This page is continuation of the the article व्यभिचार
“तपाई बाइबल पढ्नु हुन्न कि क्या हो ? त्यसबारे केही पनि लेख्नु हुन्न …” उसले श्रीलाई कोरियामा लेखेकी थिई एकपल्ट, “म भने प्रत्येक आशिष् बाँड्छु।के, के पढ्दैछु,, देख्दैछु लेखी, लेखी वाक्क बनाउँछु हगि तपाईलाई ?”
उत्तर आएथ्यो,
“कैले, कैले पढ्छु।पूरै पापी त कहाँ हुँ र कान्ता ? बेला बखत प्रार्थना पनि गरिहाल्छु।तिमीले मेरो लागि पनि पढ्नू है, अनि मेरो हिस्साको प्रार्थना पनि तिमीले गरिदिनू है ? कोरियामा त बियर, सियरको पनि चलन छ, कहिले कहिले त …”
श्रीको पत्रमा यो सब पढ्दा, देख्दा, र श्रीले कहिले पनि प्रभुको कुरा उल्लेख नगर्दा कान्ताको मन औडाहाले भरिन्थ्यो।प्रार्थना गर्न लाग्थी।कोरिया पुगेपछि श्रीकान्तले पठाएको पहिलो पत्रको याद ताजा छ कान्तालाई।पहिलो पत्र।श्रीले उसलाई लेख्छ भनी उसले चिताएकै थिइन।मैत्रीपूर्ण भावमा लेखिएको पत्रको उसले पनि सरल उत्तर लेखी, चर्चको हाल खबर, सभा, संगतिको चर्चा गरी र एक, दुई प्रार्थनाको विषय पनि लेखी।
यो निर्दोष आदान-प्रदानले एक दिन उनीहरूलाई प्रणयको सम्बन्धसम्मै डोर्याउने छ भनी उसले कल्पना गरेकी थिइन।श्रीले पाँचौं पत्रमा त्यो कदम उचाली छाड्यो।
“म तिम्रै यादमा डुबेर बस्ने भएको छु, दिन रात कान्ता, तिम्रो निर्णय के छ ? मलाई तिम्रो हृदयमा स्थान दिनसक्छयौ ? नेपालदेखि दूर देशमा आएर मेरो मनको कुरो बताउँदैछु, म तिमीलाई धेरै माया गर्छु यो जीवन तिम्रो साथसाथ बिताउन पाए म आफैलाई पृथ्वीमा सबैभन्दा लकी मान्छे सम्झन्थे।” श्रीको प्रेम-प्रस्ताव यसरी आएको थियो।कान्तालाई आफै आकाशबाट खसेजस्तो लाग्यो त्यो दिन।दशचोटी पढी अनि दशैपल्ट उसलाई विश्वास लागेन उसले के पढिरहिछ।
कान्ताजस्ती प्रभु भक्तिनीको निम्ति यो साधारण घटना थिएन।हरेक विषयमा प्रार्थना गरेर प्रभुको इच्छा धुँइपत्तो लाउने कान्ताले मौका नै पाइन आफूलाई यो अप्रत्याशित निवेदनको लागि तयार पार्ने।मनको तुलबुली बोकेर मनले खाएको चर्चकै एक साथी सुनीताकहाँ दौडी।दशचोटी सुनीतालाई भन्न लगाई उसले सुन्न लागेको कुरा कसैलाई बताउने छैन उसले।सुनीताले उसलाई पूरा ढाडस दिलाएपछि कान्ताले मुख खोली।तर सुनीता कति पनि आत्तिएकी देखिन कान्ताले उसले त शान्त, सहज रूपमा यति ठूलो विषयवस्तुलाई विश्लेषण गरिदिई,
“चर्चभरिकीी युवतीहरूमा तिमीलाई नै यो कुरो लेख्नुको अर्थ के हो भन त कान्ता ? उसले तिमीजस्ती सोझी, आत्मिक, गम्भीर व्यक्तिलाई जीवन साथी बनाउने बिचार गरेको छ।पिरोलिन्छौ किन ? प्रभुलाई चिनेको मान्छे हो, बप्तिस्मा पनि भएको, आर्थिकमा पनि बलियो… अरु के चाहियो ? स्वर्गैबाट आवाज आउँछ भन्छौ कि क्या हो ? कोरिया पुगेको मान्छे त भाग्यको कुरो हो कान्ता …”
“क्या हो यो सुनीता त” कान्ताले बोर मानी, “प्रभुका जनहरूले भाग्य, दूर्भाग्य मान्छ कि क्या हो ? कोरिया, अमेरिकाको प्रश्न होइन, प्रभुको इच्छाको कुरा पो गरेकी मैले।कोरिया आफ्नो ठाउँमा छ, तर परमेश्वरको इच्छा नकेलाई धन-सम्पत्ति हेरिन्छ र ?”
