![Peter Kamaleshwar Singh](https://nepalchurch.com/wp-content/uploads/2015/02/Peter-k.jpg)
M.Sc., Ph.D., M.ASCE
पाठ: मत्ती ७:१३- १४
येशुले डांडाको उपदेश को आखिरी भागमा साँघुरो र फराकिलो ढोकाहरुको कुरा गर्नु भएको छ । यी दुवै ढोकाहरुको विशेषता छन्: साँघुरो ढोका असजिलो बाटोमा खुल्छ र फराकिलो ढोका सजिलो बाटो मा । यी दुवै ढोकाहरुका अरु विशेषता पनि छन्: साँघुरो ढोका र असजिलो बाटो ले जीवनमा र फराकिलो ढोका र सजिलो बाटो ले विनाशमा पुर्याउँदारछन्। येशुले चेतावनी दिंदै भन्नु भएको छ, “साँघुरो ढोका बाट पस्नेहरु थोरै छन् र फराकिलो ढोकाबाट पस्नेहरु धेरै छन्“। वास्तवमा येशुले आफ्ना श्रोताहरु लाई साँघुरो ढोकाबाट पस्न सुझाव दिंदै फराकिलो ढोका बाट न पस्न चेतावनी दिनुभएको छ । कारण, फराकिलो ढोका बाट पस्न र सजिलो बाटो मा हिंड्न सुविधाजनक भएपनि यसको अन्त विनाश हो । साँघुरो ढोका र फराकिलो ढोका दुवै भित्र को प्रवेश र त्यस पछिको यात्रा मा जीवन र मृत्यु को अन्तर छ ।
ढोका के हो?
यूहन्ना रचित सुसमाचारको १० अध्याय र त्यसको ७ पद देखि ९ पद सम्म येशुले ढोकाको कुरा गर्नु हुँदै त्यसको अर्थ स्पष्ट पार्नु भएको छ। “यस कारण येशूले फेरि तिनीहरुलाई भन्नुभयो, “साँच्चै, म तिमीहरुलाई भन्दछु, भेडाहरूको ढोका मै हुँ। मभन्दा अघि आउने सबै चोर र डाँकूहरू हुन्, तर भेडाहरुले तिनीहरुका कुरा सुनेनन्। ढोका म नै हुँ, यदि कोही मानिस म बाट भित्र पस्यो भने त्यो बचाइनेछ, र भित्र –बाहिर आउने – जाने गर्नेछ र खर्कमा चर्न पाउनेछ”।
येशुले स्पष्ट गरी भन्नु भएको छ ढोका उहाँ स्वयम् हुनुहुन्छ । उहाँमा विश्वास गरेर अनन्त जीवन पाइन्छ, यो घटना कुनै पनि विश्वासीको लागि एउटा बहुमूल्य गाडधन जस्तै हो। येशुमा विश्वास गर्दा विश्वासीको जीवनमा एकै पटक थुप्रै कामहरु हुन्छन्: क․ हाम्रोआत्माले नयाँ जन्म पाउन्छ, ख․पापको क्षमा पाइन्छ, ग․नर्कको दण्ड बाट छुटकारा हुन्छ, जीवनको पुस्तकमा नाउँ लेखिन्छ, घ․परमेश्वरको सन्तान हुने अधिकार पाइन्छ, ङ․येशुको भाई र उहाँसंग साझे हकवाला ठहरिन्छ, च․वंश परीवर्तन भै चुनिएको वंश हुन्छ, छ․जाति परीवर्तन भै पवित्र जाति हुन्छ, ज․राजकीय पुजाहरीगिरी को नयाँ पद पाइन्छ र झ․नागरिकता परीवर्तन भै स्वर्गको नागरिक र उहाँको नीज प्रजा ठहरिन्छ।
येशुमा रहेको मुक्ति विश्वासगरी पाइने र सिंत्तैमा पाइने मुक्ति भएपनि थोरै यो मुक्ति लिन इच्छा गर्छन्, विश्वास गरीहाले पनि केही समय पछि विभीन्न कारणले आफ्नो विश्वास छोड्छन र हराउँछन् । यसको कारण के हो भने येशुमा गरिने विश्वास र पाइने मुक्ति मात्र सिंत्तैको हो, विश्वासी जीवन–यात्रामा बाटो कठीन हुन्छ। संसार, शरीर र शैतान को विरोधमा जिउनु पर्छ, जो अधिकांशले कठीन भेटाउनु हुन्छ र पुरानै (पापको) जीवनशैलीमा फर्कनुहुन्छ। फराकिलो ढोका र सजिलो बाटो भनेको यही हो, जे मन लाग्यो त्यही गर्ने, जहाँ मन लाग्यो त्यही जाने!
