कमल बिएन
पोखरा, २६ फागुन।
नेपालमै ऐतिहासिक कार्यको रुपमा पोखरामा सय जना विशिष्ट व्यक्तिको रथारोहणसहित नागरिक अभिनन्दन तथा सम्मान गरिएको छ। सम्मानित हुनेमा कलाकारिता, पत्रकारिता, शिक्षा, दर्शन, सामाजिक सेवा, भाषा, साहित्य, स्वास्थ्य, महिला तथा बालबालिका, उद्योग, संस्कृति, पर्यटन, संगीत, कला, कृषि, मानवअधिकार, बैंकिङ, खेलकुद क्षेत्रका व्यक्ति छन्। सम्मानित सय व्यक्तिहरुमध्ये रामचन्द्र तिमोथी शिक्षा क्षेत्रमा पुर्याएको योगदानका लागि, बेलायती नागरिक कोलिन स्मिथलाई पुतली अनुसन्धानमा जीवन समर्पण गरेका लागि, जोर्ज जोन र डा. एलियामा जोनलाई शिक्षा क्षेत्रमा पुर्याएको योगदानका लागि सम्मानित गरिएको हो।
प्रमुख अतिथि उपराष्ट्रपति नन्दकिशोर पुन, प्रदेश ४ का प्रमुख बाबुराम कुँवर, मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङ, लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बी १ नेपालका डिष्ट्रिक्ट गभर्नर धनराज आचार्य, पोखरा लेखनाथ महानगरका प्रमुख मानबहादुर जिसी लगायतले सम्मानपत्र हस्तान्तरण गरेका थिए। उपराष्ट्रपति पुनले लायन्सले सामाजिक सेवामा गरेको कार्यको उच्च प्रशंसा गर्दै सय जना व्यक्तिलाई लायन्सले एउटै मञ्चमा सम्मान गरेर उदाहरणीय काम गरेको बताए। कार्यक्रममा लायन्स अन्तर्राष्ट्रियका प्रतिनिधि जगदीश गुलाटीले विभिन्न क्षेत्रमा योगदान र्पुयाउने सय जना व्यक्तिलाई अभिनन्दन गरेर डिष्ट्रिक्टले रचनात्मक कार्य गरेको बताए। लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बी १ नेपालका डिष्ट्रिक्ट गभर्नर धनराज आचार्यले पर्यटकीय नगरी पोखरामा मुलुकका गहनालाई एकैथलोमा सम्मान गर्न पाउँदा खुसी लागेको बताए।
‘हाम्रो गौरव राष्ट्रिय सान, सय वर्षमा सय जना सम्मान’ नाराका लायन्स अन्तर्राष्ट्रिय स्थापनाको सय वर्षको अवसरमा आयोजित विशेष कार्यक्रमबीच ‘व्यक्तिगत लाभभन्दा माथि उठेर राज्य एवं समाजमा विभिन्न क्षेत्रमा विशेष योगदान पुर्याएका मेचीदेखि महाकालीसम्मका विशेष योगदान पुर्याउने सय जनालाई रथारोहणसहित सम्मान गरिएको हो। पोखरा सभागृहदेखि शुरु रथारोहण न्यूरोड, महेन्द्रपुल, नयाँबजार हुँदै प्रदर्शनी केन्द्रमा पुगी सम्मान कार्यक्रममा परिणत भएको थियो।
Discussion about this post