
प्रभुले भन्नुभयो, “तैँले यो के गरिस्? तेरो भाइको रगतले भूमिबाट मलाई दुहाई दिइरहेको छ ।” (उत्पत्ति ४:१०)
प्रिय दिदीबहिनी तथा दाजुभाइहरू, शालोम !
आज हामी एउटा गम्भीर र पीडादायी सन्देशमा प्रवेश भैसकेका छौं । जेन-जी[*] अर्थात पछिल्लो पुस्ताको स्वतःस्फूर्त आन्दोलनले यी पंक्ति लेख्दैगर्दासम्म जुन उत्सर्गमा आफूलाई पुर्याएको छ, यसले देशलाई एउटा गम्भीर मोडमा उतारेको छ। जनताको भोट लिएर सरकारी सुबिधा उपभोग गर्नमा अभ्यस्त कपटी अन्धो सत्ता धरासयी बनेर ढलिसकेको छ। सत्ताको स्वादमा लिप्त बनेर जनउत्तरदायित्व बिर्सेका कथित जनप्रतिनिधीहरूले फेरि एकपटक जनताको शक्तिसामू घुँडा टेकेको छ।
देश अक्रान्त बनेको छ । अबको राजनीतिक गति अकल्पनीय मोडतिर जाँदैछ! आन्दोलनको गति अनपेक्षित दिशातिर मोडिन सक्छ। प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएकोमा खुशी व्यक्त गर्न नपाउँदै राष्ट्रपति रामचन्द्र पौडेलको राजीनामा आइसक्यो भनेर हल्ला चल्यो र देश संविधानहिन बन्यो भन्ने हल्ला चलाएर सबैलाई स्तब्ध बनाउने दुस्साहस भयो। केही घण्टा अघिसम्म आफूलाई सर्वशक्तिमान ठान्दै आएका शक्तिशाली मन्त्रीहरूका आलिसान महलहरू भस्म पारिए, नाउँ चलेका नेताजीहरूका दरबारहरू ध्वस्त बने। आफूलाई कालले पनि छुन सक्दैन भन्दै आएका शासकहरू अनायाशै आक्रोशित भीडका लात्ती र घुस्साद्वारा सम्मानित भए।
तत्काल देशमा न सरकार छ, न लोकतान्त्रिक संविधान छ, देश त भीडको नियन्त्रणमा फँसिसक्यो, भीडलाई जोसुकैले अप्रिय परिणामतिर मोड्न सक्छ! सम्भवतः आन्दोलित जेन-जीहरू र उनीहरूलाई उत्साहित बनाउँदै गरेका हामी समर्थकहरूले समेत कल्पना नगरेको परिणाम अब आउन सक्छ ! हठात् बदलिँदै आएको राजनीतिक अवस्थामा हामीले गम्भीरता प्रदर्शन गर्नुपर्छ। कसैले हाम्राविरुद्ध भीडलाई भड्काउने चेष्टा गर्दैछ कि, सजग बन्नुहोस्। कृपया, हाम्रो प्रार्थना अझै सशक्त बनोस्।
१. सन्दर्भ
उत्पत्ति ४:१० ले हामीलाई एउटा गहिरो सत्य देखाएको छ – जब निर्दोषको रगत बग्छ, त्यो रगत मौन रहिरहँदैन, जमीनमा लत्पतिएको रगतले स्वर्गका परमेश्वरसँग दुहाई माग्छ, मागिरहेको छ। आदमका छोरा कयिनले आफ्नै भाइ हाबिललाई मारेपछि परमेश्वर आफैंले कयिनलाई भन्नुभयो, “तेरो भाइको रगतले भूमिबाट मलाई कराएर दुहाई मागिरहेको छ।”यसबेला हाम्रा निर्दोष युवाहरूको रगत हाम्रो भूमिमा बगिरहेको छ। आन्दोलन, दमन, हिंसा र गोलीकाण्डकाबीच निर्दोषहरूले जीवन गुमाइरहेका छन्। यस हिंसात्मक दमनको कारणले मारिएकाहरूको रगतले मागेको दुहाईको आवाज परमेश्वरसम्म पुगेको छ। तर प्रश्न यो हो, हामीले त्यो दुहाई सुनेका छौं के त? यस विषम अवस्थामा हामीले जनाउने प्रतिक्रिया के हो?
