमलिएको, एकल महिला, रोगी अरुको घरमा काम गर्ने कसैबाट पनि साथ नपाएर भौतारिएकि थिए तर अहिले म परिवर्तन भएकि छु। सक्षम छु सिलाइको काम गरि अरुलाई पनि उत्साह दिइरहेकी छु। ”
एकजना पहिल्यै दीक्षित भएर समाजमा काम गर्दै गरेकि महिलाले सुनाइन, “जब समाजले, परिवारले हेला र घृणा गर्यो, मर्ने प्रयास गरे, मर्न सकिन, न त बाँच्न नै आज यो सुरक्षित परिवार नेपालले दिएको माया योगदानले समाजमा आफ्नो व्यवसायबाट जिबिका चलाउन र सेवा पुर्याउन सक्षम भए।”
कार्यक्रमको बीचमा संस्थाका अध्यक्ष पा.बर्णबास श्रेष्ठ ज्यूले दीक्षित हुनुभएको दिदीबहिनीहरुको लागि उत्साहको वचन बाड्नु भएको थियो, कार्यक्रम संचालिका रन्जना ढुङ्गेलका अनुसार समाज परिवर्तनको सुरुवात आफैबाट गर्नुपर्छ, लडेका दिदीबहिनीहरुलाई उठाएर हामी पुन जीवन दिने काम गर्छौ यसको लागि सबैको साथको जरुरत छ ।
पुर्व दीक्षित दिदिबहिनीहरु, परिवारजन, संघ सस्था का प्रतिनिधिहरु, पास्टर अगुवाहरुको उपस्थितिमा सम्पन्न भएको उक्त कार्यक्रममा सस्थाका सचिव पा मुकुन्द शर्माले कार्यक्रममा मन्तव्य राख्नु भएको थिए । यसरी विविध सास्कृतिक कार्यक्रम सहित भब्यताका साथ सम्पन्न भयो । संस्थाका निर्देशक सुरेन्द्र श्रेष्ठले संस्थाको अवस्था र प्रगति विवरण सुनाउनुभएको थियो।
Category: NC Photos, News & Events