“हुन्छ भन लाटी, हुन्छ भनेर लेख, त्यही हो प्रभुको इच्छा …तिमीभन्दा त बरु लाटोकोसेरोको बढी बुद्धि छ कान्ता।महा लाटी छौ तिमी, धेरै मूर्ूख नबन” भनेर सुनीताले उसको कोखिला चिमोटी।
दश दिनको लामो सोच-बिचार, प्रार्थना, प्रभुमा पर्खाइ र सुनीतासँगको सरसल्लाहपछि उसले श्रीकान्तलाई ढुकढुक हुँदै पत्रको जवाफ पठाई।कलम समातेको औंलाभरि पसीना आएको थियो,
“दाइ, म के भनूँ।मैले हुन्छ भन्दा तपाई मलाई सिरियसली नलिनुहोस् है ? के भन्नु, नभन्नु मैले ढुक्क बनेर भन्न सकिरहेकी छैन।मलाई पनि त तपाईको सम्झना आइरहन्छ हिजो,आज।म यति मात्र भन्छु प्रभुको इच्छा रहेछ भने हाम्रो सम्बन्ध गहिरो र बलियो बन्दै जानेछ।यो सम्बन्धलाई हुर्काउनु उहाँको आत्माले हामीलाई मद्दत गर्नुहुनेछ।प्रभुको आत्मा दिन, दिन तपाईसँग र मसँग यस विषयमा बोलून्।तपाईलाई पनि माया गर्ने, कान्ता
श्रीले गद्गद बनेर कान्तालाई लेखीहाल्यो।उसको स्वीकृतिले उसलाई कति ठूलो आनन्द मिल्यो, कति धेरै उसले प्रभु, परमेश्वरलाई धन्यवाद भन्यो र कसरी ऊ त कान्ताको पत्र पाएदेखि आकाशमा उडिरहेको छ भनी श्रीले आफ्नो पत्रमा आफ्नो उत्साहको वर्णन गर्दा कान्ता बेस्सरी रमाएर मुखभरि मुस्कान छरेर सबैसँग बोलेकी थिई त्यो दिन।उसँग दिन र समय मिलाएर श्रीले एक हप्तापछि एउटा नम्बरमा कान्तालाई फोन पनि गर्यो।कान्ता त थोरथोरै बोलेर लाजले कति रातो बनेकी थिई।पत्रको आदान-प्रदान चलिरह्यो।
तर सुनीताको अघि त कान्ता साँच्चै महा लाटी नै हो।छक्क परी कान्ता।कोरियाबाट श्रीले लेखेको थियो, “सुनीतालाई बर्थ डे कार्डको लागि धन्यवाद भनिदिनू है।खै तिम्रो ?”
सोझी कान्ता झसङ्ग बनी।पर्सिपल्ट चर्च सेवाको दिन उसले प्यारसँग सुनीताको चुल्ठो पक्री,
“अर्काको मान्छेलाई कार्ड पठाउनु लाज लाग्दैन ?”
सुनीता पुरानो, सहज शैलीमा बोली,
“सरप्राइज दिएको नि।किन भोक, निन्द्रै गुमाकी ? फर्केर आउँदा दाइले हामीलाई पनि प्रेजेन्ट ल्याइदेलान् नि ? श्री दाइको मुटु, कलेजो सब तिम्रै भइहाल्यो नि मोरी, किन आत्तेकी ?”
कान्ताले दुई सेकेण्ड मुख फुलाई, आँखातरी अनि हाँसो थाम्न नसकेर खिलखिल हाँसी।श्रीकान्त अब उसकी भन्ने वाक्यले उसको कल्पनालाई नै कता उडाइदियो, गर्व लाग्यो, सन्तोष पनि।मनको काउकुती लुकाउन नसकेर सुनीतालाई अङ्गालेर उसको गालामा गाला जोडेर कानमा भनी,
“पाउलिस् प्रेजेन्ट ..”
