फेन्जो कान्छा । सानु छँदा च्याङबा भन्थ्यौं । ठीकै थ्यो । अहिले ठूलो भई उसले आफ्नो नाम हाम्लाई सम्झाको । फेन्जो । गरागरा, कान्ला, कान्ला नउफ्री नसक्ने । छलबुले । जे अराएनि खुरुरु कुदिहाल्ने । बुवा, आमा पैरोमा गाको । धेरै अघि । १६ नाघिसक्यो बच्चैजस्तो सोझो, हँसिलो, फूर्तिलो, प्यारो । जे पनि पढिहाल्ने, घोकिहाल्ने । चूरोटको खोलमा लेखेको अक्षर समेत नछाड्ने । गाउँमा कसैको घरमा पत्रिका देख्यो कि हात धोएर, धोएकै हात जोड्ने । मैलो नगरी पढ्छु, फर्काउँछु भनी विन्ती । साँच्चै जतन गरी लाने, फर्काउने । कति सिकेको, कति जानेको । सिकेको कुरा बकबक गरिरहने । फेन्जो कान्छाको ज्ञानको भोक, बुद्धिको प्यास कहिले मेटिएन ।
“इन्टरनेट भनेको त भित्री जाल हो” भन्छ । हेर्नु न बाठे । सब जान्ने । “जालमा माछा फसाकोजस्तै नेटले मान्छे फसाउँछ । भित्री कोठामा फसाकोले गर्दा इन्टर भनेको हो । नेट भनेको जाल । इन्टर नेट, भित्री जाल”
माथ्लो गाउँको साहुको छोराको नयाँ आइप्याड हेरेछ फेन्जो कान्छाले । साबुनले हात धोएर, सफा तौलियामा पुछेर छामेछ, मुसारेछ । छक्क मात्र होइन, तीन छक्क परेछ । चलाउनु पनि सिकिहालेछ । आइप्याडको साइटहरू थिच्दैथिच्दै गएर कताकता, भित्रभित्र पसेर केके हेरेछ, केके पढेछ ।
“अंकल, छाडाछाडा तस्वीरहरू रैछ हौ त्यो इन्टरनेटमा त । हेर्नु पनि लाज लाग्ने ।”
मैले सोधे, “तिमीले कहाँ देख्यौ नि कान्छा ?” तब उसले बतायो माथि जोशी साउको छोराको आइप्याडमा । अनि उसले पटटट भन्न लाग्यो अरू केके देख्यो, सिक्यो । छाडा तस्विरको कुराले मलाई छक्क लागेन । त्यो कुन नौलो कुरो हो र । तर यो मोरो फेन्जोले त गाउँको डाँडा, कान्ला नाघेजस्तै नेटबाट सागार, आकाश, साउथ अमेरिका, नर्थ अमेरिका–समेरिका सब घुमघाम गरिसकेछ । उसको मनपर्ने हिरो अब्रहाम लिन्कनको बारेमा पनि सरसरी पढेर दङ्ग परेछ । तर नाङ्गो नक्साले भने उसलाई डिसटप गरेछ । “जिउ भनेको ढाक्ने कुरो हो नि अंकल, दुनियालाई तेसरी देखाउने हो त ? यो नेटको जालसँग बाँचिएन भने त लटपटाउने रैछ हौ अंकल ।”
चार दिन पछि फेन्जो हाम्रो ढोकामा । अचानक मौन, गम्भिर । छुलबुल छैन, शान्त । मैले छेवैको चेयरमा बस्न निम्त्यिाएँ ।
उसलाई चुपचाप बसेको देख्दा मलाई नै छटपट लाग्यो । विरामी पो भयो कि ? फेन्जो कान्छोलाई बिसञ्चो बन्न सुहाउँदैन । मैले सोधे, “फेन्जो कान्छा, हाउ आर यू ? यू ओ के ?” उसले सोचमा नै डुबेर भन्यो, “अंकल, हजूरले दिनुभाको गिडियनको बाइबल किताबभित्र हेर्दा मैले अचम्मको कुरा देखें नि ।” मलाई खुसी लाग्यो । उसले पाएको किताबको बारे आज तीन हप्ता पछि केही भन्दैछ । “म पढ्दैछु नि बेलाबेलामा । अरू पनि पढ्ने कुरा धेरै छ । सबले माया गरेर दिन्छन् । अरूको फर्काइहाल्नुपर्छ । तपाईको त गिफ्ट नै हो । बिस्तारै हेर्छु पढ्छु । मनपर्छ । हजूरले भनेको जस्तो प्रभु येशूलाई विश्वास चैं गरिहालेको छैनँ । नरिसाउनू है अंकल । हजूरले नै आफै हेर, बुझ भन्नुभाथ्यो ।” उसलाई सोधे, “फेन्जो, तिमीले के देख्यौ ? भनन । बाइबलमा के देख्यौ ? ” । ज्याकेटको गोजीबाट उसले सानु गिडियन नयाँ करार निकालेर मतिर हेर्यो । हातैमा पक्रेर, पाना नखोली भन्न लाग्यो, “यो पत्रुस भन्नेको दुई नम्बर पत्रुसमा त अचम्मको कुरा रैछ नि अंकल ? इन्टरनेटसँग मिल्ने ।” मेरो जिज्ञासा बढ्यो । मैले आफै पढिरहेको पत्रिका बन्द गरेर टेबिलमा राखेर उमाथि पूरै ध्यान खनाए । मैले