![Peter Kamaleshwar Singh](https://nepalchurch.com/wp-content/uploads/2015/02/Peter-k.jpg)
परीचय
प्रभु येशुले आफ्ना चेलाहरुसंग कुरा गर्दा एक पटक सोध्नु भएको थियो, “मानिसहरुले मानिसको पुत्र लाई को हो भनी भन्छन्?” चेलाहरुले येशुलाई विभीन्न व्यक्तिहरुले विभीन्न रुपमा हेर्ने गरेको कुरा सुनाएका थिए। येशुले आफ्नो सेवकाईको क्रममा परमेश्वरको (स्वर्गीय) राज्यको प्रचार गर्नु भएको थियो, त्यसका साथै आश्चर्यकर्म गरेर, चंगाई दिएर, दुष्टात्मा बाट छुटकारा दिएर र मरेका लाई जीवित पारेर त्यस (स्वर्गीय) राज्य को प्रदर्शन पनि गर्नु भएको थियो। र पनि जन साधारणको मनमा येशुको व्यक्तित्व प्रति स्पष्ट धारणा थिएन। उहाँलाई कसैले बप्तिस्मा दिने यूहन्ना, कसैले एलिया, र कसैले यर्मिया वा अगमवक्ताहरु मध्ये कोही एक जना हुन् भनी भन्द थिए (मत्ती १६: १३,१४)।
स्वाभाविकरुपमा मानिसहरुले उहाँलाई चिनि सकेका थिएनन्। तर येशुका चेलाहरु को सोच के थियो? चेलाहरुलाई उहाँ आफैले एक एक गरी आफ्नो पछि लाग्न बोलाउनु भएको थियो। सबै चेलाहरु आफ्नो बोलावटको आरम्भ देखिनै येशु संग बस्दै, उहाँले दिनु भएको शिक्षा सुन्दै र सबै आश्चर्यकर्मको साक्षी हुँदै आएका थिए। येशुको लागि चेलाहरुको धारणा के रहेछ, उहाँले जान्न खोजनु भएको थियो। यसकारण, ‘उहाँले तिनीहरुलाई (चेलाहरूलाई) सोध्नु भयो, “तिमीहरु के भन्छौ, म को हूँ? मत्ती १६:१५)”
आज भन्दा दुईहजार वर्ष अघि येशुले चेलाहरुलाई गर्नुभएको यो प्रश्न हामी अफुलाई विश्वासी भन्नेहरुलाई उत्तिकै महत्वपूर्ण र सान्दर्भिक छ। येशु जो‘हुनुहुन्थ्यो’ त्यो‘हुनुहुन्छ’। तर व्यक्तिगत रुपमा के म उहाँलाई चिन्छु? मेरोलागि येशु को हुनुहुन्छ? यस प्रश्नको उत्तर उहाँकोलागि जति महत्वपूर्ण छ, मेरोलागि त्यतिकै आवश्यक छ। चेलाहरुले उहाँलाई कुन रुपमा चिनेका थिए? म, वर्तमानको विश्वासी, मण्डलीको सदस्य, ख्रीष्टको शरीरको एउटा अंग, येशुलाई कुन रुपमा चिनेको छु? येशुले गर्नु भएको प्रश्नको उत्तर चेलाहरुको तर्फबाट पत्रुसले दिएका थिए – “तपाईं ख्रीष्ट हुनुहुन्छ, जीवित परमेश्वरको पुत्र” (मत्ती १६:१६)। पत्रुसको उत्तरबाट येशु सन्तुष्ट मात्र हैन, आनन्दित पनि हुनुभएको थियो। पत्रुसले उहाँको व्यक्तित्वको सारांश व्यक्त गरीदिएका थिए। येशु ख्रीष्ट हुनुहुन्छ, परमेश्वरबाट अभिषेक गरिएका, सम्पूर्ण मानव जातिको उद्धारकर्ता। उहाँ परमेश्वरको पुत्र हुनुहुन्छ, जीवित परमेश्वरको पुत्र।
पुत्रको रुपमा परमेश्वरको उत्तराधिकारी! मानिसको मनमा अटाउनै नसकने प्रकाश! पत्रुसले कसरी यो प्रकाश पाए? कसरी यो रहस्य थाह पाए र व्यक्त गरे? पत्रुसले पाएको यस प्रकाशको लागि येशुले शाबासी दिंदै भन्नुभयो, “योनाको छोरो सिमोन, तिमी धन्य हौ। किनभने मानिसबाट तिमीलाई यो प्रकट भएको होइन, तर स्वर्गमा हुनुहुने मेरा पिताले प्रकट गर्नुभएको हो (मत्ती १६:१७)।
आत्माको प्रकाश
यस कुराकानीमा एउटा अश्चर्यजनक रहस्य खोलियेको देखिन्छ। येशु प्रति पत्रुसको स्पष्ट धारणा को कारण परमेश्वर पिताले प्रकाश दिन सम्भव भएको छ। वास्तवमा पत्रुसले व्यक्त गरेका स्वीकारोक्तिले गर्दा येशुले मण्डलीको लागि रहेको उहाँको योजना चेलाहरुको अगाडि खुलस्त पार्न प्रोत्साहित हुनु भएको हो। येशुलाई आफ्नो प्रभु र उद्धारकर्ता स्वीकार गर्न कुनै पनि व्यक्तिको लागि आफनो विश्वासी जीवनको जग बसाल्नका लागि एउटा महत्वपूर्ण घटना हो। यस बुनियादी घटना सित अरु पनि धेरै कुरा गाँसिएका छन्। रोमीको पत्र १० अध्याय र त्यसको ९र १० पदमा लेखिएको छ, “ किनकि यदि तिमीले येशूलाई प्रभु हो भनी आफ्नो मुखले स्वीकार गर्यौ, र परमेश्वरले उहाँलाई मरेकाहरूबाट जीवित पार्नुभयो भनी आफ्नो हृदयमा विश्वास गर्यौ भने तिम्रो उद्धार हुनेछ। किनकि मानिसले आफ्नो हृदयले विश्वास गर्छ र ऊ निर्दोष ठहरिन्छ, अनि उसले आफ्नो मुखले स्वीकार गर्छ र उद्धार पाउँछ”।
