![Peter Kamaleshwar Singh](https://nepalchurch.com/wp-content/uploads/2015/02/Peter-k.jpg)
M.Sc., Ph.D., M.ASCE
पाठः मत्ती १६: १३ – २०
परीचय
वचनको यस भागमा हामी मण्डलीले गर्नु पर्ने सेवकाईको एउटा संकेत वा झलक पाउँछौं । बलियो जग, चट्टानको जग जो प्रभु यीशु स्वयं हुनुहुन्छ, माथि मण्डली स्थापित गरीएको छ । मण्डलीलाई नै स्वर्गको राज्य का साँचाहरु दिइएकाछन् । मण्डलीलाई बाँधने र फुकाउने अधिकार र उत्तरदायित्व दिइएको छ । मण्डलीले पृथ्वीमा जे बाँध्नेछ त्यो स्वर्गमा बाँधिनेछ, मण्डलीले जे पृथ्वीमा फुकाउने छ त्यो स्वर्गमा फुकाइने छ । मण्डलीको जिम्मा दिइएको स्वर्गका साँचाहरु र पृथ्वीमा बाँधने र फुकाउने सेवकाई हरु के हुन् र मण्डलीको लागि यसको महत्व के छन् ? प्रभु यीशुको दृष्टिकोणमा अति नै धेरै ।
प्रभु येशूको सेवकाई कालमा स्थापित धार्मिक व्यवस्था पुरानो करार अनुसार मोशाले दिएको व्यवस्थामा आधारित भए पनि त्यसमा धेरै परीवर्तन भैसकेको थियो । मन्दिरको स्थान सभाघरले लिएको थियो भने विभीन्न बलिदानहरु बन्द भैसकेका थिए वा बन्द हुने क्रममा थिए । त्यसको सट्टा पुरानो नियम बाट वचनको पाठ गरिन्थ्यो । यी सकारात्मक परीवत्र्तनका साथै धेरै कुरितीहरु र अन्धविश्वासपनि यहुदीहरुमा व्याप्त थियो । सर्वशक्तिमान जीवित परमेश्वर र उहाँको वचनको प्रभाव क्षीण हुँदै गैरहेको थियो ।
यस्तो समयमा येशुले परमेश्वरको राज्यको प्रचार आरम्भ गर्नुभयो । विगत ४०० वर्ष देखि परमेश्वरले इस्राएल संग बोल्नुभएको थिएन । येशूले मानिसहरुको अघि पश्चाताप गर्ने कुरा, परमेश्वर र मानिसलाई प्रेम गर्ने कुरा गर्दा उनीहरुको लागि एकदमै नौलो थियो । प्रभु येशूको आगमन र सेवकाईको आरम्भ संगै एउटा नयाँ युगको आरम्भ भैसकेको थियो । बप्तिस्मा दिने यूहन्नाको आगमन र सेवकाई व्यवस्थाको सान्दर्भिकताको समापन थियो (मत्ती ११: १३)। येशूले भन्नुभयो, “एउटा नयाँ आज्ञा म तिमीहरुलाई दिँदछुः तिमीहरु एक –अर्कालाई प्रेम गर । तिमीहरुसंग मैले जस्तो प्रेम गरेको छु, तिमीहरुले पनि एक– अर्कालाई त्यस्तै प्रेम गर (यूहन्ना १३: ३४) ।” पुरानो आज्ञा (हरु) येशूको आगमन संगै खारिज भैसकेका थिए । येशूको मृत्यु र पुनरुत्थानले अनुग्रहको वा मण्डलीको युगको स्थापना हुन गैरहेको थियो । मानवजातिकोलागि येशूको रगतमा नयाँ करारको घोषणा हुन गैरहेको थियो । “दोश्रोलाई स्थापित गर्न पहिलोचाहिं उहाँले खारिज गर्नु हुन्छ (हिब्रू १०: ९ख)।” येशूको सेवकाई संगै आरम्भ भएको नयाँ युग अहिले पनि संक्रमणकालमै छ, उहाँको दोश्रो आगमन संगै पुनरुत्थान द्वारा नयाँ युगले पूर्णता पाउँछ र संक्रमणकाल समाप्त हुन्छ ।
प्रभु येशुको सेवकाई
