• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Monday, May 26, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

विदेशको पाहुना

by Loknath Manaen
May 7, 2013
in Articles

आदरणीय पाठक, कथाको सुरुवात गरौं विदेशको पाहुनाबाट।विदेशको पाहुना नेपालबाट सिलिगुढी सम्मेनलमा गएका दिनेश लुइटेल। सम्मेलनमा उनको भेट हुन्छ र द्वन्द्व नै चल्छ स्नेही भन्ने एक महिलासँग जो सम्मेलनका प्रमुख आयोजक पनि हुन्। स्नेहीको नजरमा लुइटेल एक बोरङ्गि बाहुन हो। तर हामी यसो गहिरिएर हेरौं लुइटेल वास्तवमा के हुन्, के होइनन् –

 विदेशको पाहुना

सिलिगढी, भारतमा चाँडै सम्पन्न हुन लागेको तीन दिने जागृति सम्मेलनमा  ५०० प्रतिनिधिको सहभागिता हुनेछ भन्ने अनुमान भयो। छिमेकी देश नेपाल र भूटानबाट अनुमानित २०-३० प्रतिनिधिले भाग लिनेछन्।एउटा नौलो विचार पनि समितिमा उठ्यो,

“नेपाल, भूटान हाम्रा छिमेकी राष्ट्र हुन्। खुल्ला सीमाना भए पनि, दशै किलोमिटर परबाट आए पनि, उनीहरू छुट्टै देश र चर्चका अगुवा हुन्। औपचारिकता पालन गर्नु राम्रो हुन्छ। कोठा-कमरा, खानपानमा छुट्टै र सुहाउँदिलो प्रबन्ध मिलाऔं … असल परम्पराको थालनी गरौं।”