उद्धार पाउन का लागि कुनै पनि व्यक्तिले आफ्नो हृदयमा येशु जीवित हुनुहुन्छ भनी विश्वास गर्नै पर्छ र आफ्नो मुखले उहाँलाई प्रभु भनी स्वीकार गर्नु पर्ने पनि उत्तिकै आवश्यक र महत्त्वपूर्ण छ। उद्धार पाउने, पापको क्षमा पाउने वा मुक्ति पाउने, सबै एउटै महत्वपूर्ण तर ऐतिहासिक घटना हुन्। यस घटनालाई प्रत्येक विश्वासीले जीवन पर्यन्त सम्झी रहन्छन् र एउटा बहुमूल्य मोतीको रुपमा यसको जगेर्ना गर्छन्। उद्धार पाउने घटनाले हाम्रो जीवनमा आमूल परीवर्तन ल्याउँछ। यस परीवर्तनले हाम्रो आत्माको उद्धार वा पापमोचन बाट आरम्भ भै हाम्रो आत्मिक, मानसिक र शारीरिक जीवनलाई स्मेत गम्भीर रुपमा प्रभावित गर्दछ। उद्धार संगै पवित्र आत्माको उपस्थिति हाम्रो हृदयमा रहने हुनाले वर्तमानमा गहीरो शान्ती र आनन्द आफ्नो हृदयमा दिन प्रति दिन अनुभव गर्छौं। यसको साथ साथै परमेश्वरको वचन अध्ययन र मनन् गर्न, प्रभुको चरणमा बसेर प्रार्थना र व्यक्तिगत संगतिमा समय बिताउन र अरु विश्वासीहरु संग संगति गर्न र भेंटघाट गर्न अति गहिरो इच्छा आफै उम्लेर आउँछ।
उद्धार पाउने घटनाले एउटा विश्वासीलाई स्वर्गलोकमा येशु संग वास गर्न लायक को मात्र न बनाईप्रशस्त आशिषमा सहभागी गराई दिन्छ। येशुलाई व्यक्तिगत रुपमा भेंटी उहाँलाई विश्वास गरेर पाप क्षमाको अनुभव पाउनु आश्चर्यपूर्ण जीवन क्रमको आरम्भ मात्र हो, असिमीत र अनगिनत आश्चर्यकर्मको शृङखलाको उद्गम हो। यस घटनाले विश्वासीको सम्पूर्ण भविष्यलाई परीवर्तन गरी दिन्छ।
उद्धार र आशिषहरु
येशुमा विश्वास गर्ने प्रत्येक व्यक्तिले अनन्त जीवन पाउँछ र यो अजम्मरी जीवन भएकोले नर्कको दण्डबाट छुटकारा पाउँछ।“किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस्, तर त्यसले अनन्त जीवन पाओस्” (यूहन्ना ३:१६) । उत्पत्ति को पुस्तकमा वर्णन गरीएको सृष्टिको घटना अनुसार आरम्भमा आदम र हव्वाले परमेश्वरले दिनु भएको आग्या उल्लंघन गरेका थिए। यसरी अनाग्याकारी भएका कारण संसारमा पाप आयो र संग संगै मृत्यु सबैमा व्याप्त भयो वा सबै मृत्युको अधिन भए। मानिस आफैले पाप न गरे पनि आदम र हव्वाले गरेका पापको कारण हामी सबैमा पाप स्वभाव पुर्ख्यौली दुर्गुणको रुपमा रहेको छ। येशुमा विश्वास गर्दा हाम्रो पाप मात्र क्षमा हुँदैन, पाप स्वाभाव बाट पनि मुक्त हुन्छौं।“ यसैले जसरी एउटै मानिसको अपराधले सबै मानिसहरू दण्डका भागीदार बने, त्यसरी नै एउटै मानिसको धार्मिकताको कामले सबै मानिसका निम्ति धर्मी ठहराएर जीवन ल्याउँछ। किनकि जसरी एउटै मानिसको अनाज्ञाकारिताले धेरै जना पापी बनाइए, त्यसै गरी एकै जनाको आज्ञाकारिताद्वारा धेरै जना धार्मिक बनाइनेछन्” (रोमी ५:१८, १९)। येशुलाई प्रभु र उद्धारकर्ता स्वीकार गर्ने व्यक्तिले पाउने आशिष असिमीत र व्यापक छन्,
“आँखाले नदेखेका र कानले नसुनेका र मानिसले मनमा नसोचेका,
यी नै कुरा परमेश्वरले उहाँलाई प्रेम गर्नेहरूका निम्ति
तयार पार्नुभएको छ” (१कोरि २:९)।
पवित्र आत्माले यी आशिषहरुलाई क्रमिकरुपमा हाम्रो अन्तस्करणमा प्रकट गर्नु हुन्छ। यो प्रकटीकरण हाम्रो व्यक्तिगत आत्मिक प्रगति र परीपक्वतामा भर पर्छ। हाम्रो लागि परमेश्वरले तयार गर्नुभएको सम्पूर्ण योजनाको तुलनामा यी आशिषहरु अझ समुद्र को तुलना मा पानीको एक थोपा जस्तै हुन्। यी सबै कुरा हाम्रो सिमीत समझमा अटाउन कठीन छन्। तर प्रभुको अनुग्रह हाम्रोलागि प्रशस्त छ।
