“हाम्रा निम्ति एउटा बालकको जन्म भएको छ । हाम्रा निम्ति एउटा छोरो दिइएको छ ।” यो वाक्यमाथि अब विश्वले सोचविचार गर्ने र मनन गर्ने सिजन आइरहेको छ, “हाम्रा निम्ति” को अर्थ घमण्डी यहुदीहरूको लागि आफ्नै निम्ति भन्ने थियो । ”हाम्रो निम्ति हो, कहाँ दुनियाभरको लागि ?” भनी उनीहरूले येशूलाई स्वीकार गर्न चाहेका छैनन । पापी, दुःखी रोगी अनि जँड्याहरूसँग प्रभुको हिँड्डुल उनीहरूलाई पचेन । यहुदीहरू आजसम्म पनि एकलकाटे आलापमा मस्त — म, हामी, मोसा, अब्राहाम, दाऊद । यी रटनदासहरू तोराहा पुस्तकलाइ च्यापेर त्यै बालकलाई पर्खिरहेका छन् । येशू आउनुभई मुलुक मारिसक्नुभएको कुरा उनीहरूको लागि बकवास ।
यो बेबी किङ्गको हल्लाले बेथलेहेम इलाकाहरूमा ठूलो आतंक मच्चिएको थियो । सयौं आमाहरूले आफ्नो बालकको हत्या रोमी हेरोदको हातमा सहनुप-यो । बालक येशूलाई मिश्रमा भगाउनु प-यो । हेरोदले चिनेनन् । हेरोदको के कुरा ? अब भन्नुस त ? जन्म दिने आमाले नचिनेको मान्छेलाई हेरोदले के चिनोस् ? येशूले आमालाई सम्झाउनुप-यो, “म आफ्नो पिताको घरमा हुनुपर्छ भनी तपाईलाई थाहा थिएन ?” । सामरी स्त्रीले चिन्ने प्रश्नै थिएन, “यहुदी भएर मरो हातको पानी ?” चेलाहरूले पनि हैरानै पारे, “यतिका दिन म तिमीहरूसँग छु र पनि तिमीले मलाई चिनेनौ फिलिप ?” । यसकारण बेबी किङ्गमा दुनिया मस्त हुनु, खास येशू नचिन्नु छक्क लाग्दो कुरो होइन । एक दिन चेलाले चिनेको थियो, त्यै पनि स्वर्गको सहायताले रैछ, “मानिसबाट होइन, मेरा पिताले यो प्रकट गर्नुभएको हो ..” भनी येशूले बताइदिनुभो ।
आत्माले उहाँलाई उजाड—स्थानमा लैजानुभयो । चालीस दिन दियाबलसबाट उहाँ परिक्षित हुनुभयो, केही खानु भएन । आफूलाई मानिस बनाउने र मानिस ठहराउने उहाँको आजीवन कसरतको अग्नि परीक्षा । हामीलाई क्रिसमसको केक र भोज खान लायकको बनाउन चालीस दिन रोटी र पानीदेखि अलग रहनुभो । गोठलाई त्याग्नुभो । मन्दिर पनि । मन्दिरको पपुल्यारिटी, पुलपिट, पुस्तकालयको प्रलोभन प्वालमा पस्नुभएन ।
क्रिसमस इभको, क्रिसमस सप्ताहकै मनमोहक साँझहरूमा अब वाइन र ड्रिन्क्सका ग्लासहरू छल्कनेछन् । ग्लासहरूलाई ठोक्याउँदै चियर्सहरूका माझमा ह्याप्पी क्रिसमसको बधाईले संसार घन्कने भो । सायद संसार साह«ै स्याड छ, अनह्याप्पी छ । प्रभु येशू जैले नि हामीभन्दा उल्टो । अर्कै ग्लास उचाल्नुहुन्छ । गेतसमनीको मध्यरातमा चेलाहरूलाई सोध्नुहुन्छ, “के पिताले दिनुभएको कचौरा म न पिऊँ ?”। पितालाई घोर विन्ती गर्नुभएको थियो, त्यो कचौरा हटाइदिनुहोस् भनी । पिताले उत्तरमा “नो” भन्दिनुभो । येशू झुक्नुभयो । उहाँलाई थाहा भयो अब उहाँले संसारको निम्ति युगौंयुगसम्मको क्रिसमस गिफ्ट तयार गर्नुपर्छ । आफै ।
रोम्यान्टिक अन्धकार रातहरूमा अब बसहरू दौडनेछन् क्यारोल सिंगिगको निम्ति । किनभने “हाम्रा निम्ति एउटा बालकको जन्म भएको छ । हाम्रा निम्ति एउटा छोरो दिइएको छ ।” डान्स त अनिवार्य । तानीतानी पनि नचाउनुपर्छ । किन ? किनभने बालक जन्मेको छ । चर्चमा बाइबल रिडर थोरै, डान्सर, सिङ्गर धेरै । मासु पोल्ने थुप्रै, बाइबल खोल्ने विरलै । गीतले भन्छ नि, एकबारको जुनी यो लानु त के छ र ? नाचौं धित मरून्जेल नाचौं । किनभने, माटोमा मिल्ने हो । कत्राकत्रा मूर्तिलाई ढोगेको हाम्रो इतिहास छ । भित्तामा येशू पोस्टरबाट निसानी बचाउनु छ । उनी गुडिया गोठमा छन्, सुन्दर बत्ती बलेको गुडिया गोठमा, धुप्पीको रूखको मन्तिर । गोठको बालकलाई नचिनाइ भा’छैन ।
पिउनुभो उहाँले त्यो तीतो वाइन । पितालाई हुन्छ भन्नुभो । सडकसडक डुल्नु हुँदै थियो । केके भन्नुहुन्थ्यो र रोगहरू निको पार्नुहुन्थ्यो । स्वर्गको राज्य यस्तो, स्वर्गको राज्य उस्तो भन्नुहुँदै थियो । अचानक बिहिबार राति त अनिष्ट भो । एक कुशल वक्ता र लोकप्रिय शिक्षक त मन्दिर विरोधी, जातिद्र्रोही, मोशा व्यवस्थाका अपराधी ठहरिए । घुचेट्दै, मन्टाउँदै लगे राति आएका लठैतहरूले । चेलाहरूले फेरि चिन्न सकेनन् उहाँलाई । ठोके सुँइकुच्चा । गोठमा कत्रो सम्मान भाथ्यो । किन गोठमा नबसेर कताकता, केके गर्दै हिँड्नभाको ?
