चैत २४, काठमाडौं नेपाली इसाई मण्डली गोंगबु चर्चमा आज आइटिन दीक्षान्त समारोह भव्यताका साथ् सम्पन्न भएको छ । मण्डलीको सर्वाङ्गीण विकासका निम्ति आइटिनद्वारा प्रकाशित बिभिन्न चरणका अध्ययन मालाहरू समाप्त गरी नेपाली इसाई मण्डलीअन्तर्गत काठमाडौंका बिभिन्न चर्चका १८८ जना आज दीक्षित भएका हुन् । दीक्षितहरू मध्येका केहीले आफ्नो अनुभव बाँड्दै आइटिन कक्षाबाट व्यावहारिकरूपमा पाएको धर्मशास्त्रीय ज्ञानले आफूहरू लाभान्वित भएको बताए । दिक्षितहरूलाई नेपाली इसाई मण्डलीका पास्टरहरू बर्णबास श्रेष्ठ र अशोक मुखिया तथा आइटिनका निर्देशक पास्टर टंक सुवेदीले पालोपालो प्रमाणपत्र वितरण गर्नुभयो ।
उक्त कार्यक्रममा पास्टर बर्णबास श्रेष्ठले परमेश्वरको वचनबाट दिक्षितहरूलाई उत्साह दिंदै परमेश्वरको राज्यको असल खेताला बन्न आव्हान गर्नुभयो । “घरघरै बाइबल कलेज” भन्ने आइटिनको नाराजस्तै घरमै बसेर पनि बाइबल कलेजस्तरको शिक्षा पाउने हुँदा आइटिन पाठ्यशृंखलाहरूले मण्डलीलाई बलियो बनाउने विचार उपस्थित पास्टर अगुवाहरूले राख्नुभयो । आइटिन कार्यकारी समितिका अध्यक्ष पास्टर मुकुन्द शर्माले सबै दिक्षितहरूलाई बधाइ दिँदै उहाँहरूको निम्ति प्रार्थना गरिदिनुभयो ।
Discussion about this post