चोखो, शान्त मिजासमा आफ्नो जीवन-डुङ्गा सुस्तरी बढाइरहेकी कान्तालाई थाहा भएन कि सुनीता र श्रीकान्तको बीचमा दुईचार इमेल र दुईचार कार्डको आदान-प्रदान भइसक्यो।श्रीकान्तबाट आउने पत्रको संख्या घट्दै जाँदा पनि राम्रो भेउ भएन कान्तालाई।हजार, हजार चुम्बन भनेर लेख्ने र उसलाई के-के लेखेर लाज र संकोचको तालमा डुबाउने पत्रहरूका भाषा र भाका फेरिन लागेको कुरोमा आवश्यक ध्यान गएन कान्ताको।उसलाई मरिमेट्छु भनी शून्य रातमा कविता कोरि पठाउने व्यक्तिले सरल, संक्षिप्त भलाकुसारी मात्र लेखिपठाउँदा कान्ताले त्यो कुरोलाई श्रीकान्तमा आइरहेको परिपक्वताको चिन्ह ठानी।उसले अरुलाई आफूजस्तै ठान्दा के, कति अनर्थ भइसकेको छ, फेरि पनि बिर्सी
एक दिन उसको मुटु-कलेजो सबै एकैचोटि काप्यो।कसैले उसलाई श्रीकान्तको हातेपत्र थमाइदियो।श्रीले लेखेको थियो,
“यो हप्ता म काठमाडौ आउँदैछु…”
श्री आउँदैछ ? हे प्रभु, के गर्ने ? कसरी भेट्ने ? के भन्ने ? आफ्नै श्रीलाई साक्षात, आमने-सामने भेट्नुपर्छ भनी सोच्दा उसका गाला, कान, सब तात्तिए, हात, गोडा फतक्क भए।खुशीले ऊ मग्न बनी।आफ्नो दशासँगआफै दङ्ग परी।
“एयरपोर्ट आउनुपर्दैन।मै सम्पर्क गर्छु जरुरी कुरो छ।यो पत्र उतै जाने साथीको हातमा पठाउँदैछु।अरु भेटमा …”
उता गएको दश महिनामा नै श्री आउन लागेको ? अस्तिनै किन नबताएको होला ? आफै आउने रैछ र पो पत्रहरू पनि छोटो, छोटो लेखेको .. … खुशी लाग्यो, डर लाग्यो, लाज लाग्यो, सब एकैचोटि।उनीहरूको माया प्रीति, लभ, प्रेम, प्रणय जे भने पनि आजसम्म पत्रमा नै सीमित थियो।अब त मान्छेलाई साक्षात भेट्नुपर्ने उफ यो मन किन यसरी आत्तिएको ? किन उताउलो बनेको ?
जरुरी कुरो के होला त्यस्तो ? खुब रहस्यमयी बनिटोपलेको होला नि।केही त अवश्य ल्याइदिएकै हुनुपर्छ।नल्याए पनि के त ? मान्छे नै आफ्नो।प्रभुको योजनामा यो सम्बन्ध गाँसिएको छ, त्यो मुल कुरो हो।ऊ आउने दिन अलि श्रृंगार गर्ने कि ? खै के हो के हो।कान्ताले त्यो दिन आफूलाई धेरै पटक ऐनामा हेरेकी पत्तै पाइन।
श्रीले उसलाई एउटा आकर्षक टेबल क्लक र लेडिज ब्याग ल्याइदियो।लाजले पानी पानी बनेकी कान्ताले उसलाई सोझै हेर्न पनि सकिन।उपहार हातमा लिँदालिँदै उसले सुनी,
“कान्ता, यो हाम्रो मिलनको उपहार नठान्नू है।यसलाई बिदाइको चिनारी सम्झ।तिम्रो र मेरो अब सम्बन्ध छैन।मैले मेरो योजना परिवर्तन गरें।मलाई माफ गर …”
भेट भएपछि पहिलोपल्ट झसङ्गै बनेर उसले श्रीलाई पुलुक्क हेरी।केही आँखामा लाएकी थिई, केही गालामा पनि।अलि बढी दुःख गरेर कपाल मिलाएकी थिई।लाउँदै, उतार्दै, ऐनामा दशचोटि हेरेर उसले यो नीलो कुर्ता बल्ल, बल्ल छानेकी।के भनेको उसले ? कान्ताको विह्वल, अलमल्ल हेराइले श्रीकान्त दच्कियो, कान्ताका आँखाभरिको अबोध, अनभिज्ञ प्रश्नले उसको विवेकलाई पोलिदियो।के बोलुँ, के भनुँको दोधारमा श्रीकान्तको ओठले यतिमात्र उच्चारण गर्नसक्यो,
“मलाई माफ गर कान्ता …”
फनक्क फर्केर श्री हिँडिहाल्यो।एक शब्द बोल्ने मौका पाइन आश्चर्यको संगिन गिरफ्तारीमा परेकी कान्ताले।ऊ गएको ढोकातिर हेरि रही धेरै बेर ।
दुई घन्टापछि सुनीतालाई आफ्नो ढोकामा देख्दा किंमकर्तव्यविमूड कान्तालाई हल्का लाग्यो… धेरै हल्का।
“श्री दाइले पठाउनुभएको मलाई।तिमीलाई सम्झाउनु आएकी ”
थकित आँखाले उसले उसलाई हेरी।श्री हिँडेपछि पहिलोपल्ट उसको घाँटीबाट आवाज निस्कियो, हल्का, मधुर,
“के हो कुरो सुनीता ? कुरो के हो ?”