विश्वासी जीवन: संघर्षको जीवन
उद्धार पाएको व्यक्ति र उद्धार न पाएको व्यक्तिमा बाहिरी स्वरुपमा केही भिन्नता देखिंदैन र खास हुँदैन पनि। तर उद्धार पाएको व्यक्ति भित्रबाट या आत्मिकरुपमा एकदमै फरक हुन्छ । विश्वासी व्यक्तिको हृदय भित्र जहिले पनि संघर्ष चलि रहन्छ । त्यो संघर्ष पाप स्वभाव र पवित्र आत्मा बीच को हो। “किनकि पाप – स्वभावका लालसा पवित्र आत्माको विरुद्ध हुन्छन्, अनि पवित्र आत्मा को इच्छा पाप –स्वभावको विरुद्ध” (गलाती ५:१७)। यो संघर्षको एउटै उद्देश्य हुन्छ कि हामी पवित्र आत्माको इच्छा बुझ्न र त्यस अनुसार गर्न सकौं । दिन प्रतिदिनको विश्वासी जीवनमा हामी सबैकोलागि प्रभुको इच्छा एउटै छ, त्यो हो पाप-स्वभाव लाई इन्कार गर्ने र आत्मा अनुसार हिंड्ने । “किनभने पापमय स्वभावअनुसार चल्नेहरूले शरीरका कुरामा मन लगाउँछन्, तर आत्माअनुसार चल्नेहरूले आत्माका कुरामा मन लगाउँछन्। किनभने, पापमय स्वभावमा मन लगाउनुचाहिँ मृत्यु हो, तर पवित्र आत्मामा मन लगाउनु जीवन र शान्ति हो। किनभने पापमय शरीरतिर लागेको मनचाहिँ परमेश्वरप्रति शत्रुता हो। परमेश्वरका व्यवस्थाको अधीनमा त्यो हुँदैन, न त त्यो कहिल्यै हुन सक्छ। पापमय स्वभावको वशमा हुनेहरूले परमेश्वरलाई प्रसन्न पार्न सक्दैनन्”रोमी ८: ५-८क)। व्यावहारिक जीवनमा हामी रोजै कुनै न कुनै निर्णय गर्छौं, कुनै कुरा या काम रोज्छौं, केही कुरा छान्छौं। के हाम्रो निर्णय, हाम्रो रोजाई अथवा हामीले छानेका कुरा या काम आफ्नै इच्छा अनुसार हो या परमेश्वर को इच्छा अनुसार? हाम्रो आफ्नै इच्छा र परमेश्वरको इच्छामा जीवन र मृत्युको अन्तर हुन्छ । हामीले व्यावहारीक जीवनमा मनपरी गरी हिंडने भनेको फराकिलो ढोका बाट पस्ने र सजिलो बाटो हिंडने हो। यसको विपरीत, परमेश्वरको इच्छा खोजी गर्ने र त्यस अनुसार गर्ने भनेको साँघुरो ढोका बाट पस्ने र असजिलो बाटो हिंडने हो।
दैनिक विश्वासी जीवनमा हाम्रो सबभन्दा ठूलो शत्रु शैतान अथवा संसार हैन, हाम्रो आफ्नै पापमय स्वभाव हो। शैतान र संसारले त हाम्रो अभिलाषाहरुलाई हाम्रो विरुद्ध दुरुपयोग गर्ने मात्र हो । यसै कारण हामीलाई चेतावनी दिंदै अर्ति दिइएको छ, “ यसैले त भाइ हो, पापमय स्वभावअनुसार जिउनलाई हामी पापमय स्वभावप्रति बाध्य छैनौं। किनकि पापमय स्वभावअनुसार जिउँछौ भने, तिमीहरू मर्छौ, तर यदि पवित्र आत्माद्वारा शरीरका कार्यहरू तिमीहरूले निर्मूल पार्यौ भने, तिमीहरू जिउनेछौ। किनभने सबै, जो परमेश्वरका आत्माले डोर्याइएका हुन्छन्, तिनीहरू नै परमेश्वरका सन्तान हुन्” (रोमी ८:१२-१४)
