
अर्को भूकम्प
(धार्मिक स्वतन्त्रताको अधिकार) ENGLISH
रेभ. डा. बाल कृष्ण शर्मा, पिचडी
नेपाल देशमा आएको बि.सं. २०७२ साल बैषाख १२ गतेको महाभूकम्प र त्यसपछिका सयौँ पराकम्पनबाट देशवासीहरू विस्तारै समान्य जीवनतिर उन्मुख भइरहेका छन् । मानिसहरूले अझै पनि घातको अनुभूति गरिरहेका छन् र यसबाट पूर्ण रूपमा निको हुनका लागि समय लाग्छ । नेपालको यस कठिन परिस्थितिमा राष्ट्रिय र अन्तर्राष्ट्रिय निकायहरूबाट तीन किसिमका प्रतिउत्तरहरू प्राप्त भइरहेका छन् । तत्कालिन राहतका सामानहरूको वितरण, अस्थायी टहरामा बसोबासको सामान्य व्यवस्था र अब बासको निम्ति उपयुक्त घरहरूको निर्माण । देशभित्र विभिन्न सरकारी र गैर सरकारी निकायहरूबाट यस विपतको घडीमा उत्साहजनक प्रतिउत्तरहरू प्राप्त हुनुले मानिसहरूको सरोकारलाई चित्रण गर्छ । विभिन्न अन्तर्राष्ट्रिय सरकारी र गैर सरकारी निकायले नेपालको यस कठिन परिस्थितिमा भरसक्दो सहयोग गरिरहेका छन् र यस किसिमका प्रतिउत्तरमा हामी कृतज्ञ हुनुपर्छ । भर्खेरै अन्तर्राष्ट्रिय निकायहरूले नेपाललाई पुनर्निमाणको कार्यका लागि ४ खरबभन्दा बढीको सहयोगको प्रतिबद्धता जाहेर गरेका छन् र सरकारले यसलाई कसरी पीडित वर्गसम्म पुर्याउँछ र पारदर्शीरूपमा यसलाई परिचालन गर्छ अहिले सबैको चासोको विषय भएको छ । हाम्रो देश नेपाल समृद्ध होस् भन्ने हाम्रो सहयोग, लगानी र प्रार्थना छ ।
नेपालमा रहेका र अन्य देशहरूमा रहेका ख्रीष्टियानहरूले पनि नेपालको यो पीडाको घडीमा सहयोगका हात बढाई विभिन्न परिवारहरू र समुदायहरूलाई सहयोग गरेका छन् । चर्चहरूले खानेकुरा र अस्थायी बासहरू उपलब्ध गराई समुदायहरूलाई सहयोग गरेका छन् । उनीहरूले सबै समुदायका सबै धर्मालम्बीहरूलाई सहयोग गरेका छन् । ख्रीष्टियानहरूले ख्रीष्टियाहरूलाई मात्र सहयोग गरे भन्ने आरोप आधारहीन छ । अब ख्रीष्टियानहरूले पुनर्निमाणको कार्यमा पनि सहयोग गर्नुपर्छ । ख्रीष्टियानहरूका आफ्नै आराधनालयहरू पनि प्रभावित भएका छन् । प्रारम्भिक तथ्यहरूका संकलनअनुसार नेपालमा भएका चर्च भवन वा आराधनालयहरूमध्ये करीब ६०० वटा पूर्ण रूपमा ध्वस्त भएका छन् भने करीब २००० वटा चर्च भवनहरू आंशिक रूपमा क्षति भएका छन् । ती सबैलाई पुनःनिर्माण गरिनुपर्छ ।
नेपाल सरकार वा सञ्चारका माध्यमहरूले नेपालमा रहेका ख्रीष्टियान समुदायको योगदानलाई औपचारिक रूपमा स्वीकार नगरे पनि उनीहरूको सहयोगलाई प्राप्तगर्ने समुदायहरूले ख्रीष्टियान चर्च र ख्रीष्टियानहरूप्रति ठूलो कृतज्ञता व्यक्त गरेका छन् । यस किसिमको योगदानलाई आधिकारिक निकायहरूले स्वीकार नगरे पनि यो निस्स्वार्थ भावनाको सेवाको इनाम अवश्य पनि प्राप्त हुनेछ । ख्रीष्टियानहरू र सबै निकायहरूका