२. परमेश्वरको हृदय
जेन-जी आन्दोलनमा लाखौं युवाहरू स्वत:स्फूर्त सरिक भए। उनीहरूले आन्दोलनको बिगुल फुक्दै गर्दा घोषणा गरिएको थियो, यो आन्दोलन भ्रष्टाचार, सार्वजनिक दायित्व धारण गरेका कर्मचारी तथा नेताका छोराछोरीहरूको सम्भ्रान्त जीवनशैली र सामाजिक सञ्जाल नियमनका नाउँमा हालै सरकारले लागू गरेको वाक् स्वतन्त्रता हननविरुद्ध केन्द्रित थियो। उनीहरूको आन्दोलन समग्रमा शान्तिपूर्ण थियो, तर सामान्य मानिसले प्रश्न ठड्याउनै नहुने भन्ने भ्रम पालेर बसेको शासकले त्यो सहन गरेन र हठात् गोली ठोक्ने आदेश छाँट्यो। एकैदिनमा दुई दर्जन युवाहरूको ज्यान लियो। यसरी निर्दोष युवाहरूको रगतले देशको भूमि पोतियो उनीहरू भष्मासुर ओलीराजको बर्बरताको शिकार बने। जनताद्वारा चुनिएको गणतान्त्रिक राज्यका आततायी सत्ताधारीहरूले जनताकै छोराछोरी मारिए, उनीहरू देशमा सुशासनको कामना गर्दै शहीद बने, देशले कहिल्यै नबिर्सिने कालो दिनको सामना गर्यो!
आम नेपालीले स्वीकार गर्दै आएको कुरा, यो सतीले सरापेको देश हो, कसैगरे पनि हामीले यो देशमा भलो कुरा देख्न पाउँदैनौं। किनभने यो देशको इतिहास निर्दोषका रगतले लतपतिएको छ। यहाँको माटो असंख्य निर्दोष मानिसहरूको रगतको आहालमा जाकिएको छ। शहिदको रगतले प्रतिशोधको याचना गर्छ। निर्दोषका मृत आत्माले आशीर्वाद होइन,बदलाको निम्ति दुहाई माग्छ। तर परमेश्वर युवाहरूलाई मूल्यवान् ठान्नुहुन्छ। उहाँले निर्दोषका रगतलाई बेवास्ता गर्नुहुन्न। यस प्रसङ्गमा बाइबल धर्मशास्त्रमा के भनिएको छ, हेरौंः
- भजन ७२:१४ – “हिंसामा परी ज्यान गुमाएका मानिसहरूलाई उहाँले मुक्त पार्नुहुनेछ, किनकि तिनीहरूको रगत उहाँको दृष्टिमा बहुमूल्य हुन्छ।”
- यशैया १:१५-१७ – ” … परमेश्वरले इस्राएलीहरूलाई भन्नुभयो, ‘तिमीहरूको हात रक्तपातले भरिएको छ।आफूलाई धोएर चोखो पार। मेरो नजरबाट तिमीहरूका दुष्ट कामहरू फालिदेओ! खराबी गर्न छोड़। भलाइ गर्न सिक! न्याय खोज, अत्याचारमा परेकाहरूलाई प्रोत्साहन देओ, टुहुरा-टुहुरीको रक्षा गर, विधवाको पक्षमा बोलिदेओ।
- हरेक मानिस परमेश्वरको दृष्टिमा अति मूल्यवान् हुन्छ (मत्ती १०:२९-३१)।
यस सन्दर्भमा हामी बुझ्नुपर्ने कुरा, आज हाम्रा निर्दोष युवाहरूको रगतले परमेश्वरको हृदयमा चोट पुर्याइरहेको छ। उहाँ अन्यायको सामना नगरी बस्नुहुन्न। उहाँ आफैंले त्यसको बदला लिनुहुन्छ।