शरीर र शरीरका अभिलषाहरुलाई चलाएर शैतान र संसारले हामीलाई धोखा दिइरहेका हुन्छन्, र हामीलाई त्यसको भान् हुँदैन। वास्तवमा हाम्रो शरीर र शरीरका अभिलाषाहरु माथि हामीले स्वीकृति न दिएसम्म दुष्टले अधिकार पाउँदैन। हामीले गर्न चाहेका नराम्रा कामलेनै दुष्टलाई ढोका खोल्ने हो। हरेक काम जो हामी पवित्र आत्माको अगुवाईमा गर्छौं, दुष्टको प्रभाव र पापमय स्वभावलाई नर्मूल पार्ने हो। आफ्नो इच्छा र पवित्र आत्माको अगुवाई बीच चली रहने यो संघर्षमा हाम्रो आफ्नै इच्छाले महत्त्वपूर्ण भुमिका निर्वाह गर्छ । हृदयको गहिराई भित्र, प्रभुको उपस्थितिमा हामी के छान्छौं, त्यो निर्णयले हाम्रो ढोका र बाटो तय गर्ने हुन् । पवित्र आत्माको अगुवाईमा हिंडने भनेको आफ्नो अभिलाषाको विरुद्ध हिंडने हो जो शरीरलाई मन पर्दैन र सधैं विरोध गर्छ । पवित्र आत्मा र शरीरको चाहना बीच जीवन पर्यन्त चलीरहने यो संघर्ष नै यीशु रुपी ढोका बाट उद्धार पाएर भित्र पसे पछिको असजिलो बाटो हो । यो बाटोले अन्तमा पुर्याउने जीवन को लक्ष्य लाई आफ्नो आँखा अगाडि न राखेर हिंड्दा पापले हामीलाई सजिलै अलमलाई दिन्छ।“ यसकारण यतिका साक्षीहरूको ठूलो बादलले हामीलाई घेरिराखेको हुनाले, हरकिसिमका बोझा र हामीलाई सजिलैसित अल्झाउने पापलाई पन्छाएर हाम्रा सामुन्ने राखिदिएको दौड धैर्यसाथ दौडौं” (हिब्रू १२:१)।
केही अवस्थाहरु
यस संसारमा जन्म संगै हाम्रो शारीरिक जीवन आरम्भ हुन्छ र शारीरिक मृत्यु बाट अन्त हुन्छ। यसै बीच परमेश्वरको अनुग्रहमा कसैले हामीलाई सुसमाचार सुनाएर प्रभु येशुमा विश्वास गर्न सहायता गर्नु हुन्छ र हामीले येशुलाई आफ्नो उद्धारकर्ता स्वीकार गर्ने अनुग्रह पाउँछौं। उद्धार पाएको व्यक्तिको पनि मृत्यु हुन्छ र उद्धार न पाएको व्यक्ति पनि मर्छन् । दुवै व्यक्तिको मृत्यु पछिको जीवनमा केही भिन्नता छ र? वास्तवमा दुवैमा धेरै गहिरो फरक छ। येशुमा विश्वास गरी उद्धार पाएको व्यक्ति मृत्यु पछि स्वर्गलोकमा जान्छ र येशुलाई न चिनेको व्यक्ति नरकलोकमा जान्छ। धनी मानिस र घावै घाव भएको मानिसको कथामा र येशु संगै क्रूसमा मारिएको चोर जसले विश्वास गर्यो, दुवै घटनामा स्वर्गलोक र नर्कलोकको स्पष्ट चित्रण गरिएको छ ।
तलको रेखा चित्र द्वारा हाम्रो जीवनको विभीन्न अवस्थालाई दर्शाउने प्रयास गरीएको छ ।
