मैले अस्ति एलियालाई भेटें। घुम्न गाको थिएँ त्यतातिर। एलिया बस्ने शहरतिर। को हुन् त एलिया भन्ने जिज्ञासा र चासो मनभरि थियो। जीवनभरि सुनेको एलिया, एलिया भनेर। भेट भो। खाजा खाँदै कुराकानी भो। मलाई छक्क लाग्यो। उहाँले भन्नुभो, पन्ध्र किलो बिउ जाने खाडल खनेर, बाह्रै गाग्रा पानी खनाएर सबै दाउरा पानीमा डुबाएको साँचो हो रे। म दङ्ग परे। अनि ? अनि ? के भो भनी सोधें। भन्नुभो, ‘मैले आकाशतिर हेरेर यसरी प्रार्थना गरेँ, “हे परमप्रभु, अब्रहाम, इसहाक इस्राएलका परमेश्वर, इस्राएलमा तपाई परमेश्वर हुनहुन्छ, मचाहिँ तपाईको दास हुँ.. ..मलाई जवाफ दिनुहोस्, हे प्रभु मलाई जवाफ दिनुहोस् ..आदि भनेर प्रार्थना चढाको, परमप्रभुको आगो बर्सेर त बवालै भो नि ..।” मैले हतपत सोधें, “के भो ?” उहाँको जवाफ, “त्यत्रो पानी खनाएको दाउरा खरानीभो, पानी सुकेर वाफ भयो, वेदीमा सजाएको बाह« ढुङ्गा समेत खरानी..।” म साह्रै तर्से। उहाँले तीन वर्षको निम्ति आकाशको पानीझरी पनि रोकिदिनुएको थियो, अनिकालमा कागले खुवाएको ती मानिस। मुर्दालाई प्राण फर्काउने ती मानिस मान्नै पर्ने रहेछ। चर्चा गर्नै पर्ने रहेछ। पुरानो नियमका यी हिरोहरू पनि गजबगजबका छन्। प्रभावित बनाउने, मोहित गराउने। एलियाको फ्यान बन्न मन लाग्यो। अभिवादन गरें, सोच मग्न बनी बाटो लागे।
डाँडामा येशूसँग बादलभित्र बातचित गर्नुहुने एलिया। वाह।
अर्को दिन पुरानो नियमको कुनै शहरमा सोद्धैसोद्धै गएर यर्मिया अगमवक्तालाई भेटें, “दाइ, तपाईको विशेषता के हो? खुब नाम छ नि ?” यर्मियाले भन्नुभो, “के हो, के हो, निस्सासिएको जस्तो हुन्छ। परमप्रभुको वचन मेरो हृदयमा जलिरहेको जस्तो हुन्छ, मेरा हड्डीहरूमा थुनिराखेको आगोजस्तो हुन्छ। वचन भित्र रोकिराख्दा म थकित हुन्छु, थाम्नै सक्दिनँ। बोलिनँ भने साह«ै अप्ठेरो पर्छ ..। अगमवक्ता हुँ। हुकूम हुन्छ कोहीबेला। चारपाँच राजालाई समेत हकार्नुपर्यो मान्छेलाई बीच सडकमा कराउनुपर्छ, खै ? ठट्टा र हाँसोको पात्र बन्यो बस्यो, के हो, के हो..” यर्मिया गुरुलाई मेरो प्रश्न, “तपाई नै छक्क परेको अनि खुल्दुली लागेको भविष्यवाणी कुनचाहिँ हो ?” मुसुक्क हाँस्नुभो तर दृढ आवाजमा भन्नुभो, “त्यै त होला नि अब” भारी सोचमा डुब्नुभो अनि भन्नुभो, “नयाँ करार। इस्राएलको घरानासँग, यहूदाको घरानासँग म एउटा नयाँ करार स्थापना गर्नेछु. भन्नुभाछ परमप्रभुले …”