समितिमा आएको यो प्रस्ताव सहर्षस्वीकार भयो। विदेश (नेपाल, भूटान)-बाट आउनुहुने पाहुनाहरूको हेरचाहको दायित्व बस्यो स्नेही मुखियाको काँधमाथि। स्नेही सम्मेलनको कोषाध्यक्ष पनि थिई। अतिथि सत्कारको यो नौलो जिम्मा लिने विषय महत्त्वपूर्णा यस अर्थमा भयो कि प्रथमपल्ट कुनै सम्मेलनका आयोजकले इसाई भेलामा नेपाल र भूटानका प्रतिनिधिलाई छुट्टै राष्ट्रको सम्मान देखाउने निर्णय गरे। पृथक परिचय पत्र, होटलमा ब्रेकफास्ट, उद्घाटन समारोहमा विशेष स्वागत, दैनिक सुविधामा विशेष ध्यान, आदि।
स्नेहीको लागि क्रिस्चियन क्रियाकलाप, प्रोग्राम आदिको अभिभारा ठूलो कुरो होइन। सभा, सम्मेलनमा उसलाई सुम्पिएका विविध दायित्व स्नेहीले पटक, पटक कुशलता पूर्वक निर्वाह गरेर प्रभाव जमाइसकेकी छ। कार्य-क्षमताको सवालमा उसलाई अद्वितीय भन्दा सुहाउँछ। हक्की छे, आत्मविश्वासको कमी छैन।
विश्वासी बाबु-आमाका छोरा-छोरीलाई इसाई भाषा आउँछ, रीत चलन आउँछ, बाइबलको कुरा पनि धेर-थोर थाहा हुन्छ, नयाँ करार, पुरानो करार, नर्क, स्वर्ग, शैतान, स्वर्गदूत, इस्टर, क्रिसमस सबै जानेकै शब्द हुन, चिरपरिचित विषय हुन्। प्रार्थना गर्नमा निपुण हुन्छन् ,आशिष् बाँड्नमा खप्पिस, कोरसहरू कण्ठस्थ, बाइबलका कथाहरू मुखस्थ, चर्चको नियम, चलन, प्रचलन सबैमा अभ्यस्त।
त्यसैले त स्नेही झसङ्ग भई, तरङ्ग भई। नेपालबाट आउने पाहुना दिनेश लुइटेलको प्रश्नले स्नेहीलाई अरकच्च पारेको थियो। दिनेशले फाँइफुट्टी लाएको हो कि, चतुर्‍याई देखाएको हो कि, आफ्नो विद्वताको प्रदर्शनी गरेको हो त्यो सब केलाउने समय पनि भएन स्नेहीलाई।
“तपाईको नयाँ जन्म कैले भएको बैनी ?”
भरखरै यात्रा गरी आउने पाहुनाहरूलाई होटलको रेस्टुरेन्टमा बसाएर चिया खुवाउँदै थिई स्नेही। परचिय, भलाकुसारी, सोधपुछ भइरहेथ्यो। कोठा, कमरा, चिनाउने, आगामी तीन दिनको कार्यक्रम बुझाउने सिलसिलाको माझमा अचानक अत्तो न पत्तोको यो प्रश्न। दिनेशले आफ्नो आध्यात्मिकताको उचाइ प्रमाण गरेको हो अथवा आकर्ष, चिरच्याट्ट केटीसँगवार्तालाप चालु गर्ने इच्छा जागेको हो स्नेहीले बुझिन। यस्तो फिटफाट कपडा लाउने, कपाल सजाउने आधुनिक महिलासँग नयाँ जन्मको अनुभव के होला र ? भन्नु खोजेको त होइन उसले ? सुधो, शान्त देखिने यो मान्छेको मनभित्र धेरै कपटयाइँ र कुभावना छ कि क्या हो भन्ने विचार पनि पलायो स्नेहीको मनमा।कुरो यसरी शुरु भयो …
पाँचजना पाहुनाहरूको आवश्यकता बुझने क्रममा स्नेहीले पत्तो पाई नेपालका एक प्रतिनिधि खगेन्ı, शुद्ध शाकाहारी रहेछन्।दोस्रो कृष्णहरिलाई चिनीको हल्का समस्या रहेछ … सोमलाल भन्ने व्यक्तिलाई प्रशस्त पानी राखिदिनुपर्नेभो,..
“दिज्यू, मैले धेरै पानी खानुपर्छ भन्ने डाक्टरको सल्लाह छ …” संकोचपूर्ण मुस्कानसहित सोमले आफ्नो आवश्यकता बतायो। ऊ भन्दा चार पाँच वर्षसानी स्नेहीलाई आदरपूर्वक ऊ दिज्यू भन्छ। स्नेहीले आफ्नो नोटबुकमा त्यो कुरो टिपी,
विचरा सोमलाल। लाज र संकोचमा लपेटिएको अनौठो व्यक्तित्व। ऊ श्लील, सभ्य, सुशिल बनी बोल्न, चल्न माग्छ। तर त्यही प्रयासको चापमा कतिपल्ट स्वाभाविकताको घाँटी पनि निमोठिदिन्छ, उसै-उसै पिल्सिन्छ, तर्सिन्छ।स्नेहीले स्वाभाविक भनेकी थिई,
“हुन्छ, म तपाईको कोठामा पर्याप्त पिउने पानीको बन्दोबस्त मिलाइदिन्छु …”
तर सभ्यता शिष्टता, संशय र धुकचुकको भुँवरीमा पौडिरहने सोमलालको निम्ति कुरो त्यति सहज छैन। अरुलाई हैरान गर्दैछु कि भन्ने स्वनिर्मित पीडामा ऊ सधैं भुत्भुतिन्छ।भव्य लिवास कपडा लाउने यति सुन्दरी महिलालाई किन पिरलो लाए भन्ने पीर भो उसलाई,
“हजूरलाई दुःख दिएँ, म दई हप्ताअघिसम्म ठीकै थिएँ, हेर्नु न अचानक पत्थरको शिकायत …स्टोन …”
सोमलालको उकुसमुकुस बुझिदिई स्नेहीले।अधिक पानी पिउनु कतिपय रोगको निर्विकल्प औषधि हो भन्ने कुरो उसलाई थाहा छ।स्नेहीले सोमलाललाई आश्वस्त पार्न खोजी,
“ठीकै छ सोमजी, अप्ठेरो नमान्नुहोस्। स्टोन रैछ, धेरै पानी खायो भने पिसाबमा पत्थर जान्छ हैन र ? म पानी राखिदिहाल्छु नि ..”
यी महिलाले यति जना पुरुषको अघि पिसाब शब्द नर्स, डाक्टरको शैलीमा निर्धक्क उच्चारण गरेकी सुनेर सोमलाल अझै खुम्चियो। दार्जीलिङ्गतिरका युवा-युवती कति आधुनिक, कति आँटिला भनी ऊ सोच्नलाग्यो। बदलिँदो विश्वको गतिशील परिप्रेक्षमा प्रवासका हाम्रा सन्तान अस्तित्वहीन बनेर बाँचेका छैनन् है भन्ने बिचार उसको अबोध मनमा उठ्यो। स्नेहीको ध्यान अर्को प्रतिनिधितिर गइसकेको थियो। चुच्चो, धारिलो नाक, धपक्क मुहार, कालो बाक्लो जुली आँखाबाट हटाउँदै बात गर्नुपर्ने दिनेशतिर फर्की स्नेही। मौनताको प्रतीक बनी एक कुनामा घोरिएर चुपचाप बस्ने दिनेश लुइटेललाई घेर्ने चिसो पर्खाललाई हल्लाउने कोशिश गरी हँसिली स्नेहीले,