माथिको रेखा चित्रमा देखाइए अनुसार प्रभु येशुलाई विश्वास गर्ने र नर्गे दुवै मृत्युको अधीनतामा छन् तर मुक्ति पाएका र नपाएका व्यक्तिहरु गन्तव्य फरक फरक छन्। विश्वास गर्नेहरुको शरीर चिहानमा राखिन्छ र प्राण स्वर्गलोकमा लगिन्छ, तर विश्वास नगर्नेहरुको शरीर त चिहानमै राखिन्छ तर प्राण नर्कलोकमा लगिन्छ। येशुको दोश्रो आगमन संगै मरेकाहरुको पहिलो पुनरुत्थान हुन्छ। यसमा येशुलाई खुशी पार्नेहरु मात्र सहभागी हुन्छन्। विश्वासी तर येशुलाई खुशी न पार्नेहरु अन्तिम न्यायको लागि हुने दोश्रो पुनरुत्थानमा अरु सबै संग बौरी उठने छन् । जीवनको पुस्तकमा नाउँ न भएका सबै अग्नीकुण्डमा फालिने छन्। जीवन को पुस्तकमा नाउँ भएका (उद्धार पाएका) तर प्रभु येशुलाई खुशी पार्न न सकेका (शरीर अनुसार हिंडेका वा कठीन बाटो न हिंडेकाहरु) पहिलो पुनरुत्थानमा बौरी न उठ्दा यस संसारमा स्थापित हुने एक हजार वर्षको परमेश्वरको राज्यमा येशु संगै राज्य गर्नबाट वंचित हुने छन्। “तब मैले सिंहासनहरू र त्यसमाथि बस्नेहरूलाई देखें, जसलाई इन्साफ गर्ने अधिकार दिइएको थियो। तब येशूका गवाहीको निम्ति र परमेश्वरका वचनको निम्ति शिर काटिएकाहरू, र त्यो पशु र त्यसका मूर्तिको पूजा नगर्नेहरू र त्यसको छाप निधार वा हातमा नलगाउनेहरूका आत्माहरूलाई मैले देखें। तिनीहरू फेरि जीवित भए, र तिनीहरूले ख्रीष्टसँग एक हजार वर्षसम्म राज्य गरे। 5 अरू मरेकाहरूचाहिँ ती एक हजार वर्ष नबितुञ्जेल जीवित भएनन्। यो पहिलो पुनरुत्थान हो। 6 पहिलो पुनरुत्थानमा सहभागी हुनेहरू धन्य र पवित्र हुन्। यिनीहरूलाई दोस्रो मृत्युको शक्तिले केही गर्न सक्दैन, तर तिनीहरू परमेश्वर र ख्रीष्टका पूजाहारी भएर उहाँसँग एक हजार वर्षसम्म राज्य गर्नेछन्” (प्रकाश २०:४-६)।
“मैले ठूला र साना सबै मृतकहरूलाई सिंहासनको सामुन्ने उभिरहेका देखें, र पुस्तकहरू खोलिए। अर्को एउटा पुस्तक पनि खोलियो, जो जीवनको पुस्तक हो। ती पुस्तकहरूमा लेखिएका कुरामुताबिक, तिनीहरूका कामअनुसार मृतकहरूको इन्साफ भयो। 13 समुद्रले त्यसमा भएका मृतकहरू दिइहाल्यो, अनि मृत्यु र पातालले पनि तिनीहरूमा भएका मृतकहरू दिइहाले। तिनीहरू प्रत्येकको आफ्नो-आफ्नो कामअनुसार इन्साफ भयो। 14 मृत्यु र पाताल अग्नि-कुण्डमा फालिए। यो अग्नि-कुण्ड दोस्रो मृत्यु हो। 15 जसको नाउँ जीवनको पुस्तकमा लेखिएको भेट्टाइएन त्यो अग्नि-कुण्डमा फालियो” (प्रकाश २०:१२-१५)।
डाँडाको उपदेश