यहुदी गुरुहरूले शुक्रबार पिलतास बडा हाकिमसँग तारिख मिलाइसकेका थिए । मृत्यु दण्ड कै माग राख्ने षढयन्त्र भइसक्यो । रगत, किला, काँडाको कुराले क्रिस्चियन धर्मलाई किन बेरमाइलो बनाको ? शुद्ध क्रिसमस मनाउनु किन नपाको ? ह्याप्पी हुन किन नपाको ? नरिसाउनुहोस् न मित्र । यो प्रश्नको उत्तर तपाईसँग नै छ । तपाईले यशैयाको एक भागमात्र पढ्नुभो नि । पूरा पढ्नू त ? “हाम्रो निम्ति एउटा बालकको जन्म भएको छ । हाम्रो निम्ति एउटा छोरो दिइएको छ । शासन उहाँको काँधमा हुनेछ ..” (यशैया ९:६) ।
शासन काँधमा लिन काठ क्रूस काँधमा थाप्नुभो । निधार चिथोर्ने काँडे मुकुट लाएर आफूलाई जोकर बनाउनुभो । तपाई हामी शान्त, सौम्य, सभ्य बनोस्, धार्मिकताको वस्त्र लाओस् भनी आफू नाङ्गो बन्नुभो । दाम चुकाउनुभो । सानैदेखि । नासरतमा एक दिन खुलेआम जनतामाझ जानलाई पहिले इजिप्टमा लुक्नुभो । मान्छेको घृणा, परमेश्वरको त्याग, सिपाहीको मुक्का, पण्डितको थुक्का, चेला चम्पट । एउटै साथी नभाको व्यक्ति, जसले आफ्नै कानले ‘क्रूसमा झण्डाओ’ भन्ने हजार आवाजको नारा सुन्नु, सहनु प-यो ।
तल्तिरबाट गिल्ला, बचा लौ आफूलाई, तल झर् भनी हाँस्दैछन्, माथिबाट पिताको बहिष्कार । कता हेर्ने प्रभुले ? कता पाउने सहारा ? हाम्ले खानुपर्ने वाइन त्यंही छल्काउनुभो, “यो कचौरा… मेरो रगतमा स्थापित नयाँ करार ..”। पृथ्वीको सारा अधिकार (जिउको लुगासमेत) गुमाएर, नै स्वर्ग र पृथ्वीमा सारा अधिकार पाउनुभएको हो । “म तिम्रो निम्ति मर्न पनि तयार छु” भन्ने प्रेमी नम्बर वान, जसले त्यो गरेरै देखाउनुभो।
लौ परो फसाद । महान शासक, महान प्रेमी पो बन्नुभएछ त्यो बालक त । अब हामीले सजाको गोठ, डुँड, गोठाला, ज्योतिषी, गाई र ऊटको पुतली, के गर्ने ? ह्याप्पी क्रिसमसको भीड र चाँडलाई के गर्ने ? हामी त सब गुडियागोठ, झिमझिमे रुखबत्तीका दिवाना । ठमेल पनि दिवाना, हामी पनि दिवाना । चिन्ने नचिन्ने सब । हाम्ले के गर्ने गोठको पुतली ?
के भन्नुभा ? के गर्ने ? मनाउने नि, मस्त, बिन्दास । सबलाई भन्ने, सबलाई बोलाउने, खाने, नाच्ने अनि बताउने, अब उहाँ स्वर्ग सिंहासनको राजा बनिसक्नुभो अनि स्वर्ग मन्दिरको पुजारी । हो र ? हो नि । गोठमा दैलो छैन, चिहानमा चट्टान छैन ? अब गोठाला, ज्योतिषी, संसारभरिका मान्छेलाई सिंहासन अघि ल्याउने र एउटा कुरा भन्ने .. के भन्ने ? हामीले अब यो क्रिसमसमा सिंहासनको अघि यो भन्नुपर्छ, यो गाउनुपर्छ, स्वर्गमा, पृथ्वीमाथि पृथ्वीमुनि भएका, हरेका प्राणीले येशूको नाउँमा घुँडा टेक्नुपर्छ ।
Written by Mr. Loknath Manaen
Republished on nepalchurch.com new site may 6 2013
Discussion about this post