१० माघ २०८०, बुधबार
नेपालगञ्ज । रुपन्देहीको निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित सांसद छविलाल विश्वकर्मालाई यस निर्वाचन क्षेत्रमा जमिनसँग जोडिएका समस्या धेरै रहेको राम्रैसँग थाहा छ । उनी भन्छन् , “व्यवस्थित बसोबास, भूमिहीन, दलित समुदायका जमिनका समस्या यहाँ धेरै छन् । सरकारले तोकेको राजस्वको दर बढी भएर उनीहरूले जमिनलाई निजी स्वामित्वमा ल्याउन सकेका छैनन् । बरु उनीहरूलाई नयाँ जमिन किन्दा सहज हुने देखिएको छ । भूमिहीन, अव्यवस्थित बसोबासी र दलित समुदायका समस्यालाई सधैँ बोक्ने होइन, यसलाई एउटा निष्कर्षमा पुर्याउनुपर्छ ।”
नेकपा (एमाले)को सचिवको समेत जिम्मेवारी निर्वाह गरेका सांसद छविलाल विश्वकर्माको जन्म विसं २०१९ मङ्सिर २३ गते स्याङ्जामा भएको हो । पार्टीभित्र बौद्धिक व्यक्तित्वको छवि बनाउनुभएका नेता विश्वकर्मा दलित आन्दोलनबाट राजनीतिमा प्रवेश गरेका हुन् ।
रुपन्देहीको निर्वाचन क्षेत्र नं १ मा पहाडबाट दक्षिणको दशगजासम्म निर्वाचन क्षेत्र पर्छ । यसमा सवा लाख जनताको बसोबास छ । यो ऐतिहासिक सांस्कृतिक महत्त्व बोकेको प्रदेश पनि जिल्ला पनि हो । लुम्बिनी बन्नुका पछाडि देबदहको योगदान छ । बुद्धकालीन समयको साहित्यलाई, त्यतिबेलाको अभिलेखलाई हेर्ने हो भने त्यसबाट प्रष्ट छ महामानव गौतम बुद्धको मावली देबदह हो ।
मुलुकमा सुशासन कायम गर्न राज्य नै जिम्मेवार बन्नुपर्छ, अन्य यसमा सहायक बन्ने हो । मानव मर्यादा स्थापित गर्ने कुरा धेरै ठुलो कुरा रहेछ । संस्कार र संस्कृति भन्ने कुरा धेरै ठुलो कुरा रहेछ । संविधानले प्रदत्त गरेको विशेषता र उपलब्धिबाट प्राप्त विषयलाई केही होइन भन्ने विषयबाट जुन खालको प्रयत्न भइरहेको छ यसको कुनै अर्थ छैन तर यसबाट एउटा शिक्षा लिनुपर्छ भन्छु म । समय पछाडि फर्कँदैन यो अगाडि बढ्छ ।
www.khabardainik.com
Discussion about this post