यूहन्ना बाट बप्तिस्मा लिए लगत्तै पवित्र आत्माको भरपुरी पाएर प्रभुयीशु ४० दिनको उपवास र त्यस पछि शैतान बाट परीक्षित हुनुभयो । परीक्षा सके पछि “येशू पवित्र आत्माको शक्तिमा गालीलमा फर्कनुभयो, र उहाँको विषयको कुरा वरिपरिका सबै ठाउँमा फिँजियो। उहाँले सभाघरहरुमा शिक्षा दिन लाग्नुभयो, र सबैले उहाँको प्रशंसा गर्थे ।” (लुका ४: १४, १५) पवित्र आत्माको शक्तिमा उहाँले परमेश्वरको राज्यको शिक्षा दिनुभयो र रोगी बिरामीलाई चंगाई दिएर राज्य सुहाउँदो जीवनको प्रदर्शन गर्नुभयो । यस्तो जीवन जहाँ रोग छैनन्, यस्तो जीवन जहाँ मृत्यु छैन । “अनि येशू तिनीहरुका सभाघरहरुमा सिकाउँदै, राज्यको सुसमाचार प्रचार गर्दै, र मानिसहरुमा भएका हरेक किसीमका रोग र शारीरिक दुर्बलता निको पार्दै सारा गालीलभरि घुमनुभयो । उहाँको कीर्ति सिरयिाभरी फिँजियो, र बिरामीहरु, अर्थात् विभीन्न प्रकारका रोग र पीडाले सताइएका, भूत लागेका, र छारेरोग लागेका, र पक्षाघात भएकाहरु सबैलाई मानिसहरुले उहाँकहाँ ल्याए । उहाँले तिनीहरुलाई निको पार्नुभयो ।” (मत्ती ४: २३, २४) राज्यको सुसमाचार प्रचार र रोगी बिरामीहरुलाई चँगाई, येशूको सेवकाईका दुवै पक्षले मानिसको लागि छुटकारा को घोषणा गर्दै शैतानको राज्यको विरुद्ध युद्धको घोषणा हो ।
यस संसारमा उहाँको आगमन र सेवकाईको उद्देश्यबारे यशायाह अगमवक्ताले अघिनै लेखी सकेका छन्, “परमप्रभुका आत्मा ममाथि छ, किनभने गरीबहरुलाई सुसमाचार सुनाउनका निम्ती उहाँले मलाई अभिषेक गर्नुभएको छ । कैदीहरुलाई छुटकाराको घाषणा गर्न, र अन्धाहरुलाई दृष्टि दिन, थिचोमिचोमा परेकाहरुलाई स्वतन्त्र गराउनका निम्ति उहाँले मलाई पठाउनुभएको छ ।” (लूका ४: १८, १९) धर्मशास्त्रको यो भाग नासरतको सभाघरमा पढेर येशूले त्यहाँ भएका व्यक्तिहरुलाई भन्नुभयो, “आज धर्मशास्त्रको यो वचन तिमीहरुले सुन्दासुन्दै पूरा भएको छ ।” (लूका ४: २१) यशायाहले वर्षौं अघि गरेको यो अगमवाणी प्रभु येशूको सेवकाई संगै पूर्ण भएको छ । तर यो त उहाँको सेवकाईको आरम्भ मात्र थियो । विश्वव्यापी परिदृश्यमा शैतानको साम्राज्य नष्ट गरिन बाँकी छ । यो त गरिरहनु पर्ने सेवकाई हो, सम्पूर्ण मानव जातिको छुटकाराको निम्ति गरी रहनु पर्ने काम हो ।
बाह्र जना चेलाहरु
समय बित्दैजाँदा येशूको सेवकाई र लोकप्रियता बढदै गयो । यसको साथै उहाँको कार्यक्षेत्र पनि बढदै गयो । “त्यस पछि येशू आफ्ना चेलाहरुसंग समुद्रतिर जानुभयो, र गालीलबाट मानिसहरुको ठूलो भीड उहाँको पछि लाग्यो । यहूदिया, यरुशलेम, इदुमिया, यर्दनपारी र टुरोस र सीडोनका वरिपरिबाट मानिसहरुको ठूलो भीड उहाँका अचम्मका कामको कीर्ति सुनेर उहाँकहाँ आयो ।” (मर्कूस ३: ७, ८) येशूको लागि एक्लै यो सेवकाई व्यावहारिक रुपमा पूरा गर्न सम्भव भएन र भविष्यलाई विचार गर्दा पनि यस काम लाई अगाडि बढाई राख्न सहायकहरुको रुपमा चेलाहरुको आवश्यकता देखियो । “त्यस पछि येशू डाँडामा उक्लनुभयो, र उहाँले चाहनु भएका जतिलाई बोलाउनुभयो, र तिनीहरु उहाँकहाँ आए । आफूसंग रहन र प्रचार गर्न पठाउनलाई उहाँले बाह्र जनालाई नियुक्त गर्नुभयो,” (मर्कूस ३: १३, १४) पछि यी बाह्रजना चेलाहरुलाई नै प्रेरित नियुक्त गरियो । (लूका ६: १२, १३)
