असल छिमेकी नेपालले यही मंसिर ३ र ७ गते गोरखाको श्रीनाथकोट र भुम्लिचोकमा नवनिर्मित २५० घर हस्तान्तरण गरेको छ । नेपाल सरकार राष्ट्रिय पुनः निर्माण प्राधिकरणको टपअप कार्यक्रम अन्तर्गत रही चैत्र, २०७४ मा कार्यक्रम स्वीकृत भएर शुरु भएको यो व्यक्तिगत आवास पुनः निर्माण परियोजनाअन्तर्गत कार्यक्रम सम्पन्न भएको हो । यससँगै २०७२ बैशाख महिनामा गएको महाभुकम्पले क्षत विक्षत पारेको हाम्रा गाउँहरु अब विस्तारै पहिलाको भन्दा पनि रङ्गिचङ्गि हुंदै जान थालेको छ ।
नेपाल सरकारले भुकम्प प्रभावितहरुको लागि भनि प्रदान गरिएको रु ३,००,००० मध्येको पहिलो चरणको किस्ता पश्चात पनि उक्त स्थानमा व्यक्तिगत आवास निर्माण हुन नसेको हुँदा नेपाल सरकार र सम्बन्धित निकायहरु तथा सरोकारवालहरु संगको समन्वयमा २५० परिवारको लागि व्यक्तिगत आवास निर्माणको कार्य सम्पन्न गरेको हो जसको लागि नेपाल सरकारले दिने रकममा करिब रु. ७०,००० असल छिमेकी नेपालले थपिदिएको थियो ।
कार्यक्रममा गण्डकी प्रदेशका भौतिक पुर्वधार मन्त्री रामशरण बस्नेतले असल छिमेकी नेपाल साच्ची नै एक असल छिमेकी भएर यस गोर्खा जिल्लामा उदाहरणीय भएर काम गरेको धारणा व्यक्त गरे । उनले भने, “म यस कामको प्रशंसा गर्छु र आवश्यकता परेको खण्डमा आफनो तर्फबाट असल छिमेकीलाई पर्ने सहयोग गर्न सदैव तयार छु ।” गण्डकी गाउँपालिका अध्यक्ष होमबहादुर रानाले भने, “असल छिमेकी नेपालले यस भन्दा पहिला नै स्वास्थ्य चौकी बनाएर आफनो असल पन देखाएको छ । यसको प्रशंसा गर्छु साथै यस संस्थाका कर्मचारीहरु पनि अति नै लगनशिल ईमान्दार भई सेवा गरेकोमा हार्दिक कृतज्ञता प्रकट गर्दछु ।” संस्थाका कर्मचारीहरु कर्मचारीको रुपमा नभई एक परिवारको सदस्यको रुपमा बसी निर्माण कार्य गर्दै सम्पन्न गरेकोमा स्थानीयबासीले खुशि व्यक्त गरेका छन् ।
Discussion about this post