“यहाँलाई चाहिँ ठीक पनि एउटा हजामको आवश्यकता छ …”
इंगित गरिएको आफ्नो कपाललाई निधारबाट पछिल्तिर सोहोरेर शान्त चित्तमा नै जवाफ दियो दिनेशले केही हाँस्दै,
“ठीकै भन्नुभो, हेर्नुहोस् न, कपाल एकदम छिटो बढ्छ, दुई, दुई हप्तामा काट्नु पर्ने कस्तो होला यो…”
स्नेहीले बुझी दिनेशमा देखिएको गम्भीरताले मान्छे झुक्किने रहेछ। ऊ त चिसो होइन, फरासिलो, बोलक्कड रहेछ,
“अनि दिनेशजी के गर्नुहुँदैछ त अहिले ?” अन्य प्रतिनिधिहरूलाई सोद्धै ल्याएको प्रश्न उसले दिनेशलाई पनि सोधी। तीनवर्षे बाइबल तालीम समाप्त गरेर दिनेश अहिले काठमाडौ बाहिर पर्ने धुलिखेलमा प्रचारकको काम गर्दैछ भनी उसले बुझी।
लुइटेलले पनि स्नेहीलाई आदर भाव देखाएर सोध्यो,
“तपाई नि के गर्नुहुन्छ बैनी ?”
सोमलाल, अभिषेक, शंकर थापाहरूका कान स्वतः ठाढा बने। जिज्ञासा थियो सबैलाई। उनीहरू उडी आएको विमानकी एयर होस्टेसजस्तै देखिने यी महिला के गर्छिन् त ? चासोले चिमोटिएका चञ्चले कान उत्तर सुन्न आतुर बने
उत्तर
“भर्खर बी एडको रिजल्ट भयो। एक, दुई स्कूलमा बोलाएको छ … हेरौं …”
धुलिखेलतिर सुसमाचार प्रचारको काममा कार्यरत दिनेश लुइटेलबाट सम्प्रेषित त्यसपछिको प्रश्नले उसको मुटुमा हल्का भुकम्प सिर्जना गर्‍यो। दिनेशले राम्रै आवाजमा र भाषामा सोधेको यो प्रश्न स्नेहीको कानमा प्याच्च सोधिएको अशिष्ट प्रश्न बन्यो,
“अनि तपाईले प्रभुलाई कहिले पाउनुभो ? तपाईको नयाँ जन्म कैले भएको बैनी ?”
स्नेहीले पुलुक्क हेरी दिनेशलाई – नयाँ जन्म ?
उसको परिवार दार्जीलिङ्गको एक प्रतिष्ठित इसाई परिवार हो। बुवा चर्चका एल्डर, सरकारी कार्यालयमा उच्च पदस्थ अफिसर। मूमा एम.ए, ख्यातीप्राप्त स्कूलकी चर्चित भाइस प्रिन्सिपल। भाइ इन्जिनियरङ्गिको दोस्रो वर्षा अध्ययनरत आदि … घरबार, जग्गा जमीन, श्री सम्पत्ति पनि राम्रै जोडिएको छ। दुखी-गरीबलाई दिने, सघाउने विषयमा पनि उनीहरूको नाम अगिल्तिर नै आउँछ। समाजसेवाको क्षेत्रमा बुवा एस.एन. मुखियाको नाम सञ्चार माध्यमतिर उल्लेख नभएको होइन। आफ्नो चर्चमा पास्टरको भन्दा बढी आदर र सम्मानका दाबेदार मुखियाजीको परामर्शमा मात्र चर्चमा नौलो कुरो लागु हुन्छ। उनीहरूको पारिवारको पुख्र्यौली इतिहास दार्जीलिङ्गको चर्च इतिहास जतिकै पुरानो छ, महत्त्वपूर्णा छ। के हो यो प्रश्न ? कस्तो नयाँ जन्म ?
नयाँ जन्मको बारेमा यसअघि कसैले उसलाई उसकै मुखेञ्जी यस्तो ठाढे, पाखे प्रश्न गरेको स्नेहीलाई थाहा छैन। लुइटेलले प्रश्न हँसिलो मुहारमा गरेको थियो। गम्भीर चेहेरा बनाएर स्नेहीले उसलाई झट्ट हेरी। दिनेश किञ्चित तर्सियो। रूखो मुस्कान फैलाएर स्नेहीले उत्तर दिई,
“तीन चार वर्षअघि हो”
दिनेशलाई (र सायद उसँगआएका कट्टरवादी नेपाली पाहुनाहरूलाई) अलि खुल्दुली भयो होला … तीन हो कि चार वर्ष हो ? सुविधाजनक उत्तर लागेर उसले तीन, चार भनेकी थिई। वास्तवमा चार वर्षअघि एउटा सम्मेलनमा उसलाई एक दुइओटा बाइबलको वचनमा स्वाद लागेको थियो। झट्ट उसले त्यही कुरो सम्झी र त्यही आधारमा तीन, चार वर्षअघि भनिदिई।नयाँ जन्म भनेको त्यस्तै होला, अथवा त्यसको नजीककै कुनै अवस्था होला भनेर स्नेहीले त्यो उत्तरको सहारा लिएकी थिई। यतिका पाहुनाहरूको अघि निरुत्तर रहनु, अनभिज्ञ ठानिनु, अनुभवहीन गनिनु उसलाई ठीक लागेन।
तीन वर्ष कि चार वर्ष ? भन्ने समयको अन्तर र अन्यौललाई ध्यान नदिएर दिनेशले अर्को प्रश्न चिप्लायो। नेपालमा यो प्रश्न भलाकुसारीकै समकक्षी प्रश्न भए पनि मुगलानका विश्वासीहरूको माझ यसको स्थान र विशेषता के हो, होइन जोख्दा, जोख्दै लुइटेलको मुखबाट  फुत्त निस्कियो,
“बप्तिस्मा नि कैले भएको ?”
यसपल्ट आगन्तुकहरूलाई जरुरी कागज बाँड्दै गरेकी स्नेही टक्क रोकिई, उभिएकै अवस्थामा फर्केर चिसा आँखाले स्नेहीले दिनेश लुइटेलतिर हेरी अनि बढो कुशलतापूर्वक मीठो, मैत्रीपूर्ण मुस्कान ओठमा फैलाई, चुढान्त जवाफ दिई,
“दिनेश दाइ, थाक्नु भएको छ, आराम गर्नुहोस् अब त म जानुपर्छ। सबै कुरा गर्नको लागि हामीसँगपूरा तीन दिन र तीन रातको समय छ। यी कुरा बीचबीचमा एक अर्कालाई सोधौंला, बताउँला, हुन्न ?”