येशूको सेवकाईको लोकप्रियता बढ्दै जाँदा उहाँको कार्यक्षेत्र पनि बढनु स्वाभाविक थियो । परमेश्वरको राज्य बढदै जाने राज्य हो । मत्तीको १३ अध्याय मा विभीन्न दृष्टान्तबाट प्रभुले सिकाउनु भएको छ । परमेश्वरको राज्यको शिक्षाका साथै अनगिनत आश्चर्यकर्म मानिसले हेरी सकेका थिए । अब चेलाहरुलाई तालीम दिने समय आएको थियो । “तब उहाँले बाह्र चेलाहरुलाई एकसाथ बोलाउनुभयो, र तिनीहरुलाई सबै भूतहरु निकाल्ने र रोगहरु निको पार्ने शक्ति र अधिकार दिनुभयो । उहाँले तिनीहरुलाई परमेश्वरका राज्यको प्रचार गर्न र बिरामीहरु निको पार्न पठाउनु भयो ।” (लूका ९: १, २) प्रभु येशूले गर्नुभएको प्रचार र चंगाई अब चेलाहरुले आफै गर्ने बेला आएको थियो । चेलाहरु र अन्य साधारण मानिसमा केही भिन्नता वा विशेषता थिएन । आफैमा चेलाहरु शक्तिहीन थिए र यो सत्यता येशूलाई थाह थियो । यसैले उहाँले यो विशेष काम गर्नका लागि ‘तिनीहरुलाई सबै भूतहरु निकाल्ने र रोगहरु निको पार्ने शक्ति र अधिकार दिनुभयो ।’ र बल्ल ‘उहाँले तिनीहरुलाई परमेश्वरका राज्यको प्रचार गर्न र बिरामीहरु निको पार्न पठाउनु भयो ।’ बाह्रै पे्ररितहरु आफ्नो नयाँ अधिकारको सदुपयोग गरे र ‘सुसमाचार प्रचार गर्दै र सबै जग्गा रोगीहरुलाई निको पार्दै गाउँ गाउँ गए।’ यिनीहरुको सफलताबाट प्रेरित भएर येशूले अरु सत्तरी जनालाई नियुक्त गर्नु भयो ‘र आफू जान लाग्नुभएको हरेक शहर र गाउँमा आफूभन्दा अगाडी तिनीहरुलाई दुई दुई गरी पठाउनुभयो ।’ (लूका १०: १) पछि ती सत्तरी जना पनि आफ्नो सेवकाईमा सफल भएर फर्कन्छन् र प्रभु येशूलाई आफ्नो सफलताको वर्णन गर्छन् । चेलाहरुले पाएका सफलताले मण्डली युगको भविष्य र मण्डलीलाई येशूले दिन लाग्नुभएको शक्ति र अधिकारको एउटा तश्वीर प्रदर्शन गर्दछ । यो घटनाले येशूलाई अतिनै आनन्दित पारेको थियो । “त्यही बेला येशू पवित्र आत्मामा उल्लसित हुनुभयो, (लूका १०: २१) ।” मानव जातिको निम्ती एउटा सुनौले भविष्यको आरम्भ भैसकेको थियो । पहिलो आदममा गुमेका कुराहरु दोश्रो आदममा पुनसर््थापन हुने समय आइसकेको थियो ।
चेलाहरुको समस्या
येशूको समयमा परमेश्वरका विशेष जातिको रुपमा यहूदी जाति थियो, जसलाई मोशा द्वारा व्यवस्था दिइएको थियो । अनगिनत कुरीति र अन्धविश्वासले जेलीएको यहूदी समाजले अगमवक्ताहरुले विगतमा गरेका अगमवाणी अनुसार एलिया जस्तै एकजना अगमवक्तालाई पर्खी बसेका थिए । जो यीनीहरुलाई मुक्ति दिने थिए, तर अधिकांश व्यक्तिहरुको विचारमा यो मुक्ति पाप बाट हैन तर रोमी साम्राज्यको शासनबाट हुने थियो । बप्तिस्मा दिने यूहन्ना र येशू, दुवैजनालाई उनीहरुले त्यही आशाले हेरेका थिए । बिचरा यहूदीहरु! परमेश्वरको योजना र मानिसको चाहनामा कति अन्तर छ ।