योगदानका निम्ति हामी परमेश्वरलाई धन्यवाद दिन चाहन्छौँ । नेपालको पुनर्निर्माणको लागि हामी निरन्तररूपमा प्रार्थना गरौँ । विनाश भएका भौतिक संरचनाहरूका पुनर्निर्माणले मात्र पुग्दैन, तर भत्किएका मानव जीवनको पनि पुनर्निर्माण हुनुपर्छ । मानवजातिले जीवनको साँचो अर्थ प्राप्त गर्नुपर्छ । महाभूकम्पले मानव आशालाई चकनाचूर पारेको छ । मानवले कहाँ सुरक्षा पाउँछ भन्ने कुरामा आज उसलाई प्रश्न उठेको छ । करोड पतिहरू एकैछिनमा रोड पतिहरू बनेका छन् । मानवहरू आशाहीन भएर प्रश्न गरिरहेका छन् । आज उनीहरू निको हुनुपर्छ र जीवनको अर्थ भेट्टाउनुपर्छ । मानवलाई पुनर्स्थापना गर्न र जीवनको साँचो अर्थ दिनका लागि नै येशू आउनुभयो र उहाँ नै शान्ति र प्रेमका राजकुमार हुनुहुन्छ ।
नेपाली चर्च वा मण्डलीले अर्को स्वभावको भूकम्पको अनुभव गरिरहेको छ । नेपालले राजनीतिक, धार्मिक, सामाजिक, र आर्थिक क्षेत्रहरूमा ठूला चुनौतीहरूको सामना गरिरहेको छ । यहाँ म एक राष्ट्रिय विषय वा मुद्दाको बारेमा ध्यानाकर्षण गराउन चाहन्छु । अठारौँ शताब्दीमा, मल्ल राज्ययुगमा नेपालले पूर्ण धार्मिक स्वतन्त्रताको अनुभव गरेको थियो । यस स्वतन्त्रतामा आफ्नो धार्मिक आस्थालाई अभ्यास गर्न पाउने, प्रचार‑प्रसार गर्न पाउने र आफूलाई इच्छालागेको धार्मिक आस्था स्वीकार गर्न पाउने र आफूलाई इच्छा नलागेको धार्मिक आस्था इन्कार गर्न पाउने अधिकार राखिएको थियो । अठारौँ शताब्दीमा नेपालमा ख्रीष्टियान उपस्थिति बलियो भएको थियो । अठारौं शताब्दीको अन्त्यतिर मल्ल राज्यहरूको समाप्तिसँगै ख्रीष्टियानहरूले पाएका धार्मिक स्वतन्त्रता पूर्ण रूपमा गुम्यो । राणकालीन जहानीय शासनले नेपाललाई बाहिरीय विश्वबाट अलग राख्यो र सन् १९५० वा बि. सं. २००७ को राजनीतिक परिवर्तनले नेपालमा केही परिवर्तनका लक्षणहरू देखिए । बि सं २००७ पछि, नेपाल बाहिरी संसारको लागि खुला भयो । यहाँ भारत लगायत विभिन्न देशहरूबाट समाजसेवी र साथसाथै स्वास्थ्य, शिक्षा, र अन्य कार्यहरूका लागि मानिसहरू आउन थाले । इ.सं. अठारौँ शताब्दीमा बन्देज लगाइएको येशूको सुसमाचारले पनि केही हदसम्म नेपालमा स्थान प्राप्त गर्न थाल्यो । चर्चहरू विस्तारै शुरू हुनथाले । सुसमाचार सुनाउने कार्य पनि हुनथाल्यो । त्यसबेला सेवा गर्नुहुने व्यक्तित्वहरूमध्ये कोही अझै पनि हामीसँगै हुनुहुन्छ । उहाँहरूको बोलावट, प्रेरणा, समर्पण र कार्यहरू हामीहरूका लागि उदहरणीय छन् । यस समयमा स्थापित ससाना चर्चहरू आज पनि अस्तित्वमा छन् र संख्यात्मक रूपमा पनि ती ठूला छन् ।
