
प्रकाश खड्का
छैनब्बे बर्षीया बल बहादुर बुढाथोकीले आफ्नो जीवनकालमा दुई ठूला भुकम्पहरुको प्रभावलाई भोग्नु प¥यो । सिन्धुपाल्चोकको ठोकर्पा गाविसमा कारितासद्धारा राहत वितरण गरेपछिको अवस्था विश्लेशण गर्ने क्रममा हामीले उनलाई महिनौ दिनदेखि आफ्ना परिवार सहित बारीको पाटामा छाप्रो हाली बसेको अवस्थामा बात मार्ने अवसर पायौं । यसै क्रममा उनले स्वतस्फूर्त रुपमा ९० सालको भूकम्पलाई ७२ सालको भूकम्पसंग तुलना गरेर आफ्नो अनुभव सुनाए ।
नब्बे साल माघ २ गतेको भुकम्प आउदा उनी केवल १४ बर्षका थिए । मध्याहन्नको समयमा लप्सिको बोटमुनी बसी गोठाला गरीरहेको कुरा उनी आज पनि झल्झली सम्झन्छन् ।
घर वरको लप्सीको बोट देखाउदै उनले भने, “ त्यै, लप्सीको बोटामुनी बसेर वस्तु चराईरहेको थिए, दिउसो २ बजे तिरको कूरो हो, एउटो लप्सीको गेडो मेरो टाउकोमा ट्वाक्क लाग्यो, टपक्क टिपेर मुखामा हालीहाले, मेरी आम्मै त्यसछि त अगाडि पछाडि सबै तिर झर्न थाल्यो, बटुलेर पोल्टोमा हाल्न खोजेको मात्र के थिए, मलाई र्गल्याम्मै पारेर पछारिहाल्यो”, उनी खित्का छोडेर हाँसे ।
वरपर सबैतिर धुलाम्मे देखे, भुईचालो ! भनेर सबै कराउन थाले, उनले सम्झिए ।
उनको विचारमा ९० सालको भुकम्प दोहोरो हल्लिने खालको थियो जसले गर्दा घरको दुबै तर्फ बराबरी चाप पर्न गयो तर यसपालीको भुकम्प चाहि एकोहोरो थियो, त्यसैले धेरै घरहरुमा एकोहोरो चाप पर्न गर्न क्षति ज्यादा भयो ।
उनलाई लाग्छ यसपालिको भुकम्प पहिलाको भन्दा बढि विनाशकारी थियो । “ उ बेलामा हामी खाली तीन रात मात्र बाहिर बसेका थियौं तर यसपाला त महिना दिन भैसक्यो, आको आइ गर्छ ” उनले थपे ।
बल बहादुरका पच्चिस नाती नातिनाहरु मध्ये केही उनी सगै छाप्रामा बसिरहेका छन् । हाल परिवारमा उनी मात्र एक पुरुष हुन, उनका दुई छोराहरु मध्ये एक काठमाण्डौं र अर्का चाहि मलेशियामा छन् भने छोरीहरु सबै विवाहित छन् । उनका एक नाति काठमाण्डौं देखि आएर उनी हाल बसिरहेका टहरो बनाएर फर्केका हुन् । ९० सालको भुकम्पमा कुनै प्रकारको आपलकालीन सहयोग प्राप्त गरेको उनलाई याद भएन, तर यसपाली भने उनको परिवारले कारितास नेपालको सहयोगमा खाद्य र अखाद्य दुवै प्रकारको सहयोग प्राप्त गरे ।
“हाम्लाई ठुलो साहयता मिलेको छ, बाबु, कमसेकम पानीबाट त बचेका छौं, तपाईले दिएका चामल हामी बाहिर पकाएर खान्छौं, चाहिने तपाईले दिएको त्रिपाल र कम्बल भित्र सुत्छौ”, बल बहादुर र उनकी धर्मपत्नीले एकै चोटी भने ।
उनकी ८० बर्षीया श्रीमती अर्झ पनि घरधन्दा पानी पधेरो र खेतबारीमा सक्रिय छिन् । अघिल्लो दिन उनी एक घन्टा भन्दा बढि हिडेर कारितासले बांडेको राहत लिन आएकी थिइन् । बल बहादुर पनि अझै तगडा देखिन्छन् । उ बेलामा घरमा दश डेक्ची दुध हुन्थ्यो रे दिनमा एक डेक्ची दुध त आफै खान्थे रे । अझेै पनि उनका गोठ भैसी र बाख्राले भरीएका देखिन्छन् ।
बल बहादुरलाई लाग्छ, यो कलि युगको अन्त्य हुदै छ, सारा पहाड धर्ती हल्लिएर आयो, बालदका विचित्रका आकारहरु देख्छु,, बादललाई हावाले उडाउनु पर्छ र आकाश सफा हुनु पर्छ अनि मन शान्त हुन्छ भन्दै उनले थपे । सबैलाई जस्तै बल बहादुरलाई पनि बर्खाको चिन्ता निकै परेको छ। घरको हालत यस्तो छ, धानको बिउ राख्ने मेलोमेसो नै नपाएको उनले बताए ।
अन्त्यमा उनले भेट्न आएकोमा कारितास प्रति आभारी प्रकट गर्दे धन्यवाद दिए र भने, “दुःखको मेला आफ्नै सन्तान भेट्न आको जस्तै लाग्यो, फेरी पनि आउदै गर्नु होला” ।
Discussion about this post