कान्ताको विचलित मुहार हेर्ने ताकत सुनीतामा थिएन।घुमौरो कुराले कान्ताको यातना बढाउनु हुँदैन भन्ने सत्य उसलाई स्पष्ट भयो।भूइँतिरै आँखाझुकाएर सुनीताले भनी,
“कान्ता, सुन, तिम्रो पीडा र वेदनाको कारण म हुँ।आजकल श्रीले मलाई मन पराउँछ …”
आफूले सधैं बोल्ने भाषाको यो सरल वाक्य बुझ्न धेरै बेर लाग्यो कान्तालाई, एक युग नै लाग्यो।भूइँमा केही खोजेझै यता, उता हेनलागी।अपरिचित व्यक्तिलाई ठम्याउन खोजेजस्तैगरी उसले सुनीतालाई हेरी,
“तिमी ?”
श्रीको एउटा अनि सुनीताको अर्को गरी उसले दुवै गालामा दुईटा थप्पड खाई आज।त्यही काम पूरा गर्न सुनीता आएकी होजस्तो लाग्यो कान्तालाई।
तनमा ओडेको नयाँ कपडा अनि नयाँ कपडामाथि सुनीताले छरेको नौलो सेन्टको वास्तविकताले बल्ल पो कान्तालाई गिज्यायो।कान्ता झस्की। कुरा बुझ्नलागी उसले।आँखामा उर्ली आएको पानी सुनीताको अघि नपोखाऊँ भनी झट्ट किचनतिर हिँडी।भित्र पुगेर बिहान दशचोटि मिलाएको त्यो आकाशे रङ्गको चुन्नीले आँखाछयाप्प छोपी, दाँत बाँधेर आँसुलाई रोक्न खोजी … सुनीताको आवाज पल्लो कोठाबाट आयो,
“कान्ता, म गएँ।फेरि भेट्छु।प्लीज …हामीलाई माफ गर …”
विवाहको दिन …कान्ता चर्च भवनपछाडि युवा संगतिका भाइ, बैनीसँगमिलेर ठूल्ठूला दाउरा मिलाइरही, ठूल्ठूला डेक्चीबाट बाटाहरूमा भात, मासु पस्कँदै पठाइरही।जनताको सामु देखाहा परिन्।राति जीउ दुख्दा थाहा भयो कति धेरै काम गरिएछु।जीउभन्दा मन अझ बढी दुखिरहेथ्यो।कोठाको अँध्यारोलाई विश्वास गर्न नसकी सिरकको सहारा पक्रेर रोई कान्ता, भरपूर रोई।कत्रो धोका।त्यति दिन उनीहरूको बीचमा के के चलिरहेको रैछ।हाँसेर बोल्थी, जिस्केर बोल्थी, चिमोटेर बोल्थी सुनीता।बताएको भए हुन्थ्यो।मन बुझाउँथें।श्रीले आउँदैछु मात्र भनेथ्यो त्यो छोटो पत्रमा।सुनीतासँग विवाह गर्न आउँदैछु भनिदेको भए कति वेश हुन्थ्यो।अन्तिम घडीसम्म त्यसरी लाटी, मूर्ख बनेर त पर्खने थिइनँ … बाटो नै हेर्ने थिइनँ, जानी, नजानी सिँगार गरी पर्खने थिइनँ।
श्रीकान्त सुनीताको लागि पनि भिसा मिलाएर आएको थियो।उनीहरू कोरियाको लागि उडेकै साँझ नाइट बसमा कान्ता कालेम्पोङ हिँडी।साथीकहाँ मन भुलाउन गएकी झनै नियास्रो लाग्यो।श्रीकान्तको यादले सताइ नै रह्यो।माया होइन जलन थियो उसको हृदयमा।रिस, क्रोध र ग्लानीको अग्निमा जलिरही, जलीरही कान्ता।उसको सरल जीवनमाथि उनीहरूले निर्धक्क खेलेको त्यो विभत्स नाटक सम्झेर कान्ताको आक्रोश मौन विष्फोट बोकेर आकाशसम्म पुग्थ्यो।विश्वासी इसाई जनहरूबाट यस्तो क्रूर खेलाइँची ? सकी, नसकी प्रभुलाई पुकार्थी।वेदना देखाउँथी …
तेस्रो दिनको साँझ, साथी कुसुमले आन्टी भन्ने गरेकी ती अर्ध बैंसे महिलाकहाँ उनीहरू पुगे।प्रभुको धेरै नजीक बस्ने व्यक्ति रहिछिन् आन्टी।कुसुम भित्र चौकातिर लाग्दा आन्टीले सोधिन्,
“नानी, तिम्रो मनमा कुनै पीर छ ? कुनै कुरोले सताइरहेछ ? मलाई भन।म तिम्रो लागि प्रार्थना गर्नेछु ।”
