नयाँ नेपाल निर्माणमा ख्रीष्टियन प्रतिबद्धता अभियानद्वारा राष्ट्रव्यापी रुपमा प्रतिबद्धता पत्र बुझाइयो
नयाँ नेपाल निर्माणमा ख्रीष्टियन प्रतिबद्धता राष्ट्रिय अभियानअन्तगर्त देशव्यापी रूपमा नेपाली ख्रीष्टियन समुदायले आफ्नो प्रतिबद्धता असोज ८ गते सार्वजनिक गरेको छ। सम्पूर्ण ख्रीष्टियन समुदायका तर्फबाट आफ्नो प्रतिबद्धता पत्र सम्माननीय राष्ट्रपति रामवरण यादव, उपराष्ट्रपति परमानन्द झा, प्रधानमन्त्री डा. बाबुराम भट्टर्राई, सभामुख सुवासचन्द्र नेम्वाङ, संबिधान सभा सम्बैधानिक समितिका सभापति निलाम्बर आचार्य लगायत ७५ जिल्लाका प्रमुख जिल्ला अधिकारीसमक्ष कार्यकक्षमै गई बुझाइएको हो। राष्ट्रपति कार्यव्यस्तता र प्रधानमन्त्री देशबाहिर भएकोले उहाँको कार्यालयमा बुझाइएको थियो।
आफ्ना अधिकारका लागि माग मात्र राख्ने र आफनो कर्तव्य बिर्सने परिपाटीको विकास हुँदै गइरहेको अवस्थामा अब नयाँ नेपाल निर्माणमा सबैले आआफ्नो प्रतिबद्धता जनाउनुपर्ने भन्दै नयाँ नेपाल निर्माणमा ख्रीष्टियन प्रतिबद्धता राष्ट्रव्यापी अभियान टोलीका तर्फबाट प्रतिबद्धता सार्वजनिक गरिएको छ। प्रतिबद्धतामा देशभरिबाट २०० भन्दा बढी सवालहरू पहिचान गरी ५ वटा प्रमुख सवालहरू बेरोजगारी, जातिय बिभेद, भ्रष्टाचार, महिला हिंसा-लैङगिक विभेद र अशिक्षाको न्युनिकरणका लागि राष्ट्र र सम्पूर्ण समुदाय एकजुट भएर लाग्नुपर्ने औंल्याइएको छ।
यसैक्रममा सभामुख सुवासचन्द्र नेम्वाङले देशमा शान्ति र न्यायको क्षेत्रमा यो अभियानले महत्त्वपूर्ण भूमिका खेल्ने बताउँदै हिजोको निरङ्कुशताको समयमा ख्रीष्टियनहरूमाथि भएको अन्याय र भेदभाव आफूलाई राम्रोसँग सम्झना छ। अब त्यस्तो हुनेछैन भन्ने भनाइ राख्नुभयो। यसै गरी सम्बैधानिक समितिका सभापति निलाम्वर आचार्यले राज्यको दायित्वभित्र पर्ने यस्ता महत्त्वपूर्ण सवालहरूमा ख्रीष्टियन समुदायले जनाएको प्रतिबद्धताले ठूलो परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नुभयो। आफू सम्पूर्ण धर्म र धर्मावलम्बीहरूप्रति सकारात्मक रहेको बताउँदै संबिधान निर्माणमा दलहरूको असमझदारीका कारणले केही ढिलाइ हुन गए पनि कालो अँध्यारोपछि नयाँ बिहानी आउने आशा कसैले पनि मार्नुहुँदैन भन्नुभयो।
प्रतिबद्धता बुझाउने क्रममा उपराष्ट्रपति परमानन्द झाले यो अभियानप्रति शुभकामना व्यक्त गर्दै आफूले यो अभियानमा सक्दो सहयोग गर्ने वचन दिनुभयो। प्रतिबद्धता अभियानका टोलीसंगको बातचितमा उपराष्ट्रपति झाले सम्पूर्ण कार्यान्वयनको जिम्मा सरकारको भएकोले आफू अभिभावकको भूमिकामा रहेकोले यो विषयमा सरकारसँग पनि आफूले कुराकानी गर्ने वचन दिनुभयो। प्रतिबद्धता अभियानका लागि ख्रीष्टियन समुदायका तर्फबाट डा. राजेन्द्र रोङगोङ, डा महेन्द्र भट्टराई, डा. सिमोन पाण्डे, डा बालकृष्ण शर्मा, प्रकाश सुब्बा, लोकमणी ढकाल, थिर के.सी. लगायतका समुहले आफनो प्रतिबद्धता पत्र हस्तान्तरण गरेका थिए। सोही अवसरमा नेपाल देश, शान्ति प्रक्रिया र संबिधान निर्माणका लागि उपराष्ट्रपति, सभामुख र सम्बैधानिक निकायका प्रमुखको कार्यकक्षमा प्रार्थना गरिएको थियो भने प्रार्थनाको अगुवाइ डा. सिमोन पाण्डेले गर्नुभएको थियो।
साभार: हम्रो आशिष पत्रीका
Republished in new layout 7/4/2013
Discussion about this post