बि.सं. २००७ मा प्राप्त धार्मिक स्वतन्त्रताको अधिकार दश वर्षपछि २०१७ सालमा आएर कुण्ठित गरियो । धार्मिक स्वतन्त्रताको अधिकारलाई पूर्ण रूपमा खोसियो । येशूको मिलापको सन्देश बताउन नपाउने मात्र होइन सुन्न पनि नपाउने गरी प्रतिबन्ध लगाइयो । तर पनि संघर्षगर्दै र प्रार्थना गर्दै, येशू ख्रीष्टमा भरोसा राख्दै ख्रीष्टियानहरू अगि बढिनै रहे । ख्रीष्टियानहरू र चर्चहरूमाथि मुद्दा लगाइयो, ख्रीष्टियानहरूलाई झ्यालखान हालियो र दुःख दिइयो । उनीहरूले कुनै गल्ती वा अपराध गरेका कारणले होइन तर उनीहरूका धार्मिक आस्थाका कारणले नै यस्तो अन्याय गरिएको थियो । तीस वर्षको यस यातानापछि बि.सं. २०४६ वा सन् १९९० मा भएको राजनीतिक परिवर्तनले आस्थाका सबै बन्दीहरूलाई छुटकारा दियो । त्यसपछि ख्रीष्टियानहरूले केही हदसम्म भए पनि धार्मिक स्वतन्त्रताको अनुभूति गरिरहेका छन् ।
बि.सं. २०१७ देखि २०४६ सम्म करीब ३० वर्ष नेपालमा राजनीतिक र धार्मिक आस्थाका बन्दिहरूले एकसाथ यात्रा गरे। तिनीहरू दुवैलाई उनीहरूका आस्थाका कारण झ्यालखानमा हालियो, यातना दिइयो, उनीहरूका आस्था त्याग्ने दबाब दिइयो र उनीहरूलाई सक्नेजति त्यसबेलाको राज्यले दुःख दियो । त्यस बेला पनि हामीले सुन्ने गर्थ्यौँ नेपाली काँग्रेसको झण्डाका चारवटा ताराहरूमध्ये एउटा ताराचाहिँ पूर्ण धार्मिक स्वतन्त्रताको तारा हो । पूर्ण स्वतन्त्रतासहितको यस धार्मिक आस्थामा आफूले कुनै पनि धर्मलाई अँगाल्न पाउने, त्यसको प्रचार‑प्रसार गर्न पाउने, आफ्नो आस्थामा आउनका लागि अरूहरूलाई प्रेरणा दिन पाउनेजस्ता अधिकार समाहित हुन्छन् भन्ने कुरा बुझेका थियौँ, जुन भारत लगायत अरू देशका प्रजातान्त्रिक संविधानमा लेखिएका छन् । बि.सं. २०४७ को संविधानले त्यो अधिकार हामीलाई दिएको र २०६३ को अन्तिरम संविधानको मर्म पनि त्यही प्रजातान्त्रिक अभ्यास नै हो भन्ने हामी धर्ममा आस्था राख्नेहरूको बुझाइ छ । संविधानले सबै खाले जनतालाई शान्तिसँग जिउनपाउने अधिकारको प्रत्याभूति गर्नुपर्छ । हिजो आज सदनमा धार्मिक आस्थामा भएका बहस सुन्दा मलाई अप्ठ्यारोको अनुभूति भईरहेको छ । पञ्चायत कालमा आस्थाका बन्दिका रूपमा चिनिएका विभिन्न दलका नेताहरू र ख्रीष्टियानहरूलाई उस्तै व्यवहार गरिन्थ्यो । राज्यको विरूद्धको मुद्दा उनीहरूलाई लाग्थ्यो । आज राजनीतिक आस्थालाई कुनै पनि बन्देज छैन र उनीहरूले आफ्ना दलमा अरू राजनीतिक आस्थाका व्यक्तिहरूलाई भव्य स्वागत गरेको देखिन्छ । राजनीतिक आस्थालाई परिवर्तन गर्न सक्ने, प्रचार‑प्रसार गर्न सक्ने, अरू राजनीतिक आस्थाका व्यक्तिहरूलाई आफ्नो आस्थामा आउनका लागि उत्साह र आव्हान् गर्न सक्ने अधिकार हुन्छ भने के कारणले धार्मिक आस्थामा रोक लगाउने जमर्को गरिएको छ त्यसको हामीलाई उत्तर चाहिन्छ । विभिन्न आस्थाका राजनीतिक दलहरूका अभ्यासहरूलाई के बन्देज गर्न मिल्छ ? यदि मिल्दैन भने, राजनीतिक दलहरूले प्रतिनिधित्व गर्ने सदनले धार्मिक आस्थाको हकलाई निषेध गर्न मिल्छ, यस्तो गर्ने राजनीतिक सोच तर्कसंगत छैन ।
