काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ७३६८ जनामा कोरोनाभाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट ७ हजार ३१६ र एन्टिजेन विधिबाट ५२ जना गरी जम्मा ७ हजार ३६८ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ६ हजार ६४८ जना कोरोना संक्रमणमुक्त बनेका छन् । निको हुनेदर ७४.६ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेखछ ।
संक्रमितमध्ये देशभर १ हजार ३१३ जना आईसीयूमा र ३८० जना भेन्टिलेटरमा उपचाररत रहेका छन् भने अधिकांश संक्रमित होम आइसोलेसनमै रहेका छन् ।
उपत्यकमा थप २,६०९ संक्रमित
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप २,६०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
उपत्यकाभित्र भक्तपुरमा २९२, ललितपुरमा ४३६ र काठमाडौंमा १ हजार ८८१ गरी जम्मा २ हजार ६०९ जनामा संक्रमण पुष्टि भएको हो । हाल देशभर १ लाख १० हजार २६३ जना सक्रिय संक्रमित रहेका छन् ।
१४५ जनाको मृत्यु
कोरोना भाइरस संक्रमणका कारण पछिल्लो २४ घण्टामा १४५ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार देशभर सक्रिय संक्रमितको संख्या एक लाख १० हजार १६३ जना रहेका छन् । जसमध्ये सात हजार ८०८ जना संस्थागत आइसोलेसनमा र एक लाख दुई हजार ४५५ जना होम आइसोलेसनमा रहेका छन् ।
Discussion about this post