यर्मियाको मुहार हेरे, कद हेरे, कपडा हेरे। कस्तो भयानक व्यक्तित्व। मेरो नोट बुकमा नोट गरे सबै कुरा। म लागे यूहन्नाको घरतिर। जेलमा भेट भो। हेरोदले उहाँलाई छिनाउनुको अघिको समयमा भेट्न गाको। ‘गुरु,तपाई को हो? के हो तपाईको वरदान?’ सोधें। यूहन्ना बोल्नुभो, “मैले बोलेपछि प्रभुको आत्माले यस्तो काम गर्नुहुन्छ, मानिसहरू चित्कार गरेर पश्चाताप गर्छन। यहुदी, रोमी सबै मेरोपछि लागेर हैरान। मेरो पछि नआऊ, उनीकहाँ जाऊ भन्दै येशूतिर सबलाई लघार्नु पर्ने।”
मेरो मुखबाट फ्याट्ट निस्कियो, “अपुइ, हो र? त्यति बिघ्न पछ्याक?”। यूहन्ना बोल्नुहुन्छ, “काँ नि मेरो ट्रेनिंगमा बस्ने चेलाहरूलाई कम आरिस ग-या हो येशूका चेलाहरूले। म मान्छे कडा, कामै कडा। एक दुई स्पष्टिकरण त प्रभुले समेत मलाई पठाउनुभा थ्यो।”
“तपाई त्यति ठूलो मान्छे ?” मैले साधें। नसोधी सकिनँ। “म ठूलो भनेर मैले भनेको होइन, म त उहाँको जुत्ताको फिता छुने लायक होइन भनेकै हो। तर उहाँले नै मलाई स्त्रीबाट जन्मनेमा म जतिको ठूलो कोही छैन भन्नुभो, एलियाको पदवी दिनुभो, मैले के भन्नु?”
मैले हृदयको कुरा लुकाउनु सकिनँ, “हत्, मलाई त तपाईसँग छक्क लाग्छ। कस्तो डर पनि नलागेको, राजा हेरोदलाई समेत ड्याङ्गै भन्देको।”
उहाँले सम्झाउनुभो, “भाइ, यो शरीरलाई आमाको पेटमा हुँदा पवित्रात्माले छोप्नुभा हो, म के भनूँ, म आवाज हुँ, केही, कसैको घोषणा गर्ने आवाज हुँ। राजा होस् कि रैती होस्, मैले आवाज खोल्नैपर्छ। एकदिन मर्नैपर्छ क्यार …।”
उनीहरूसँग बसिरहूजस्तो लाग्ने। म डुल्दै अर्को ठाउँमा पुगे। मैले खोजेको अर्को व्यक्तित्व येशूलाई कतै भेटिनँ। उहाँलाई पनि केही भन्नु मन लागेको थियो। सोध्नु र सुन्नु मन लागेको थियो। चार दिन भो, फनफनी घुमिराछु। यर्मिया अनातोतमा भेटिए, तिस्बेमा एलिया भेटिए, हेरोदको झ्यालखानमा यूहन्ना। तर येशूलाई मकहाँ भेटाऊँ ?