डाँडाको उपदेशमा येशुले पुरानो नियमको व्यवस्थामा उल्लेख गरिएका विधी विधानहरुलाई तीनको आत्मिक रुप र पालन गर्नु पर्ने अपरिहार्यता बुझाउनु भएको छ। सांसारिक रुपमा शरीर अनुसार पालन गर्नु पर्ने व्यवस्थाका रीतिहरू को सट्टा आत्मामा परीवर्तन भै नया विचारमा पवित्र आत्माको नियन्त्रणमा जीवन यापन गर्नु पर्ने आवश्यक छ। समाजको अगाडि प्रदर्शन गरिने धर्मकर्मका कामहरू भन्दा गुप्तमा देख्ने परमेश्वरलाई खुशी पार्न बढी माहत्वपूर्ण छ र व्यभिचार गर्नु र भाईलाई अपशब्द उपयोग गर्नु भन्दा स्त्री वा भाईको लागि मनमा नराम्रो विचार आउनै न दिन बढी आवश्यक छ। यस कारण येशुले दिनु भएका शिक्षाहरु पालन गर्न व्यक्तिगत आत्मिक उन्नतिका संग संगै संसारमा उहाँको साक्षी भएर जीउन पनि उतिकै आवश्क छन्। येशुका शिक्षाहरु पापमय स्वभावलाई मन न पर्ने र शरीरका अभिलाषाहरूका विरुद्ध छन् तर एउटा उद्धार पाएको मानिसकोलागि शरीर अनुसार नभई आत्मा अनुसार जीउनु पर्ने आवश्यक छ। शरीरले गर्न चाहने कामहरु गर्ने व्यक्ति फराकिलो ढोका बाट पस्ने र सजिलो बाटो हिंडने व्यक्ति हो र अन्तमा विनाशमा पुग्छ। यसको विपरीत आत्मा अनुसार हिंडने व्यक्ति शरीरको विरुद्ध पवित्र आत्माको इच्छा अनुसारका कामहरु गर्छ, जो कठीन बाटो हिंडेको जस्तै हो र अन्तमा जीवन (अनन्त) पाउँछ। व्यावहारिक दैनिक विश्वासी जीवनमा कठीन बाटो र सजिलो बाटोमा हिंडने भनेको के हो?
कठीन बाटो र सजिलो बाटो
डाँडाको उपदेशमा येशुले यस संसारमा बस्दाहुंदी एउटा विश्वासीले गर्न हुने र गर्न न हुने विचारहरु र कामहरू बारे विस्तृत शिक्षा दिनु भएको छ। हामीले गर्ने गरेको काम त्यसै एक्कासि हुँदैन । सर्वप्रथम हाम्रो मनमा राम्रो या नराम्रो विचार आउँछ, त्यस विचारलाई आफ्नो मनमा खेलाउँदै जाँदा त्यो विचार बलियो हुँदै जान्छ र हाम्रो इच्छा त्यस विचारको अगाडि समर्पण गर्छ र त्यो राम्रो वा नराम्रो काम हामी गर्न पुग्छौं । “र पापमय स्वभावको अभिलाषा पूरा गर्ने कुरामा ध्यान नदेओ (विचार न गर)” (रोमी १३:१४ख)। फेरि याकुबले यस्तो भन्छन्,“तर हरेक मानिस आफ्नै खराब इच्छाद्वारा लोभिएर परीक्षामा पर्दछ। तब खराब इच्छाले गर्भधारण गरेपछि त्यसले पाप जन्माउँछ। अनि पाप पूरै बढ़ेपछि त्यसले मृत्यु ल्याउँछ” (याकुब १: १४,१५)।
विश्वास गरेर उद्धार पाएपछि हाम्रो मनमा जुन संघर्ष आरम्भ हुन्छ त्यो पापमय स्वभाव र पवित्र आत्मा को अगुवाई बीच हो, शरीरको चाहना र परमेश्वरको इच्छा बीच हो, र जुन विचारले हाम्रो मनमा विजय पाउँछ हामी त्यही काम गर्छौं। पवित्र आत्मा र परमेश्ररको वचनले हामीलाई प्रभुको इच्छा बुझ्न र त्यही अनुसारको काम गर्न सहायता गर्छन् । डाँडाको उपदेशमा येशुले