भर्खरै भूइंचालो गयो, गर्यो सर्वस्व नाश, के गर्ने, कललाई भन्ने ? शहर बजार र सदरमुकाम नजिकै केहि राहत वितरण भएकै छ, अलि नाम चलेका गाउंहरुमा पनि केहि राहत महसुस भएकै छ होला, तर, नेपाल त गाउँनै गाउँले भरिएको देश, पहाडी भेकको कुरामा, सबै पहाड मा बस्ति छ भने पनि हुन्छ, अनि अनकन्टार एकान्तमा बस्नेले कसरि राहत समयमा पाउने त? त्रिपाल, चामल, दाल आदि आदि त राहत भैहाले, केवल एकदुई दिनको लागि मात्रै, के त्यसपछि फेरी तेसै गर्ने? की अर्कै कुनै कुरा को राहत दिने?
यो बेलामा सरकार र गैरसरकारी सेवाको बारेमा टिका टिप्पणी र आलोचना गर्नु भन्दा, बरु सकरात्म र उदाहरण दिन मिल्ने खालको सानो तिनो भए पनि राहत पुग्ने, उत्साहित गराउने र असलकामको निम्ति अरुलाई प्रोत्साहन गर्ने खालको बाताबरण सिर्जना गर्नु जरुरि छ। साथै अलिमाथिल्लो स्तरको सोचाई र अलिकति दीर्घकालीन खालको कुरा गर्नु पर्ने देखिन्छ, एक हप्ता मात्रै होइन, कम्तिमा पनि यो बर्खे झरी अनि तेस्पछीको खेतीपाती स्याहार गर्ने समय सम्म राम्रो संग बस्न मिल्ने खालको र सुरक्षित सानो भएपनि घर, छाप्रो, वा जे भनेपनि, बास को ब्यस्बथा गर्न सके भूकम्प पिडित भै घर बिहिन वा उठिबास लागेका हरुकोलागि निकै असल काम हुन सक्थ्यो।
बस्न लाएक गाउहरुमा सके सम्म आफ्नै ठाउँ वा समुदायको बिचमा पुनर्निर्माण गर्नु अति उत्तम, कति गाउँहरु त बस्न लायकको पनि छैनन् रे भन्ने पनि सुनिन्छ, त्यस्ता जोखिममा भएका परिवारहरुलाई अन्य ठाउँहरुमा पुनर्बासको व्यवस्था गर्ने कर्तब्य सरकारको हो र गर्नु पर्छ, अनि सबैले त्यो कुरोमा साथदिन जरुरि छ ।
एक त हतार गरेर काम गर्नु र वर्षाको पानि र झरी बाट जोगिने बास को व्यवस्था गर्नु अत्यन्तै जरुरि छ। अर्को तर्फ पिडितहरुले यो पनि विचार पुर्याउनु उचित हुनेछकि अब गरिने पुनर्निर्माण यदि, दीर्घकालीन बास को लागि हो भने, त्यो कसरि भूकम्प निरोधक हुनसक्छ त्यो तिर ध्यानदिनु जरुरि छ । यता उता जताततै सबै घरहरु गर्ल्याम्म ढलेका छन, ध्वस्त छन तर कुनै कुनै घरहरु ठिङ्ग उभिरहेका छन, किन होला त त्यस्तो भिन्नता? त्यहाँ पक्कै पनि सिक्ने महत्वपूर्ण पाठहरू छन होला।
जे भएपनि जसोगरेपनि प्राकृतिक प्रकोप र बिपत्ति हरु आउँछन नै, तेसैले त्यसको सामना गर्नको निम्ति, पीडितले यो गरे हुन्थ्यो, त्यो गरे हुन्थ्यो भन्दापनि उनीहरुको मुख्य स्रोत के छ, उनीहरुको शिप र कला कस्तो छ, अनि उनीहरुको चाहना र आकांक्षाहरु के के छन, साथै के गरेमा उनीहरुको शक्ति र बल उर्जामा परिणत गर्न सकिन्छ, र उनीहरुलाई लडेको र आशा बिहिन अवस्थामा कसरि आशाबादी बनाउन र सशक्तीकरण गर्न सकिन्छ, त्यो सोच्नै पर्छ।
यो, हामी सहयोगी र दाताहरु हिरो बन्ने बेला होइन, तर, हाम्रा लडेका र पिडितभएका दाजुभाइ तथा दिदीबहिनीहरुलाई कसरि हिरो बनाउन सकिन्छ भन्ने बेला हो, हाम्रो घर, सकेसम्म हामि आफै बनाउनपर्छ भन्ने भावनाको बिकाश गराउन पर्छ । आत्माबल बढाईदिनु पर्छ । अनिमात्र, नेपाल को भबिष्य छ, आउने पुस्ताको बिपत संग लड्ने शक्ति बढ्ने छ, तर, उद्दार, राहत र पुनर्निर्माण सबैमा, अरुकै बाटोमात्र हेर्न लाग्ने र लगाउने र परनिर्भर बनाउने हो भने, त्यसले धेरै हानी गर्नेछ, भबिष्यको पुस्ताको बिपत संग लड्ने क्षमताको कमि हुनेछ, र लडेर जुरुक्क उठ्नुको सट्टा, मलाई उठाउने कोहि भएन, म बिचारा भन्ने हरु धेरै हुनेछन, र त्यस्तो शैली र बाताबरण सबैको निम्ति, दीर्घकालीन रुपमा हानिकारक हुनेछ ।
के गर्दा पिडितहरुले आफुलाई सहयोगको महसुस गर्लान ? कसरि उनीहरु सशक्त होलान? कसरि उनीहरुलाई हिरो बनाउने ? अनि उनीहरुको महत्वपूर्ण घरको पुनर्निर्माणमा कसरि साहश र जाँगर थप्न सकिन्छ होला ? अनि, जे उनीहरुले बनाउने छन, त्यो कसरि ठुलो भूकम्प बाट पनि जोगिन सक्ला?
यसो मनन गरि, एक दुइ विचार लेखिदिनु भएमा एकदम आभारी हुने थिएँ ।
Discussion about this post