सन् २००८ मा भएको संविधान सभाको चुनावपछि नेपाल देशमा संविधान लेख्ने प्रक्रिया शुरू भयो । यसलाई जनताको संविधानको नाम दिइयो र सबैले आ‑आफ्ना अधिकारको अनुभूति पाउनेछन् भन्ने कुरामा अझै पनि जोड दिइएको अवस्था छ । प्रत्येक नागरिकले आफू नेपालमा सम्मानसाथ बस्नपाउने कुराको अनुभूति गर्नपाउनुपर्छ । उसका आधारभूत अधिकारलाई कुण्ठित गरिनुहुँदैन । ३० वर्षसम्म पञ्चायत प्रणालीको प्रयोग गर्ने र राजनीतिक र धार्मिक आस्थालाई कुण्ठित गर्ने पूर्व पञ्चहरूको एक सानो तप्काले हिन्दू राज्य र राजतन्त्रको वकालत गरी सदनलाई बेलाबेलामा बन्दि बनाउँदै आएको यस सन्दर्भमा उसका मागहरूलाई सम्बोधन गर्ने नाममा प्रजातन्त्रका आधारभूत सिद्धान्तहरूसँग कुनै पनि राजनीतिक दलले खेलबाड गर्नुहुँदैन । शान्तिसँग जिउनपाउने धार्मिक स्वतन्त्रतामा हस्तक्षेप गर्नुहुँदैन । नेपाललाई हिन्दू राज्य बनाउने र धार्मिक स्वतन्त्रतालाई कुण्ठित गर्ने कोशिशमा भारतको हिन्दूत्व अभियान लागेको छ जसलाई वर्तमान भारती सरकारको पनि आशिर्वाद रहेको छ । नेपाललाई धार्मिक मामिलामा अस्थिर राख्ने यो षडयन्त्र पनि हुनसक्ने सम्भावना त्यतिकै प्रवल छ । राष्ट्रको हित र समृद्धिको लागि राज्यले कुनै पनि धर्मको मामिलामा वकालत गरी सबै धर्महरूलाई सह‑अस्तित्वमा रहन पाउने अधिकारमा हस्तक्षेप गर्नुहुँदैन । सबै धर्महरूलाई समान अधिकार प्रदान गर्नु पर्दछ ।
अहिले तयार भएको नेपालको संविधान २०७२ को मस्यौदा अहिले जनताहरूकहाँ पठाइएको छ । मस्यौदा संविधानमा थुप्रै विरोधाभासहरू भएका कुरा धेरै व्यक्तिहरूले औंल्याइसकेका यस सन्दर्भमा अहिले यहाँ धार्मिक मामिलाको सम्बन्धमा म केही कुरा राख्न चाहन्छु र मेरो यो सुझाव सम्बन्धित निकायमा पनि पुगी यसमा ध्यान दिइयोस् र पूर्ण धार्मिक स्वतन्त्रतालाई संस्थागत गरियोस् भन्ने माग पनि गर्न चाहन्छु ।
मस्यौदाको धारा ३१: स्वतन्त्रताको धार्मिक हकः
१. प्रत्येक व्यक्तिलाई आफ्नो आस्था अनुसार धर्मको अवलम्बन, अभ्यास र संरक्षण तथा कुनै धर्मबाट अलग रहने स्वतन्त्रता हुनेछ ।
२. प्रत्येक धार्मिक सम्प्रदायलाई कानुन बमोजिम आफ्नो स्वतन्त्र अस्तित्व कामय राखी आफ्नो धार्मिक स्थल र धार्मिक गुठीको सञ्चालन र संरक्षण गर्ने हक हुनेछ ।
३. यस धाराद्वारा प्रदत्त हकको प्रयोग गर्दा कसैले पनि सार्वजनिक स्वास्थ्य, शिष्टाचार र नैतिकताको प्रतिकूल हुने वा सार्वजनिक शान्ति भंग गर्ने क्रियाकलाप गर्न, गराउन वा कसैको धर्म परिवर्तन गराउने वा अर्काको धर्ममा खलल पर्ने काम वा व्यवहार गर्न वा गराउन हुँदैन र त्यस्तो गर्ने कार्य कानुन बमोजिम दण्डनीय हुनेछ ।