छक्क परी कान्ता।उसले कुसुमलाई समेत केही बताएकी थिइन।कसरी थाहा पाइन् यी महिलाले ? आन्टीसँग ऊ भित्रको कोठामा गई।अन्तरआत्माको वेदना सविस्तार बताई उनलाई।आफ्नो दुःखमय कथा कसैको अघि यसरी पहिलोचोटी कसैलाई सुनाउनु पाउँदा उसलाई कति हल्का भयो, कति सञ्चो लाग्यो। विवाह-भोजको रातपश्चात दोस्रोपल्ट यी ममताका प्रतिमूर्तिको अघि ऊ आज धुरुधुरु रोई।आन्टीको प्रार्थना यति प्रभावशाली थियो के भन्ने ? उसलाई त्यहींको त्यहीं राहत मिल्न लाग्यो।कालेम्पोङ आउनुको पछि कुनै स्वर्गीय योजना थियो भन्ने आभास भो उसलाई।भाँच्चिएको मनलाई आफ्नै हातले जोड्ने निर्णयगरी उसले।
“फर्केर गएपछि प्रभुको सेवा तनमनले गर्नू कान्ता नानी, उहाँ तिमीलाई पहिलेभन्दा अझ शक्तिशाली रूपमा चलाउन चाहनुहुन्छ” भनी आन्टीले उसको शिरमाथि हात राखेर प्रार्थना गर्नुभो।काठमाडौं पुग्दा-नपुग्दा जीवनको त्यो तीतो घटनाले पहिलेजस्तो दुखाउन छोड्नलाग्यो।उसको आगनमा उदाई रहेको नयाँ बिहानीलाई उसले फेरि मुस्कुराएर स्वागत गरी।
एल गिदोन चर्चको सेवामा झ्वाम्म डुबी कान्ता।युवा झुण्डकाहरू दङ्ग परे।उनीहरूकै बीचमा कान्ता शक्तिशाली अभिषेक लिएर काम गर्न लागेकी छे।पास्टर विवेक स्वयं गद्गगद्।युथहरूको संसारमा पास्टरले होइन चर्च युथकै कसैले जागृति ल्याउन सक्छ भन्ने कुरो उनलाई थाहा थियो।कान्ताको क्रियाकलापमा उनले त्यो सम्भावना प्रष्ट देख्न लागे।समय अघि बढिरहयो।
पास्टरबाबुलाई राम्रो निन्द्रा लागेन।छटपटीको बीचमा उनले प्रभुलाई प्रार्थनामा पुकारि रहे।बिहान कान्तालाई व्यक्तिगत भेट्ने र कुरा गर्ने निर्णय गरे उनले।
आमाले सुतिरहेकी कान्तालाई बताइन्,
“ए कान्ता, तँलाई कस्तो छ ? पास्टरबा आउनु भा’छ ”
कान्ता बिहानीपख केही बेर निदाएकी थिई।पास्टरको नाम सुनेर आँखाखोली, उठेर बसी, हातले कपाल कोरी, थकित सोरमा भनी,
“बोलाउनुहोस् …”
अप्ठेरो मान्दै पास्टरबाबुले उसको कोठामा प्रवेश गरे।कान्ताले अभिवादन नै नगर्नु, केही नबोली, आँखाझुकाएरै बसिरहनु अनौठो लाग्यो।तर पास्टर विवेक अभिवादन खोज्न, भलाकुसारी गर्न आएका थिएनन्।उनको उद्देश्य हो कान्ताको कुरा सफागरी बुझ्ने।उनी अर्को अनिदो रात बिताउन चाहन्नन,
“सरी कान्ता, सञ्चो रहेनछ मलाई थाहा भएन, म धेरै बेर डिसर्टब गर्दिनँ। हिजोको कुरो नबुझी मलाई शान्ति भएन … त्यसैले…”
उनलाई नहेरी, कुर्सीमा हातको इशारा अनि झिनो अवाज,
“बस्नुहोस्”
“कान्ता ?” कोठामा बसिरहेका एक आदरणीय व्यक्तिले सम्बोधन गरेपछि कान्तालाई हेर्नु कर लाग्यो।उसले धेरै पीर मान्दै रुन्चे आँखाले पास्टरलाई हेरी,
“कुरो के हो कान्ता ? चर्चबाट जानैपर्छ भने जाऊ।म चित्त बुझाउँला।तर कारण जान्ने मेरो हक छैन र ? मेरो मन रोइरहेछ कान्ता यति कुरो बुझिदेऊ…”
कान्ताले अन्तै हेरी र जवाफ खोज्न लागी।आमा चिया लिएर आइन्, राखेर गइन्। केही बेर घोरिएपछि कान्ताले अन्यत्रै हेरेर अस्फुट स्वरमा उत्तर दिई,
“पास्टर बाबु, म व्यभिचारमा फँसेकी छु, त्यति हो कारण ”
विवेकले आफूलाई विचलित हुन नदिई विस्तारै छातीमा सास भरे। व्यभिचार ? उनले रातभरि मनमा केलाएका सयौं कारणहरूमध्ये एउटैमा पनि नपर्ने थियो यो कुरो। पास्टरले आफ्नो मन र मुद्रा शान्त राखे।आफू तर्सेर कान्तालाई पनि तर्साउने उसको इच्छा थिएन।चर्चभरिकाा पुरुषहरू पास्टरका आँखाअगि लाम लागेर आउन, जान लागे … शान्त मिजास राखेरै पास्टरले सोधे,
“बताउन सक्छौ ? बताउन मिल्छ कान्ता ? व्यक्ति को हो ?”