मलाई जान्नु मन थियो किन मानिसहरूले येशूलाई यर्मिया, एलिया, यूहन्ना भने। त्यसै त भनेका होइन रहेछन् मानिसहरूले। धेरै इज्जत दिएर भनेका रहेछन्। आफ्नो समय र इतिहासलाई थर्काएका, हल्लाएका व्यत्तित्वहरू रैछन्। म घुमघाम गरेर, यी तीनै हस्तिहरूलाई अन्तर्वाता गरेर आको अनि येशूलाई सुनाउँ र उहाँलाई नि कति कुरा सोधौं भनेको, भेटै हुन सकिराछैन।
उहाँलाई यी दुई बाइबल पद बारे सोध्नु मन लागेको थियो। भेटै नभएपछि कसरी सोध्ने होला ? एउटा पद मत्तीमा छ, उहाँले पत्रसलाई भन्नुभएको, “मानिसबाट तिमीलाई यो प्रकट भएको होइन, तर स्वर्गमा हुनुहुने पिताले प्रकट गर्नुभएको हो।” अर्को पदले पनि मलाई पजल पारेको छ, यूहन्नाको सुसमाचारमा भनेको, “मलाई पठाउनुहुने पिताले खिँच्नुभएन भने कोही मकहाँ आउनसक्दैन।” हुन त अझै एउटा पद पनि छ मैले नबुझेको, त्यो पनि येशूको बारेमा नै हो, लूकामा “तब धर्मशास्त्र बुझ्नलाई उहाँले तिनीहरूको समझ खोलिदिनुभो ..।”
दिक्कै लाग्छ। अब हेर्नू न। एलिया, यर्मिया, यूहन्ना कसरी फटाफट भेटिए। उनीहरूका शान र मान पनि देखियो। जयजयकार गाएर, ढोगेर, आर्शीवाद थापेरै आइयो। यता प्रभुलाई भने भेटै हुनसकिरहेको छैन। नयाँ करार धेरै गाह्रो।
छैठौं दिनको राति निद्रामा कसैले लठ्ठी हान्यो। धन्न सिरकले जोगायो। मैले त्यो व्यक्तिलाई भनें, ‘ओ सर, मलाई उठ् भनेको कि रिसले हानेको ?’। उनले मेरो प्रश्नको वास्ता गरेनन्, “फेरि खोज्न आइस प्रभुलाई ?” मैले पनि ठाडै भन्दे, “हो, उहाँलाई नै खोज्न आको, मलाई किन लठ्ठी हानेको ?” दोस्रो प्रश्न फेरि रिसले लठ्ठी उचाल्दै, “फेरि आइस् प्रभुलाई मुर्दाहरूको बीचमा खोज्नु ? अनि मुर्दाहरूसँग कुरा गरिसकिस् ?” मलाई डर लाग्यो। म होसियारीसँग उठेर बसे अनि सोधें, “सर को हुनुहुन्छ ? मबाट भुल भाछ भने माफ गर्नू है।”
उहाँ बोल्न लाग्नुभो, सिकाउन लाग्नुभो, “प्रभुलाई भूतकाल र विगतमा खोज्ने व्यक्ति मूर्ख हो। हिरो र देवताको रूपमा पूज्ने हो भने फोटो झुन्डाए हुन्छ। शहीद येशूको फोटो हेर्दै बस्। त्यति नै जानिस्। पत्रकार, लेखक, अनुसन्धानकर्ताको रूपमा प्रभुलाई इन्टरभिउ गर्न खोजेर तैंले गर्न चाहेको के हो, हँ ए शैतान ? परमेश्वरको कुरामा हैन, मान्छेको कुरामा ध्यान दिने ए विद्वान शैतान …”
मलाई पनि झनक्क भो, “ओ सर्, शैतानै त नभन्नू है। म त उहाँलाई दुइ, तीन ओटा बाइबल पदको अर्थ पनि सोध्न आको अनि अन्तर्वाता पनि गर्न आको। म बाइबल विद्यार्थी हुँ …”
“ए, उसो भए तँ बाइबल विद्यार्थी भइस् अब? फरिसीलाई जित्न सक्छस्? शास्त्रीहरूलाई उछिन्न सक्छस्? अध्याय र पद नम्बर नभाको बाइबलभित्रको कुनाकुना जान्ने पण्डितहरूले, कयाफाहरूले येशूलाई बाइबल पढेर, बाइबल जानेर उहाँलाई मार्ने निर्णय गरेको भुलिस्? तैंले पनि त्यै निर्णय गरिस् कि के हो ? इतिहासमा खोजिस् भने उहाँलाई भेट्टाउँनेछैनस्। यर्मिया, यूहन्नाहरूलाई इतिहासमा भेट्न सकिन्छ।”
म वाल्ल परें यस्तो कुरा सुनेर, म छक्क परें र भनें, “सरले के भनेको?”