मण्डली र यसको उत्तरदायीत्व
पत्रुसको स्वीकारोक्ति पछि येशुले मणडलीको लागि रहेको योजना प्रकट गर्दै यसरी भन्नुभयो, “ म तिमीलाई भन्दछु, कि तिमी पत्रुस हौ। म मेरो मण्डली यस चट्टानमाथि स्थापित गर्नेछु, र नरकका ढोकाहरू त्यसमाथि विजयी हुनेछैनन्। म तिमीलाई स्वर्गको राज्यका साँचाहरू दिनेछु। जे तिमीले पृथ्वीमा बाँध्नेछौ, सो स्वर्गमा बाँधिनेछ, र जे तिमीले पृथ्वीमा फुकाऔला, सो स्वर्गमा फुकाइनेछ” (मत्ती १६: १८-१९)। यस वचन द्वारा येशुले मणडलीको सम्पूर्ण योजना चेलाहरुको अगाडी प्रष्टरुपमा राखी दिनु भएको थियो। यो भनाई प्रत्येक शनीवार मण्डली धाएर आफनो उत्तरदायीत्व पूरा भयो भन्ने सोच राख्ने विश्वासीहरुको विचार सित मिल्दैन। येशुले दिनु भएको विवरण मण्डलीको लागि भविष्यमा अपनाइने‘रोड-म्याप’ भएकोले यसमा क्रमैसंग विचार गर्नु पर्ने आवश्यक छ।
क․ मण्डली येशुको स्वमीत्वमा हुनेछ
येशुले मण्डलीको स्थापनाको कुरा गर्दा‘मेरो मण्डली’ भनेर सम्बोधन गर्नु भएको छ। पेन्तिकोसको दिनमा पवित्र आत्माको आगमन संगै पत्रुसको प्रचार पछि स्थापित भएको पहिलो मण्डली का साथै विश्वव्यापी रुपमा बढ्दै गएको वर्तमान् मण्डली येशुको मण्डली हो। म ती मण्डलीहरुको कुरा गर्दैन,जुन मण्डलीहरु स्वार्थवश स्थापना भएका छन्, विभीन्न सम्प्रदायमा विभाजित भएका छन् वा कुनै विशेष शिक्षालाई आधार बनाई स्थापित भएका छन्। येशुले कुरा गर्नु भएको मण्डली उहाँलाई आफ्नो व्यक्तिगत उद्धारकर्ता स्वीकार गरी यस संसारमा येशुलाईनै खुशी पार्ने प्रयास गर्ने विश्वासीहरुको समूह ले बनेको मण्डली हो। यो मणडली येशुको शरीर हो जसको शिर उहाँ स्वयम् हुनु हुन्छ। जस्तो लेखिएको छ,“र परमेश्वरले सबै कुरा उहाँका पाउमुनि राखिदिनुभयो, र मण्डलीको निम्ति उहाँलाई नै सबै कुराको शिर बनाइदिनुभयो, जुन मण्डली उहाँको शरीर, उहाँको पूर्णता हो” (एफिसी १:२२ख-२३क)। येशुको मण्डली का सदस्यहरु एउटा शरीरमा रहेका विभीन्न अंगहरु जस्तै हुन् जसले शिरको निर्देशनमा उहाँको इच्छा पुरा गर्न र उहाँलाईनै खुशी पार्ने प्रयास गरी रहन्छन्।
ख․ मण्डली येशु स्वयम् ले स्थापित गर्नु हुनेछ
येशुले भन्नुभयो, ‘म’ मेरो मण्डली स्थापना गर्ने छु। उहाँको क्रूसको मृत्यु, पुरुत्थान र स्वर्गारोहण पछि येशुले पवित्र आत्मालाई यह संसारमा पठाउनु भएको छ। चेलाहरुलाई सुसमाचार प्रचार गर्न महान आग्या दिनुभए पछि येशुले फेरि भन्नु भयो, “तर पवित्र आत्मा तिमीहरूमा आउनुभएपछि तिमीहरूले शक्ति पाउनेछौ, र तिमीहरू यरूशलेममा, सारा यहूदियामा, सामरियामा र पृथ्वीको अन्तिम छेउसम्म मेरा साक्षी हुनेछौ“ (प्रेरित १:८)। पवित्र आत्माको आगमन र उहाँको भरपुरी चेलाहरुको लागि र भावी मण्डलीको लागि अतिनै महत्वपूर्ण थियो। पवित्र आत्माको सेवकाई यस भन्दा अघि सिमीतरुपमा देखिएको भएपनि मण्डलीको युगमा परमेश्वरको सामर्थ नया प्रकारले मण्डलीको सामर्थको रुपमा आउन लाग्नु भएको थियो।“ उहाँले तिनीहरूलाई भन्नुभयो, “यसो लेखिएको छ, कि ख्रीष्टले दु:ख भोग्नु र तेस्रो दिनमा मृतकबाट जीवित हुनुपर्छ, अनि यरूशलेमबाट सुरु गरेर सबै जातिहरूलाई उहाँको नाउँमा पश्चात्ताप र पाप-क्षमाको प्रचार हुनुपर्छ। तिमीहरू यी नै कुराका साक्षी हौ। हेर, म मेरा पिताको प्रतिज्ञा तिमीहरूकहाँ पठाउँछु, तर माथिबाट शक्ति प्राप्त नगरुञ्जेल तिमीहरू यही सहरमा बसिरहो” (लुका २४:४६-४९)।