यो अप्ठेरो प्रश्न कान्ताको लागि कति पनि अप्ठेरो थिएन।उसले आफ्नै रातभरिको छटपटीमा पास्टरसँग सफाकुरा गरेरै चर्च छोड्ने निर्णयगरेकी थिई,
“मिल्छ, म बताउँछु ।” उसले एकचोटि, एक सेकेण्ड विवेकतिर हेरी अनि नजर हटाएर भित्तातिर हेरी, चिसो भावनामा भनी,
“त्यो पुरुष अरु कोही हैन, तपाई नै हो पास्टर बाबु …”
पास्टरको मुहार अचानक प्रश्न र अन्यौलको आँधीमा मुछिएको देख्दा कान्तालाई खपिनसक्नु भयो।आँखाका डिलभरि आँसु भरिए।कान्ताले रुँदै सत्यतालाई जाहेर गरी,
“तपाईको दोष छैन।तपाईको नजीक दिन रात काम गर्दा तपाईप्रति आकर्षण बढिरहेछ।तपाईको हेराइ, बोलाइ सबैमा अर्थ लगाइरहेछु।तपाई मेरोलागि आदर्श मात्र हैन तर एक मात्र पुरुष बन्नु भएको छ।अरु कसैमा म तपाईको छाया पनि पाउन्न।अस्तिको हफ्ता तपाईले बोल्नु भएको प्रवचन याद गर्नुहोस्।त्यसैको आधारमा मैले यो निर्णयगरें।म यहाँबसेर तपाईको तृष्णामा जल्न माग्दिनँ ।”
बाटोभर विवेकको मनमा तूफान मच्चिरहयो।पाँच वर्ष पास्टरी सेवामा उनले यस्तो स्थितिको सामना गर्नु परेको थिएन।कान्ताले जाहेर गरेको अप्रत्याशित उद्गार सुनेपछि चुपचाप दुई घुट चिया पिएर उनले बिदा मागे।कान्ताको घरबाहिर निस्कँदा कता जानपर्ने त्यो कुरोको पनि उनलाई ख्याल भएन।ज्ञानशून्य अवस्थामा उनी हिँडिरहे।
विगत दुई, तीन हप्ताभित्र कान्तामा देखिएको नम्रता, लज्जा, संकोचको अर्थ अब खुलेजस्तो लाग्यो।अफिसमा, सभाहरूमा, विवेकको बढी ख्याल राख्ने, चिया, पानी, छाता, झोलामा इत्यादिमा कान्ताले राम्रो ध्यान पुर्याएकी कुरा अब उनले बुझ्न लागे।ती सब त अर्कै भावनामा प्रकट भएका व्यवहार रहेछन्।कान्ताभित्र यो आगो कतिबेला जल्न शुरु भयो ? यति असल, चोखी, भद्र यो नारीमा यो कस्तो विकृति आइपुग्यो ?