सबै सहमत बने र हुन्छ, हुन्छ भन्दै उठ्ने उपक्रम गर्न लागे। बप्तिस्मा सम्बन्धी सरल प्रश्नको उस्तै सरल उत्तर किन आइहालेन भनी दिनेश र साथीहरू अलिक बिलखबन्द पनि परे (बरु झर्काइको धीमा आभास भने पाइयो)। यस्तो प्रश्न यतातिर अघिपछि हेरेर सोध्नुपर्छ कि क्या हो ?
त्यो रात सिरानीमाथि आँखा बन्द गरेर स्नेही सोचमा डुबी। नेपालकै शंकर थापा कस्तो मज्जाको मान्छे। त्यस्तै ठटयौलो व्यक्ति मनपर्छ स्नेहीलाई। पहिलो भेटमा नै स्नेहीको अविवाहितपनमाथि व्यंग्य (नेपालको जस्तै बाल विवाह खोजेको होला नि)। तर शंकरको इत्र्याइँको ढङ्ग नै अलग अनौठो,
“स्नेहीजी, क्या हो यति सुन्दर हातको सुरिलो औंलामा त्यो देखिँदैन नि”
लाजले एकै सेकेण्ड रातो भई स्नेही तर समय खेर नफाली शंकरको हुर्मत लिई,
“बल्ल त तपाईले याद गरिदिनुभो अब मेरो औंलीको भाग्य चम्किने हो कि ?”
रातको बेला स्नेहीको ओंठमा एउटा फिका हाँसो फैलियो। शंकरले साह्रै मज्जा मान्यो उसको ओंठे जवाफमाथि। चर्चदेखि बाहिरको व्यक्ति शरदसँगप्रेमको नाता जोडेकी हो उसले। तर दुई वर्षा त्यो सम्बन्ध टुटयो। अब भने स्नेहीले चर्चको संसारभित्र नै  सम्बन्ध जोड्ने निर्णय गरेकी छे।उसले बिं.एडको  दुई वर्ष अध्ययन रूपी सिलौटोमाथि कडा परिश्रमको लोहोरो चलाएर शरदसँगछुटिँदाको चोटलाई  धूलो पीठो पारेकी थिई। अब सब छयाङ्ग भएको छ।सलाई लाग्छ ऊ विवाहको लागि तयार छे … हेरौं …।उसलाई मरिमेट्ने युवकहरू, अनि उनीहरूबाट हप्ता, हप्तामा आइपुग्ने प्रेम-पत्र आदिको प्रसङ्ग नाघेर उसको मन आज राति अर्कै प्रश्नमाथि अलि्झरहेको छ – नयाँ जन्म र बप्तिस्मा। उसको निद्रामाथि धावा बोल्ने यी दुई शब्दलाई के गर्ने उसलाई थाहा भएन। शंकरको प्रश्न पनि व्यक्तिगत प्रश्न थियो, विवाहको सम्बन्धमा।अनि दिनेशको प्रश्न पनि त व्यक्तिगत थियो, बप्तिस्माको सम्बन्धमा।किन उसलाई दिनेशसँग रिस उठिरहेछ ?
नेपाल र भूटानबाट आज दिनभरि आइपुग्ने सहभागीहरूको संख्या जम्मा चौध पुग्यो। एक जना अलि प्रौढ व्यक्तिको औषधि खोजेर पनि ल्याइदिई स्नेहीले।बूढा कति धन्यवादी। उसको शिरमा हात राखेर उसलाई धन्यवाद दिए, आशीर्वाद दिए।
नेपालका, भूटानका मानिसहरूको विविध स्वभाव, बोली, आवाज, भाषा सुनेर स्नेहीलाई आफूले पाएको अभिभारा रोचक नै लागिरह्यो दिनभरि।अनि आफ्नो सिरानीमाथि सजिलो बन्दै स्नेही सोच्न लागी … दिनेश लुइटेल मार्काहरूले यो सम्मेलन भरिएको भए के हुन्थ्यो ? पैन्टमाथि दौरा लाएर निर्धक्क सबलाई हसाउँदै, सबसँगहाँस्दै हिँड्ने शंकर थापाजस्ता रसिकहरूले सम्मेलन, सभाहरू सफल बन्छन्। शंकरले लन्चको बेलामा खाना पर्खन्दा टेबुलमाथि तबला ठट्टाएर “ताल से ताल मिला” भन्ने गीत सुनाएर सबैलाई हँसायो। कस्तो, कस्तो मुख बनाएर, आँखा, आँखिभौं नचाएर शंकरले सबैको थकान मेटाइदियो। हाँसो थाम्नलाई स्नेहीले मुख छोपेकी थिई ।लुइटेलले शंकरको “तालसे ताल” लाई वरफिला आँखाले स्वागत गरेको कुरो स्नेहीबाट लुकेन। दिनेशलाई ठीक पार्नलाई ‘तालसे तालमा’ शंकरले भुलेको शब्द एक ठाउँमा स्नेहीले बताइदिई अनि एक दुई लाइन गुनगुनाइ नै दिई।
स्नेही फेरि अर्कोपट्ट कोल्टो परेर सोच्नलागी … अर्काको नयाँ जन्म कैले भो, बप्तिस्मा कैले भो, प्रभुसँगकति नजीक, कति टाढा सबै बताउँदै जानुपर्ने नेपालको श्री, श्री, श्री लुइटेल पण्डितलाई ? महा पुरोहितज्यूको खुट्टा ढोगेर दक्षीणा पनि चढाउनु पर्ने होला नि।यी क्यारसिम्याटिकहरू कति नै आत्मिक बनेका होलान्, हल्लाखल्ला गर्दै हल्लेलुयाह भन्छन्, आमिन र सामिन भन्दै के के बरबराउँछन्। खानेबेला पनि क्या हो रेस्टुरेन्टै थर्काएर प्रार्थना गर्नुपरेको ?
अर्को दिन विहानै भव्य, आकर्षक कार्यक्रमबाट सम्मेलन आरम्भ भयो। करिब साढे पाँचसय मानिसहरूको सहभागिता थियो। स्नेहीले गिटार बजाएर सुरिलो सोरमा गीत गाएको देखेर मानिसहरू प्रभावित नबनी सकेनन्। दिउँसो खानाको टाइममा दिनेश लुइटेल ऊ तिर बढ्यो। लुइटेलको दिमागमा के छ स्नेहीलाई थाहा थियो। विहान हलमा उसले पाएको ताली अझै उसको कानमा गुञ्जिरहेथ्यो।
“साह्रै राम्रो स्नेही बैनी।खुब आशिष् भो। तपाईको गीतको शब्द, शब्दले हाम्रो हृदयमा प्रभु बोल्नु भएजस्तो लाग्यो।”
“धन्यवाद दाइ, अलि, अलि हो। तपाईको नेपालमा जस्तो त के होला र ?”
दिनेशले इन्कारमा शिर हल्लायो,
“होइन, होइन, नेपालको चर्च त अहिले कलिलो मुना जस्तो छ।हामीलाई धेर कुरो आउँदैन। तपाईहरूबाट सिक्नु परेको छ। हाम्रा दिदी-बैनीलाई उठाउन आउनु पर्‍यो तपाईजस्ता व्यक्तित्वहरू …कस्तो राम्रो गरी गिटार बजाउनुहुन्छ, प्रभुलाई धन्य… …”
