लोकतन्त्र आएदेखि देशमा केही अस्थिरता र असुरक्षाको भावना छाएको छ । राजा लगायत, धर्म लगायत सबै विषयमा नयाँ सोचले प्रवेश गरेको छ । सबै मानिस बराबर हो अनि महिला पनि उत्तिकै सम्मानित प्राणी हुन् भन्ने “नयाँ विचार” हरू अचानक सामना गर्नुपर्दा आम मानिसले कहिल्यै नसोचेको, नकल्पेको धक्का महसुस गर्न पर्यो । जीवनभरि घृणित भनेको र थुकेकोलाई इज्जत । जीवनभरि सम्मानित भनेकोलाई केही होइन साधारण जनतामात्र भनिँदिँदा मात्र होइन कागजमाथि कोरेरै कानुनी मान्यता दिँदा मान्छेको पौराणिक सुरक्षा र मान्यताको जग हल्लिएको छ । अबुझ अवस्थामा कथेका गीतका शब्दहरू उखानका शब्दहरू नै सधार्नु पर्यो ।
हामीले आम जनताको मानसिक पीडा र भावनात्मक क्लेश बुझिदिनुपर्छ । अप्रत्याशित र आशा, कल्पना केही नगरेको परिवर्तनले देश ढाक्यो । तातो प्रतिक्रिया र मन्तव्य र मनभित्रको औडाहा सेलाउनु र आत्मसात गर्नु समय लाग्छ । ब्राह्मणहरूमा अहिले घडी सबैभन्दा बढी घबढाहट आएको छ । बीपी कोइराला जस्ता बाहुनमा होइन । इन्टर्नेशलन विचार र विन्दुमा नेपाललाई पु¥याउने आँट गरेको निम्ति कोइरालालाई थुन्नु र हुनुसके झुण्डाउनु नै ठीक थियो भन्ने मित्रहरूलाई नयाँ विपनामा बिउँतनु समय लाग्ने छ । हामी हतार गरेर हतास हुनहुँदैन ।
संसारको कुनै पनि कुनामा सुहाउँदो हुने विचार राख्ने क्षमतामा पुर्याउन दलित मानसिकता र हेलागर्ने मानसिकता दुवैलाई समय दिनुपर्छ र हकारिहाल्नु र आक्रमणै गर्नु हुँदैन । शाब्दिक आक्रमण पनि । मान्छे आखिर परम्परा र अन्धविश्वासको दास हो । नेपालभित्र कुप्रथामा धुमधाम नाम कमाएका मान्छे अस्ट्रेलिया पुगेर शान्त बनी बसेका छन् । उसले बुझनु समय लाग्यो । बुझ्नु त बुझ्यो । समय लाग्छ । चलन, रिवाजको दोष दिनु नै हो भने हाम्रा अज्ञानी पूर्खाहरूलाई हामीले प्रश्न गर्नुपर्छ । पुरोहित, झाँक्रीहरूलाई सोध्नुपर्छ । किनभने आजको युगको लागि पर्याप्त सोच –(बीपी, गणेशमानहरूले जस्तै) उनीहरूले राख्न सकेनन् । बढी लहैलहैमा लागे । माओवादीले देश हल्लाएर सब बराबर भनिदिँदा उथलपथल आयो । पानीमा उठेको छाल तरङ्ग शान्त बन्नु टाइम लाग्छ ।
क्रिस्चियनहरूको संख्या र गतिविधिप्रति मानिसहरूमा हिजोसम्म एउटा सामान्य जिज्ञासा थियो । थुना, जेल, नेल परेको सन ०९१ पूर्व त चर्चलाई केही सहानुभूति पनि थियो । सामान्य स्वीकृति थियो । यो धर्म (जो धर्म पनि होइन) यो मत र आस्थामा धेरैजना झुमिन्न थालेपछि अब अशान्ति सुरु भएको छ । सैद्धान्तिक, बौद्धिक वहस चलाएको खण्डमा चर्चका १२, १४ वर्षका किशोर, किशोरीले पनि आफ्नो मतको निम्ति स्पष्ट तर्क दिनसक्छन् ।
अभाग्यवश ख्रीष्ट शिक्षा र सिद्धान्तको पक्ष बलियो, चिटिक्क देखेर कति मित्रहरू जहिले पनि डलर, फलर फलाक्न थालिहाल्छन् । डलर नेपालमा कसैको लागि पनि अप्रिय शब्द होइन । अख्तियारको धरपकडमा परेका देश अगुवाहरूले नै डलर दुव्यसनीको कुप्रभाव र आशक्ति प्रमाणित गरिदिनुभएको छ । जेल खट्न राजी हुने मन्त्रीहरूको रेकडले साबित गरिदिएको सर्वप्रिय थोक यहाँ डलर नै हो ।