मस्यौदाको धारा ३१ को पहिलो बुँदाले एक व्यक्तिलाई आफ्नो आस्थाअनुसार धर्म मान्न पाउने, आफ्नो स्वेच्छाअनुसार अर्को कुनै धर्मलाई अवलम्बन गर्न पाउने वा नास्तिक भएर जिउन पाउने अधिकार प्रदान गरेको छ । पूर्व पञ्चहरूको एक समूहले संविधान सभा भवनमा मानवको नैसर्गिक धार्मिक अधिकारको विरूद्धमा विरोध गरेपछि यो मौलिक अधिकारको बुँदालाई मस्यौदा समितिका अध्यक्ष महोदयले गरिदिनुभएको व्याख्या सुन्दा मलाई उदेक लागेको छ । के संविधान भनेको कसैलाई खुशी पार्नका लागि अरूको आधारभूत मानव अधिकारलाई हस्तक्षेप गरी गरिने व्यख्या र कार्यान्वयन हो र ? उहाँको व्याख्या अनुसार माथिको धारा ३१ को बुँदा १ को अर्थ नेपाली नागरिकलाई आफ्नो धर्म त्याग गरी नास्तिक बन्ने अधिकार हुन्छ अरे तर उसलाई एउटा धर्मबाट अर्को धर्ममा परिवर्तन हुने अधिकारचाहिँ हुँदैन अरे । कस्तो व्याख्या ! खोइ त एक व्यक्तिको स्वेच्छाको निर्णय ? चार दलका मुख्य नेताहरू पनि यस व्याख्यामा सहमत भएका कुराहरू पनि सञ्चार माध्यमबाट सुन्न पाइयो ? यही हो धर्म निरपेक्ष र धार्मिक स्वतन्त्रताको मर्म ? के विश्वमा विभिन्न धर्म मान्ने व्यक्तिहरू अपराधीहरू हुन् र उनीहरूलाई धर्म मानेको कारण दण्ड दिइनु पर्ने ? यी तमाम प्रश्नहरू अहिले राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा उब्जिएका छन् । संविधान लेखकहरूले गम्भिरताकासाथ यी विराधाभासका नीतिहरूलाई सम्बोधन गर्न आवश्यक छ ।
अहिले व्याख्या भइरहेको अनुसारको धार्मिक स्वतन्त्रताको बुँदा नेपालले हस्ताक्षर गरेका कतिपय अन्तर्राष्ट्रिय सन्धिसँग पनि बाझिएका छन् । अब नेपालमा भएको ख्रीष्टियान समुदायले सबैका हितमा हुने धार्मिक स्वतन्त्रताका सवालमा के गर्नुपर्छ त ? म यहाँ केही सुझाव दिन चाहन्छु ।
पहिलो कुरा, चर्चहरू सबै मिलेर यस विषयमा प्रार्थना गर्नुपर्छ । हामी सारा विश्वका सर्वोच्च परमेश्वरमाथि विश्वास गर्छौँ जसले मानव इतिहासलाई परिवर्तन गर्नुभएको छ । परमेश्वरले मानवका गलत निर्णयहरूलाई परिवर्तन गर्न सक्नुहुन्छ । हाम्रो सबैभन्दा ठूलो हतियार बन्दुक र गोली होइन, तर जीवित परमेश्वरको उपस्थितिमा रही गरिएको ह्रदयदेखिको समर्पित प्रार्थना हो । प्रार्थनाको अभियानलाई स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा पुर्याउनुपर्छ । प्रार्थनाका योद्धाहरू र उनीहरूले प्रार्थना गर्दा परमेश्वरले हस्तक्षेप गर्नुभएका प्रशस्तै उदाहरणहरू हामीसँग छन् । मोशा, दानिएल, नहेम्याह, एस्तर, प्रेरितहरूले प्रार्थना गरे र परमेश्वरले तिनीहरूका प्रार्थनाका जवाफ दिनुभयो ।