३. हाम्रो प्रतिक्रिया
जबजब देशमा निकै अनिष्टकारी घटना घट्छ, प्राकृतिक प्रकोप होस् कि मानवसिर्जित बितण्डा, हिंसात्मक स्थिति आइलागेको होस् कि आतङ्कवाद, यी सबै अवस्थाहरूमा ख्रीष्टियन आस्था अवलम्बन गरेको व्यक्तिले यथोचित प्रतिक्रिया जनाउँछ, जनाएको हुनुपर्छ। बाइबलको शिक्षाअनुसार अनिष्टकारी परिस्थितिमा हामी ख्रीष्टभक्तहरूले केकस्ता कदमहरू चाल्नुपर्छ भन्ने विषयलाई यसरी चरणबद्ध रूपमा वर्णन गर्न सकिन्छ:
क) आवाजबिहिनहरूको ‘आवाज‘ बन्ने
देशको अवस्था प्रतिकुल भैरहँदा हामी मौन बसिरहँन मिल्दैन। धर्मशास्त्र बाइबलको हितोपदेश ३१:८-९ मा यस्तो लेखिएको छ, “आवाजबिहिन मानिसहरूको लागि मुख खोल… गरीब र खाँचोमा परेकाहरूको न्याय गर।” त्यसैगरी मीकाको पुस्तक ६:८ ले हामीलाई सम्झना गराएको छः “ए मानिस, जे असल छ त्यो उहाँले तँलाई देखाउनुभएको छ। परमप्रभुले तँबाट के चाहनुहुन्छ? केवल यति, ठीकसित काम गर्नू, कृपालाई प्रेम गर्नु र तेरा परमेश्वरसित विनम्र भएर हिँड्नू।”
यसघडी सर्वसाधारण मानिसहरूमाथि अन्याय थोपरिएको हामीले देखेका छौं। नसोचेको प्रहार र पींडातिर मानिसहरू घिसारिएका छन्। हामी वरपरका मानिसहरू, त्यसमाथि हाम्रा आफ्नै नातेदारहरू, भाइबन्धुहरू, सहकर्मी र देशवासीहरू अकल्पनीय हिंसाको शिकार बनेका छन्। अनाहकमा निर्दोष मानिसहरू मारिए, ठानिएको अपराधमा असंलग्न मानिसका धनसम्पत्ति तहसनहस बन्यो, असंख्य मानिसहरूको भीड सही मानेमा निर्मम भीडमा परिणत भयो। सुन्दरताको प्रतिक बनेर दुनियाँमा इतिहास रचेको देश क्षणभरमै क्षणभङ्गुर बन्यो। प्रष्टतः भ्रष्टाचारको जोडबलले जोडेको सम्पत्तिमाथि आगजनी हुनुलाई ‘सामान्य’ ठानेका थिए। देश डुबाएर आफूलाई नवधनाढ्य बनाएका नेता-मन्त्रीहरूमाथि आक्रोश जाइलाग्नु ‘स्वाभाविक’ मानियो। तर जनताकै करले बनेका सार्वजनिक सम्पत्ति तथा राज्यका तीनवटै अङ्गहरू – संसद (व्यवस्थापिका), अदालत (न्यायपालिका) र सिंहदरवार (कार्यपालिका) सँगै सुरक्षा निकाय तथा जनसेवाका सरकारी भवनहरूमाथि आगजनी हुनुलाई स्वाभाविक प्रतिक्रिया भन्न मिल्छ कि मिल्दैन? यस्तो विषम परिस्थिति आइलागेको देख्दा हामी बोल्नुपर्छ कि पर्दैन? अनियन्त्रित बनेर छताछुल्ल बनेको हिंसा रोकियोस् भनेर शान्तिको आवाज बोल्नुपर्छ कि पर्दैन?