वर्तमानमा मण्डली स्थापनामा विश्वव्यापी रुपमा भैरहेको वृद्धि संगै नेपालमा पनि मण्डली वृद्धि भैरहेको छ। विगतको तुलनामा अहिले मण्डलीको संख्या धेरै छ। पेन्तिकोसको दिनमा स्थापित पहिलो मण्डली पवित्र आत्माको प्रेरणामा अस्तित्वमा आएको थियो। आज मण्डली स्थापनाको लागि प्रभुले मण्डलीहरुमा प्रेरितीय सेवकाई दिनु भएकोछ, जो पवित्र आत्माको अगुवाईमा मण्डली स्थाप[नामा अग्रणी भूमिका निर्वाह गर्छन्। स्वार्थवश विभाजन गरी स्थापना भएका मण्डलीहरुमा प्रभुको महिमा हुँदैन र पवित्र आत्मा यस्तो कामबाट प्रसन्न पनि हुनुहुन्न। विभाजन ल्याउने अगुवाहरुले आफ्नो कामको हिसाब प्रभुको अगाडि दिनै पर्छ। पवित्र आत्माको अगुवाईमा स्थापित झुण्डमा प्रभुको उपस्थितिले उहाँको स्वीकृति र प्रभुत्वलाई प्रमाणित गर्दछ।‘जहाँ दुई कि तीन जना मेरो नाऊँमा भेला हुन्छन्, म त्यहाँ तिनीहरुको बीचमा हुनेछु’ यो येशुको वचन हो।
ग․ मण्डली चट्टान माथि स्थापित हुनेछ
येशुको मण्डलीको एउटा चट्टान जस्तो बलियो जग हुनेछ। त्यो चट्टान उहाँ स्वयम्हुनुहुन्छ। विश्वासीको जीवन यात्रा रुपी भवनको कुरा गर्दा पावलले भन्छन्, “ मलाई दिइएको परमेश्वरको अनुग्रहअनुसार, घर बनाउने निपुण कारीगरले जस्तै मैले जग बसालें, र अर्काले त्यसमाथि घर बनाउँदैजान्छ। त्यसमाथि बनाउँदैजाने हरेक मानिसले कसरी बनाउँदैछ, सो ध्यान देओस्। किनकि जुन जग बसालिसकिएको छ, जो येशू ख्रीष्ट हुनुहुन्छ, त्यसबाहेक कुनै मानिसले अर्को जग बसाल्न सक्दैन” (१कोरि ३:१० -११)। फेरि मण्डलीको सम्बन्धमा पावलले यही कुरा दोहोराउँछन्, “ त्यो घराना प्रेरितहरू र अगमवक्ताहरूको जगमाथि बसालेर निर्माण भएको छ, र ख्रीष्ट येशू आफैचाहिँ मुख्य कुने-ढुङ्गो हुनुहुन्छ। उहाँमा पूरै घर ठीकसँग एकैसाथ जोडिएर प्रभुमा एउटै पवित्र मन्दिर हुनलाई बढ्दैजान्छ” (एफिसी २:२०,२१)। पुरानो नियममा प्रस्थानको समयमा पनि प्रभु येशु चट्टानको रुपमा आफ्ना लोगहरु संग रहनु भएको थियो।“ सबैले आत्मिक पानी पिए, किनकि तिनीहरूका साथसाथै हिँड्ने आत्मिक चट्टानको पानी तिनीहरूले पिए। त्यो चट्टानचाहिँ ख्रीष्ट नै हुनुहुन्थ्यो” (१कोरि १०:४)। कुनै पनि व्यक्ति येशुको इच्छा र पवित्र आत्माको प्रेरणा बिना मण्डली स्थापना गर्न वा यसको कल्पना गर्न पनि व्यर्थ हुनेछ। मण्डली स्थापना निश्चय नै प्रभुको इच्छा हो, तर यसको लागि उहाँको आफ्नै हृदय अनुसारको मानिसलाई प्रयोग गर्नु हुन्छ।
घ․ नर्कका ढोकाहरू अर्थात् मृत्युले मण्डली माथि विजय पाउने छैनन्
प्रभु येशुको स्वर्गारोहण र पवित्र आत्माको आगमन संगै स्थापित भएको मण्डली सधैंको लागि हो। प्रथम शताब्दीमा आरम्भ भएको मण्डलीको इतिहास साक्षी छ, मण्डलीलाई नष्ट गर्ने जति प्रयास भएपनि मण्डली विद्यमान् छ। मण्डली येशुको शरीरको रुपमा यस संसारमा स्थापित भएको र उहाँको सेवकाईलाई निरन्तरता दिने जिम्मेवारी पाएकोछ।“ ताकि यसरी मण्डलीद्वारा परमेश्वरका विभिन्न किसिमका ज्ञान स्वर्गीय स्थानहरूमा शासकहरू र अख्तियारवालाहरूका माझमा प्रकट गरिओस्। योचाहिँ ख्रीष्ट येशू हाम्रा प्रभुमा उहाँले पूरा गर्नुभएको अनन्त उद्देश्यअनुसार थियो” (एफिसी ३:१०-११)।
मण्डलीको यस युगमा सुसमाचार प्रचार मण्डलीले गर्नेहो, आश्चर्यकर्म द्वारा पिताको महिमा मण्डलीले गर्नेहो, पाप क्षमाको सेवकाई मण्डलीले गर्ने हो। वर्तमान मण्डली शनिवार / रविवारको रीति पूरा गर्ने सोचबाट स्वतन्त्र भै आफ्नो शिर येशुले दिनुभएको जिम्मेवारी लिने र पूरा गर्ने समय आएकोछ।“ यो सब परमेश्वरबाट भएको हो, जसले हामीलाई ख्रीष्टद्वारा आफूसँग मिलापमा ल्याउनुभयो, र हामीलाई मिलापको सेवा दिनुभयो, अर्थात्स्वयम्ख्रीष्टमा हुनुभएर परमेश्वरले संसारलाई आफूसँग मिलापमा ल्याउँदैहुनुहुन्थ्यो। तिनीहरूका अपराधका लेखा नलिएर मिलाप गराउने कामको सन्देश उहाँले हामीलाई सुम्पिदिनुभएको छ। यसकारण हामी ख्रीष्टका राजदूतहरू हौं, र परमेश्वरले हामीद्वारा अनुरोध गरिरहनुभएको छ। ख्रीष्टकै पक्षमा हामी तिमीहरूलाई बिन्ती गर्दछौं, कि तिमीहरू परमेश्वरसँग मिलापमा आओ” (२कोरि ५:१८-२०)।