हाम्रो पापमय स्वभाव र त्यसमा आधारित विचारहरूमाथि आक्रमण गर्नु भएको छ। यसै सत्यता लाई लक्षित गरेर बप्तिस्मा दिने यूहन्ना भन्छन्, “अहिले नै रूखको फेद (जरा) मा बन्चरो परिसकेको छ। यसकारण असल फल नफलाउने हरेक रूख काटी ढालिन्छ, र आगोमा फालिन्छ” (मती ३:१०)। रुख भनेको मानिस हो (भजन १) र जरा भनेको मानिसको विचार । येशुले आफ्नो धारिलो वचन रुपी बन्चरोले मानिसको विचार माथि आक्रमण गर्न लाग्नु भएको हो । विचारमा आमुल परीवर्तन न भैकन कुनै पनि व्यक्तिले परमेश्वरको राज्य सुहाउँदो आचरण र कार्य सम्पादन गर्न सक्दैन । विचारमा आमुल परीवर्तन हुन एक मात्र उपाय आत्मामा नया गरी जन्मने हो, यस सम्बन्धमा येशुले यूहन्ना तीन अध्यायमा निकोदिमस संग विस्तारमा चर्चा गर्नु भएको छ ।
पावलले दिएका उदाहरणहरु
व्यावहारिक दैनिक ख्रिष्टीय विश्वासी जीवन-यात्रा लाई पावलले आफ्ना पत्रहरुमा विभीन्न दृष्टान्त द्वारा बुझाउने प्रयास गरेका छन् । १कोरिन्थी ९ अध्यायको २४ पद देखि २७ पद सम्मको भागमा उनले विश्वासी जीवनलाई दौडमा दगुर्ने खेलाडी र मुक्का हान्ने खेलको खेलाडी संग तुलना गर्दै भन्छन्,“के तिमीहरूलाई थाहा छैन, दौड़मा दगुर्नेहरू सबै दगुर्छन्, तर इनामचाहिँ एउटैले मात्र पाउँछ? तिमीहरू इनाम प्राप्त गर्ने किसिमले दौड। खेलमा भाग लिने खेलाडी सबै थोकमा आत्मसंयमी हुनुपर्छ। तिनीहरू नष्ट भएर जाने मुकुट पाउनलाई यसो गर्दछन्, तर हामीचाहिँ अविनाशी मुकुट पाउनलाई यसो गर्दछौं। यसकारण लक्ष्य नराखी म दगुर्दिनँ। हावामा मुक्का हान्नेले जस्तै म मुक्का हान्दिनँ। तर म आफ्नो शरीरलाई कठोरतासाथ सधाउँछु, र यसलाई वशमा राख्तछु, नत्रता अरूहरूलाई प्रचार गरेपछि म आफैचाहिँ अयोग्य ठहरिनेछु”।
पावलको मनको भय के छ भने धेरैलाई सुसमाचार सुनाएर अन्तमा कहीं उनी आफै अयोग्य भै पुरस्कार बाट बन्चित हुनु न परोस् । यसको लागि उनी लक्ष्य न राखी दगुर्दैनन्, हवामा हुक्का हान्दैनन्। यसको रहस्य के हो भने पावलले आफ्नो शरीरलाई कठोरता साथ सधाएर वशमा राख्छन्। अभिलाषाहरुलाई आफ्नो जीवनमा शासन गर्न दिदैनन् । “यसैले त भाइ हो, पापमय स्वभावअनुसार जिउनलाई हामी पापमय स्वभावप्रति बाध्य छैनौं। किनकि पापमय स्वभावअनुसार जिउँछौ भने, तिमीहरू मर्छौ, तर यदि पवित्र आत्माद्वारा शरीरका कार्यहरू तिमीहरूले निर्मूल पार्यौ भने, तिमीहरू जिउनेछौ। किनभने सबै, जो परमेश्वरका आत्माले डोर्याइएका हुन्छन्, तिनीहरू नै परमेश्वरका सन्तान हुन्” (रोमी ८:१२-१४)।
