ख्रीष्टाब्द २०१४ मा मैले एउटा पुस्तक लेख्ने जिम्मेवारी पाएँ। शिर्षक, “क्षमा तथा मिलाप”। लेख्दै जाँदा एउटा कुरा सिकेँ, एकता “भनेर” आउँदैन, “गरेर” आउँछ। उसैबेला मैले र त्यसपछि नाउँ चलेका धेरै अगुवाहरूले एकअर्कालाई भेटेर आपसमा कमीकमजोरी स्वीकार्ने र क्षमा माग्ने-दिने काम पनि गरेको सम्झना दिलाउँछु। अहिले हामीले एकताको कुरा किन बेस्सरी उठाउँदैछौँ ? हामीले आफूहरूमाझ एकताको माग बुलन्द गर्दैगर्दा हेक्का राख्नैपर्ने कुरा यही हो । आपसी क्षमा र मिलापको खुड्किलो छाडेर एकतासम्म चढ्न सकिन्न। तर हामी धेरैलाई पक्कासँग थाहा छ, हामीबीच बेमेल छ! त्यो बेमेल मेटाउने बलियो र स्वप्रमाणित बाइबलीय सिद्धान्त यही हो – “क्षमा तथा मिलाप” (यसको विकल्पमा अर्को सिद्धान्त भने बताउनुहोस्।) अर्थात्, एकताको जग मेलमिलाप हो र मेलमिलापको जग क्षमा आदानप्रदान हो । एकता निर्माणका लागि अपनाउनैपर्छ भनेर येशूले तोकिदिनुभएको यो एकमात्र पद्धति हो, सिद्धान्त हो, जुन हामी दिनदिनै र छिनछिनै प्रभुले सिकाउनुभएको प्रार्थनामा दोहोर्याउँछौँ (मत्ती ६:९-१३)। हामीलाई कण्ठै छ, “हाम्रा अपराध क्षमा गर्नुहोस्, जसरी हामीले हाम्रा अपराधीहरूलाई क्षमा गरेका छौँ ।”
जब सिद्धान्तको कुरा आउँछ, त्यसलाई मिचेर विकल्प वा चोरबाटो खोज्नुहुँदैन। मैले र तपाईंले चोरबाटो खोजेर, रोजेर धेरैपटक कथित (सेक्युलर, सुख्खा) एकता जोडिसकेका छौँ, तर यदि आत्मिक एकताको सिद्धान्त प्रभुले सिकाउनु भएको प्रार्थना नै हो र त्यतातिर नफर्किने हो भने हामीले खोजेको एकता ढर्रा मात्रै हो। ख्रीष्टलाई पछ्याउने ख्रीष्टियनहरूका लागि साँचो एकता आत्मिक एकता हो, जुन अन्तस्करणदेखि उम्लेर, भरिएर आपसी आशा, सद्भाव, विश्वास र भरोसामा मौलाउन सक्छ।
अँ, फेरि तैँचाहिँ किताबै लेखेको दिन्छस्, अनि अरूसँग किन मिल्दैनस्? भन्ने प्रश्न मतिरै तेर्स्याउन हतार नगर्नुहोस् है… भनेँ नि धेरैपटक मैले नि एकता जुटाउने प्रयास गरेँ, सफल भएन। पश्चाताप गर्छु, किनभने ती प्रयासहरूमा यो सिद्धान्त मिचिएको थियोे, चाहँदा चाहँदै पनि करमा परेर मैले क्षमा र मिलापको सिद्धान्त मिचेर एकता गर्नुपरेकोमा म पछूतो गर्छु, म लज्जित छु। किनभने त्यसबेला हामीले गर्न खोजेको एकतामा एकअर्काको कमीकमजोरी स्वीकार गरिएन, साँचो पश्चाताप भएन, आफ्नो कमजोरीमा क्षमा मागिएन र अर्काेले गरेको खराबीमाथि क्षमा प्रदान गरिएन, स्वार्थ मिल्काएर मिलापको अँगालो हालिएन… परिणाम? एकता क्षणभरको बन्यो, एकता टुट्यो ! हामी धेरैले धेरैपटक एकताको गफ चुट्यौँ, एकताको नाटक मञ्चन पनि गर्यौँ, तर क्षमा र मिलापको बाटोमा खुट्टा राखेनौँ… एकता भएन।
आशंका, अविश्वास, असहयोग जस्ता “एकता सखाप पार्ने क्यान्सर” पालेर अब एकताको माग उठाउन मलाई पटक्कै मन छैन। सम्झन्छु, म आफैंले केही इमानदार प्रयासहरू थालेको थिएँ त! बिना बिमाख दोस्याएर मलाई सार्वजनिकरूपमै बदनाम गरिदिने, मेरो नाममाथि कालो कलङ्क पोतेर छताछुल्ल बनाउँदै मेरो बेइज्जती गर्नेलाई पनि क्षमा गरिदिएर फेरि अँगालो हाल्ने आँट जुटाएको थिएँ त! तर जसले मतिर फर्केर फेरि मुस्कुराएको थियो, त्यो मुस्कान त धोका रहेछ! मैले जतिसुकै क्षमा र मिलाप भने पनि उसले त्यो सिद्धान्तको मर्म कुल्चेर मलाई झुक्याएको रहेछ, बुझ्नुभयो नि? एकतर्फी प्रयत्नले कदापि एकता जुट्न सक्दैन – आशंका, अविश्वास र असहयोगको आत्मालाई दुवै पक्षले साँच्चिकै नमिल्काउँदासम्म एकता जुटाउन सकिन्न !