“तेरो कान छ, तर तँ बैरो छस्, जसको कान छ तेसले मात्र बुझ्न सक्छ। विद्यार्थी, टिचर, प्रोफेसर जे भने पनि इस्राएलका गुरु निकोदिमसलाई हुकूम भाथ्यो बच्चा बन्नू, फेरि जन्मनू भन्ने। स्वर्गको राज्य तैंले खेलाइँची सम्झेको ? यति कुरा सिक् ए मूर्ख, येशूलाई वर्तमानमा भेट्नै पर्छ, खास येशूलाई। उहाँको नाम “म हुँ हो, म छु हो। बुझिस् ?” यो मान्छेले मेरो रिसर्च, सर्वेक्षण, अध्ययन सबलाई फेल गर्दैछ अनि मेरो विश्वासलाई पनि बिथोल्दै छ भनी मैले जानें। घरी मूर्ख भन्छ, घरी ए शैतान भन्छ, घरी बुझिस् ? भन्छ। मलाई त्यति विधि हकारेर उनी जान लागे। मैले केही भन्न खोजें, “सर ..”। फनक्क फर्केर उनले भने, “तेरो तीनओटा पदको अर्थ पनि सोध्नु थियो होइन ?” मैले सानु सोरमा भनें, ‘हो..’
मत्तीबाट, मानिसबाट तिमीलाई यो प्रकट भएको होइन, तर स्वर्गमा हुनुहुने पिताले प्रकट गर्नुभएको हो, यूहन्नाबाट, मलाई पठाउनुहुने पिताले खिँच्नुभएन भने कोही मकहाँ आउनसक्दैन, लूकाबाट, धर्मशास्त्र बुझ्नलाई उहाँले तिनीहरूको समझ खोलिदिनुभो ..।
ती व्यक्ति छेउ बसेर बोल्न लागे, “येशू मानवपुत्र हुनुहुन्थ्यो अनि स्वर्गपुत्र पनि हुनुहुन्थ्यो, यो तिमीलाई थाहा छ..” बल्ल तिमी भन्यो है। “उहाँ एक्लो समय र स्थानको खोजिमा हिँड्नृहुन्थ्यो, जुनचाहिँ एका विहान झिसमिसेमा कि त रातको बेलामा मात्र सम्भव थियो। मेरा पिताले देखाउनुभएको कुरा बोल्छु भन्नुभयो, मेरा पिताले देखाउनुभएको काम गर्छु भन्नुभयो। उहाँले भन्नुभयो, मसँग गवाही छ, त्यो यूहन्नाको भन्दा ठूलो छ। जुन कामहरू पूरा गर्न पिताले मलाई दिनुभएको छ, ती काम म गरिहेको छु, म आफ्नो इच्छा खोज्दिनँ, मलाई पठाउनुहुनेको इच्छा खोज्दछु। पत्रुसलाई भन्नुभयो, मानिसबाट प्रकट भएको होइन, तर स्वर्गमा हुनुहुने मेरा पिताले प्रकट गर्नुभएको हो ..” मेरो चासो निक्कै बढ्यो, मज्जा लाग्यो, म उनको अझ छेउ बस्नु गएँ। तर उहाँ जुरुक्क उठेर जान लाग्नुभो। जाँदैजाँदै यति भन्नुभो, “पितालाई चिन, मूर्दा, को हो र जीवित, को हो चिन, नाशमान र अनन्त छुट्याउनु सिक।”
जानुभो होइन, अब त अल्पिनुनै भो। म भारी सोचमा परें। म बाइबल विद्यार्थीको मनको आकाशमा गुञ्जिरह्यो एउटा स्वर्गवाणी, “यिनी मेरा प्रिय पुत्र हुन्, यिनीसँग म अति प्रसन्न छु, यिनको कुरा सुन..”
Written by Mr. Loknath Manean
Republished on nepalchurch.com new site May 6 2013
Discussion about this post