यही थियो मौका स्नेहीले पर्खिरहेको,
“हामी नयाँ जन्म पनि नपाएका, बप्तिस्मा पनि ठीकसँग नभएकाले नेपालमा के नै गर्नसकौंला र दाइ ?”
दिनेश यो सुनेर छक्क होइन मर्माहत भयो। जुन व्यक्तिको मधुर स्वरबाट उसले यति आशिष् पायो, जसले यो सम्मेलनमा नै अग्रणी भूमिका खेलिरहिछ उनीबाट यो कटाक्ष ?
“के भन्नुभएको स्नेही बैनी ?
लुइटेलको निधार कुच्चिएको, आँखा चिम्सिएको, हेर्न लायक थियो, उसको भिरालो नाकको तल छक्क परेर खुलेको मुखको भाव पनि उस्तै चाखलाग्दो। स्नेही यति भन्दै बाटो लागी, प्रतिशोधको मौका ऊ कहिल्यै चुक्न दिँदिन,
“मैले जे भनेकी, त्यही भनेकी ”
लुइटेल केहीबेर त्यहाँ टोलायो। उसलाई यतातिर अप्ठेरो, अनौठो लागिरहेछ। उसले यहाँको सबै चलन बुझिरहेको छैन।को ठट्टा गररिहेछ, को गम्भीर हो, यो सब बुझन नै उसलाई गाह्रो परिरहेछ। प्रभुको चर्चा त्यति सुन्न पाईदैन। प्रभुको कुरा गर्नु, प्रार्थना गर्नु, अरुबाट आशिषको दुईटा शब्द सुन्नु, अरुलाई आफ्नो अनुभव सुनाउनु कति व्यग्र बनिरहन्छ उसको मन।
स्नेहीले लुइटेलको रूमको साथीमा परविर्तन गरिदई। चञ्चल शंकर थापालाई लुइटेल जस्तो शान्त व्यक्तित्वको साथमा राखिदिनु निक्कै अमिल्दो कुरो थियो। सायद स्नेहीको चिढको प्रकटिकरण हो यो। दिनेश लुइटेल शंकरलाई भेटेदेखि छक्क पररिहेछ। उसको हरकतले सम्मेलनको शोभा र मर्यादामाथि प्रश्न पोतिदैछ भन्ने कुरालाई सबै देख्दैछन् तर कसैलाई पर्वाह छैन। खर्च पाइयो सम्मेलन गरियो, खानपान, गाना-भजनको पिकनिक बाहेक यी सम्मेलन के हुन् र? भन्ने सोचाइ उसको मनमा उर्लेर आइरहेछ।)
लुइटेल छक्क मान्छ, पक्क पर्छ, कारण एउटै कोठामा बस्ने साथी शंकर, न प्रार्थना गर्छ, न बाइबल खोल्छ (बाइबल नै ल्याएको छ कि छैन), न प्रभुको कुनै कुरा गर्छ। बरु हिन्दी फिल्मको गीत टेबल ठोकेर गुनगुनाइरहन्छ। यो शंकर कुन नेपालको कुन चर्चको अगुवा हँ ? घरी डिकन हुँ भन्छ, घरी अगुवा हुँ भन्छ, घरी समिति सदस्य भन्छ। लुइटेल पास्टर होइन। तर शंकर उसलाई भेटेदेखि पास्टर बाउ, पास्टर बाउ भन्न थाकेको छैन। दिनेशलाई पास्टर पद लिइदिनु भनी काठमाडौमा धेरैजनाले अनुरोध गरेका हुन्।तर उसलाई आफ्नो वरदान थाहा छ। पास्टर उसको बुलाहट  होइन।
“भाइ शंकर, म पास्टर हैन“, प्रचारक हुँ” भन्यो लुइटेलले। एकोहोरे शंकरले के मानोस्,
“अरे पास्टर बाउ, मेरो लागि तपाई पास्टर नै हो, तपाईको कुरा नै पास्टर जस्तो छ।म चिन्दिनँ मान्छेलाई ? बाइबल पढिबस्ने, प्रार्थना गरिबस्ने, यिशु ख्रीष्टको कुरा गरिस्ने मान्छेलाई पास्टर नभनेर के भन्नु ?”
शंकरको दृष्टिकोण र अवधारणा सुनेर लुइटेलले थाकेको भावमा लामो सासमात्र फेर्‍यो। शंकर आफ्नो पलङ्गबाट उठेर उसको पलङ्गमा आइबस्यो, सानो सोरमा फुसफुसाउन लाग्यो,
“बरु पास्टर बाउ, मेरो लागि प्रार्थना गरिदिनून। मेरो विवाह यतैकी कोहीसँगहोस् भनेर प्रार्थना गरिदिनून …”
हैरान बन्यो लुइटेल,
“आफैले पनि त प्रार्थना गर्नुसक्नुहुन्छ, यति व्यक्तिगत कुरामा।”
शंकरले सुन्नै मागेन,
“अनि मैले प्रार्थना गरेपछि त म पास्टर बाउ भइहाल्छु नि तपाईको के काम ? ”
दिनेश लुइटेल आँखा चिम्म गरेर आफूपछिको भित्तामा शिर अडयाउँछ। मनको सन्तुलन नहराउन उसले धुलीखेलको रमणीय जङ्गलको दृश्य दिमागभरि कोर्‍यो। यो सम्मेलनमा आएर उसले भुल त गरेन ?
चिया खाने ब्रेकमा स्नेही चञ्चल शंकरलाई सम्झाउँदै थिई,
“शंकरजी, तपाईको जस्तो सजिलो, स्वादिलो तौर-तरिका पण्डितजीले पनि सिकून् भनेर मैले उहाँको रूममा तपाईलाई राखेकी है ?”
अभिनयको नम्बर वान शंकर अचानक केले घोंचेजस्तो आफ्नो हात पेटमा पुर्‍याउँछ। त्यसपछि कागती चपाएजस्तो अनुहार कुच्याएर, आँखा चिमिक्क चिम्स्याएर भन्छ,
“ओहो ˜ ˜ ˜ यति ढीला गरी बताउनु भा – म त मलाई पो उहाँजस्तो बनाउनलाई सिंहको खोरमा हाल्नु भएको भन्ठानेको …”
फेरि कुच्चिएको अनुहार दुरुस्त बनाएर उज्यालो हाँस्यो शंकर। रहस्यको ठूलो पर्दा पन्सिएको सञ्चोले उसको मुहार सजियो। फेरि हाँसो बन्द। रिसाएको, षढयन्त्रकारी, दारा किटेको मुद्रामा आँखा मिरमिर पारेर टाढा हेर्दै शंकर बोल्यो, हिन्दी फिल्ममा गुण्डाहरूको सरदारको शैलीमा,
“नसुर्ताउनु स्नेहीजी ..” दृढ संकल्पमा टाढा हेर्दै शंकर कठोर षढयन्त्रकारी मुद्रामा भन्दै गयो, “म प्रयास गर्नेछु उहाँलाई मजस्तो बनाउनु।” त्यसपछि आँखिभौं पटक पटक उचाल्दै, झार्दै हतार नगरी उसले आफ्नो शिर घुमाएर स्नेहीतिर पुर्‍यायो, “कसले भन्छ गधा धोएर गाई बन्दैन ? शंकरलाई चिन्या छ तपाईले ? हम भि किसिसे कम नही …”
