काठमाडौं– काठमाडौं उपत्यकामा जोरबिजोर प्रणालीमा सार्वजनिक यातायात चलाउने तयारी थालिएको छ। बिहान १० बजेपछि बस्ने उपत्यकाका तीन जिल्ला (काठमाडौं, भक्तपुर तथा ललितपुर)का प्रमुख जिल्ला अधिकारीहरुको बैठकले यससम्बन्धी निर्णय गर्ने जनाइएको छ।
यसअघि आइतबार बसेको बैठकमा यससम्बन्धी कुरा उठेको थियो। यसअघि नै जोरबिजोर प्रणालीमा निजी सवारीसाधन सञ्चालनमा आइसकेको छ।
असार १७ गतेबाट हवाई उडान पनि खुल्ने भएपछि आइतबारको बैठकले सार्वजनिक यातायात पनि जोरबिजोर प्रणालीमा चलाउने निष्कर्ष निकालेको हो।
जोरविजोर प्रणाली अपनाई ठूला सवारीसाधन चलाउन दिने विषयमा आइतबारको बैठकमा छलफल भएको बताउँदै काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) कालीप्रसाद पराजुलीले आज (सामेबार) बस्ने संयुक्त बैठकले यसबारे निर्णय गर्ने जानकारी दिए। निषेधाज्ञाका प्रावधान भने यउसअघिको भन्दा थप खुकुलो बनाउने तयारी भएको उनले बताए।
थप खुकुलो बनाउन के–कस्ता मापदण्ड लागू गर्ने भन्ने निर्णय हुन बाँकी रहेको सीडीओ पराजुलीले बताए। अहिलेको निषेधाज्ञाबाट संक्रमणदरमा परेको प्रभाव विश्लेषण गरी आगामी रणनीति तय गरिने उनको भनाइ छ।
Discussion about this post