असोज १८, २०८३ आइतबार
काठमाडौं: नेपाली काङ्ग्रेसको १५औँ महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै काङ्ग्रेस सभापति गगन थापाले नेपाली राजनीतिमा देखिएको अस्थिरता र राजनीतिक नेतृत्वप्रतिको बढ्दो जनआक्रोशप्रति गम्भीर आत्मसमीक्षा गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ। काठमाडौँको खुलामञ्चमा आयोजित भव्य समारोहमा बोल्दै सभापति थापाले काङ्ग्रेसलाई इतिहास र वर्तमानको मात्र नभई जनताका आशा र सम्भावनाको भरपर्दो ‘पुल’का रूपमा पुनःस्थापित गर्नुपर्ने धारणा राख्नुभयो। उहाँले नेताहरू बारम्बार शक्तिमा दोहोरिने ‘सङ्गीतमय कुर्सी’ (म्युजिकल चेयर) को पुरानै शैलीले जनतामा व्यापक निराशा पैदा गरेको र सोही आक्रोशको परिणामस्वरूप पछिल्ला जनप्रदर्शनहरू देखा परेको स्वीकार गर्दै, नागरिकका प्रश्नको सामयिक समाधान दिन नसक्ने पार्टी पुरानै रहने चेतावनी दिनुभयो।
पार्टीका संस्थापक नेताहरू बीपी कोइराला र गणेशमान सिंहको लोकतान्त्रिक आदर्शलाई आत्मसात् गर्दै काङ्ग्रेसले आफ्नो कार्यशैली, भाषा र राजनीतिक संस्कारमा समयानुकूल व्यापक रूपान्तरण गर्नुपर्नेमा थापाले जोड दिनुभयो। राष्ट्रिय मुद्दाहरूमा विपक्षीहरूसँग सहकार्यको हात बढाउनुपर्ने र आफ्ना सिद्धान्त जोगाउन चुनाव हार्न पनि तयार हुनुपर्ने स्पष्ट पार्दै उहाँले संसद् र पार्टी दुवैलाई खुला संवादको थलो बनाउनुपर्ने प्रस्ताव गर्नुभयो। साथै, उहाँले घरेलु राजनीतिमा मात्र सीमित नभई आर्टिफिसियल इन्टेलिजेन्स (AI), अटोमेसन र जलवायु परिवर्तनजस्ता विश्वव्यापी चुनौतीहरूले नेपालको अर्थतन्त्र र समाजमा पार्ने दीर्घकालीन प्रभावबारे संसद् र दलहरूभित्र गम्भीर बहस सुरु हुनुपर्ने विचार व्यक्त गर्नुभयो।
नेपालका विभिन्न ऐतिहासिक जनआन्दोलन र राजनीतिक परिवर्तनको साक्षी रहेको काठमाडौँको खुलामञ्चमा विशाल मञ्च निर्माण गरी “परम्पराको सम्मान र परिवर्तनको सङ्कल्प: समृद्ध नेपालका लागि सबल काङ्ग्रेस” भन्ने नाराका साथ यो १५ौँ महाधिवेशन आयोजना गरिएको हो। देशभरिका वडा र निर्वाचन क्षेत्रबाट छनोट भई आएका ७,७०० भन्दा बढी महाधिवेशन प्रतिनिधिहरूको सहभागिता रहेको यस कार्यक्रममा पार्टी सभापति गगन थापाले संस्थापक नेताहरूको तस्बिरमा माल्यार्पण, दीप प्रज्वलन र बिरुवामा पानी हालेर उद्घाटन गर्नुभएको थियो। विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू, समाजका प्रतिष्ठित व्यक्तित्वहरू तथा हजारौँ कार्यकर्ताहरूको बाक्लो उपस्थिति रहेको यो महाधिवेशनलाई पार्टी इतिहासकै सबैभन्दा ठूलो र समावेशी जमघट मानिएको छ। खुलामञ्चको भव्य उद्घाटन सत्रपछि आगामी नीति, राजनीतिक दिशा र नयाँ नेतृत्व चयनका लागि बन्दसत्र तथा निर्वाचन प्रक्रियाहरू अघि बढ्नेछन्।














Discussion about this post