येशूले आरम्भ गर्नुभएको आन्दोलन र दिन लाग्नुभएको क्रान्तिकारी शिक्षाले त्यति बेलाको स्थापित र्धािर्मक अधिकारीहरुलाई विरोधमा उभिन बाध्य गरी दियो । तर उहाँको लक्ष्य त जनसाधारण थिए जसलाई येशूले गोठाला न भएका भेंडाहरु जस्तै हेर्नु हुन्थ्यो र करुणाले उनको ह्दय भरिन्थ्यो । चेलाहरुले पनि साधारण मानिसलाई यस्तै दृष्टिकोणले हेरुन, यहीनै उहाँको चाहना थियो । हामीले दुईटा घटना विचार गर्ने छौं ।
यूहन्नालाई मृत्युदण्ड दिइये पछि येशू एउटा एकान्त ठाउँमा जानुभयो । त्यहाँपनि ठूलो भीडले उहाँलाई पैदलै पछ्यायो । “किनार पुगेर त्यस ठूलो भीडलाई देखी उहाँले तिनीहरुलाई टिठ्याउनुभयो, र तिनीहरुका बिरामीहरुलाई निको पारीदिनुभया (मत्ती १४: १४)।” यो भीड अबेर सम्म येशू संगै रहे र चेलाहरुले भीडलाई बिदा दिन येशूलाई आग्रह गर्दै थिए । “तर येशूले तिनीहरुलाई भन्नुभयो, तिनीहरुलाई जानु आवश्यक छैन । तिमीहरुले नै यिनीहरुलाई खान देओ (मत्ती १४: १६)।” येशूकोे इच्छा थियो चेलाहरुले उहाूँलाई गहिरो गरी चिनुन् र उहाँको सामर्थलाई उपयोग गरी मानिसको बीचमा परमेश्वरको काम गरुन् ।
दोश्रो घटना मत्ती १७ अध्यायमा उल्लेख गरीएको छ । १४ पद देखि १८ पद सम्म वर्णन गरीएको यस घटनामा भूत लागेको एउटा केटालाई उसको बाबुले चँगाईको लागि पहिले चेलाहरुकहाँ ल्याउँछ र उनीहरुबाट निको न भएपछि येशूकहाँ ल्याएर सारा वृतान्त सुनाउँछ । “तब येशूले भन्नुभयो, ए अल्पविश्वासी र भ्रष्ट पुस्ता, कहिलेसम्म म तिमीहरुका साथमा रहनेछु? कहिले सम्म मैले तिमीहरुलाई सहनु? त्यसलाई यहाँ मकहाँ ल्याओ (मत्ती १४: १७) ।” अन्ततः येशू आफैले त्यस भूतात्मालाई हकार्नुभयो र भूतात्मा त्यसबाट निस्कीगयो ।
माथिको दुवै घटनामा चेलाहरुले येशूले आशा गर्नुभएको विश्वास देखाएनन् । आफ्नो सेवकाईको आरम्भ बाटनै येशूले चेलाहरुलाई आफूसंग राखेर तालीम दिनका लागि बोलाउनुभएको थियो । पत्रुसले येशूलाई ख्रीष्टको रुपमा चिनेका थिए, पत्रुस, यूहन्ना र याकुबले येशूको स्वर्गीय स्वरुप पनि डाँडा माथि देखेका थिए । रपनि आफ्नो स्वाभाविक अवस्थाबाट छुटकारा पाउन र विश्वासमा अघि बढन सम्भव भैरहेको थिएन । पत्रुसले येशूलाई तीन पटक इन्कार गरेको र चेलाहरु उहाँ पक्राउ परे पछि तितर बितर भएका घटनाले एउटा बुनियादी समस्या लाई स्पष्ट पार्दछ । चेलाहरुले नयाँ जन्म पाएका थिएनन् ।
मण्डली