सोझी कान्ताको सरल मनले सधैं एउटा साथी खोजिरह्यो।कालेम्पोङ्गमा उसले श्रीकान्तप्रतिको प्रेम र आकर्षणबाट छुटकारा पाई, श्री र सुनीताप्रति पलाएको घृणाबाट होइन।’सब रिस, क्रोध र प्रतिशोधलाई गहिरो खाडल खनेर पुर्नू है कान्ता ..’ आन्टीले सम्झाएकी थिइन्।।श्री को हो, त्यो सुनीता को हो ? पैसाको पछि दौडने नीच मान्छेहरू, नैतिकता, इमान नभएका ढोङ्गीहरू भन्ने विचार कान्ताको मनमा बारम्बार आउँथ्यो।उसको हृदयको एउटा अज्ञात कुनामा जलिरहेको प्रतिशोधको आगो शान्त भएको थिएन।
पास्टर विवेकमा उसले इमान्दार, प्रभु भक्त, शान्त, निष्छल, सफा, स्नेही, आदर्श व्यक्तित्व भेट्टाई।साँचो अभिभावक, भरपर्दो मित्र।विभिन्न काम र जिम्मेवारीको सिलसिलामा ऊ उनको जति नजीक आई कान्ताले श्री र सुनीतालाई त्यति नै गिरेका, झूट्टा र नीच देखी।आदर्श क्रिस्चियन लिडरको निकटतामा, सङ्गतमा उसलाई मिलिरहेको शान्ति र सन्तुष्टि अन्त्यमा परिणत भयो विवेक भन्ने व्यक्तिकै लालसा र आकर्षणमा।आफैलाई सम्हाल्दा, सम्हाल्दै विवेकको आवाज, आँखा, हेराइ, कपडा, बोली, वचन, हिँडाइ, बसाइ, सब महत्त्वपूर्ण लाग्न थाल्यो जवानीको गोरेटोमा एकलै हिँडिरहेकी कान्तालाई।प्रत्येक नारीले भित्रभित्रै महसूस गर्ने त्यो रित्तोो स्थानमा उसले अर्काको लोग्ने, आफ्नै चर्चका आदरणीय पास्टरलाई बसाइदिई। चिप्लिएको यो अस्वाभाविक भावनाभित्र कान्ताले अनौठो सन्तुष्टि पाइरहेकी थिई धेरै दिनदेखि।
विवेकलाई देख्ने, विवेकको आवाज सुन्ने लालसा बोकेर कुनै पनि सभा, सेवा, कार्यक्रममा कान्ता निक्कै अघि आइपुग्थी।विवेकको नजीकै रहँदामात्र पनि उसलाई कति शीतल लाग्थ्यो।उनले अह्राएका काम गर्नुमा छुट्टै आनन्द।उनको विश्वासपात्र नै बनेकी थिई।पास्टरको नजीकको मान्छे ? विवेकको नजीककी कान्ता …
कान्ताको घरबाट निक्लेर हिँडिरहेछन् विवेक, निरुद्देश्य।जाने कता हो थाहा छैन।विगत दुई, तीन हप्तामा कान्ताले लाउने कपडा, लिवास र हल्का मेकअप आदिको रहस्य केही बुझेजस्तो लाग्यो।विवेक पास्टर हुन् तर पुरुष पनि त हुन्।ऊ भित्र बौल्हाउन शुरु गरिसकेको खहरेलाई उसले एक छिन छक्क परेर हेर्यो।आदमको प्रत्येक सन्तानभित्र सुटुक्क लुकिबस्ने यी खहरेहरूभित्र लुकिबसेका विस्फोटहरूसँग विवेक परिचीत छ।अचानक कान्ताप्रति फेरिँदै गरेको आफ्नो दृष्टिकोणसँग उनी तर्सिए, अर्को ढुकढुकी आफ्नो छातीमा सुनेर उनी झस्किए।फर्की फर्की आइरहेथ्यो कान्ताको आवाज उनका कानैमा,
तपाईको हेराइ, बोलाइ सबैमा म आजभोलि अर्थ लगाइरहेछु।तपाई मेरो लागि आदर्श मात्र हैन तर एक मात्र पुरुष बन्नु भएको छ।
प्रार्थना गर्ने कोशिश गरे विवेकले तर सकेनन्। मन लथालिङ्ग थियो।विचार गर्ने प्रणाली नै भताभुङ्ग।चुपचाप आफ्नो घर पुगे।सधैं बस्ने आफ्नो चेयरमा आँखाबन्द गरेर उनी बसे।विरामी कान्ताको अस्फुट आवाज यहाँसम्म उनलाई लखेट्दै आयो,
अस्तिको हप्ता तपाईले बोल्नु भएको प्रवचन याद गर्नुहोस्।त्यसैको आधारमा मैले यो निर्णय गरें।
पास्टर विवेकले जोडजुलुम लाएर प्रभुलाई पुकारे।सफल बने।कान्ताको लागि दुई थोपा आँसु झारेर उनले प्रार्थना गरे।उनको हृदयको तरंगमा तरंगित बनी मनको सागरमा अर्को नौलो आँधी उठाउन खोज्ने दुष्टात्माको चाललाई उनले खुट्टामा कुल्चिछाडे।मन शान्त भयो।कान्ताको रोदनले लिपेको आवाज फेरि उनका कानमा आइपुग्यो, तपाईले बोल्नु भएको प्रवचन याद गर्नुहोस् …