ख) मेलमिलाप र शान्तिको खोज
येशू भन्नुभयो, “धन्य मेलमिलाप गराउनेहरू, किनभने तिनीहरू परमेश्वरका सन्तान कहलाइने छन्” (मत्ती ५:९)। हामी क्रोध र हिंसाको बाटोमा होइन, मेलमिलाप र शान्तिको बाटोमा लाग्न बोलाइएका छौं ।
२कोरिन्थी ५:१८-२० अनुसार हामीलाई मेलमिलापको निम्ति खटिने राजदूत बन्न बोलाइएको छ, “परमेश्वरले हामीलाई ख्रीष्टद्वारा आफूसँग मिलापमा ल्याउनुभयो र हामीलाई मिलापको सेवा दिनुभयो…।” यस राष्ट्रमा मेलमिलाप ल्याउन हामीले पहल गर्नुपर्छ र त्यसका लागि हामीले नयाँ पुस्ताका यी आन्दोलनरत युवाहरू, आम नागरिक समाज र सरकारी संयन्त्रमा रहेका मानिसहरूसँग मिलेर काम गर्नुपर्छ ।
ग) आत्मसमीक्षा र पश्चात्ताप
प्रचलित उखानले भन्छ, देश बर्बाद हुनुमा खराब मानिसहरूले गरेको खराबीमात्रै होइन, असल मानिसहरूको मौनता पनि उत्तिकै जिम्मेवार हुन्छ। देशमा खराब प्रवृत्तिको राजनीतिक नेतृत्व यतिबिघ्न भष्मासुर[†] हुनुमा हाम्रो पनि कतै हात छ। हामीले त्यो प्रवृत्तिका विरुद्धमा आवाज उठाउनुको साटो उल्टै त्यसैलाई आफ्नो सबैथोक ठानेर उसैलाई चुनावद्वारा पटकपटक निर्बिकल्प जिताएर गल्ती गरेकै हो। अहिलेका लागि त्यो पुरानो कुरा भैसक्यो । तर अझै पनि हामीले मौनता साध्नु उचित ठहर्दैन। हामीले मौन बस्दै वा उदासीन भएर निस्प्रभावी बन्दै बसेर अहिलेको हिंसात्मक गतिविधिलाई निरन्तर चलिरहन दिनुहुँदैन। बरू भनौं, हामीले समयमै अन्यायको विपक्षमा आफूलाई उभ्याउन नसकेको कारण यो अवस्था सिर्जना भएको हो। यो अवस्थालाई सुधारतर्फ डोर्याउन हामीले आफैंलाई पश्चातापमा उभ्याउन सक्नुपर्छ।
- यदि हामी हाम्रा पापहरू स्वीकार गर्छौं भने उहाँ हामीलाई क्षमा गर्न र हाम्रा परिस्थितिमा सुधार ल्याउनसमेत विश्वासयोग्य र न्यायी हुनुहुन्छ भन्ने आशय १यूहन्ना १:९ मा प्रष्ट गरिएको छ।
- यदि परमेश्वरमाथि विश्वास गर्ने मानिसहरूले आफूलाई विनम्र बनाएर पश्चातापी बन्दै उहाँको सामुन्ने याचना गर्ने हो भने उहाँले तिनीहरूको प्रार्थना सुनिदिने र जवाफस्वरूप तिनीहरूको देशलाई निको पार्नुहुनेछ भन्ने प्रतिज्ञा गरिएको छ (२इतिहास ७:१४)।
४. सुसमाचारको आशा
उत्पत्ति ४ मा हाबेलको रगतले न्यायको लागि कराइरहेको थियो। निर्दोषका रगतले गरेको दुहाईले बदलाको याचना गर्छ। त्यसकारण भनिएको हो, निर्दोष मानिसको रगतले पोतिएको भूमि कदापि उर्बर हुँदैन। त्यो भूमि श्रापित हुन्छ। हाम्रो देशको माटो पटकपटक श्रापित तुल्याइएको छ। माटो त परिश्रमको पसीनाले मात्रै मलिलो हुन्छ। त्यसकारण निर्दोषका रगत अबउसो कहिल्यै यसरी नबगोस् भन्ने कामनासहित हामीले नयाँ विकल्पको खोजी गर्नुपर्छ।