मण्डली आरम्भ भएको आज २००० वर्षभन्दा बढी भैसक्दा मण्डलीको विषयमा कुरा गर्न, मण्डलीलाई परिभाषीत गर्न र मण्डली सम्बंधित विभीन्न विषयमा खोज तलाश गर्न सम्भव छ । तर येशूले घोषणा गर्नुभएको मण्डलीको दर्शन र सेवकाई क्रान्तिकारी हुनुका साथै तत्कालीन यहूदी समाज, स्थापित धर्माधिकारीहरु र उहाँसंगै तीन वर्षभन्दा बढी समय रहेका चेलाहरुकालागि पनि अनौठो थियो । येशूले प्रचार गर्नुभएको परमेश्वरको राज्य र जनसमुदायले बुझेको परमेश्वरको राज्यमा जमीन र आकाशको भिन्नता थियो । एउटा पृथ्वीमा स्थापना गरिने स्वर्गको राज्यहो भने अर्को रोमको शासनलाई हटाई ईस्राएलको शासन स्थापना गर्ने हो । चेलाहरुको लागि पनि मण्डलीको परिकल्पना नितान्त अनौठो थियो ।
येशूको समय र सेवकाई पूरा भएपछि उहाँ मारिनुभयो, गाडिनुभयो र तेश्रो दिनमा बौरी उठ्नुभयो । चेलाहरु यहूदीहरुको डरले त्रसित थिए र ढोका बन्द गरेर भित्र बसी रहेका बेला येशू तिनीहरुका माझमा आएर उभिनुभयो । “तब येशू फेरि तिनीहरुलाई भन्नुभयो, तिमीहरुलाई शान्ति! जसरी पिताले मलाई पठाउनुभयो, त्यसरी म पनि तिमीहरुलाई पठाउँदछु । अनि यति भनेर उहाँले तिनीहरुमाथि श्वास फुकेर भन्नुभयो, पवित्र आत्मा लेओ । जसका पाप तिमीहरु क्षमा गर्छौ, तिनीहरुलाई क्षमा हुन्छ, र जसका पाप तिमीहरु क्षमा गर्दैनौ क्षमा हुने छैन (यूहन्ना २०: २१ –२३)।” पिताबाट पठाइएर येशू एक व्यक्तिले आरम्भ गर्नुभएको सेवकाई विश्वव्यापी रुपमा बढनु पर्ने थियो। पिताबाट पाउनुभएका सम्पूर्ण अधिकार येशूले चेलाहरुलाई प्रत्यायोजन गरी पठाउनु हुँदै थियो ।
उत्पत्तिको पुस्तकमा परमेश्वरले भूमीको माटो बाट मानिसको रचना गर्नुभएपछि जीवनको श्वास फुकनुभयो र मानिस जीवित प्राणी भयो (उत्पत्ति २:७)।” येशूले यी चेलाहरु माथि फेरि एक पटक श्वास फुक्दै पवित्र आत्मा प्रदान गर्नु भएको हो । पहिलो फुकाईले मानिसलाई जीवन दिएको हो भने दोश्रो फुकाईले चेलाहरुलाई नयाँ जीवन (अनन्त जीवन) दिएको हो, जो पवित्र आत्माले उनीहरुको ह्दयमा गर्नुभएको काम हो । नयाँ जन्म पाएका चेलाहरुलाई येशूले पाप क्षमा गर्नेसम्मको अधिकारले सुसज्जीत गरी पठाउनुभएको छ । पेन्तीकोसको दिनमा पवित्र आत्मा ओर्लनुभयो, उपस्थित सबै विश्वासीले पवित्र आत्माको बप्तिस्मा पाए र पत्रुसको ऐतिहासिक प्रचारबाट तीन हजार व्यक्तिले पश्चाताप गरे, विश्वास गरे र बप्तिस्मा लिएर मण्डली आरम्भ भयो । मण्डली आज विश्वव्यापीरुपमा स्थापित छ ।
आज हामीलाई थाह छ मण्डली ख्रीष्टको शरीर हो, मण्डलीमा विभीन्न सेवकाई र वरदानहरु दिइएका छन् । यो त्यही मण्डली हो जसमा नर्कका ढोकाहरु विजयी हुने छैनन्, यो त्यही मण्डली हो जसले यस पृथ्वीमा जे बाँध्छ सो स्वर्गमा बाँधिनेछ, जे पृथ्वीमा फुकाउँछ, सो स्वर्गमा फुकाइने छ । यो त्यही मण्डली हो जसलाई येशूले पाप क्षमा गर्ने अधिकार दिएर पठाउनुभएको छ । उहाँको मण्डलीले उहाँको शरीरको रुपमा आज यस संसारमा के गर्दै छ? असंख्य मानिसहरुलाई छुटकारा चाहिएको छ, चंगाई चाहिएको छ, मुक्ति चाहिएको छ । जाग ए मण्डली जाग, येशूले दिनुभएको शक्ति र अधिकारलाई उपयोग गरी आफ्नो उत्तरदायीत्व पूरा गर । आमीन ।
Discussion about this post