काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ४४४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ६४० जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १५०९ र एन्टिजेन विधिबाट ९३५ रहेका छन् ।
यही अवधिमा थप ३ हजार ८५३ जना निको भएका छन् भने थप ४२ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा सङ्क्रमितको कुल सङ्ख्या छ लाख ६४ हजार पुगेको छ भने मृतकको सङ्ख्या ९,०५१ पुगेको छ । अहिले कुल ३५,०७५ जनामा सक्रिय सङ्क्रमण रहेको र तीमध्ये २,८७५ जना संस्थागत आइसोलेशनमा रहेका छन् ।
कुल सक्रिय सङ्क्रमितमध्ये ८,३९७ जना काठमाण्डू उपत्यकामा रहेका छन् । अहिले देशभरिका २० जिल्लामा ५०० भन्दा बढी सक्रिय सङ्क्रमित छन् भने थप २६ जिल्लामा २०० भन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन् ।
अहिले सङ्क्रमितको सङ्ख्या घटेको भए पनि पुष्टि हुनेमध्ये अन्यत्रको तुलनामा काठमाण्डू उपत्यकाका धेरै भएको तथ्याङ्कले देखाउँछ । सोमवार पुष्टि भएकामध्ये काठमाण्डूमा ३५५ जना छन् भने ललितपुर र भक्तपुरका क्रमशः ११२ र ४७ जना रहेका छन् ।
एक सयभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएका जिल्लाहरूमा झापा १९३ जना र मोरङ ११६ जना रहेका छन् । मन्त्रालयका अनुसार सङ्क्रमितमध्ये अहिले ६५७ जना देशभरिका विभिन्न अस्पतालका आईसीयूमा र १९३ जना भेन्टिलेटरमा छन् ।
लिङ्गका आधारमा हेर्दा कोभिडबाट सङ्क्रमित हुनेहरूमा ३९.२५ प्रतिशत महिला छन् भने ६०।७५ प्रतिशत पुरुष छन् ।
Discussion about this post