पास्टर विवेकलाई स्पष्ट याद आइरहेथ्यो उनले के बोले त्यस दिन।पवित्रात्माको साथ र सल्लाह मागेर उनले वचन तयार गरेका थिए।आफ्नो उपदेशलाई धेरै घन्टाको प्रार्थनामा भिजाएका थिए।पापबाट कसरी भाग्नु भन्ने विषयमा थियो वचन,
“जहाँ पापको सम्भावना हुन्छ त्यस ठाउँबाट भाग्नुपर्छ।अलिकता हेरिहालू“, अलिकता चाखिहालू“ अलिकता गरिहालौं भनेर बस्नु नै र्सवनाशको कारण बन्नसक्छ।योसेफलाई सम्झनुहोस्।पोतिफरकी श्रीमतीले उसलाई समात्न खोज्दा उसले एक कातर पुरुषको भूमिका खेल्यो र भाग्यो।योसेफले आफ्नो पुरुषार्थ प्रमाण गर्ने निर्णय लिएको भए ह्रिब्रुहरूको इतिहास आज के हुन्थ्यो ? पापसँग डराउनुपर्छ र भाग्नुपर्छ।
प्रीय हो, पापको छाया आफ्नो छेउपर्दा नै भाग्नुहोस्।त्योसँग संर्घष गर्न नखोज्नुहोस्।त्यो छाया शैतानको छाया हो र त्यो छाया छेउ आइपुग्दा शैतान नजीक छ भनी जान्नुहोस्।तपाईलाई पूरै वशमा पार्नको लागि पहिले त्यसले छायामात्र पठाउँछ।योसेफ जस्तै चम्किने इच्छा छ ? सिंहासनमा बस्ने इच्छा छ ? पापबाट भाग्नु होस्, गलत समाज, साथी र सङ्गतबाट भाग्नुहोस्।पेशा बद्ली गर्नुहोस्, डेरा बद्ली गर्नुहोस्, व्यापार बद्ली गर्नुहोस्, जे गर्नुहुन्छ गर्नुहोस् ? तर प्रभुले तपाईको जीवनबाट कोर्न लाग्नु भएको इतिहासलाई नमेट्नुहोस् …”
कान्ताले रुँदै, रुँदै मनको कुरा खोलेकी थिई।विवेकको विवेकले यो कुरो आफूभित्रै राख्ने सल्लाह दियो उसलाई।आफ्नी श्रीमतीलाई यो कुरो बताउनु उनलाई आवश्यक लागेन। कान्ताको इज्जत उसले बचाइदिनुपर्छ।कान्ता एल गिदोन छोड्न चाहन्छे, पवित्र रहन चाहन्छे, उसलाई रोक्नुहुँदैन।
बेलुकी कान्ताकी आमा आँसु झार्दै आइपुगिन्,
“पास्टर बाबु, कान्ता पागल भई, अर्को चर्च, उता नख्खुतिरको चर्च जान्छु भन्छे।के भएको ? हजूरले सम्झाइदिनु पर्यो।बौलाहीजस्तो कुरा गर्छे आमा तिमी एल गिदोन जानू, म उता जान्छु भन्छे …म बूढी दौडेर तपाईकहाँआएकी ..”
रोइरहेकी महिलाको काँधमा हात राखेर पास्टर उनलाई नम्र आवाजमा सम्झाउँछन्,
“दिदी, सर्ता नगर्नू।उसलाई त्यहीं शान्ति हुन्छ।प्रभुले उसलाई त्यहीं चलाउनुहुन्छ।हामीलाई ठूलो नोक्सानी भएको छ।तर प्रभुले एक दिन कान्तालाई चम्काउनुहुन्छ।नेपालभरि चम्काउनुहुन्छ।तपाई नसुर्ताउनुहोस्।सब ठीक हुन्छ ।”
विह्वल, विरहीको विलाप बीचैमा बन्द भो।उनलाई पत्यार लागेन।उनकी छोरीले चर्च छोड्ने यति ठूलो विषयमा पास्टरबाट यति सरल, हल्का प्रतिक्रिया ? पटक्क पत्यार लागेन।अवाक बनी पास्टरलाई हेरिन तब दङ्ग परिन कान्ताकी आमा।पास्टरका आँखापनि उनका झैं छयाप्पै भिजेका थिए।ती आँखामाथि सफा छापिएका चोट, दर्द, पीडा पढेर कान्ताकी आमा केही बोल्न सकिनन्।पास्टर विवेक भन्दैथिए,
“नसुर्ताउनुहोस्… दिदी …सब … ठीक हुन्छ ।”
२ कोरिन्थी १०:१३, उत्पत्ति ३४
Written by Mr. Loknath Manael
Republished on nepalchurch.com new site on may 7
Comments from previous site:
written by Birendra Rai , June 12, 2011
Jayamashi Dai,
tapaiko yaha vaeka sabai Article haru padhna paeko chhu pravulai dhanyabad hos sarai nai Aashisit baneko chhu dai pravule tapailai aashis diun ra ajhai yasta Articles haru aasha garchhu pravule tapailai sahayata garun.
Discussion about this post