
धरान/धरानभरीका विभिन्न २५ वटा इसाई मण्डलीहरुको शनिवार धरान पवित्र मण्डलीमा भएको भेलाले नयाँ कार्य समितिको पुर्नगठन गरेको छ। कमल ह्यूज राईको अध्यक्षतामा धरान इसाई समाजको गठन भएको हो। सचिवमा गिदोन लामिछाने (तारा) निर्विरोध चुनिनु भएको छ।
समाजका अन्य सदस्यहरुमा हरेक मण्डलीबाट एक एक जना सदस्यहरु रहने प्रावधान समाजको रहेको छ । धरान पाष्टर अगुवा संघको माताहतमा रहनेगरी गठन भएको सो समाजले सामाजिक क्षेत्रमा काम गर्ने अनुग्रह चर्चका पा.पर्शु गुरुङले जानकारी दिनु भएको छ । सानोबगाल प्रेरितीय मण्डलीका पाष्टर फिलिप राईले आगामी एक हप्ताभित्र मिटिङ बसी कार्य योजना बनाउने बताउनु भयो । भेलामा विशप ज्योती थुलङले समाजका सबै धर्मावलम्बी, संघसंस्था आदि संग समन्वय गर्दै धरानको भौतिक तथा सामाजिक विकासमा काम गर्ने बताउनु भएको छ।
भेलामा २५ वटा चर्चका पाष्टर, अगुवा तथा प्रतिनिधि सदस्यहरुको उपस्थिति रहेको थियो । करिब १० हजार को संख्यामा धरानमा इसाईहरुको जनसंख्या रहेको समाजका नव निर्वाचित अध्यक्ष कमल ह्यूज राईले जानकारी दिनु भएको छ । मण्डलीमा राजनीति घुसाउन थालिएको भन्दै धार्मिक सेवाकाईमा डोर्याउन र राजनीतिक बहकाउलाई निषेध गर्न समाज क्रियाशिल रहने सचिव लामिछानेले बताउनु भएको छ।
धरान इसाई समाजमा आबद्ध मण्डलीहरु
१. अनुग्रह मण्डली
२. होसन्ना बप्तिस मण्डली
३. धरान पवित्र मण्डली
४. दर्शन मण्डली
५. जैतुन बप्तिस मण्डली
६. आराधना बप्तिस मण्डली
७. उच्च जागृत्ती मण्डली
८. एन सी सी चर्च
९. बेथेल चर्च
१०. सानोबगाल प्रेरितीय मण्डली
११. गेतसमनी चर्च
१२. बेथलेहेम चर्च
१३. यर्दन चर्च
१४. ख्रिष्टियन चर्च
१५. यूनाइटेड मेथोडिष्ट चर्च
१६. चर्च अफ गड
१७. प्रतिज्ञा चर्च
१८. उदय ख्रिष्टियन चर्च
१९. सालोम चर्च
२०. धरान ब्रदरेन चर्च
२१. जीवन चर्च
२२. आशिष प्रष्बेटेरियन चर्च
२३. अभिषेक चर्च
२४. बिजय नमूना चर्च
२५. यूएम मण्डली
२६. ज्योती चर्च
Discussion about this post