हेर्दाहेर्दै फेन्जोले मलाई बाइबल स्टडी दिन लाग्यो । म त उसको अघि चाख मानी सुन्ने विद्यार्थी बने । “यो धारा नम्बर २ मा (अध्याय दुई भनेको), यो धारा नम्बर २ को ४ नम्बर श्लोकमा भनेको रैछ अंकल, “स्वर्गदूतहरूले पाप गर्दा परमेश्वरले तिनीहरूलाई नरकमा फालिदिनुभयो । अब हेर्नू न अंकल, माथि साउका छोराले त साथीहरूसँग मिलेर त्यो नराम्रो, अश्लिल कुराहरू भित्र कोठा थुनेर हेर्दा रैछन्, देखाउँदा रैछन् । त्यो आइप्याडको काम त ठिक भएन नि । त्यै प्याड अस्ति उहाँले एकछिन दिनुहुँदा मैले त अमेरिकाहरू, नर्थपोलहरू अनेक कुरा पढ्न, सिक्न पाएँ ।
श्लोक ५ मा जलप्रलयमा पृथ्वी डुबाको कुरा रैछ । ६मा सदोम र गमोरा भन्ने शहरलाई भस्म पारेको रैछ । ७ नम्बर श्लोकमा त सीधै भनेको रैछ, ‘दुष्टहरूको कामुकताबाट अति दुखित भएको लोतलाई बचाउनुभो ।’ कामुकता भनेको त सेक्समा जल्नु हो नि हैन अंकल ?” मैल हो मा शिर हल्लाए ।
फेन्जो भन्दै गयो, मैले चाख मानेर सुनिरहे, “यो दुइ नम्बर पत्रुसको धारा २को श्लोक ९ मा फेरि त्यै कुरा, भक्तलाई बचाउने अनि भक्तिहीनलाई दण्डमा लैजाने कुरा रैछ । यो पढ्दा मलाई त त्यै इन्टरनेटको चित्रहरूको सम्झना भयो । १० श्लोक, जो अशुद्ध पार्ने कामवासनामा डुबिरहन्छन्, डर मान्दैनन् भनेको रैछ । यो इन्टरनेटको भित्री जालोमा पर्यो भने त स्वाहा हुने रैछ नि अंकल । १३ नम्बर, दिउँसै भोग विलासमा मग्न रहनु यिनीहरू खुशीको कुरा ठान्छन् । बिहे भएर गर्ने कुराहरू किन मान्छेहरू पैलेपैले सोच्छन्, हेर्छन् गर्छन् कुन्नि ? १४ मा त सोझै ठोकेको रैछ अंकल, आँखा व्यभिचारले भरिएको हुन्छन्, जत्ति पाप गर्दा पनि नअघाउने हुन्छन् ।
अंकल मैले माथि साहु दाइलाई विन्ती गरे, साउदाइ मलाई तपाईको आइप्याडमा एकछिन् एउटा कुरा खोतल्नु दिनू न भने । उसले सोध्यो, के हेर्ने फेन्जो ? मैले भने दाइ एकचोटी मदर टेरेजा भन्नेको फोटो र जीवनी हेर्नु इच्छा थ्यो भने । उनले दिक्क मानेर भने, “ए मुला, ऐले याँ हामी के हेर्दैछौं हेर् त” भनी झ्वास्स तस्विर देखाउनुभो अंकल म त तर्सिए । त्यस्तो दामी आइप्याडमा त त्यस्तो थोत्रे कुरा पो हेरेको । म फर्केर कोठामा आए अंकल । अस्ति यो सानु बाइबलमा कताकता, कामुकता, न्यायको दिन भन्ने कुरो पढेजस्तो, देखेजस्तो लाग्यो । कहाँ पो हो भन्ने मेरो मन तुलबुल भयो । खोज्दा खोज्दा बल्ल पाइयो अनि मनको बह पोखाउनु अंकलकहाँ आको । यो बाइबलमा त त्यस्तो कामलाई कुमार्ग, खराब काम, पापमा फस्ने, कुकुर वान्तामा फर्केको, सुँगुर हिलोमा खेलेको केके भनेको रैछ नि ।”
म धेरै बेर घोरिए । हल्लामा नाम कमाको चन्चले फेन्जो आज चुपचाप, छपक्क छ । बाइबलका यी पद (श्लोकहरूले) धाराहरूले – यो कोठा नै पखालेको जस्तो भयो मलाई । पलको गम्भीरताले, यो सोझो व्यक्तिको सरल उद्गारले मेरो आँखा ओसायो । फेन्जोको भावनामा मैले कुन्नि के देखे शब्दबाट बताउन नसक्ने । मैले हेरेका तस्वीरहरू पनि मेरा आँखा अघि नाचे । मलाई ग्लानी भयो । फेन्जो, सोझो फेन्जो–कान्छाको निर्मल आँखाबाट मलाई पनि मेरो ल्यापटपको इन्टरनेट हेर्नु, खोज्नु मन प¥यो । उसको जस्तै मन र मस्तिष्कबाट मलाई संसारका महान व्यक्तित्वहरू, विशाल आत्माहरूको बारेमा सिक्नु मन लाग्यो, पत्तो लाउनु मन लाग्यो । उसको परिभाषाको “थोत्रे कुराहरू” चियाउनु घीन लाग्यो ।
इन्टरनेटको “भित्री जालो”मा फस्छु भन्ने डरले मलाई पनि समात्यो ।
Discussion about this post