१९ कात्तिक २०८३, बिहीबार
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको प्रस्तावित भारत भ्रमणलाई परिणाममुखी बनाउने उद्देश्यसहित नेपाल र भारतले उच्चस्तरीय कूटनीतिक तयारी तीव्र पारेका छन्। प्रधानमन्त्री शाहको भारत भ्रमणको सम्भावित मिति, द्विपक्षीय छलफलका विषय र विकास साझेदारीका प्राथमिकता तय गर्न दुवै देशका अधिकारीहरू सक्रिय भएका छन्।
प्रधानमन्त्रीको भ्रमणको तयारीका लागि नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेला काठमाडौं आइसकेका छन् भने भारतीय विदेश सचिव विक्रम मिस्रीले बुधबारदेखि नेपालको दुईदिने औपचारिक भ्रमण सुरु गरेका छन्। उनले परराष्ट्र सचिव अमृतबहादुर राईसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्नुका साथै परराष्ट्रमन्त्री शिशिर खनाल, अर्थमन्त्री स्वर्णिम वाग्ले, ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ र पूर्वाधार विकासमन्त्री सुनील लम्सालसँग भेटवार्ता गरेका छन्। बिहीबार प्रधानमन्त्री शाहसँग पनि उनको भेटवार्ता तय भएको छ। भारतीय पक्षले प्रधानमन्त्री शाहको भ्रमणका लागि आगामी मंसिर ७, ८ र ९ गतेलाई सम्भावित मितिका रूपमा लिएर तयारी गरिरहेको छ। यद्यपि, भ्रमणको औपचारिक मिति भने दुवै देशको आपसी अनुकूलताका आधारमा तय हुन बाँकी छ। परराष्ट्र मन्त्रालयका प्रवक्ताले पनि दुवै देशबीच सहमति भएपछि भ्रमणको मिति सार्वजनिक गरिने बताएका छन्।
भ्रमणलाई औपचारिक भेटघाटमा मात्र सीमित नराखी दीर्घकालीन विकास साझेदारी र ठोस उपलब्धिमा केन्द्रित गर्ने नेपालको चाहना छ। व्यापार तथा पारवहन, सीमा व्यवस्थापन, सम्पर्क सञ्जाल विस्तार, ऊर्जा तथा विद्युत् व्यापार र विपत्पछिको पुनर्निर्माणलाई नेपालले प्राथमिकतामा राखेको छ। सन् २००९ मा भएको नेपाल–भारत व्यापार सम्झौताका केही प्रावधानमा समयमै पुनरावलोकन र परिमार्जन गर्नुपर्ने विषय पनि नेपालले उठाउन खोजेको छ। उक्त सम्झौता सन् २०३० मा नवीकरण हुने भए पनि नेपालले त्यसअघि नै आवश्यक सुधारका विषयमा छलफल अघि बढाउन चाहेको छ। आर्थिक सहयोग पनि भ्रमणको महत्वपूर्ण एजेन्डा बन्ने देखिएको छ। नेपालले भारतसँग एक अर्ब अमेरिकी डलर बराबरको सहयोगका लागि आग्रह गरेको विषय यसअघि नै उठाइसकेको छ। पछिल्ला छलफलमा भने भोटेकोशी क्षेत्रमा बाढीबाट क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण तथा अन्य विकास आयोजनाका लागि ऋण, अनुदान र पुनर्निर्माण सहयोगसहित दुई अर्ब अमेरिकी डलरभन्दा बढीको आर्थिक सहायता प्रस्तावबारे कुरा भएको छ। यससम्बन्धी सहयोगको रकम र स्वरूप भने टुंगो लागिसकेको छैन।
हवाई सम्पर्क विस्तार र ऊर्जा सहकार्य पनि नेपालका महत्वपूर्ण चासोका विषय हुन्। विशेषगरी भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालनका लागि थप हवाई प्रवेशमार्ग उपलब्ध गराउने विषय नेपालले भारतसँग उठाउँदै आएको छ। त्यस्तै, विद्युत् व्यापार, प्रसारण लाइन विस्तार, सीमा पार पेट्रोलियम पाइपलाइन तथा सडक र रेलमार्गमार्फत सम्पर्क सञ्जाल विस्तारका विषयमा पनि छलफल भइरहेको छ। पञ्चेश्वर बहुउद्देश्यीय आयोजना र लामो समयदेखि कार्यान्वयनमा ढिलाइ भएका परियोजनालाई गति दिने विषयसमेत वार्ताको प्राथमिकतामा छन्। प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा भारतीय सहयोगमा निर्माण सम्पन्न भएका केही परियोजनाको उद्घाटन तथा नयाँ आयोजनाको निर्माण शुभारम्भ गर्ने तयारी पनि भइरहेको छ। काभ्रेको पनौतीस्थित नेपाल प्रहरी प्रतिष्ठान, दार्चुलाको पुल, भैरहवाको एकीकृत जाँच चौकी र महाकाली नदीमाथिको मोटरेबल पुल उद्घाटनका लागि प्रस्तावित छन्। त्यस्तै, दोधारा चाँदनीस्थित एकीकृत जाँच चौकी, तल्लो अरुण जलविद्युत् आयोजना र सिलिगुडी–चारआली पेट्रोलियम पाइपलाइन निर्माणको प्रक्रिया अघि बढाउने विषय पनि छलफलमा छन्।
नेपाल र भारतबीच व्यापार, पारवहन, ऊर्जा, सीमा व्यवस्थापन तथा पूर्वाधार विकासका क्षेत्रमा लामो समयदेखि सहकार्य हुँदै आए पनि कतिपय विषय अझै समाधान हुन सकेका छैनन्। त्यसैले प्रधानमन्त्री शाहको प्रस्तावित भ्रमणलाई दुई देशबीचको सम्बन्ध थप सुदृढ बनाउने मात्र नभई पुराना समस्या समाधान र नयाँ आर्थिक साझेदारीको आधार तयार गर्ने अवसरका रूपमा हेरिएको छ। भ्रमणको अन्तिम मिति र छलफलका विषय भने दुवै देशबीचको औपचारिक सहमतिपछि स्पष्ट हुनेछन्।














Discussion about this post