तथापि अहिले पनि भन्छु, जानाजान, लागिपरी, योजना बनाएर मैले कसैमाथि हानी गरेको छैन। आफ्नो स्वार्थ तुल्याउने चाहनाका लागि बहाना गरेर कसैलाई ठगी गरेको छैन, त्यस्तो कतै भएको पुष्टि कसैले गरिदिन सक्छ भने यथेष्ट क्षतिपूर्ति दिन म तयार छु। र, काम गर्दै जाँदा कतै कसैलाई “त्यस्तो” परेको भए क्षमा माग्न पनि जहिल्यै तयार छु । यति हुँदाहुँदै पनि धेरैले मसँगै “एकता गर्न सक्दैनन्” किन? यसको जवाफ प्रष्ट छ, सिद्धान्तको पक्षमा उँभिदा मैले अवस्थ धेरैको स्वार्थ मिचेको छु र तिनीहरूसँग मेरो एकता केहीबेरसम्मका लागि तोडिएको छ। त्यसैगरी मलाई व्यक्तिगतरूपमा होइन तर अरूले दिएको सूचना वा “सबै उस्तै हुन्” भन्ने फगत अनुमानमा मेरो उछितो काढ्दै हिँडेकाहरूबाट म अलग्गै उभिएको छु, त्यो पनि सदाका लागि नहुनेमा आशा गर्छु। जसजसको स्वार्थ मिचिएको छ वा जसजसले मलाई खराब नमूना बनाएर बदनाम गर्दैछन्, ती सबैसँग मैले क्षमा र मिलापको सिद्धान्तद्वारा नै एकता निर्माण गर्नेछु, यही विश्वासमा म एकताको पक्षमा आशावादी बनेर उभिइरहने छु।
ए, पख्नुस् है! माथिका हरफहरू पढ्दै यहाँसम्म आइपुग्दा “खूब म, मलाई, मेरो भनेर धाक देखायो, नाक फुलायो! यस्ता आडम्बरीसँग मेरो कुनै हालतमा एकता हुँदैन, सहकार्य, सहयात्रा र दीर्घकालीन एकता बन्दैन” भन्ने निस्कर्षमा त पुग्नुभयो कि? त्यस्तो नहोस्! यदि तपाईंले धैर्यतासाथ यो सन्देश पूरै पढ्नुभएको भए, तपाईंभित्रबाट निस्केको एकताको चीत्कार साँचो हो । त्यसर्थ, अब एकपटक फेरि माथि “म, मेरो, मैले, मलाई” भनिएका ठाउँमा आफ्नै नाउँ राखेर पढ्नुहुन विनम्र अनुरोध गर्दछु।
पढ्नुभयो? धन्यवाद! अब हामी एकता गरौँ, जसको जग हाम्रा प्रभुले सिकाउनुभएको प्रार्थनामाथि स्थापित भएको होस्। “एकता” अबउसो कसैको “प्रोजेक्ट” नबनोस्! अर्थात्, “मैले गरेकोले एकता भयो” भनेर फेरि कसैले एकताकर्मीहरूको मर्म कुल्चिने धृष्टता नदोहोर्याओस्। ल खा, नामै तोकेर भनौँ, डिल्लीराम पौडेल, हनोक तामाङ, केबी रोकाया, भव घले, बिपी खनाल कि “मैले” बोकेको झोलाबाट “एकता” झिकेर बाँड्न सकिन्छ भन्ने भ्रमबाट हामी सबै अब उठौँ। फेरि भन्छु जसले अरूका ढोकाभित्र खुट्टा टेक्ने साहस गर्दैन, उसले सबैका एकताको ढोका खोलेको छु, सबै आओ र एकता गर भन्दै अब कोही पनि नखोकोस्। “एकता” “एकता” भन्दै आपसी सम्बन्ध भत्काउने उद्योग हामी बन्द गरौँ! हामी अब एकता नभनौँ, एकता गरौँ। हाम्रा पिताको ईच्छा स्वर्गमाझैँ हामीमाझ पूरा होस्, एकताको सिद्धान्त दिनदिनै रट्न लागाउनुहुने हाम्रा प्रभुको चाहना पूरा होस्, र तपाईंसँगै मेरो पनि भलो होस्, हामी सबैको सम्मान फैलियोस्!!
Discussion about this post