काठमाडौं– ज्येष्ठ नागरिकमा भएको ज्ञान, सीप र अनुभवको पुस्तान्तरण गर्नुपर्ने राष्ट्रपति विद्यादेवी भण्डारीले बताएकी छन्। यसका लागि अनुकूल परिस्थिति निर्माण गरी सामूहिक प्रयास गर्न उनले सम्बद्ध सबैमा आग्रह गरेकी छन्।
प्रथम राष्ट्रिय ज्येष्ठ नागरिक दिवस, २०७८ का अवसरमा आइतबार शुभकामना दिँदै उनले कानुनी र नीतिगत प्रावधानको प्रभावकारी कार्यान्वयनका माध्यमबाट ज्येष्ठ नागरिकप्रति सम्मानजनक व्यवहार र उनीहरूको सहज जीवनयापनका लागि ठोस पहल गर्नसमेत सबैमा आग्रह गरेकी छन्।
‘जीवनको उर्बर समय परिवारको लालनपालनका साथै समाज र राष्ट्रको सेवामा समर्पित भई अथाह ज्ञान, सीप र अनुभवले भरिपूर्ण ज्येष्ठ नागरिक हाम्रा लागि ज्ञान र अनुभवका खानीसमेत हुन्,’ सन्देशमा उल्लेख छ, ‘स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली ज्येष्ठ नागरिकमा सुस्वास्थ्य, दीर्घायू तथा मर्यादित जीवनयापनका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु।’
माया, ममता र करूणाका स्रोत रहेका ज्येष्ठ नागरिकलाई आदर, सम्मान, उचित संरक्षण र मर्यादित जीवनयापनमा सहजीकरण गर्न यो दिवसले सबैलाई प्रेरणा प्रदान गर्ने उनको विश्वास छ।
Discussion about this post