ङ․ स्वर्गको राज्यको साँचाहरु मण्डलीलाई दिईनेछ
येशुले भन्नु भयो, ‘म तिमीहरुलाई स्वर्गका साँचाहरु दिनेछु’। यो अति गम्भीर कुरो हो र मैले पनि यसलाई अति गम्भीरतापूर्वक लेखी रहेको छु। घरको साँचो राख्ने व्यक्ति त्यस घरको मालिक जस्तै हो। घरमा उसैको भनाई चल्छ र सबैबाट आदर पाउँछ। स्वर्गको साँचो भनेको स्वर्गको ढोका खोल्न र बन्द गर्ने र त्यो साँचो पाउने व्यक्ति भनेको स्वर्गको ढोका खोल्न र बन्द गर्ने जिम्मा (अधिकार हैन) पाएको व्यक्ति हो। यस्तो जिम्मा आफैमा एउटा आदरको कुरो हो। येशुले आफ्नो सेवकाईको क्रममा धेरै जनालाई‘तिम्रो पाप क्षमा भयो’ भन्नु भएको थियो र यसले तत्कालीन स्थापित धार्मिक आधिकारीहरु माझ विरोध उत्पन्न भएको थियो। येशुलाई पाप क्षमा गर्ने अधिकार पिताले नै दिनु भएको थियो र उहाँले यसको उपयोग गर्नु भयो। येशुले नै आफ्ना चेलाहरुलाई भन्नु भयो, “तिमीहरूलाई शान्ति! जसरी पिताले मलाई पठाउनुभयो, त्यसरी म पनि तिमीहरूलाई पठाउँदछु।” अनि यति भनेर उहाँले तिनीहरूमाथि श्वास फुकेर भन्नुभयो, “पवित्र आत्मा लेओ। जसका पाप तिमीहरू क्षमा गर्छौ, तिनीहरूलाई क्षमा हुन्छ, र जसका पाप तिमीहरू क्षमा गर्दैनौ क्षमा हुनेछैन” (यूहन्ना २०: २१-२३)।
येशुबाट मण्डलीले पाएको जिम्मेवारी पवित्र आत्माको सामर्थमा उपयोग गरेमा संसारले उद्धार पाउने समय छोटिन्थ्यो र येशुको दोश्रो आगमन नजीकिन्थ्यो। आफ्नो हीन भावनाले ग्रसित भै क्षमता विहीन मूल्याङकनलाई त्यागेर येशुले मण्डलीको लागि ठहर्याउनुभएको स्थानमा आफुलाई राखेर पाएको सेवकाई पुरा गर्न मण्डलीको कर्तव्य हो। मैले सुसमाचार न सुनाएर, कुनै व्यक्तिलाई येशुको चरणमा न डोर्याएर र उसको पाप क्षमाकोलागि प्रार्थना न गरेर कोही पनि उद्धार पाउँदैन। मेरो व्यक्तिगत सकृयता वा निस्कृयताले एउटा व्यक्तिको जीवनमा स्वर्ग वा नर्क, जीवन वा मृत्युको फरक ल्याउन सक्छ।
च․ मण्डलीले जे पृथ्वीमा बाँध्छ सो स्वर्गमा बाँधिनेछ, मण्डलीले जे पृथ्वीमा फुकाउँछ सो स्वर्गमा फुकाइने छ
स्वर्गारोहण पछि येशु स्वर्गमा पिताको सिंहासनको दाहिने पट्टि विराजमान हुनुहुन्छ। मण्डली उहाँको शरीरको रुपमा उहाँको प्रतिनिधीत्व गर्दै यस संसारमा राखिएको छ। स्वर्ग परमेश्वरको सिंहासन भएपनि पृथ्वी उहाँको कार्य स्थल हो। शैतान र शैतानका सेनाहरु यस पृथ्वीमा काम गर्छन र परमेश्वर र उहाँको मण्डलीको विरोधमा काम गर्छन।“ सचेत रहो, जागा रहो, तिमीहरूको शत्रु दियाबलस कसलाई भेट्टाऊँ र खाइहाँलू भनी गर्जने सिंहझैँ खोजिहिँड्छ। विश्वासमा दह्रिला भएर त्यसको विरोध गर, किनकि संसारभरि नै तिमीहरूका दाजुभाइहरूले पनि यस्तै कष्टको अनुभव गरिरहनुपरेको छ” (१पत्रुस ५:८-९)। शत्रु संसारमा छ, यसकारण मण्डली पनि संसारमा नै रहनु परेको छ। युद्ध पनि यही लडिने हो, जुन युद्धमा हामी पसी सकेका छौं।हामी यो सत्यता थाह न पाउनु सम्भव छ तर हामी वास्तवमा युद्धरत छौं।“ किनकि हामीहरूको युद्ध शरीर र रगतको विरुद्ध होइन, तर प्रधानताहरूका विरुद्ध, शक्तिहरूका विरुद्ध, वर्तमान अन्धकारका सांसारिक शासकहरूका विरुद्ध र स्वर्गीय स्थानहरूमा भएका दुष्ट्याइँका आत्मिक सेनाहरूका विरुद्ध हो” (एफिसी ६:१२)। हामीले यस युद्धमा आफै विजय पाउनु पर्ने आवश्यक छ। अधिकार र सामर्थ दुवै मण्डलीलाई दिई सकिएको छ। हात हतियार के हुन् र कसरी तीनको उपयोग गर्ने विस्तारमा बताइएको छ। अब ए मण्डली! येशुको शरीर, आक्रमण गर! शत्रुलाई निस्कृय पार! बाँध! येशुको नाऊँमा विजय लेउ!