दोस्रो कुरा, यो विषय वा मुद्दालाई हामीले राजनीतिक नेताहरू, मानवअधिकार कर्मीहरू, नागरिक समाजका नेताहरू, न्यायाधीशहरू, वकिलहरू, सञ्चारकर्मीहरू, विभिन्न धार्मिक समुदायका मानिसहरू र सामान्य मानिसहरूकहाँ पुर्याई मानव अधिकार हनन भएको कुरालाई अवगत गराउनुपर्छ । अन्तर्राष्ट्रिय समुदाय र मानवअधिकारवादी संघ‑संस्थाहरूलाई पनि नेपालको धार्मिक स्वतन्त्रताको अवस्था र वर्तमान संविधानको धाराको गलत व्याख्याका बारेमा अवगत गराउनुपर्छ । अन्तर्राष्ट्रिय संघसंस्थाहरूले धार्मिक स्वतन्त्रताका विषयमा नेपाल राज्यलाई प्रश्न सोध्नुपर्छ । नेपालले संयुक्त राष्ट्रसंघको मानव अधिकारको विश्व घोषणा र नागरिक र राजनीतिक अधिकारमा अन्तर्राष्ट्रिय संन्धि (आइसिसिपिआर) (United Nations Universal Declaration of Human Rights and International Convention on Civil and Political Rights(ICCPR)) लाई अनुमोदन गरी यसमा हस्ताक्षर गरेको छ । जुन दस्तावेजमा प्रत्येक व्यक्तिका लागि पूर्ण धार्मिक स्वतन्त्रताको प्रत्याभूति गरिएको छ । एक व्यक्तिसँग आफ्नो स्वेच्छासाथ कुनै पनि धार्मिक आस्थालाई अवलम्बन गर्न पाउने, आफ्नो आस्था अरूहरूलाई बताउन पाउने र आफ्नो आस्था स्वीकार गर्नका लागि अरूहरूलाई प्रेरणा दिनसक्ने अधिकारको प्रत्याभूति गरिएको छ । नेपालले हस्ताक्षर गरेको दस्तावेजलाई कित मान्यता दिनुपर्छ नत्रभने यहाँबाट आफ्नो हस्ताक्षर निकाल्नुपर्छ । भन्ने र हस्ताक्षर गर्ने एउटा अनि व्यवहारमा अर्को गर्न पाइँदैन । नेपाल आफ्नो धार्मिक स्वतन्त्रताको प्रतिवद्धतामा इमानदार हुनुपर्छ ।
ख्रीष्टियान विश्वास वा ख्रीष्टियान जीवनशैलीलाई किन मानिसहरूले गलत किसिमले बुझेका छन् सो कुरा म आफैले बुझ्न सकिरहेको छैन । नेपालमा भएका धेरै बुद्धिजीविहरू ख्रीष्टियानहरूले चलाएका विद्यालयहरूमा अध्ययनगरी डाक्टर, इन्जिनियर, सञ्चारकर्मी र अन्य पेशेवार बनेका छन् र ती व्यक्तिहरूले ख्रीष्टियानहरूको खोइरो खनेको देख्दा मलाइ ताजुब लाग्छ । भर्खरै मात्र ख्रीष्टियानहरूले स्कूलमा पढाएका एक डाक्टरले ख्रीष्टियानहरूको खोइरो खने । उनलाई त्यहाँ पुर्याई त्यतिको धन आर्जन गर्ने बनाउने र त्यति बोल्नसक्ने बनाउने कार्यमा त्यस ख्रीष्टियान स्कूलको कति ठूलो भूमिका रहेको छ । खोलो तर्यो लौरो बिर्स्यो भएको देख्छु । मानवतासम्म पनि ख्याल नगरी योगदानलाई बिर्सनु हुन्छ र ? अर्का एकजना व्यक्ति सञ्चारमाध्यममा घरिघरि देखिन्छन्, अनि तिनले पनि ख्रीष्टियान स्कूलमा पढेका रे । तिनले जहिले पनि ख्रीष्टियानहरूको खोइरो खनेको सुन्छु । यो के गरेको हो ? ख्रीष्टियानहरू सोझा हुन्छन् भनेर हेपेको वा आफ्नो स्वार्थ पूरा भएपछि अरूलाई प्रहार गर्ने बानी परेको ?