तर यो बेला एउटा अनौठो बेला हो जब हामीलाई घृणाको दृष्टिले हेर्न प्रभु येशू स्वयमले समाजलाई अनुमति दिनुभएको छ । लाख तर्क गर्नुहोस् त्यो समयको परिधि र उद्देश्यलाई तपाई पल्टाउनसक्नु हुन्न । तर प्रेम र सहनशीलतामा हामीले यो समयलाई हेर्यौं र स्वीकार गर्यौ र आफूलाई, एकअर्कालाई तयार गर्ने र सुधार्ने प्रयत्न, परिश्रम गर्यौं भने नतिजा राम्रो हुन्छ । नयाँ दिन फर्काउन परमप्रभुलाई सजिलो हुन्छ । तर्क, दोष र छलफल, आरोपको मानिसिकताबाट हामी शान्त, मौन प्रार्थनाको मानसिकतामा लाग्नुपर्छ ।
अन्जु पन्तको घटना भविष्यवाणीको चित्र ठान्नुहोस् । यो छाल र तरङ्ग केही होइन । आँधी आउन लागेको छ । कुरो बुझ्नुहोस् । समाजको मानसिकतालाई पढ्ने यो गजबको अवसर हो । कल्ले, कल्लाई, के भन्योमा धेरै ध्यान नदिनुहोस् । समयले हामीलाई के सिकाउँदैछ अनि प्रभु हामीलाई के सम्झाउन खोज्नु हुँदैछ ? त्यो बढी महत्वपूर्ण छ अहिले ।
चर्चभित्र उच्चनिच भन्ने विचार कमै छ । कमसे कम शास्त्रबाट निदेर्शित भेदभाव छैन । सबैलाई अटाउन सजिलो । नारीको सम्मान यसको एउटा प्रमुख गहना हो । लोग्नेको कर्तव्य सफा गरी बताइएको हुनाले, छोराछोरीले समेत बुवालाई गलत काममा बाइबल खोलिदिनसक्छन् । वर्तमान र आगामी संविधान बाइबल शिक्षाकै वरिपरि सब समान भन्ने भावनामा अंकित हुन लागेकोले नयाँ संविधान पालन गर्न गराउनमा चर्चले ठूलो भूमिका खेल्नसक्छ । सबलाई माया गर, आफू जस्तै ठान भन्ने मसिहाले आफूलाई क्रिस्चियनको लागि होइन सबैको निम्ति, “म असल गोठालो हुँ” भन्नुभयो । त्यो गोठाला, प्रेमी येशूलाई भोलि परिचित गराउने हो भने हामीले हाम्रो क्रोध, झोंक र आक्रोशलाई शान्त तुल्याउने मन्त्रहरू सिक्दै गर्नुपर्छ ।
“मेरो भेडाले मेरो आवाज सुन्छ” भन्ने ती गोठालाको शिक्षा र विचारमा एक दिन देश पुग्नु हो भने हामीले आफूलाई र आफ्नो मन्तव्य र चरित्रलाई नियंत्रणमा राख्नुपर्छ । छोटो दूरीको यात्रामा चर्च हिँडेको छैन । हाम्रो गन्तव्य अहिले नै औंलाले देखाउन सकिने विन्दुमा छँदैछैन । यसकारण सोचौं दिनदिनको घटना र विचारबाट प्रभावित हुँदै झटपट कमेन्ट, टिप्पणी र आक्रमण गर्ने हतारो गर्नु हाम्रो कमजोरी हो । दुरीको एजेन्डा बोकेका मानिसहरू घटनैपछि ढल्कने, छल्कने भन्दा पनि आफ्नो अठोट संकल्प र लक्ष्यबाट बढी प्रभावित हुन्छन् ।
यो लेख कोर्दा पनि यो कलमले सबैलाई माया गरिनै रहनुपर्छ । विरोध गर्नेको लागि प्रार्थना गर अनि आर्शीवाद देऊ भन्ने मसिहालाई नाघेर कसैप्रति मैले वितृष्णाको भावना पाले भने बाइबलमा छापिएको भाषाअनुरूप म “पाखण्डी” हुनेछु । मेरो मनमा अशान्ति हुनेछ । बाइबल नाघेर म बढी जान्ने भए र क्रोधित बनें भने भरै रिस ठन्डा भएपछि मलाई लाज लाग्ने छ । बाइबल पाठक मित्रहरूको नजरमा म सिद्धान्त वर्खिलाप जाने इसाई हुन्छु ।
मलाई कर्णदासले धेरै दुखी बनेर भनेका थिए, “अंकल, मैले फेरि अर्को बुद्ध पठाऊ भनेको, बुद्ध नै भनेको होइन, कोही बुद्ध जस्तै बुद्धिमानीको अर्थमा भनेको थिएँ” भनेको हिजो जस्तो लाग्छ । कर्णले एउटा कठिन समयको सामना गर्न परेको थियो त्यसबेला “बढता जान्ने, बाइबल पण्डितेइँमा माहिर इसाई मित्रहरूको विरोध” कति सहे कर्णले, उनैलाई थाहा होला ।