पावलले नै १कोरिन्थी ३ अध्यायको १० – १५ पदहरुमा विश्वासी जीवनको तुलना घर निर्माण सित गर्दै भन्छन्, “ मलाई दिइएको परमेश्वरको अनुग्रहअनुसार, घर बनाउने निपुण कारीगरले जस्तै मैले जग बसालें, र अर्काले त्यसमाथि घर बनाउँदैजान्छ। त्यसमाथि बनाउँदैजाने हरेक मानिसले कसरी बनाउँदैछ, सो ध्यान देओस्। किनकि जुन जग बसालिसकिएको छ, जो येशू ख्रीष्ट हुनुहुन्छ, त्यसबाहेक कुनै मानिसले अर्को जग बसाल्न सक्दैन। यदि कुनै मानिसले यस जगमाथि सुन, चाँदी, बहुमूल्य पत्थर, काठ, घाँस वा पराल प्रयोग गरेर घर बनायो भने, प्रत्येक मानिसको काम प्रकट हुनेछ, किनकि न्यायको दिनले त्यो खुलस्त गरिदिनेछ। त्यो आगोद्वारा प्रकट हुनेछ, र हरेकले कस्तो काम गरेको छ, सो आगोले जाँच गर्नेछ। यदि कुनै मानिसले त्यस जगमाथि बनाएको काम रहिरह्यो भने उसले इनाम पाउनेछ। यदि कुनै मानिसको काम जलेर नष्ट भयो भने त्यसले नोक्सानी भोग्नुपर्नेछ, तर त्यो आफैचाहिँ आगोबाट उम्केझैँ बाँच्नेछ”। हाम्रो विश्वासी जीवनको जग बसालि सकिएको छ, जब हामी येशुमा विश्वास गरी नया जन्म पायौं। त्यस पछी व्यक्तिगत जीवन जीउने भनेको कुनै भवन निर्माण गर्दै जाने जस्तै हो। हाम्रो प्रत्येक काम, प्रत्येक विचार, प्रत्येक निर्णय भवनमा पयोग गरिने निर्माण सामग्री जस्तै हुन् । प्रभुलाई मन पर्ने हरेक काम, विचार र निर्णय सुन, चाँदी र बहुमूल्य पत्थर जस्तै हुन् जो जाचिने आगो ले नष्ट गर्न सक्दैन। यसको विपरीत प्रभुलाई मन न पर्ने काम, विचार र निर्णय काठ, घास वा पराल जस्तै हुन् जो जाचिने आगो ले नष्ट भै हाल्छ तर त्यो व्यक्ति आफै आगो बाट उम्केर आएको मानिस जस्तै बाँच्नेछ। कामहरु नष्ट न हुने र नष्ट हुने बीच को भिन्नता अति गहिरो छ, एक थरीले पुरस्कार पाउँछ, अर्कोले गुमाउँछ। उद्धार पाएको विश्वासी जीवन भक्तिमा, प्रभुलाई मन पर्ने र पूर्ण आग्याकारितामा जीउने जीवन हो । मनपरी, अनुशासनहीनता र अनाग्याकारिता को जीवन हैन। पापमय स्वभावलाई खुशी पार्ने हैन तर पवित्र आत्मालाई खुशी पार्ने जीवन हो । “धोकामा नपर, परमेश्वरको ठट्टा हुँदैन, किनभने मानिसले जे रोप्दछ त्यसैको कटनी पनि गर्नेछ। जसले आफ्नो पापमय स्वभावको निम्ति रोप्तछ, त्यसले आफ्नो पापमय स्वभावबाट नै सर्वनाशको कटनी गर्नेछ। तर जसले आत्माको निम्ति रोप्तछ, त्यसले आत्माबाट नै अनन्त जीवनको कटनी गर्नेछ” (गलाती ६:७,८)।
डाँडाको उपदेशको उद्देश्य