नेपाल देशमा ख्रीष्टियानहरूले मल्लकाल देखिनै शिक्षा र स्वास्थ्यका क्षेत्रमा ठूलो योगदान दिएका छन् । बिसं २००७ पछि नेपालमा आएका ख्रीष्टियान मान्यता राख्ने संघ संस्था र चर्चहरूले नेपालका विभिन्न ठाउँमा सेवाका कार्यहरू गरेका छन् । नेपालमा भएका चर्चहरूहरूले अहिले कति धेरै मानवीय सहयोगका कार्यहरू गरिरहेका छन् । निस्स्वार्थी भावबाट यी कार्यहरू भइरहेका छन् र यी सबैको उद्देश्य देशलाई रूपान्तरण गर्नु हो । ख्रीष्टियानहरूले घोषणा गर्ने सन्देशले धर्मको वकालत होइन तर मानवको आन्तरिक र बाह्य परिवर्तनमा जोड दिन्छ । यसका शिक्षाहरूले मानवलाई उद्देश्यसाथ जिउनका लागि मार्गदर्शन प्रदान गर्छ । ख्रीष्टियान शिक्षाले के गर्छ भनी कसैले अहिलसम्म ख्रीष्टियानहरूलाई सोधेको छ ? ख्रीष्टियानहरूले के गर्छन् भनी सञ्चारमाध्मले ख्रीष्टियानहरूलाई सोध्नुपर्छ नि । अनि पो त हामी हाम्रा कुराहरू राखेर स्पष्ट पार्छौँ । सञ्चारमाध्ममा अरूहरूले ख्रीष्टियानहरूका बारेमा बोलेका कुरा सुन्दा दिक्क लाग्छ, कति गलत लाञ्छाना लगाएको ।
येशूमा विश्वास गर्ने ख्रीष्टियानको ह्रदय मदर टेरेकोजस्तो हुन्छ । उनको जतिकै मात्रामा उसको काम नहोला तर कसैलाई सेवाको भावनाले एक गिलास पानी दियो भने पनि त्यो उसको महानता हो । ख्रीष्टियान जीवन एक असल जीवन हो । ख्रीष्टले एक व्यक्तिलाई जिउने उद्देश्य दिनुहुन्छ । ऊ जिउनुको उद्देश्य परमेश्वरको महिमा गर्न र अरूहरूको सेवा गर्नका लागि हो । ख्रीष्टियान जीवनले एक व्यक्तिलाई जुनीको तनाबबाट स्वतन्त्र पार्छ । मानिस घरिघरि यस संसारमा आउँछ र आज मानिसले भोगेको बिपत्ति उसको कर्मको फल हो भन्ने गलत शिक्षा र मान्यताले गर्दा नै यस देशमा सेवाको भावना कमजोर छ । तर बाइबलको शिक्षाले त्यसको साटोमा सही शिक्षा प्रदान गरी सेवामा जोड दिन्छ । आज धेरै व्यक्तिहरूले विभिन्न किसिममा दुर्वेसनीबाट, गलत बानीहरूबाट, गलत क्रियाकलापहरूबाट बाइबलको शिक्षाका आधारमा छुटकारा पाइराखेका छन् । बाइबलको शिक्षाले जातप्रथालाई अस्वीकार गरी सबै मानवहरू बराबर हुन् भन्ने मान्यता प्रदान गरेको हुनाले आज समाजमा उत्पिडीत, हेलिँत व्यक्तिहरूले स्वीकार, इज्जत र सम्मानको अनुभूति गरेका छन् । भारतका प्रजातन्त्रिक संविधानका निर्माता डा. अम्बेदकरले आफूले मानिराखेको धर्मले आफूलाई सामाजिक सम्मान र इज्जत दिँदैन भन्ने ठहर गरी आफ्नो धर्म परिवर्तन गरेका थिए । आज हाम्रो समाजका गलत मूल्य र मान्यताले मानवलाई पीडा दिइरहेको छ र हामी त्यही मान्यतामा गर्व गर्यौं भने कसरी रूपान्तर देख्नसक्छौँ त ?
ख्रीष्टियान विश्वास के भनी बुझ्नका लागि बाइबललाई बुझ्नुपर्छ । यो शान्ति र मिलापको विश्वास हो । यसले सेवामा जोड दिन्छ । अरूहरूका खाँचोहरूमा सहयोग गर्नुपर्छ भन्ने शिक्षा बाल्यकालबाट सिकाइन्छ र अभ्यास गरिन्छ । यसले परिश्रममा जोड दिन्छ र सबै किसिमका कामहरूलाई सम्मान गर्छ । कुनै काम सानो र कुनै काम ठूलो हुँदैन भनी मान्यता राख्छ । येशूले सिकाउनुभएको अहिँसाको सिद्धान्तले महात्मा गान्धिलाई आफ्नो राजनीतिक मार्गदर्शन प्रदान गरेको थियो । यही सिद्धान्तको