अन्जु पन्त अहिले खपिनस्कनुको उकाली, ओरालीबाट गज्रिरहेकी छन् । खराबी, चोरी, चकारी, भ्रष्टचार, अपराध अनि कुकर्मको लागि होइन । “मलाई क्षमा गर्नुहोस् म यो काम गर्न सक्दिनँ” भनेकी हुन् । जुन उनको कानुनी अधिकार र मानवीय स्वाधीनता र व्यक्तिगत छनोटको सवाल हो । हिजोका राजाहरूले जनता र नेताहरूको विरुद्ध धेरै कुरा गर्न उचित सम्झेका थिए । अहिले तिनै नेताहरूको जयन्ति वर्षैपछि । म सम्झन्छु समयले अञ्जुको घाउलाई पुर्नेछ । तर अब अन्जुले करियरको गाडी कुन बाटोमा कुदाउँदा दुर्घटनाको सम्भावना कम हुन्छ सोच्नु राम्रो हुन्छ ।
उनको जीवनमा ख्रीष्ट येशूले अचम्म किसिमको हस्तक्षेप सुरु गर्नु भएको छ । उनीबाट स्वर्गको अपेक्षा के होला भन्ने बढी जिज्ञासा ममा बढेको छ । भर समाजको वीचमा आफू चर्चा, समीक्षा र चिरफारको विषयवस्तु बन्नु सजिलो हुन्न । मैले घटनाको आरम्भदेखि नै सम्झेको कुरो यति हो, “अन्जुको शास्त्र अध्ययन गहिरो छ भने उनले यो सामना गर्न सक्छिन् । अन्जु पन्तको बाइबल रिडिङ्ग तगडै .छ भन्ने विश्वास मैले मनमा लिएको छु । मान्छेको वचन भन्दा उनलाई काम लाग्ने भनेको यसबेला बाइबलको वचन हो । (उनलाई साक्षात देखेको छैनँ र भेटेको छैनँ – मेरो दुर्भाग्य ।)
वर्तमान समयमा अन्जु पन्तले प्रभुको समयलाई चिनेर आम संगीतको स्टेजबाट सन्यास लिने समय आएको हो भने उनले त्यो कदम उठाउनु वेश हुनेछ । अब उनलाई यो दोष र लञ्छनाले कहिल्यै छोड्ने छैन । यो एउटा चर्चविरोधी मुद्दा बन्यो बन्यो । उनले आम समाजको लोकप्रिय, आधुनिक संगीतको आफ्नो यात्रा आजीवन चलाउने सपथ खाएकी छैनन् भनी म ठान्छु । आफ्नो मनको शान्तिको लागि र चर्चले खपिरहनु परेको यो मिडिया हुरीलाई शान्त गराउनको लागि सन्यासको घोषणा गर्नु राम्रो हुन्छ । सम्मानभन्दा ठूलो सिद्धान्त बनोस् ।
प्रभुको निम्ति र चर्चको मर्यादाको खातिर अन्जुले यसै घटनालाई आफ्नो यो पाटाको करियरको पूर्ण विराम लाउने अवसर बनाइन् भने उनको सम्मान बढ्ने छ घट्ने छैन । संसारको इनाम पनि प्रभुको हातमा छ । प्रभुको इनाम पनि प्रभुकै हातमा छ । बाइबलको शिक्षा हो, हाम्रो जीवनबाट कसैलाई ठोक्कर नहोस्, कसैमा पाप गर्ने, पाप बोल्ने कारण नहोस् । “आफ्नो भाइको बाटोमा ठेस लाग्ने कुरो अथवा बाधा पाने कुरो कहिल्यै नराख्ने अठोट गरौं (रोमी १४ः१३) ।” शुलीमा चढ्नुभएकै बेलामा प्रभुले भन्नुभो, “पिता यिनीहरूलाई क्षमा दिनुहोस्, उनीहरू के गर्दैछन् जान्दैनन्” – त्यहाँ प्राण त्याग्नुभएपछि नै प्रभु मसिहा वलवान रूपमा प्रभावशाली बनेर जानुभो ।
“आफूलाई होच्याउनुभयो, क्रूसको –शुलीको मृत्युसम्मै आज्ञाकारी रहनुभयो (फिल २ः८ ।) ” “मेरो नामको खातिर मानिसहरू तिमीलाई घृणा गर्नेछन् (मत्ती १०ः२२) ।” “धेरै कष्ट सहेर हामी परमेश्वरको राज्यमा प्रवेश गर्नुपर्छ .(प्रेरित १४ः२२) ।” “मसिहामाथि विश्वास गर्नेमात्र होइन उहाँको खातिर दुःख पनि भोग्नुपर्छ (फिल १ः२९) ।” “संसारले तिमीहरूलाई घृणा गर्दा अचम्म नमान (१ यूहन्ना ३ः१३) ।” “खराबी गरेर दुःख भोग्नुभन्दा भलाइ गरेर दुःख भोग्नु असल हो (१ पत्रुस ३ः१७)”।
रोमी ८ः२८ले अन्जु अनि हरेक प्रभु प्रेमीलाई बताइसकेको छ, जे हुन्छ प्रभुको इच्छामा राम्रो हुन्छ । अन्तिम निर्णय, अन्तिम नतिजा प्रभु मसिहाको हातमा । शालोम ।
Discussion about this post