अर्को झर्को पनि थापालाई सुनाउने इच्छा भयो स्नेहीलाई,
“थाहा छ ? सबलाई प्रचार गर्दै प्रभुको वचन सनाउँदै हिँड्नु हुँदैछ पण्डित लुइटेल। सम्मेलनको वक्ताको त कामै छैन जस्तो। चुपचाप खानु, चुपचाप बस्नु नि। क्रिस्चियन नै क्रिस्चियन भएको ठाउँमा प्रभु चिनाउने धन्धामा लाग्नु भएको छ रे – कस्तो बोरङ्गि बाहुन हो यो लुइटेल  …”
शंकरले दुइचोटी दाहिने हातको धाप मार्‍यो छातीमा अनि जुङ्गामा ताउ दिन थाल्यो,
“हेर्नुहोस्, म उहाँलाई होशमा ल्याउनेछु। उहाँलाई बोरङ्गिदेखि इन्टरेस्टिङ्ग बनाउने काम मेरो।”
एक सेकेण्ड बितेको थिएन पहाडै पल्टेको जस्तो मुद्रामा दुखित, पीडित बन्दै रुन्चे आवाजमा स्नेहको अगि विलौना गर्न लाग्यो शंकर,
“लौन म्याडम, मेरो पनि एउटा काम गर्दिनुपरो, साँइली औंलीमा कस्ने गोलाकार धातु हामी मिलाउँछम, लाइदिनुपर्ने व्यक्ति कतातिर छन् पत्तो दिनुपरो …यति टाढाबाट आएको पाहुनाको यति काम पनि नगर्दिने भन्या ? सम्मेलन टुङ्गोमा पुग्न लागिसक्यो आफ्नो टुङ्गो भन्या यस्तै हो … क्यार्ने, क्यार्ने  …”
यो शंकर स्वाभाविक रूपले केही बोल्न सक्छ कि सक्दैन हँ भन्ने प्रश्न उठ्यो स्नेहीभित्र। आज भोली शंकरलाई देख्यो कि हाँसो थाम्न लाग्नुपर्छ। यो मान्छे फिल्ममा खेलेजस्तै एक्टिंग गरेर मात्र बोल्छ।
थापाले सम्मेलनको भोलेन्टियरमा खटेका एक दुई युवतीहरूप्रति चासो देखाइरहेछ भन्ने कुरा ग्वाइगुइ चलिरहेछ। कसैलाई फकाएरै नेपाल फर्कने उसको इरादा छ। यही दार्जीलिङ्ग, सिक्किमतिरकी कोही  हिसी परेकी चाहियो रे उसलाई।
“जात-पातको चिन्ता छैन, इसाई इसाईबीच केको छेकेबार ? लौ न स्नेहीजी तपाईजस्तै यो अंग्रेजी बोली चाइने भटटट बन्दुक हानेजस्तै बोल्ने एउटी खोज्दिनुपरो …”
स्नेहीलाई थापाको शैली मनपर्छ। जिन्दादिल व्यक्तिसँग ऊ हिमचिम राख्न मनपराउँछे, उसले थापालाई सम्झाई,
“कहाँ एकैचोटि औंली र धातुको कुरा ?  पैले कुराकानी गर्नुपर्छ, मन मिल्नुपर्छ, पण्डितजीको भाषामा भन्नुपर्दा प्रार्थना गर्नुपर्छ, प्रभुलाई पर्खनुपर्छ अनि पो औंलीको कुरा आउँछ।”
जाने उपक्रममा लागी व्यस्त स्नेही,
“म हेर्दिउँली तपाईलाई टयाक्क सुहाउने। अहिले म जाऊँ ? तपाई पनि सभास्थलतिर जानुपर्छ अब। म हिँडे, लुइटेलजीलाई याद गर्दै गर्नु है ?..”
स्नेही हिँड्न लागी। शंकरका नयन स्वप्नील बने। लठ्ठ बनेको मुद्रामा  पिर्लिक्क आँखा पल्टाएर मास्तिर आकाशमा रुन्चे अनुहार उचाल्यो,
“प्रभु, पूर्वजुनीमा मैले तिम्रो चित्त दुखाएको छैनँ भने ठयाक्क यही स्नेहीजस्ती एउटी जुराइद्यौ है प्रभु …”
त्यही चियाको ब्रेकमा हलको अर्को छेउमा भेट भयो स्नेहीको दिनेश लुइटेलसँग,
“म कसरी धन्यवाद दिऊँ तपाईलाई।” गम्भीर मुद्रामा ऊ स्नेहीलाई भन्दै थियो,
“मेरो कोठामा बढो रसिलो व्यक्तिलाई ल्याइदिनुभो।उनमा प्रभुको आत्माको काम हुन बाँकी छ। प्रभु शंकरलाई कति माया गर्नुहुन्छ। उहाँले मलाई बताउनुभो शंकरलाई उहाँ धेरै माया गर्नुहुन्छ ..”
स्नेहीले रोक्न चाहेकी हो तर मुखबाट फुत्त निस्कियो,
“ओहो, कस्तो विचित्र, हन तपाईले त स्वर्गको मोबाइल पनि साथै ल्याउनु भा छ कि क्या हो ? सीधै प्रभुसँगबातचित वाह …”
स्नेहीको होश लगत्तै फर्कियो, मनमनै पछुतो मानी,
थुक्क स्नेही। खाइस् मोरी। पाहुनालाई के भनेकी हँ ?
स्नेहीको यो खरो उद्गारमा दिनेशले ठूलो प्रतिक्रिया केही देखाएन।स्नेहीलाई अपार मायाको भावमा हेरेर उ मुसुक्क हाँस्यो मात्र र भन्यो,
“म के भनूँ ? तपाईलाई म के भनूँ ? प्रार्थनालाई मोबाइल भन्नुहुन्छ भने मोबाइल नै सही
अन्यौलको भुवँरीमा लुइटेललाई धकेलेर पछुतोमा आफ्नै शिर ठोक्दै स्नेही काममा कुदी। “पण्डितले भेट्यो आज मेरो”, उसले एक दुई साथीलाई स्वर्गको मोबाइल फोनको कुरो बताई। सम्मेलनको भीडमा स्नेहीको आफ्नो शान छ, रवाफ छ,। ठूलो घरानाको मान्छे हो ऊ। सम्मेलनका स्टेजहरूद्वारा उसको अनुहार परिचित बन्दैछ मात्र होइन उसको नाम र मान पनि चारैतिर फैलिदैछ। लुइटेलजस्तालाई मुखभरिको जवाफ दिँदा उसलाई जितको अनुभव हुन्छ। भूटान र नेपालका विदेशी पाहुनाहरू स्नेहीको व्यक्तिगत सेवा पाएर मख्ख छन्। सब उसलाई सर्काउँछन्। सबैको हाल-खबर सोध्छे, सबैको आवश्यकतामा ध्यान दिन्छे। त्यै झयापलुङ्ग लुइटेलसँगमात्र हो उसको ग्रह मिलिरहेको छैन।