पालना गरी उनले भारतलाई स्वतन्त्र गराए । नेपाललाई पनि येशूको अहिँसा र निस्स्वार्थी सेवाको शिक्षा चाहिन्छ । सबैले येशूलाई चिन्नुहोस् भनी म आग्रह गर्न चाहन्छु । यदि पछ्याउनका लागि म कुनै एक व्यक्तिलाई देख्छु भने म येशू ख्रीष्टलाई मात्र देख्छु । पवित्र जीवन, बलिदानिक जीवन, मिलापको जीवन, प्रेम गर्ने जीवन, क्षमा दिने जीवनको कोही सिद्ध उदाहरण हुनुहुन्छ भने येशू मात्र हुनुहुन्छ । उहाँबाहेक अर्को कोही मलाई देखाइदिनुहोस् । तर त्यस्तो व्यक्ति छैन । उहाँलाई पछ्याएर मैले के अपराध गरेँ ? मलाई बताइदिनुहोस् न ! मैले विभिन्न व्यक्तिहरू, देवताहरूमा छलछाम नै देखेको छु र कोही पनि मेरो निम्ति नमूना भेट्टाइन । ख्रीष्टलाई त्यो नमूना भेट्टाएँ । ख्रीष्टियानहरूलाई हेलाँ गर्नेहरू, दोष लगाउनेहरू, अपराधी ठान्नेहरू, कठोर मन भएकाहरू र कमलो मन भएकाहरू तपाईंहरू सबैले येशू ख्रीष्टलाई कोशिश गर्नुहोस् तपाईंले निराशको अनुभव गर्नुपर्ने छैन । येशूलाई नचाखीकन तपाईंले बुझ्न सक्नुहुन्न । यो अनुभव त खानेकुरा खाएकोजस्तो हो । खानाको जति नै ठूलो बखान गरे पनि नखाएसम्म त्यसको स्वाद नपाएझै येशूको जति नै बखान गरे पनि तपाईंले नखाएसम्म थाहा पाउनुहुन्न । उहाँलाई एकपल्ट चाख्नुहोस् ।
सबै राजनीतिक नेताहरूलाई म अनुरोध गर्नचाहन्छु, धर्मलाई नछुनुहोस् । यसलाई एकलै छोडिदिनुहोस् । देश निर्माण गर्नुपर्ने तपाईंका आफ्नै चुनौतीहरू छन् । मानिसहरूलाई धर्मका मामिलामा उनीहरूका स्वतन्त्र इच्छाअनुसार उनीहरूलाई नै निर्णय गर्न दिनुहोस् । धार्मिक स्वतन्त्रता दियो भने यस देशमा धार्मिक लडाइँ हुन्छ भन्ने खालका अनुत्तरदायी वक्तव्यहरू दिई मानिसहरूलाई त्रसित वा आतंकित नपार्नुहोस् । हामी यस देशमा सबै विविध राजनीतिक, धार्मिक, सामाजिक आस्था राख्ने व्यक्तिहरू एकसाथ मिलेर यस देशलाई समृद्धितर्फ लैजानुपर्छ । हामी सबैको देशप्रति माया र सदभाव छ । हामीमा धार्मिक सहिसुण्ता र सहअस्तित्व छ । हामी एक अर्कालाई सहयोग गर्नका लागि यहाँ छौँ । हामी कसैलाई पनि पीडा र दुःख दिनका लागि यहाँ छैनौँ । सबै किसिमका आस्थाका व्यक्तिहरूलाई सेवा गर्नका लागि हामी पछि पर्दैनौँ । येशू ख्रीष्टले हामीलाई यही सेवा सिकाउनुभएको छ । हाम्रो विरोध गर्नेहरू र हामीलाई निन्दा गर्नेहरू सबैलाई हामीले सेवा गर्नुपर्छ र यसबाट हामी पछि पर्दैनौँ । हाम्रा प्रभु यशूले पनि हामीलाई यही सिकाउनुभएको छ र यसबाट हामी पछि फर्कंदैनौँ । जसले जीवित परमेश्वरको विरोध र निन्दा गर्छन् उनीहरू आफै पतन हुन्छन् । कसैले उनीहरूलाई पतन गराउनु पर्दैन । इतिहास हामीसँग साक्षी भएर उभिएको छ ।
अहिलेको संविधानमा आधारभूत मानव अधिकारको स्थापना हुनुपर्छ जसमा कुनै पनि धर्मलाई मान्न पाउने, छान्न पाउने वा धर्मबाट अलग रहन पाउने र आफ्नो आस्था अरूहरूलाई बताउन पाउने अधिकार रहनुपर्छ । कसले कुन आस्था मान्न पाउने वा नपाउने भन्ने कुरालाई अरू कसैले निर्णय गरिदिनुहुँदैन । हरेकलाई स्वविवेकको निर्णय दिनुपर्छ । यसैमा प्रजातन्त्र फस्टाउँछ र दिगो हुन्छ र सबैको हित हुन्छ । धन्यवाद ।
Discussion about this post