उत्पत्ति ४ अध्यायको भन्दा फरक कुरा हिब्रू १२:२४ मा दाबी गरिएको छ । यहाँ लेखिएको छ, “येशूको रगतले हाबिलको रगतको भन्दा सिद्ध दुहाई दिइरहेको छ। येशूको शरीरबाट रगत बग्नुभन्दा पहिले जति निर्दोष मानिसहरूको रगत बगेको थियो, ती सबैको रगतले गरेको याचना बदला, बिनाश र बर्बादीको चाहना थियो । तर येशूको रगतले बिल्कुलै फरक विषय स्थापित गर्यो – क्षमादान, शान्ति र उद्धारको। यी बुँदाहरू हेरौंः
- हाबेलको रगतले बदला माग्यो ।
- येशूको रगतले क्षमा र मेलमिलाप प्रस्ताव गर्यो ।
- कलस्सी १:२० भन्छ, “उहाँको क्रूसमा बगेको रगतद्वारा … (परमेश्वरले) सबैलाई आफूसँग मेलमिलाप गराउनुभयो ।”
- एफिसी २:१४-१६ मा लेदिएको छ, “उहाँ नै हाम्रो शान्ति हुनुहुन्छ… क्रूसद्वारा उहाँले परमेश्वर र हामीबीचको शत्रुतालाई बिनाश गरिदिनुभयो ।”
यसको अर्थ, केवल राजनीतिले समाधान दिन सक्दैन । मुलुकमा फैलिएको अन्याय-अत्याचारको दीगो निदान राजनीतिमात्रै होइन, आध्यात्मिक पनि हो । धार्मिक क्षेत्रको साँचो र अभिप्राययुक्त सत्प्रयासबाट समाजमा दीगो शान्ति,मेलमिलाप र क्षमादानद्वारा अन्यायलाई उखेल्न सकिन्छ । हामी ख्रीष्टियनहरूले अडिग भएर विश्वास गरेको कुरा, येशूमा मात्रै साँचो शान्ति सम्भव छ । यस तथ्यमा बलियो अडान राख्ने प्रत्येक ख्रीष्टियनले येशूको रगतद्वारा याचना गरिएको शान्तिपूर्ण आशीर्वादको पक्षमा उभिएर एउटा नयाँ आव्हान गर्दै सुसमाचार प्रचार गर्न हरसम्भव तयार हुनुपर्छ ।
५. निष्कर्ष
प्रिय दाजुभाइ दिदीबहिनीहरू, भूमिबाट निर्दोष मानिसहरूको रगतले अर्तनाद गरिरहेको दुहाईलाई हामीले पनि सुन्नुपर्छ। हामी मौन बस्न मिल्दैन। हामी न्यायको पक्षमा उभिनुपर्छ। हामी मेलमिलापका दूत बन्नुपर्छ। हामी राष्ट्रका लागि सम्झौताहिन प्रार्थनामा उभिनुपर्छ। येशूको क्रूसले हिंसाको चक्रलाई तोड्छ र नयाँ जीवन दिन्छ। त्यसकारण, आस्थाको हाम्रो समुदायका जिम्मेवार अगुवाहरूसमक्ष हामीले यो अपील गरेका छौं। हामी सबैभन्दा बढ्ता होशियार, संयमित र प्रार्थनाकेन्द्रित बन्नुपर्ने अवस्था आएको छ – तत्कालै हाम्रा चर्चहरूमा प्रार्थना परिचालन गरियोस् ।
[*]जेन–जी भन्नाले करिब ख्रीष्टाब्द १९९७ देखि २०१२ बीचमा जन्मेका १३ देखि २८ वर्षका युवाहरूलाई जनाउँछ । अहिलेको डिजिटल प्रविधीसँग अभ्यस्त नयाँ पुस्ता जेन–जी हो।
[†]भष्मासुर पौराणिक कथाको एक पात्र थियो । उसले जसको टाउकोमा हात राख्छ, त्यो मानिस जलेर भष्म हुने शक्ति प्राप्त गरेको थियो । त्यसले एकदिन झुक्किएर आफ्नै थाप्लोमा हात राख्यो र आफैं भष्म भयो भन्ने कथा छ ।
Discussion about this post