काठमाडौं– लोक सेवा आयोगले लिखित परीक्षाहरु स्थगित गरेको छ। बिहीबार बसेको आयोगको बैठकले कोरोना भाइरसको बढ्दो संक्रमण र आयोगकै कर्मचारीमा समेत कोरोना संक्रमण देखिएपछि लिखित परीक्षाहरु स्थगित गर्ने निर्णय गरेको हो।
आयोगले माघ ११ गतेदेखि माघ मसान्तसम्म सञ्चालन हुने लितित परीक्षाहरु स्थगित गरेको हो। यस्तै, फागुन १ गतेदेखि सञ्चालन हुने लिखित परीक्षा कार्यक्रम समेत कम्तीमा ७ दिनको पूर्वसूचना दिइ पुन:तालिकिकरण गरी सञ्चालन गर्ने निर्णय भएको आयोगका उपसचिव एकनारायण शर्माले जानकारी दिए।
माघ ११ गतेदेखि सुरु हुने गरी उपसचिवको आन्तरिक प्रतिस्पर्धा र खुलातर्फको परीक्षा तोकिएको थियो। यही बीचमा स्वास्थ्य सेवाका नवौं तहका विभिन्न पदको लिखित परीक्षा र संगठित संस्थाका परीक्षाहरु पनि तोकिएका थिए।
ती परीक्षाहरु हाललाई स्थगित गरिएको हो। परीक्षा बाहेकका अन्य पूर्वनिर्धारित कार्यहरु यथावत रुपमा सञ्चालन हुने आयोगले जनाएको छ।
Discussion about this post