परमेश्वरले हामीलाई स्वतन्त्र इच्छा दिनु भएको कारण हाम्रो जीवनमा कुनै पनि किसीमले उहाँ हस्तक्षेप वा जबर्दस्ती गर्नु हुन्न। येशुमा विश्वास गर्नदेखि लिएर व्यावहारीक विश्वासी जीवनमा हाम्रो स्वैच्छिक समर्पण र आग्याकारीताको लागि उहाँ बडो धीरज साथ पर्खनु हुन्छ। डाँडाको उपदेशमा येशुले परमेश्वरको राज्य सुहाउंदो जीवन शैली बारे शिक्षा दिनु भएको र आफै उदाहरण भएर बाटो देखाउनु भएको छ ।
डाँडाको उपदेशमा हामी साँघुरो ढोका र कठीन बाटो हिंडने निम्नलिखीत उपायहरु हेर्छौं तर रोज्नु पर्ने हामी आफै हो:-
१․ हुनु पर्ने विचारहरुको विकाश जस्तै: आत्मामा दीन हुने, नम्रता, धार्मिकताको निम्ति भोकाउने र तिर्खाउने, दयावन्त, हृदयको पवित्रता । यी सबै येशुको चरित्रका गुणहरु हुन्।
२․ गर्नु पर्ने असल काम हरु को विकाश जस्तै: शोक गर्ने, मेलमिलाप गराउने र धार्मिकताको निम्ति सताइने । यीसबै येशुको जीवनमा प्रदर्शित कामहरु हुन् ।
३․ विपरीत परीस्थितीमा जस्तै सतावटमा आनन्दको अनुभव गर्ने।
४․ येशुको साक्षी भएर जीउने, वचन र कामले साक्षी दिने र त्यो साक्षी जोगाएर राख्ने जसले गर्दा हामी पृथ्वीको नून, सामदानमा राखिएको बत्ती र डाँडामा बसालिएको शहर जस्तै हुनेछौं।
५․ एकले अर्काको लागि आदरपूर्ण विचार वा धारणाको विकाश गर्ने ।
६․ विचारको शुद्धता र मनको पवित्रतालाई व्यावहारीक रुपमा विकसित गर्ने।
७․ पति पत्नी एक अर्का प्रति सम्वेदनशील रहने, कठोर व्यवहार न गर्ने ।
८․ आफ्नो वचन / करार पूरा गर्ने।
९․ व्यावहारीक रुपमा सहायता गर्न अग्रसर हुने ।
१०․ प्रेम सबै आग्याहरुको सारांश हो, यसैले सिद्धता सम्म पुग्न सहायता गर्छ ।
११․ असल, राम्रो कामहरु प्रभुको महिमाको लागि मात्र गर्ने ।
१२․ क्षमाशील हृदयले प्रार्थना गर्ने, आफुले क्षमा न गरीकन क्षमा पाइंदैन।
१३․ उपवास गर्न आत्मिक युद्धको लागि आवश्यक छ तर देखाउनका लागि गरिने उपवास महत्वहीन हुन्छ ।
१४․ आर्थिक सहायता गर्न बानी बसाल्न राम्रो।
१५․ मनको आँखा बढी महत्वपूर्ण छ, वास्ता गरौं।
१६․ परमेश्वरलाई रोजौं, धन सम्पत्तिलाई हैन ।
१७․ चिन्ता – फिक्री न गर्ने तर परमेश्वरको सामर्थ र विश्वासयोग्यतामा भर परौं ।
१८․ कुरा न काटने तर आफुलाई अनुशासन गर्ने ।
१९․ प्रार्थना गरी राख्ने, सुनौलो नियम पालन गर्ने (अरुले जे गरेको चाहँछौं, आरुलाई त्यही गर्ने)।
२०․ असल चेलाहरू असल काम बाट चिनिन्छन् ।
माथिका यी कुराहरू प्रतिको आग्याकारिता प्रभुको आशा हो र हामी प्रत्येकको जिम्मेवारी पनि। कठीन बाटो हिंडेर मात्र जीवनमा पुगिन्छ। प्रभुले आशिष दिउन् ।
Discussion about this post