सम्मेलन समापनको रात पनि आइपुग्यो।धन्यवादको क्रममा माइक्रोफोनबाट उसको काम र जिम्मेवारीको लागि स्नेहीले गतिलो स्याबासी पाई।सम्पूर्णा प्रतिनिधि सहभागीहरूले ताली र सिटी बजाएर उसको सेवाको कदर गरे।समापनको सिलसिलामा दुई जना व्यक्तिले मञ्चमा दुई-दुई मिनट बोल्ने मौका पाए।उनीहरू आफूले पाएका आशिष् बाँडन चाहन्थे,
“म यहाँ ढाड दुख्ने रोगसहित आएको थिएँ।म रोग निको हुनलाई आएको हैन।अगुवा भएको नाताले वचन सुन्न र आशिष् पाउन आएको।तर आज बिहान प्रार्थनामा म बिलकुल चँगा भएँ।म प्रभुको महिमाको लागि यो कुरा तपाईहरूलाई बताउँदैछु।आठ वर्षदेखि प्रत्येक दिन लगातार दुखिरहेको ढाड आज दिनभरि अहिलेसम्म नदुख्दा मलाई कस्तो लागिरहेको छ तपाईहरू आफै …” यति भनेर ऊ रुन लाग्यो।हलभरिकाा मानिसहरूलाई यो कुराले छोयो।कति कतिजना आँखा पुछ्न लागे।
दोस्रो व्यक्ति,
“यहाँ दाजुको ढाडको समस्या रहेछ तर मेरो समस्या अझ ठूलो थियो।दोष र पापको भारले मेरो पूरा काँध गलिसकेको थियो।मेरो विवेक जलिसकेथ्यो, म भित्रभित्रै मरिरहेथें।आज बिहान मैले पनि प्रार्थनामा छुटकारा पाएँ।प्रीय हो म यति भन्छु, अरु कुरो बुझिदिनुहोस्।सबै बताउने समय मैले पाइनँ।यति भन्छु।भोलि बिहान म भूटानको बस चढ्ने छैन।म सिक्किमको बस चढ्नेछु।म मेरी स्वास्नीलाई उसको माइतबाट फर्काउन र उसँग माफ माग्न जाँदैछु।मेरो पापको लागि म पश्चातापी जीवन बिताउनेछु …चार पाँच वर्षदेखि ऊ प्रार्थना गर्दै मेरो बाटो हेरिरहेछ …प्रभुलाई म धन्यवाद दिन्छु …” सबले थपडी मारे, कोही, कोही आँसु बगाउन लागे।
धेरैबेर मानिसहरू प्रभुलाई प्रशंसा, धन्यवाद चढाइरहे।सञ्चालकले फेरि उद्घोष गरे,
“हामीले अर्को एक जना दाइलाई समय दिने निर्णय गरेका छौ।उहाँलाई पनि हामी दुई मिनट मात्र दिनेछौं।उहाँ दिनेश लुइटेल दाजुको सेवाबाट आशिष् पाउने तेस्रो व्यक्ति हुनुहुन्छ।आउँदै हुनुहुन्छ यो सम्मेलनको लागि एक परिचित नाम शंकर थापा  ….
स्नेही झसङ्ग भई।शंकर ? तेस्रो व्यक्ति ? अघि आउने दुईजनाको चङ्गाइ र छुटकारामा पनि लुइटेलको हात ? स्नही लगायत उपस्थित सबैले थाहा पाउन लागे, सम्मेलनकै एक सहभागीको हातबाट शक्तिशाली काम भइरहेछन्।स्नेहीको होशहवाश उड्न लाग्यो।सबै कुरो उसको लागि पत्याइनसक्नु थियो।
सधैं हाँस्ने हसाउने, बाँदरजस्तो उफि रहने शंकर गम्भीर बनी, रुञ्चे अनुहार लिएर स्टेजमा उभिँदा अति नै टिठलाग्दो देखिन्थ्यो।ऊ बोल्न सकेन, थोर-थोरै बोल्यो, उसको गला घरीघरी अवरूद्ध बनिरहेथ्यो।
“तपाईहरू सबैले मेरो बोली वचन, बात व्यवहार देख्नुभो सुन्नुभो।म कस्तो थिएँ, के कुरा गर्थे, के खोज्दथें धेरै जनाले थाहा पाउनुभो।म स्नेहीजीलाई धन्यवाद भन्छु उहाँले मलाई प्रभुको महान दास, असल दास, मेरो पास्टर बाउको कोठामा राखिदिनुभो।उहाँको जीवनले, उहाँको वचनले, उहाँको प्रार्थनाले म बद्ली भएर नेपाल फर्किरहेछु।मेरो अभिनय सब शेष भयो , म नयाँ सृष्टि भए।प्रभु येशू नै साँचो मुक्तिदाता हुनुहुन्छ।मैले नयाँ जीवन पाएँ …सबैलाई जय मसिही ”
चट्टुलाल शंकरको जीवन परिवर्तनको संवादले हलमा ठूलै भूइँचालो गयो।सबै ऊसँग वाक्क मान्थे।सबै उसको चतुर्‍याइसँग धुरुक्क थिए।स्टेजमा शंकर थापा बोलुञ्जेल एउटा पात पनि हल्लेन।शंकरजस्तो व्यक्तिको जीवनको अद्भूत परविर्तनमा सब दङ्ग परे।तीन जीवित साक्षीका छोटो, छोटो गवाही सुनेर मानिसहरू परमेश्वरलाई महिमा नचढाइ सकेनन्।धेरै जना तोडिन, पग्लन लागे।
सञ्चालकले हलभित्र मच्चिन लागेको कोलाहललाई जित्नेगरी जोडसँगघोषणा गरे,
“जुन प्रभुको दासबाट यति धेरै काम भएको छ, आजको अन्तिम रातमा त्यही व्यक्तिलाई हामी वचनको सेवा गर्न भनी मञ्चमा बोलाउन गइरहेछौं।उहाँ सहभागीको रूपमा आउनु भएको थियो तर अन्तिम रातको समापन सभामा वक्ताको रूपमा स्टेजमा आउनु हुँदैछ …दिनेश लुइटेल …”
हलको एक कुनाबाट शुरु भएको तालीले भीषण रूप धारण गरेर उदघोषकको आवाजलाई समेत ओझेलमा पारिदियो।करतलध्वनीको तीव्रतालाई जितेर उदघोष भइरहेथ्यो,
“लौ त लुइटेल दाइ, अब स्टेज तपाईको।प्लिज तपाईले दुई-चार व्यक्तिसँग बाड्नु भएको आशिष् आज राति सम्पूर्ण सम्मेलनभरि खन्यादिनुहोस् भनी हामी अनुरोध गर्र्छौं।”
तालीको गडगडाहटलाई स्वीकार गर्दै अनि वातावरणको उत्तेजनाबाट आफूलाई अप्रभावित राख्दै दिनेश गम्भीरता र आदरभावमा स्टेज तर्फ बढ्यो।नेपाल छोड्दा उसलाई केही थाहा थिएन यो सब काम उसको हातबाट हुनेछ।माइकअघि उभिएर लुइटेलले गला सफा गर्‍यो।आफ्नो बाक्लो कपलमाथि हात फेर्‍यो।त्यसपछि सरल मुस्कानसँग आफ्नो कुरा सहभागीहरू समक्ष राख्यो,
“दाजु, भाइ, दिदी बैनी, सिलिगुडीमा आएपछि मैले यहाँ धेरै, धेरै माया पाएको छु।मलाई मिलेको प्यारपूर्ण मायालु एउटा सम्बोधन हो, पण्डित लुइटेल।”
मानिसहरू गललल हाँसे।हलभित्रका दुई चार आँखाहरू हतपत भूइँतिर झुकिहाले।लुइटेल बोल्दैगयो,
“अझ धेरै माया गर्नेहरूले चाहिँ मलाई बोरिङ्ग बाहुन भनेर बोलाए।आज राति म इन्टरेस्टिङ्ग बनेर तपाईहरूको अगि एक दुई आवश्यक कुरा बताउन गइरहेको छु।”
स्नेही र साथीहरू के गर्ने, नगर्ने बने।नहासौं सबै हाँसिरहेछन्।हाँसौं त लुइटेलको प्रहार उनीहरूप्रति नै लक्षित थियो।सबैको हाँसोलाई साथ दिएर दिनेश पनि हाँस्यो,
“मैले पनि अलि, अलि ठट्टा गर्न सिकेको छु।शंकरजस्तो बन्धुसँग एउटै कोठामा बसेपछि केही त सिक्नै पर्‍यो।”
यसपल्ट सबैजना ताली पिटेर हाँसे।लुइटेलले मानिसहरूको ध्यान आफ्नो मुठ्ठीमा बाँधिसकेथे,
“म छोटो बोल्नेछु।प्रभुको आत्माले देखाउनु भएको कुरो मात्र म गर्नसक्छु।प्रभुले कसरी जीवनहरू परिवर्तन गर्नसक्नुहुन्छ त्यो तपाईले सुन्नुभयो, देख्नुभयो।अरु कोही हुनुहुन्छ जसलाई यस्तै छुटकाराको आवश्यकता छ ? आज राति म यहाँ नयाँ जन्मको बारेमा बोल्न चाहन्छु।बोल्ने अनुमति दिनुहुन्छ ?”
यो अन्तिम आधा घन्टा नै सम्मेलनको पराकाष्ठा र उज्वल टाकुरा बन्यो।पवित्र आत्माको हात समातेर स्टेजमा उभिएको थियो दिनेश लुइटेल।सबै मग्न बनी वचनको आनन्द लिन लागे।स्नेहीले विस्तारै आफ्नो अनुहारलाई दुवै हातले छोपी र घुँडामाथि कुइना अडाएर शिर झुकाई।स्नेही प्रार्थनामा यसरी मग्न भएकी देखेर छेवैकी अर्की साथी मख्ख बनी।वक्ता मीठो शैलीमा धाराप्रवाह बोलिरहे अनि एउटी नारी आँखा छोपेर सुस्तरी रोइरही….

