साउन ६ , २०८०, शनिबार
काठमाडौँ : नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले आर्थिक मन्दीको अवस्थाबाट अर्थतन्त्रको सुधारका लागि अन्तर्राष्ट्रिय मुद्रा कोषको सहयोग माग गरेका छन्।
कोषको नेपाल मिसन टोलीसँग शुक्रवार महासङ्घ सचिवालयमा भएको भेटवार्तामा ढकालले बजारमा माग सिर्जना गर्न आगामी मौद्रिक नीतिले ब्याजदर घटाउने, चालु पुँजी कर्जा मार्गदर्शनको परिमार्जन एवं कर्जाको पुनर्संरचना, पुनर्तालिकीकरण पुर्न कर्जा सुविधा दिनुपर्नेमा महासङ्घले राष्ट्र बैङ्कसँग आग्रह गरिरहेको बताएका थिए।
अध्यक्ष ढकालले यसमा अन्ताराष्ट्रिय मुद्रा कोषको समेत सहयोग आवश्यक रहेको बताएका थिए। उनले श्रीलङ्काको अर्थतन्त्रजस्तो हुने आशङ्कामा बजारमा माग सङ्कुचन गर्न ल्याइएका कार्यक्रमले बजारमा समस्या भएको बताएका थिए।
महासङ्घका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले अधिकांश उद्योग न्यून क्षमतामा सञ्चालित रहेकाले बजार चलायमान बनाउन आवश्यक रहेको बताएका थिए।
महासङ्घ लगानी तथा अन्तर्राष्ट्रिय मामिला फोरमका सभापति मनोज पौडेलले लगानी बिस्तारका बारेमा नीतिगत सुधार आवश्यक रहेको बताएका थिए।
कोषको मिसन टोली प्रमुख टिएडन टिन्डाले अहिलेको अवस्थामा निजी क्षेत्रको धारणा बुझ्न आवश्यक भएकोले आफू महासङ्घ आएको बताएका थिए।
उनले बजारमा माग घट्नुको कारण र पछिल्लो बजेटको प्रभावबारे जिज्ञासा राखेका थिए। मिसन टोली प्रमुख टिन्डाले महासङ्घका अध्यक्षले राखेको विषयलाई आफूले महत्वका साथ लिएको बताएका थिए।
उनले यस विषयमा थप छलफल गर्ने र आर्थिक स्थायित्वका लागि सहकार्य गर्ने बताएका थिए।
Discussion about this post