स्वर्ग पर्खि रहेछ, मण्डलीले यस पृथ्वीमा शत्रुलाई आक्रमण गरोस! येशुको नाऊँ र पवित्र आत्माको सामर्थमा दुष्टको सबै कृया-कलाप यस संसारमा बाँधियोस् र पवित्र आत्माको सबै काम स्वतन्त्र गरियोस्। पृथ्वीमा मण्डलीको सेवकाईलाई स्वर्गमा छाप लगाईनेछ, पक्का गरिनेछ। हामी यहाँ बाँधौ र त्यहाँ बाँधिनेछ, हामी यहाँ फुकाऔं र त्यहाँ फुकाइने छ। यो आत्मिक युद्ध हो र आत्मिक हाथ हतियार उपयोग गरिने हो।“ किनभने हामी संसारका हौं, तापनि सांसारिक लड़ाइँ त लड्दैनौं। किनकि हाम्रो युद्धका अस्त्र-शस्त्र सांसारिक होइनन्, तर किल्लाहरू नाश गर्ने ईश्वरीय सामर्थ्य तिनमा छ” (२कोरि १०:३,४)।
परमेश्वरको योजनामा यस संसारको महत्वपूर्ण स्थान छ। येशुको दोश्रो आगमन यसै संसारमा हुनेछ र यहाँनै उहाँले पिताको राज्य स्थापना गर्नु हुनेछ। हामी सबै जो पहिलो पुनरुत्थानमा सहभागी हुन्छौं, येशु संग यहीं राज्य गर्ने हो। यसैकारणउहाँले एउटा विशेष उद्देश्यले हामीलाई यहाँ राख्नु भएको छ।
सृष्टिको आरम्भमा अदनको बगैचामा आदम र हव्वालाई धोखा दिएर सर्पको रुपमा शैतानले ठग्ने कार्यको आरम्भ गरेको थियो। यसको फलस्वरुप परमेश्वरले सर्पलाई श्राप दिंदै मानिस र शैतान बीचको शत्रुता लाई स्थापित गर्नु भएको थियो। लेखिएको छ, “ तब परमेश्वरले सर्पलाई भन्नुभयो, “तैंले यसो गरेको हुनाले, “तँ सबै पालिने पशुहरू
र सबै वन-पशुहरूभन्दा ज्यादा श्रापित हुनेछस्।
पेटद्वारा तँ हिँड्नेछस्
र तेरो जीवनभरि तैंले माटो खानेछस्।
तेरो र स्त्रीको बीचमा,
र तेरो सन्तान र स्त्रीको सन्तानको बीचमा म दुश्मनी हालिदिनेछु।
त्यसले तेरो शिर कुच्च्याउनेछ,
र तैंले त्यसको कुर्कुच्चो डस्नेछस्।”
(उत्पत्ति ३: १४-१५)। त्यो शत्रुता वर्तमानमा पनि उस्तैछ। मानिस र शैतान बीचको यो शत्रुता पुरानो नियमको समयमा इस्राएल र अन्य जाति देश बीच व्याप्त थियो। नया नियममा यसको स्वरुप आत्मिक भएको छ र परमेश्वरको राज्य र संसारको राज्य बीच व्याप्त छ। शैतानले मण्डलीलाई जहिले पनि नष्ट गर्ने प्रयत्न गर्छ तर सफल हुँदैन। मण्डलीको रुपमा हामीले उसको शिर कुच्च्याउने र उसले हाम्रो कुर्कुच्चो लाई डस्ने प्रतिस्पर्धा छ। कसले छिटो आक्रमण गर्ने हो, सफलता त्यहीं छ।
येशुको सेवकाई
येशुले आफ्नो सेवकाईको आरम्भमा नै त्यसको स्वरुप स्पष्ट पार्नु भएको थियो। यशायह अगमवक्ताले गरेका अगमवाणी अनुसार नै पवित्र आत्माको सामर्थमा येशुले पिताको योजना पूर्ण गर्न आउनु भएको थियो। सेवकाईको आरम्भमै“ उहाँ नासरतमा आउनुभयो, जहाँ उहाँ हुर्कनुभएको थियो। उहाँ आफ्नो आदतअनुसार शबाथ-दिनमा सभाघरमा जानुभयो, र पढ्नलाई खड़ा हुनुभयो। उहाँलाई यशैया अगमवक्ताको पुस्तक दिइयो। उहाँले त्यो पुस्तक खोल्नुभयो, र यो कुरो लेखिएको खण्ड निकाल्नुभयो:“परमप्रभुका आत्मा ममाथि छ,
किनभने गरीबहरूलाई सुसमाचार सुनाउनका निम्ति
उहाँले मलाई अभिषेक गर्नुभएको छ।
कैदीहरूलाई छुटकाराको घोषणा गर्न,
र अन्धाहरूलाई दृष्टि दिन,
थिचोमिचोमा परेकाहरूलाई स्वतन्त्र गराउनका निम्ति,
र परमप्रभुका प्रसन्नताको वर्ष घोषणा गर्नका निम्ति
उहाँले मलाई पठाउनुभएको छ” (लुका ४: १६-१९)।
उहाँको सेवकाईको सारांश हो‘छुटकारा’! पहिलो मानिस आदममा मानव जातिले गुमाएका जे जति कुरा छन्, ती सबै येशुमा फिर्ता पाउने हो। मानव जातिमा रोग, गरिबी, निराशा, हताशा, आँसु आदि परमेश्वरको इच्छा हैन, शैतानको झूठ र धोखाले मानिस अन्धविश्वास र यसको भुमरीमा परेको छ। सृष्टिको आरम्भ देखि परमेश्वरको एउटै उद्देश्य र लक्ष रहेको छ, “मानिसलाई हामी आफ्नै स्वरुपमा बनाऔं”। इतिहासका सबै घटनाक्रम यही एउटा लक्ष पुरा गर्नका लागि हो। येशुको आगमन, सेवकाई, क्रुसको मृत्यु र पुनरुत्थान, सबै यही उद्देश्य प्राप्तिको लागि हुन्।