येशूले तिनलाई जवाफ दिनुभयो, “साँच्चै म तिमीलाई भन्दछु, कोही नयाँ गरी जन्मेन भने उसले परमेश्वरको राज्य देख्न सक्दैन।” यूहन्ना ३:३
“मैले तिमीहरूलाई नयाँ गरी जन्मनु पर्छ भन्दा अचम्म नमान” ३:६
“विश्वास गर्ने र बप्तिस्मा लिनेले उद्धार पाउनेछ, तर विश्वास नगर्ने दोषी ठहरिनेछ” मर्कूस १६:१६
“उठ्नुहोस् र बप्तिस्मा लिनुहोस्, अनि उहाँको नाउँको पुकारा गरेर आफ्नो पाप धुनुहोस्।” प्रेरित २२:१६

Written by Mr. Loknath Manael
Republished on nepalchurch.com new site on may 7

Comments from previous site:

…
written by Tej Gaire , November 15, 2011

The story is as a symbolic those who are very active in a physical rather than Spiritual mention about Martha and Mariam.
Very blessed to read. Thank you Writer.

Related Posts

Dr. B P Khanal

चर्चका लागि स्थापना गरिने गुठीः निजी कि सार्वजनिक?

May 14, 2025
Dr. B P Khanal

राष्ट्रिय राजनीतिमा नयाँ बिहानी: जनअपेक्षा, चुनौती र सम्भावनाहरू

April 13, 2025
Exam System Comparison: Efficiency vs. Burden

Exam System Comparison: Efficiency vs. Burden

March 18, 2025

मेरो उद्धारकर्ता जीवित हुनुहुन्छ

December 11, 2024

Discussion about this post

ताजा सामाग्री

नेपाली चर्चको जिम्मेवारी अब युवा पुस्ताको काँधमा छ : वरिष्ठ पास्टर हनोक तामाङ

नेपाली चर्चको जिम्मेवारी अब युवा पुस्ताको काँधमा छ : वरिष्ठ पास्टर हनोक तामाङ

May 18, 2025

निरोज तोलाङे, काठमाण्डौँ । नेपाली ख्रीष्टियनहरुको एकमात्र ठूलो छाता संस्था नेपाल राष्ट्रिय मण्डली संगतिका केन्द्रीय अध्यक्ष तथा आराधना मण्डलीका वरिष्ठ...

Vacancy at INF NEPAL

Vacancy at INF NEPAL

May 15, 2025

Job Vacancy Announcement

Job Vacancy Announcement

May 5, 2025

Start: Mid-June or by arrangement Where to apply: info.arkopananepal@gmail.com Contact number : +9779748277158 Individuals who meet the required qualifications are...

Dr. B P Khanal

चर्चका लागि स्थापना गरिने गुठीः निजी कि सार्वजनिक?

May 14, 2025

Dr. B P Khanal बि.पी. खनाल विषय प्रवेश Dr. B P Khanal यो आलेख तपाईंको नजरमा...

Recent Posts

  • नेपाली चर्चको जिम्मेवारी अब युवा पुस्ताको काँधमा छ : वरिष्ठ पास्टर हनोक तामाङ
  • Vacancy at INF NEPAL
  • Job Vacancy Announcement
  • चर्चका लागि स्थापना गरिने गुठीः निजी कि सार्वजनिक?
  • एकता: प्रसङ्ग, प्राथमिकता र प्रयत्न

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In