येशुको सेवकाईको लक्ष शैतानको झूठ र कपटको साम्राज्यलाई नष्ट गरी मानव जातिलाई पाप र मृत्युको अधिनता बाट स्वतन्त्र गर्ने हो।“यदि एउटै मानिसको अपराधले गर्दा त्यस मानिसद्वारा मृत्युले राज्य गर्यो भनेता झन्बढ़ी प्रशस्त अनुग्रह र धार्मिकताका सित्तैँको वरदान पाउनेहरूले एउटै मानिस येशू ख्रीष्टद्वारा जीवनमा राज्य गर्नेछन्। यसैले जसरी एउटै मानिसको अपराधले सबै मानिसहरू दण्डका भागीदार बने, त्यसरी नै एउटै मानिसको धार्मिकताको कामले सबै मानिसका निम्ति धर्मी ठहराएर जीवन ल्याउँछ। किनकि जसरी एउटै मानिसको अनाज्ञाकारिताले धेरै जना पापी बनाइए, त्यसै गरी एकै जनाको आज्ञाकारिताद्वारा धेरै जना धार्मिक बनाइनेछन्” (रोमी ५: १७- १९)।
शाउल र पावल
येशु प्रभुहरुका महाप्रभु र राजाहरुका महाराजा हुनुहुन्छ। पिताको दाहिने बाहुलिमा विराजमान भएर राज गरीरहनु भएकोछ। र पनि उहाँले व्यक्तिगत रुपमा हामी मध्ये हरेकलाई चिन्नु हुन्छ। “ उहाँको सामुन्ने पवित्र र निष्कलङ्क होऔं भनेर संसारको उत्पत्तिभन्दा अघिबाटै उहाँले हामीलाई चुन्नुभयो। उहाँको इच्छाको लक्ष्यअनुसार ख्रीष्ट येशूद्वारा प्रेममा उहाँले हामीलाई आफ्ना सन्तान हुनलाई अघिबाटै नियुक्त गर्नुभएको थियो” (एफिसी १:४५)।
उहाँले संसारको उत्पत्तिभन्दा अघिबाटै मलाई व्यक्तिगत रुपमा चिन्नु हुन्छ। यसै कारण मेरो बोलावट व्यक्तिगत हो, मैले गरेको विश्वास व्यक्तिगत हो र मैले पाएको उद्धार पनि व्यक्तिगत हो। मण्डलीमा एक आपसमा गरिने संगतिले मेरो आत्मिक उन्नतिमा सहायता गर्छ तर प्रभुसंगको मेरो हिंडाई व्यक्तिगत हो। हनोक, मोसा र एलिया पुरानो नियमको समय का यस्ता व्यक्तिहरु हुन् जसले प्रभु संगको हिंडाई को कारण मृत्युमा जानु परेन, सोझै स्वर्ग लगिए।
नया नियमको मण्डली आरम्भ भए पछि शाऊल नामको व्यक्तिले मण्डलीलाई सताउने काममा अग्रणी भुमिका निर्वाह गर्दै थिए। यरुशलेममा स्तिफनसको हत्या बाट आफ्नो सफलतामा उत्साहित भएर सिरियाको दमिस्कमा रहेका विश्वासीहरुलाई जेलखानामा हाल्ने पत्र लिएर दमिस्कतिर जाँदै थिए। बौरी उठ्नु भएको जीवित प्रभु येशु शाऊललाई दमिस्कको बाटोमा भेंट्नु भयो। त्यस विशेष भेंटको बारेमा शाऊल आफै भन्दै छन्, “नासरतका येशूका नाउँको विरुद्धमा धेरै कारबाई गर्नुपर्छ भन्ने म आफैलाई पनि विश्वास थियो। मैले यरूशलेममा त्यसै गरें, र मुख्य पूजाहारीहरूबाट अख्तियार पाएर धेरै सन्तहरूलाई मैले झ्यालखानमा हालेको मात्र होइन, तर तिनीहरूलाई मार्दा तिनीहरूकै विरुद्धमा मैले मेरो मत पनि दिएँ। अनि सबै सभाघरहरूमा तिनीहरूलाई बारम्बार सजाय दिईकन तिनीहरूलाई विश्वास त्याग गराउने चेष्टा गर्थे। तिनीहरूका विरुद्धमा क्रोधले उन्मत्त भईकन बाहिरका सहरहरूमा पनि मैले तिनीहरूलाई सताएँ।
“यसरी मुख्य पूजाहारीहरूबाट अख्तियार र आज्ञा पत्र पाएर म दमस्कसतिर गएँ। हे राजा, मध्यदिनमा मैले स्वर्गबाट सूर्यभन्दा पनि उज्ज्वल ज्योति देखें, जो म र मसँग यात्रा गर्नेहरूका चारैतिर चम्किरहेको थियो। जब हामी सबै जमिनमा लोटेका थियौं, तब हिब्रू भाषामा मलाई यसो भनिरहेको आवाज मैले सुनें, “शाऊल, शाऊल, तिमी किन मलाई सताउँदछौ? सुइरोमा लात हान्दा तिमीलाई नै दुख्छ।”
“अनि मैले भनें, ‘हे प्रभु, तपाईं को हुनुहुन्छ?’
प्रभुले मलाई भन्नुभयो, ‘म येशू हुँ, जसलाई तिमी सताइरहेछौ। तर उठ र आफ्ना पाउमा खड़ा होऊ, किनभने ममा तिमीले देखेका र मैले तिमीलाई देखाउने कुराका निम्ति सेवक र साक्षी नियुक्त गर्ने उद्देश्यले म तिमीकहाँ देखा परेको छु। म तिमीलाई तिम्रा आफ्नै जाति र अन्यजातिबाट छुटकारा दिनेछु, जसकहाँ म तिमीलाई पठाउनेछु, कि तिमीले तिनीहरूका आँखा खोलिदेऊ, र तिनीहरू अन्धकारबाट ज्योतितर्फ, र शैतानको शक्तिबाट परमेश्वरतर्फ फर्कून्। यसरी तिनीहरूले पापको क्षमा पाउनेछन्र ममाथिको विश्वासद्वारा पवित्र भएकाहरूको स्थान तिनीहरूले पनि पाउनेछन्” (प्रेरित २६: ९-१८)।
यसरी शाऊलले येशुको दर्शन पाएर नया जिम्मेवारी मात्र पाएनन्, नया हृदय पनि पाए। शाऊल बाट परीवर्तन भएर पावल भए। एक प्रकारले येशुले पिता बाट पाउनु भएको सबै जिम्मा पावललाई सुम्पी दिनुभएको छ। एउटै लक्ष, एउटै उद्देश्य, एउटै सेवकाई – आत्मिक अन्धोपन बाट छुटकारा दिने, अन्धकारको राज्य बाट छुटकारा पाएर ज्योतिको राज्यमा प्रवेश, शैतानको राज्य बाट छुटकारा पाएर परमेश्वरको राज्यमा प्रवेश, पापको क्षमा, प्रभु येशु माथिको विश्वास द्वारा पवित्र भएकाहरु बिच स्थान प्राप्त गर्ने।
सारांश
यस संसारमा येशुको आगमन, क्रुसको मृत्यु, पुनरुत्थान र मण्डली स्थापनाको एउटै उद्देश्य छ – परमेश्वर पिता को इच्छा पूर्ण गर्ने। प्रभु येशुको सेवकाईको लक्ष, पत्रुसले पाएको प्रकाश, येशुले स्थापित गर्नुभएको मण्डलीको कार्य विवरण होस् अथवा पावलले पाएको दर्शन, एउटै लक्ष, एउटै उद्देश्य छ। यस संसारमा जन्मने हरेक व्यक्तिले येशुलाई व्यक्तिगतरुपमा भेंट्न सकोस्, चिन्न सकोस् र उहांलाई उद्धारकर्ताको रुपमा विश्वास गर्न सकोस्। येशुको दोश्रो आगमन नहोउँजेल यो जिम्मेवारी मण्डलीलाई दिईएकोछ। यो मण्डलीको कर्तव्य र उत्तरदायित्व दुवै हो कि मण्डलीले आफ्नो दर्शन न हराओस्, नानाथरीको टण्टामा अफुलाई न अलझाओस र आग्याकारी भै प्रभुको आग्या र ईच्छा फुरा गरोस्। मण्डली संग संगै हामी सबैले यो साक्षी दिन सकौं, “यसकारण, हे राजा अग्रिपास, स्वर्गीय दर्शनप्रति म अनाज्ञाकारी भइनँ। तर पहिले दमस्कसमा, तब यरूशलेममा र सारा यहूदिया देशभरि रहनेहरूलाई, र अन्यजातिहरूलाई पनि पश्चात्ताप गरेर परमेश्वरतिर फर्क र आफ्ना पश्चात्ताप योग्यका काम गर भनेर मैले प्रचार गरें” (प्रेरित २६: १९,२०)।
फिलिपी को पत्र दुई अध्याय, पाँच देखि एघार पद सम्मको भाग उल्लेख गरेर हामी सबै यीशु जस्तै हुन सकौं, यहि प्रार्थना साथ अन्त गर्न चाहन्छु।
“तिमीहरूमा यस्तो मन होस्, जो ख्रीष्ट येशूमा पनि थियो। परमेश्वरको स्वरूपमा भएर पनि
उहाँले परमेश्वरको बराबरी हुने कुरालाई एउटा पक्रिराख्ने वस्तुजस्तो ठान्नुभएन।
तर आफैलाई रित्त्याईकन
कमाराको रूप धारण गरेर,
तथा मनुष्य भएर जन्मनुभयो।
स्वरूपमा मानिसजस्तै भएर
आफैलाई होच्याउनुभयो,
र मृत्युसम्मै, अर्थात्क्रूसको मृत्युसम्मै आज्ञाकारी रहनुभयो।
त्यसैकारण परमेश्वरले उहाँलाई अति उच्च पार्नुभयो,
र उहाँलाई त्यो नाउँ प्रदान गर्नुभयो,
जो हरेक नाउँभन्दा उच्च छ,
कि स्वर्गमा, पृथ्वीमाथि र पृथ्वीमुनि भएको हरेक प्राणीले
येशूको नाउँमा घुँड़ा टेक्नुपर्छ,
र हरेक जिब्रोले परमेश्वर पिताका महिमाको निम्ति
येशू ख्रीष्टलाई प्रभु भनी स्वीकार गर्नुपर्छ”।
Discussion about this post